मुक्तिनाथ विकास बैंकको सञ्चाकलमा आचार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु हुने गरी ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिए । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमीनटेसन विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
नेप्से ६४ अंकले बढ्दा काराेबार २२ अर्ब नजिक
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा कायम भएको छ । सेयर बढेसँगै कारोबार रकम पनि बढेको छ । दिनभरिमा ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सो समूह ८.०८ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा आजपनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ८४ करोड ४९ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।
विश्वका ८१ जनासँग ४ अर्ब गरिबभन्दा बढी सम्पत्ति, के हो अर्बपति बन्ने आइडिया ?
काठमाडौं । माइम आर्ट अध्ययन गर्ने इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा नजर राख्ने एक प्रतिभाशाली बालक र हास्य कलाकारमा के समानता हुन सक्छ ? वास्तवमा यी तीन जना पछि एक धेरै विशेष वैश्विक समूहको हिस्सा बने । हामी म्युचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डको बारेमा कुरा गर्दैछौं, जो अब विश्वका २८०० अरबपतिहरूको सूचीमा परेका छन् । यो सूचीमा विश्वका विभिन्न देशका मानिसहरू परेका छन् । विश्वका धनी व्यक्तिको सूची तयार गर्ने अमेरिकी मिडिया फर्म फोर्ब्सका अनुसार अर्बपतिको संख्यामा अमेरिका पहिलो स्थानमा छ, जहाँ ८१३ अर्बपति छन् । दोस्रो स्थानमा हङकङ र चीन ४ सय ७३ अर्बपतिका साथ छन् भने तेस्रो स्थानमा रहेको भारतका २०० अर्बपति छन् । अर्बौंका यस्ता सम्पत्ति अनुमान गर्न गाह्रो छ । एक अर्ब धेरै ठूलो संख्या हो । यसको अन्दाजा लगाउनका लागि तपाईं यसलाई यसरी बुझ्न सक्नुहुन्छ कि १० लाख सेकेन्ड बराबर ११ दिन हो, जबकि एक अर्ब बराबर ३२ वर्ष हो । केही मानिसहरू अर्बपतिहरूको अस्तित्व सही छ भनेर विश्वास गर्दैनन् । विश्वका ८१ जनासँग ४ अर्ब गरिबभन्दा बढी सम्पत्ति विश्वका ८१ धनी व्यक्तिको कुल सम्पत्ति विश्वका ४ अर्ब गरिब जनताको भन्दा बढी छ । असमानतासम्बन्धी २०२३ को प्रतिवेदनमा अक्सफामले भनेका थिए, ‘हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो, बढ्दो गरिबी र बाँच्नका लागि आवश्यक स्रोतहरूको संकटका बीचमा रेकर्ड मुनाफाको साथ फस्टाउँदै अर्बपतिहरूको अस्तित्व मानवताको लागि काम गर्न असफल आर्थिक प्रणालीको प्रमाण हो।’ यही असमानताका कारण धेरै देशमा आम्दानीमा करको सट्टा सम्पूर्ण सम्पत्तिमा कर लगाउने कुरा भइरहेको छ । अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले ५ करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र १ अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेकी छन् । जबकि केही मानिसहरू ठूलो धनको सम्भावनाले लाखौं मानिसहरूको जीवनमा सुधार गर्ने, नयाँ सिर्जना र आविष्कारहरूलाई प्रोत्साहन दिने तर्क गर्छन् । केही अर्थशास्त्रीहरू अर्बपतिहरूको संख्या बढाउन चाहन्छन् । यी सबैको बीचमा अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनले तर्क गर्छन् कि हामीलाई कम होइन, धेरै अर्बपतिहरू चाहिन्छ । उनले नोबेल पुरस्कार विजेता विलियम नोर्डहसको सिद्धान्त उद्धृत गरे जसमा नोर्डहसले प्राविधिक आविष्कारबाट हुने नाफाको दुई प्रतिशतमात्र संस्थापक र आविष्कारकलाई जान्छ, बाँकी समाजमा जान्छ । स्ट्रेन अरबपतिहरूको बारेमा भन्छन्, ‘तिनीहरू स्वनिर्मित आविष्कारकहरू हुन् जसले हाम्रो जीवनशैली परिवर्तन गरेका छन् ।’ यसको पक्षमा उनले बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिए, जसले कम्प्युटिङको संसारमा क्रान्तिकारी परिवर्तन ल्याए । स्ट्रेनले प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट र जेफ बेजोसको उदाहरण पनि उद्धृत गरे । बफेट र बेजोसले रिटेल क्षेत्रलाई प्रवर्द्धन गरे भने एलोन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यवसायलाई परिवर्तन गरे । स्ट्रेन भन्छन्, ‘नीति असफलता’ का कारण सबै अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मिहिनेतले यो स्थानमा पुगेका हुन्, उनीहरू अर्बपति नहोस् भनेर कामना गर्नुको सट्टा हामीले उनीहरूको सफलतामा खुसी हुनुपर्छ ।’ धेरै अर्बपतिहरूले ठूलो रकम दान गर्छन् । गेट्स र बफेटले ‘द गिभिङ प्लेज’ जस्ता पहल गरे, जसअन्तर्गत उनीहरूले आफ्नो जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका थिए । ‘द गिभिङ प्लेज’ मा विश्वास नगर्ने र्यापर र बिजनेस मुगल अर्बपति जे–जेडले आफ्नो सम्पत्तिको बचाउमा भने, ‘यदि म गरिब थिएँ भने म जस्तो मान्छेलाई सहयोग गर्न सक्दिनथें, त्यसैले म धनी भएँ, र तिनीहरूलाई मद्दत गरेँ, मेरो लागि यो हरेक परिस्थितिमा जित्नु जस्तै हो ।’ कोही कसरी बन्छ करोडपति ? यसै कोही पनि करोडपति बन्दैनन् । तिनीहरूको सफलताले हामीलाई हाम्रो बारेमा पनि बताउँछ । कसैलाई धनी बन्न गाह्रो छ जबसम्म उसले मानिसहरूलाई यस्तो चिज दिँदैनन् जो तिनीहरूलाई एकदमै महत्वपूर्ण छ वा त्यसले तिनीहरूको मुहारमा खुसी देओस् । चर्चामा रहेका अर्बपतिहरूले संसारलाई कुनै न कुनै हदसम्म, धेरै वा थोरै परिवर्तन गरेका छन् । चाहे त्यो प्राडा उत्पादन होस् वा स्टार वार्स सिनेमा वा टिकटक । यति मात्र होइन, यी सबै हासिल गर्ने उनीहरूको कथा पनि रोचक छ । उदाहरणका लागि गुगल सर्च इन्जिनको प्रारम्भिक रूप यसका संस्थापकले १० लाख डलरमा बेच्न चाहेका थिए, तर उनले कुनै खरिदकर्ता फेला पार्न सकेनन् । आज गुगलको मूल्य २३ खर्ब डलर छ, जबकि यसका सह–संस्थापक सर्गेई ब्रिनको व्यक्तिगत सम्पत्ति १३५ अर्ब डलर छ, जुन मोरक्को जस्तो देशको जीडीपी बराबर हो । म्युचिया प्राडा १९६० मा इटालीमा एक वामपन्थी मारिया बियान्ची थिइन् । आफ्नो नाम मारिया बियान्चीबाट म्युचिया प्राडामा परिवर्तन गर्नुअघि उनी थिएटर स्कूलमा माइम आर्ट पढ्दै थिइन् । माइम आर्ट मौन अभिनयको एक शैली हो । यसमा अनुहारको हावभाव र इशाराहरूमार्फत मात्र चीजहरू व्याख्या गरिन्छ । आफ्नो दममा भारतको पहिलो महिला अर्बपति बनेकी किरण मजुमदार शाले सुरुवात बियर बनाउनबाट गरेकी थिइन् । पछि उनले औषधी क्षेत्रमा हाल हालेर प्रयास गरिन् र उनको नाम एसियाको सबैभन्दा ठूलो इन्सुलिन उत्पादकमा सामेल भयो । अमेरिकी हास्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमाबाबु दुवै अनाथ थिए । उनका बुबाले जेरीलाई कहिल्यै अँगालो हालेनन् । सायद यही कारणले गर्दा ल्यारी डेभिडले आफ्नो हिट कमेडी सेनफिल्डमा यो प्रख्यात पङ्क्ति राखेका थिए– ‘नो हगिङ एण्ड नो लर्निङ ।’ यी अर्बपतिहरूको सफलताले प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ । अलि बाबाका सह–संस्थापक ज्याक माले पनि एकैसाथ उदीयमान दुई शक्तिबाट फाइदा उठाए । त्यतिबेला अनलाइन रिटेलले गति लिइरहेको थियो र अर्कोतिर चीन पनि बलियो अर्थतन्त्रका रूपमा उभिरहेको थियो । र, त्यहाँका जनताको समृद्धि पनि बढिरहेको थियो । सफलतामा धेरै हिस्सेदार हुन्छन् त्यस्ता कथाहरू पनि छन्, जहाँ भाग्यले सबैभन्दा ठूलो भूमिका खेलेको छ । १९६० को दशकको उत्तरार्धमा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकामा कम्प्युटरहरू भएका केही विद्यालयहरू मध्ये एकमा जाने गर्थे । त्यस्तै, रिहानाले एक रेकर्ड निर्माता बार्बाडोसमा छुट्टीमा हुँदा अडिसन गर्ने मौका पाएकी थिइन् । केही व्यक्तिहरूको लागि परिवार सबैभन्दा सहयोगी साबित भए । प्रसिद्ध गायिका टेलर स्विफ्टको सम्पूर्ण परिवार आफ्नो छोरीको करियरलाई अगाडि बढाउन पेन्सिलभेनियाबाट न्यासभिल गए । अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमाले उनलाई एडिडास वा कन्भर्सजस्ता खेलकुद कम्पनीहरूसँग कुनै पनि सम्झौता गर्नुअघि ‘नाइकी’ को कुरा सुन्न सल्लाह दिएकी थिइन् । पछि यो सम्झौता खेलकुद इतिहासमा सबैभन्दा ठूलो सम्झौता साबित भयो । निस्सन्देह, यी कथाहरूमा केही क्षणहरू छन् जसमा साना घटनाहरूले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गर्यो । तर, जब अवसरको ढोका खुल्छ, तपाईंले सबै कुरा दिमागमा राखेर हिँड्नुपर्छ । र, यदि ती सबैमा एउटै कुरा समान छ, त्यो हो ऊर्जा, प्रेरणा र प्रतिबद्धता । जुन यस्ता व्यक्तिहरूले आ–आफ्नो क्षेत्रमा ल्याएका छन् । अनि उनीहरू जहिले अगाडि बढ्ने चाहना राख्छन् । बीबीसी
द्विपक्षीय नाका पुनः सञ्चालनमा आएपछि नेपाल र चीनको व्यापार बढेको छ : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए । उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’ नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए । ‘यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरु भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु’, मन्त्री भण्डारीले भने । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनले बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो, नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।’ मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ । ‘हामी हाम्रो व्यापार पूर्वाधार विकास गर्न, यातायात सञ्जालको स्तरवृद्धि गर्न, भन्सार सुविधाहरूमा सुधार गर्न र हाम्रो ‘लजिस्टिक्स’ प्रणालीलाई आधुनिकीकरण गर्न इच्छुक छौँ, यी क्षेत्रमा चीनको विशेषज्ञता र लगानीको लाभमार्फत हाम्रो औद्योगिक विकास र दुई देशीय व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ’, उनले भने । चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गरे । चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए । उनले भने, ‘नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो, नेपालले यस क्षेत्रमा कानुन संशोधन र परिमार्जन गरी लगानीको वातावारण बनाएको छ, यसबाट नेपालमा थप चिनियाँ लगानी आकर्षित हुनेमा विश्वस्त छु ।’ मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताए । उनले भने, ‘यस सम्बन्धमा व्यापार मेला, व्यापार प्रतिनिधिमण्डल र द्विपक्षीय सम्झौता जस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’ भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताए । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताए । राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड २ को प्रतिफल घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाको प्रतिफल वितरण हुने भएको छ । यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार दुवै योजनाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सकिएको छ । योजना व्यवस्थापकको साउन १४ मा बसेको सञ्चालक समिति बैठकले गत आवका लागि लक्ष्मी उन्नति कोषका इकाइ धनीलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड २ का इकाई धनीलाई ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । दुवै दर करसहित हुन् ।
बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग
कालीकोट । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । बर्खायाममा हरियाली फाँटका दृश्यले भू–स्वर्ग झैँ लाग्ने त्रिवेणी पाटन हिउँदमा हिउँले ढाकिएर झनै मनै लोभ्याउने गरेको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–८ को मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट चार हजार दुई सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका दृष्टिले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरु त्रिवेणी पाटनका विशेषताहरु हुन् । त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि हजारौँ मानिस बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन् । यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट र २० वटा बाजुरामा पर्दछन् । त्रिवेणी पाटन क्षेत्रमा कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छ । ‘यो क्षेत्र प्राकृतिक हिसाबले मात्र सुन्दर नभएर यहाँ पाइने जङ्गली जनवार पनि आकर्षणका केन्द्रविन्दु पनि हो,’ अछाम रामारोशन गाउँपालिका–५ का स्थानीय डम्बर रोकाया भन्छन् । कालीकोट, बाजुरा र अछाम जिल्लाका स्थानीयवासीको अछाम रामारोशन ताल, कालीकोटको त्रिवेणी पाटन र बाजुराको बडिमालिका क्षेत्रलाई जोडेर पर्यटकीय गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । अछामको रामारोशन तालबाट एक दिनको दूरीमा त्रिवेणी पाटन र बडिमालिका पर्ने भएकाले विगतमा अछाम, बाजुरा र कालीकोटका स्थानीय तहका जनप्रतिनिधि बसेर पर्यटकीय गुरुयोजनाका लागि केही छलफल भएको र त्यसले मूर्त रुप लिन नसकेको अछाम रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झंकर साउदले बताए । ‘विगतमा हामीले पर्यटकीय गुरुयोजना बनाउनका लागि यसको प्रचारप्रसार गर्नका लागि कालीकोट, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि बसेर छलफल गरेका थियौँ’, उनले भने, ‘त्यसले खासै मूर्त रुप लिन सकेन । अहिले त्यसका लागि पहल गर्न आवश्यक रहेको छ ।’ बडिमालिका क्षेत्रको इलाका ठूलो रहेको छ । यसले बाजुराको क्षेत्रको बढी भू–भाग ओगटेको, यसले कालीकोट र अछाममा केही भाग पनि नजिकै पर्दछन् । कालीकोट र अछामका ती भागमा रामारोशन ताल र त्रिवेणी पाटन पनि पर्ने गरेका कारणले विगतमा यस क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरुको भनाइ छ । बडिमालिका, त्रिवेणी पाटन र रामारोशन क्षेत्र घना जङ्गल भएको क्षेत्र भएकाले यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ । पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडीबुटी पाउने क्षेत्र हो । विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भूतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका जडीबुटी अहिले लोप हुने अवस्थामा पुगेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–८ का दलबहादुर केसीले बताए । यस क्षेत्रमा ब्रह्मकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालोलगायत एक सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् । अहिले बर्खायाममा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा, च्याङ्ग्रा र घोडाहरु वैशाखदेखि असोजसम्म यहाँ छाडा रुपमा चराउने चलन छ । ठूलो सङ्ख्या भेडा, च्याङ्ग्रा र घोडाहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविकता लोप हुने अवस्थामा रहेको देखिन्छ । बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिकामा, कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछ । अछामको रामारोशन गाउँपालिकाको बीचमा पर्दछ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य, पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो । बडिमालिका क्षेत्रबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लाको अवलोकन गर्न सकिन्छ । बडिमालिकामा पर्ने पाटन क्षेत्रको कूल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारिक मापन नभएकाले यो क्षेत्रफल कति पर्छ भन्ने अहिलेसम्म पनि मापन नभएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘यसको क्षेत्रफल कति भन्ने अहिलेसम्म मापन हुन सकेको छैन,’ उनले भने, ‘क्षेत्रफल मापनका लागि हामीले पहल गरिरहेका छौँ ।’ कर्णाली र सुदूरपश्चिम प्रदेशले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि बर्सेनि ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना छ । धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन सबै तीर्थालुहरु बडिमालिकाको चुचुरोमा पुगिसकेका हुन्छन् । वर्षको दुईपटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गङ्गा दशहराभन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीको घुइँचो बढी हुने गरेको कालीकोट नरहरिनाथ गाउँपालिकाका–१ का कटकबहादुर विष्टले बताए । मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ । बडिमालिका दर्शनका लागि तत्कालीन शाह राजाको दरबारबाट पनि पूजाआजाको सामग्री पुग्ने गरेको छ । त्रिवेणी पाटनमा हिउँमा खेलिने स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । नेपालमा कमै खेलिने स्की खेलका लागि कालीकोटको रास्कोट नगरपालिकाको छेत्तडी र सान्नी त्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कीसम्बन्धी गत फागुन २८ देखि चैत ४ गतेसम्म स्की खेलको तालिमको आयोजना भएको थियो । स्कीसम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । ‘कर्णालीका प्रायः सबै ठाउँमा स्की खेलका लागि उपयुक्त क्षेत्र नै रहेका छन्’, उनले भने, ‘त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ बडिमालिका क्षेत्रभित्र पर्ने कालीकोटको रास्कोटमा पर्ने छेत्तडी र सान्नी त्रिवेणीको त्रिवेणी पाटन उपयुक्त रहेका छन् ।’ कर्णालीको साहसिक पर्यटनका क्षेत्रमा स्की खेल पनि एउटा रहेको र स्की खेलका लागि आफूहरुले पहिलोपटक रास्कोट छेत्तडीमा स्की खेलको तालिम सञ्चालन गरेको स्की संघ कर्णाली प्रदेशका सचिव सह–सचिव मनराज सिम्खडाले बताए । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ । रासस
सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायतका विषयमा ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेपछि छानबिनका लागि समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ । गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गरेर मन्त्रिपरिषद् बैठकले सीआईबी एआईजी ज्ञवालीको सरुवा गरेको थियो । ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
प्राविधिक विषय पढेका विद्यार्थी पनि बेरोजगार
टीकापुर । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जना विद्यार्थीको कोटा भएकामा तीनजना सिटिइभिटीले पठाउने र अरू ३७ जना यतैबाट छान्नुपर्ने थियो तर त्योअनुसार पनि ११ जना विद्यार्थी अपुग देखिएका इन्स्टिच्युटले जनाएको छ । टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि कोटाअनुसार विद्यार्थीले फारम भरेका छैनन् । पहिलोपटक निकालेको फाराम भर्ने सूचनाको म्याद सकिँदासम्म पशु विज्ञान विषयमा २१, बाली विज्ञानमा १०, सिभिल इन्जिनियरमा १७, फरेष्ट्रीमा ११ र एग्रो इन्जिनियरिङमा दुईजनाले मात्र फाराम भरेका छन् । सिभिल इन्जिनियर र एग्रो इन्जिनियरिङमा ४८/४८ र अन्य समुहमा ४०/४० जनाको कोटा रहेको शिक्षालयका निमित्त प्रमुख विकास रानाले जानकारी दिए । ‘विगतमा धेरै विद्यार्थीको आवेदन आएर छनौट गर्नुपर्ने हुन्थ्यो’, उनले भने, ‘यस वर्ष विद्यार्थी पाउनै मुस्किल देखियो ।’ यस वर्षको इसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनु, १२ कक्षा पढेर विद्यार्थीहरु विदेश जानुपर्छ भन्ने मानसिकताले प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घटेको अनुमान उनको छ । ‘प्राविधिक विषय पढेकाहरु पनि बेरोजगार बस्नुपर्ने अवस्था आएकाले यसमा विद्यार्थीको रुचि घटेको हुनसक्छ, अहिले अधिकांश विद्यार्थीको १२ कक्षापछिको रोजाइ विदेश छ’, उनी भन्छन्, ‘सरकारले प्राविधिक धार पढेकालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यति गरेमा प्राविधिक विषय अध्ययन रोजाइ बन्छ र नेपालमै विद्यार्थी रोक्न सकिन्छ ।’ रासस