पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच
कास्की । पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो । मापदण्डभन्दा बाहिर रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सवारीसाधनहरूको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालिअन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरूलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए । ‘पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरूको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ,’ कार्यालय प्रमुख गौतमले भने । जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए । बसहरूको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ । इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिए । ‘परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारबाही हुन्छ,’ उनले भने । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिए । गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उनले माग गरे । अध्यक्ष गुरुङले भने, ‘गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।’
देशभरि २५ जनामा हैजा पुष्टि, २४ जना काठमाडौं उपत्यकाका
काठमाडौं । मुलुकभरि हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
झापामा दुई महिनामै १ करोड ८० लाखका सुपारीका बिरुवा बिक्री
झापा । जिल्लामा दुई महिनाको अवधिमा १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट १ लाख ५० हजार बिरुवा बिक्री भएको बताए । ‘अहिले बर्खाको समयमा किसानहरूले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ । उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जाकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उनले १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । किसानहरूले सुपारीका बिरुवा प्रतिगोटा एक सयदेखि एक सय २० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् । ‘सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरूलाई बेच्दै आएको छु’, उनले भने, ‘मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।’ भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरू होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउँछन् । ‘सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन’, उनले भने, ‘किसान साथीहरू होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।’ सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ । झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् । खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ । नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए । उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको जानकारी दिए । यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् ।
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ९सुपरजोन०को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित प्याकेजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए । ‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ’, उनले भने । उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा १४ लाख रुपैयाँ सहयोग गरेको थियो । केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारीः पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजी ८० रुपैयाँका दरले प्याकिङ गरिएको आलु बजार पठाएको हो । ‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने । उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् । उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’ उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरणा मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सन्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए । जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रको नौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । रासस
गलकोटमा डेंगी र स्क्रब टाइफसका बिरामी बढे
गलकोट । जिल्लामा साउनयता २६ जनामा डेंगी पुष्टि भएको छ । डेंगी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। साउनमा जिल्लाभर २६ जनामा डेंगी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । ‘गलकोट डेंगी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ’, जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, ‘अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेंगी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।’ गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेंगी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए। उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराखेको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए। ‘असारमा खोज र नष्ट गरअभियान सञ्चालन गरेका थियौँ । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौँ’, पौडेलले भने, ‘दुई वर्ष अघिसम्म डेंगी र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।’ डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सर्तकता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररूपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उनले उल्लेख दिए। गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिए । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ । ‘दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेंगी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ’, डा पौडेलले भने , ‘गलकोटमा उच्च सर्तकता अपनाउन आवश्यक छ ।’ अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिंगाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेंगी सङ्क्रमण भने नदेखिएको उनले जानकारी दिए। लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा पौडेलले बताए। यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउने रहेको उनले उल्लेख गरे ।
स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व स् चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन्। उनले भने, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुने जाने बताए। उनले भने, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।’ स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ । बालरोग विशेषज्ञ डा गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् । उनले भनिन्, ‘आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भने, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।’ शिशु जन्मिएको ६ महिनापछि मात्रै पूरक खाना खुवाउन उपयुक्त हुने उनले बताइन् । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले बताइन् । अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताइन् । कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्राडा. सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताए । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उनले बताए । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उनको भनाइ छ । स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए । उनले भने, ‘कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्याउँछ ।’ पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधी खोजी गर्नेहरू पनि आफू के मा आउने गरेको भन्दै डा. पोखरेले भने, ‘स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।’ कार्यक्रममा डा पोखरेलले पछिल्ला वर्षहरूमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा नौ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । यो तथ्यांक अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उनका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पुर्याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरू विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो । कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।
पातारासी गाउँपालिकाद्वारा २६४ आयोजना सम्पन्न
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलले बताए । पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि रु १२ करोड ३६ लाख बजेट खर्च भएको छ । कुल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ । सो पालिकाले सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ । आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिए । गत आवमा पालिकाको विनियोजित रु ४४ करोड ८५ लाख बजेटमध्ये कूल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु १७ करोड ६५ लाखमध्ये रु १२ करोड ४२ लाख अर्थात् ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ रु २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख अर्थात् ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ । भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। विकास निर्माणलाई सही रूपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ। पूर्वाधारको पुँजीगत खर्च ७४ प्रतिशत पूर्वाधार विकास कार्यालय जुम्लाले गत आव २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ। कार्यालयको वार्षिक विनियोजन जम्मा बजेट रु ५७ करोड ३२ लाख ४२ हजार मध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएको छ। अर्थात् कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिए। पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजारमध्ये रु ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ। पुँजीगततर्फ कूल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भने, ‘चालुतर्फ रु एक करोड २४ लाख ५४ हजार बजेटमध्ये रु ९७ लाख ४२ हजार अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।’ पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ । गत आवमा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी, १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति, नाला निर्माण तीन किमी निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताए । कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत नौ वटा घर निर्माण भइ सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीन वटा स्थानीय तहमा झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् ।
संरक्षणको पखाईमा कचन कवल (तस्बिरहरू)
काठमाडौं । कचन कवल (नेपालीः कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर, नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रूपमा घोषणा गरिएको छ । तर, अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से। सम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ । न्युज एजेन्सी नेपाल