सिटिजन्स बैंकको नाफा डेढ अर्ब, वितरणयोग्य नाफा कति ?
काठमाडौं । सिटिजन्स बैंक गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत वर्ष करिब डेढ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा २७.९७ प्रतिशत कम भएपनि बैंकले गत वर्ष १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको नेट फि तथा कमिशन इनकम २८.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेर ७ अर्ब १ करोड ९८ लाख रुपैयाँ छ भने सञ्चालन नाफा १९.३२ प्रतिशत घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १२.०७ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ संकलन गरी कर्जा ९.६५ प्रतिशत बढाएर १ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेको छ । बैंकको कूल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको छ । पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ । गत वर्ष बैंकले निक्षेप, कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ भने बैंकको बेसरट एकल अंक ८.२६ प्रतिशतमा झार्न सफल भएको छ । यस्तै बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत कायम राखेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.०७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९९ प्रतिशत थियो । आर्थिक क्रियाकलापहरुमा सुस्तताका बावजुद पनि गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ । सबै प्रदेशको प्रदेश कार्यालयमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपटक ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।
गभर्नरले आफूलाई असहयोग गरेको पूर्वअर्थमन्त्री महतको आरोप, ‘नयाँ अर्थमन्त्रीको कारण सेयर बजार बढेको होइन’
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको नेतृत्वबाट आफूलाई असयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शुक्रबार अर्थसमिति बैठकमा धारणा राख्दै उनले आफू अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सहयोग नमिलेको बताएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा गभर्नर अधिकारी समक्ष लचिलो नीति अगाडि सार्न र सेयर बजारमा लगाइएको सिमा हटाउन आग्रह गरेपनि उनले नमानेको बताएका हुन् । म अर्थमन्त्री हुँदा गभर्नरज्यूलाई केही लचिलो नीति ल्याउनु पर्यो भनेर आग्रह गरेँ । तर, उहाँले मान्नु भएन, अहिले नयाँ अर्थमन्त्रीज्यू आउनु भएको छ, सेयर बजार पनि बढेको छ । तर, अहिले सेयर बजार बढ्यो भन्दै अर्थतन्त्र सुधार भएको भन्न मिल्दैन,’ उनले भने । उनले आफू अर्थमन्त्री हुँदा पनि १८ सयमा रहेको सेयर बजार २२ सयसम्म पुगेको धारणा राखे । उनले अहिले नयाँ अर्थमन्त्री आएर सेयर बजार पनि बढेको र अर्थतन्त्र पनि सुधार भएको भाष्य सिर्जना भएपनि वास्तविकतामा त्यस्तो नभएको धारणा राखे । डा. महतले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकराीबीच ट्युनिङ मिलेर लचिलो नीति अवलम्बन गरेको पनि बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले महतको धारणाको जवाफ दिँदै गभर्नर र आफूबीच अन्य हिसाबभन्दा पनि वित्तीय सुधारका लागि ट्युनिङ मिलेको बताए । उनले निरन्तर बढेको सेयर बजारमा भित्रि कारोबार पनि हुन सक्ने भएकोले यसमा सजग रहनु पर्ने पनि बताएका छन् । उनले बैठकमा पनि सेयर बजार अर्थतन्त्रको ऐना भएको धारणा राखे । उनले मौद्रिक नीति र बजेटलाई एकसाथ राखेर अगाडि बढ्नु पर्ने बताए ।
के कार किन्दै हुनुहुन्छ ? एनआईएमबीले दिन्छ ८.८२ प्रतिशत ब्याजमै कर्जा
काठमाडौं । के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) कार किन्दै हुनुहुन्छ वा ईभी कार किन्ने योजना बनाउँदै हुनुहुन्छ ? र, सस्तो ब्याजदरमा कर्जा लिने बैंकको खोजिमा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । किनभने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बैंकिङ क्षेत्रमै सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साउन महिनाका लागि ८.८२ प्रतिशत ब्याजदरमा ईभी कार कर्जा उपलब्ध गराउने भएको हो । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले ईभीमा कम ब्याजदरमै लोन उपलब्ध गराउने बैंकले जनाएको छ । हरियाली यात्राको साथ ईभी कार कर्जाको साथ भन्ने नाराका साथ बैंकले साउन महिनाका लागि मात्रै ८.८२ प्रतिशतमै कर्जा दिने जनाएको छ ।
अब नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने
काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि यसको गृहकार्य भइरहेको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहिबार बसेको बैठकमा पनि यो विषयमा छलफल भएको छ । बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले नेपालमा मात्र एसईई दिएपछि नर्सिङ पढ्न पाउने व्यवस्था रहेको बताउँदै अब कक्षा १२ पास भएपछि मात्र पढ्न मिल्ने गरी आयोगले काम सुरु गरिरहेको बताए । शिक्षा ऐनले कक्षा १२ लाई विद्यालय तहको शिक्षामा राखेपछि विद्यालय शिक्षा पछि मात्र प्राविधिक शिक्षामा आउने व्यवस्था भएकाले अब नर्सिङमा पनि यस्तै व्यपस्था गर्न लागिएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए । यसका लागि आयोगले गृहकार्य गरिरहेको उनको भनाइ छ । यो विषयमा अध्ययन गर्न गत वर्ष नै कार्यदल बनाइ काम सुरु भइसकेको छ । त्यो कार्यदलले बनाएको मापदण्ड आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई दिने तयारी गरेको छ । कक्षा १२ पछि पीसीएल निर्सिङ पढाउँदा विद्यार्थी पनि परिपक्क हुने र सिकाइ राम्रो सिकेर गुणस्तरिय सेवा दिन सक्ने काप्रीको विश्वास छ । अहिले यसको काम भइरहेकाले कुन वर्षदेखि कार्यन्यवनमा आउाछ भन्नेमा भने अझै एकिन भएको छैन ।
माछापुच्छ्रे बैंकले कैलालीको विद्यालयमा निर्माण गर्यो खानेपानी सेवाको पूर्वाधार
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । यही साउन १८ गते शुक्रबार औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेकाले बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
किन सर्याे प्रतिनिधिसभाको बैठक ?
काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।
तीन राज्यमन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्को सङ्ख्या २५ पुग्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ हुन् । शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए। योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को सङ्ख्या २५ पुगेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । संसदबाटै विश्वासको मत नलिई उनले राजीनामा दिने घोषणा गरेका हुन् । केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए । तर, अन्ततः राजीनामा दिएका हुन् ।