आइतबार सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण
स्वर्गद्वारी । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन
काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् । कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे । बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।
स्मार्टफोनले घटायो भारतको गरिबी
काठमाडौं । द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसंघीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्न सक्षम भारतको प्रशंसा गरेका छन् । उनले कसरी भारतका ग्रामीण क्षेत्रका मानिसहरूले स्मार्टफोनको माध्यमबाट भुक्तानी गर्न र बिलहरू तिर्न सक्षम भएको उदाहरण दिँदै यसले उनीहरूको समय र पैसासमेतलाई वचत गरेको बताए । फ्रान्सिसले संयुक्त राष्ट्रको खाद्य र कृषि संगठन (एफएओ)ले आयोजना गरेको ’वर्तमान र भावी पुस्ताका लागि शून्य भोकतिर प्रगतिको गति’ विषयक छलफल कार्यक्रममा बताए, ‘द्रूत विकासका आधारमध्ये डिजिटलाइजेसन एक हो । उदाहरणका लागि, भारतलाई हेर्नुहोस् । भारतले गत ५–७ वर्षमा केवल स्मार्टफोनको प्रयोग गरेर ८० करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न सक्षम भएको छ ।’ फ्रान्सिसले उच्च इन्टरनेट सेवाको विकासका कारण नै भारत ग्लोबल साउथका अन्य देशहरूको तुलनामा विकासोन्मुख रहेको जोड दिए । ‘बैङ्किङ प्रणालीसँग कहिल्यै सम्बन्ध नभएको भारतका ग्रामीण किसानहरू पनि आफ्ना सबै व्यवसायहरू स्मार्टफोनमार्फत लेनदेन गर्न सक्षम भएका छन् । भारतमा उच्च स्तरको इन्टरनेट पहुँचले ८० करोड मानिस गरिबीबाट मुक्त भएका छन् । डिजिटलाइजेसनको विकासको प्रारम्भिक चरणको रूपमा यस असमानतालाई सम्बोधन गर्न केही विश्वव्यापी पहल आवश्यक छ,’ युएनजीएका अध्यक्षले भने । डिजिटाइजेसनको विकास प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रमुख लक्ष्यमध्ये एक रहेको छ । पछिल्लो दशकमा देशमा डिजिटल भुक्तानी लेनदेनमा द्रूत वृद्धि देखिएको छ । प्रधानमन्त्री मोदीले डिजिटाइजेसनलाई प्रोत्साहित गर्न ‘जेएएम’ पहल, जनधन, आधार र मोबाइल लागू गरेका छन् । यसअन्तर्गत मानिसहरूलाई आफ्नो बैंक खाता खोल्न प्रोत्साहित गरिएको छ र हरेक खातालाई आधारकार्डसँग लिंक गरिएको छ । यसले देशभरका मानिसहरूलाई विभिन्न सरकारी योजनाहरू र सामाजिक लाभ भत्ता उनीहरूको खातामा सिधै पुग्न मद्दत गरेको छ । रासस
बीमा कम्पनीहरू ठूलो रकमको पोलिसीमा केन्द्रित, सवा ४१ अर्बको व्यवसाय
काठमाडौं । आर्थिक क्षेत्र सुस्ताएको बेलामा पनि निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय वृद्धि गरेका छन् । अन्य क्षेत्रमा मन्दी छाएको भएपनि बीमा बजारमा भने त्यसको असर नपरेको तथ्याङ्कले देखाउँछ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूले ४१ अर्ब १७ करोड रुपैयाँ बढीको व्यवसाय गरेका हुन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब २१ करोड रुपैयाँको मात्रै व्यवसाय गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष निर्जीवन बीमा व्यवसाय २.३८ प्रतिशत बढेको हो । गत वर्ष अधिकांश बीमा कम्पनीहरूको बीमालेख संख्या घटेको भएपनि व्यवसाय भनेको बढेको देखिन्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्सबाहेक सबै बीमा कम्पनीको कुल बीमाशुल्क बढेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै ओयिन्टल इन्स्योरेन्सले ४४.१४ प्रतिशत व्यवसाय वृद्धि गरेको छ । यस कम्पनीले गत असारसम्म २ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो । यस्तै नेशनल इन्स्योरेन्सको १७.६४ प्रतिशत बढेर १ अर्ब १९ करोड रुपैयाँ, सानिमा जिआईसीको १२.६४ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ, हिमालयन एभरेष्टको ११ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ७.७५ प्रतिशत बढेर ३ अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ७.४८ प्रतिशत बढेर ३ अर्ब १४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् । यस्तै प्रभु इन्स्योरेन्सको ७.१८ प्रतिशत बढेर १ अर्ब ७७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६.१२ प्रतिशत बढेर २ अर्ब ५५ करोड रुपैयाँ, सगरमाथा लुम्बिनीको ४.४९ प्रतिशत बढेर ४ अर्ब ७८ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २.८९ प्रतिशत बढेर ५ अर्ब ४७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ०.२८ प्रतिशत बढेर १ अर्ब ५९ करोड रुपैयाँको व्यवसाय गरेका हुन् । तर, गत वर्ष सिद्धार्थ प्रिमियरको ५.६४ प्रतिशत घटेर ४ अर्ब १७ करोड रुपैयाँ, युनाइटेड अजोडको २०.२३ प्रतिशत घटेर २ अर्ब ७२ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३१ प्रतिशत घटेर १ अर्ब ५९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । अधिकांश बीमा कम्पनीको बीमालेख संख्या घट्यो गत असारसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ लाख ४९ हजार ९३४ वटा बीमालेख (पोलिसी) बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी बीमलेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले २७ लाख ९२ हजार ५१३ वटा बीमालेख बिक्री गरेका थिए । समग्रमा बीमा कम्पनीहरूको बीमालेख संख्या बढेको देखिएपनि ८ वटा बीमा कम्पनीको भने घटेको छ । समीक्षा अवधिमा व्यवसाय घटेको भएपनि राष्ट्रिय बीमा कम्पनीले बीमालेख संख्या भने ह्वात्तै बढाएको छ । यस कम्पनीको २३०.३९ प्रतिशत बढेर २ लाख ३० हजार ९३८ वटा बीमालेख बिक्री गरेको हो । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ हजार ९३३ वटा बीमालेख जारी गरेको थियो । यस्तै नेपाल इन्स्योरेन्सको ११.५९ प्रतिशत बढेर २ लाख २ हजार ३५१ वटा, नेको इन्स्योरेन्सको ९.१२ प्रतिशत बढेर २ लाख ९७ हजार १८६ वटा, शिखर इन्स्योरेन्सको ६.४० प्रतिशत बढेर ३ लाख १७ हजार १५७ वटा, प्रभु इन्स्योरेन्सको ४.४० प्रतिशत बढेर १ लाख २३ हजार ८५१ वटा, ओरिएन्टलको २.८१ प्रतिशत ४१ हजार ३९७ वटा बीमालेख बिक्री गरेका छन् । यस्तै नेशनल इन्स्योरेन्सको ३.०८ प्रतिशत घटेर ३२ हजा ८६६ वटा, आइजिआई प्रूडेन्सियलको ३.९८ प्रतिशत घटेर २ लाख ३२ हजार ५२३ वटा, हिमालयन एभरेष्टको ४.७८ प्रतिशत घटेर २ लाख ५० हजार १२५ वटा, एनएलजी इन्स्योरेन्सको ५.२७ प्रतिशत १ लाख ९० हजार २७१ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यस्तै सिद्धार्थ प्रिमियरको ११.७७ प्रतिशत घटेर २ लाख ९९ हजार ४७ वटा, सगरमाथा लुम्बिनीको १३.२२ प्रतिशत घटेर २ लाख ८६ हजार ३६७ वटा, सानिमा जिआईसीको १६.२२ प्रतिशत घटेर १ लाख ४५ हजार ७३० वटा र युनाइटेड अजोडको १७.७२ प्रतिशत घटेर २ लाख १२५ वटा बीमालेख बिक्री गरेका हुन् ।
रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल तानियो (तस्बिरहरू)
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । लगनखेल थतिटोलबाट बिहीबार रथ तानेर जावलाखेल पुर्याइएको हो । सातगाउँमा सतुंगल, नैकाप, मत्स्येगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । परम्परागत बाजा, झाँकिसहित रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । गत वैशाख २७ गते बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिव १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
वीरगञ्ज । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । गत आर्थिक वर्षमा आठ सय ९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि आव २०७/८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८/७९ मा भने एक हजार चार सय ८८ वटा उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए। ‘गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगीरव्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।’ आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ छुट्टाछुटै एक सय ७९ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने रु एक अर्ब पाँच पाँच करोड ९८ लाख सात हजार चार सय ५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती थपिएका हुन् ।
आधा दर्जन लघुवित्तमा ५ बीमा कम्पनीको लगानी
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थामा बीमा कम्पनीहरूले लगानी गरेको पाइएको छ । विभिन्न ५ बीमा कम्पनीहरूले ६ लघुवित्तमा करिब साढे १६ करोड बढी लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, महुलि लघुवित्त, फरवार्ड लघुवित्त र मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्थामा सूर्यज्योति लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ र सन नेपाल लाइफले सेयर लगानी गरेका हुन् । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूर्यज्योति लाइफ र नेपाल लाइफले ४ वटा लघुवित्त संस्थामा लगानी गरेका छन् । सूर्यज्योति लाइफले विभिन्न लघुवित्तमा ३ लाख ४ हजार ३६९ कित्ता र नेपाल लाइफले ६ लाख ४४ हजार ८९२ कित्ता सेयर लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्तमा सूर्यज्योति लाइफ र नेपाल लाइफले लगानी छ । जसमा सूर्यज्योति लाइफको ०.५६ प्रतिशत अर्थात् ७३ हजार ३५ कित्ता र नेपाल लाइफले ०.६८ प्रतिशत अर्थात् ८८ हजार ३६७ कित्ता सेयर लगानी गरेका हुन् । यस्तै निर्धन उत्थान लघुवित्तमा नेशनल लाइफ र नेपाल लाइफको लगानी रहेको छ । यस लघुवित्तमा नेशनल लाइफको २ प्रतिशत अर्थात् ५ लाख २२ हजार ४१५ कित्ता र नेपाल लाइफको ०.६८ प्रतिशत अर्थात् १ लाख ७८ हजार २५८ कित्ता सेयर लगानी छ । मिथिला लघुवित्तमा नेपाल लाइफको २.०८ प्रतिशत अर्थात् ४० हजार ७६६ कित्ता सेयर, महुलि लघुवित्तमा सूर्यज्योति लाइफको २.१० प्रतिशत अर्थात् ६७ हजार ७५९ कित्ता सेयर लगानी छ । फरवार्ड लघुवित्तमा विभिन्न तीन बीमा कम्पनी नेपाल लाइफ, एशियन लाइफ र सूर्यज्योति लाइफको लगानी रहेको छ । जसमा नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, एशियन लाइफ र सूर्यज्योति लाइफको ०.८०÷०.८० प्रतिशत अर्थात् ८४ हजार ३७५ कित्ता सेयर स्वामित्व छ । मेरोमाइक्रोफाइनान्स लघुवित्तमा सन नेपाल लाइफको ०.७९ प्रतिशत अर्थात् १ लाख ४ हजार १४५ कित्ता र सूर्यज्योति लाइफको ०.६० प्रतिशत अर्थात् ७९ हजार २ सय कित्ता सेयर लगानी छ ।