संरक्षणको पखाईमा कचन कवल (तस्बिरहरू)
काठमाडौं । कचन कवल (नेपालीः कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर, नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रूपमा घोषणा गरिएको छ । तर, अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से। सम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ । न्युज एजेन्सी नेपाल
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भने, ‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग पनिहो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी संकलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।’ उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्रीको भनाइ थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरूकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीहरूको भूमिकाको सराहना गर्दै उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोही अनुरूप साथ दिन महासंघलाई आग्रह गरे । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले संघीय संरचना अनुरूप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताए । उनले विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवहरूको आधारमा औद्योगिक व्यवसाय ऐनमा सामयिक परिमार्जनको आवश्यकता औल्याए । महासंघका पूर्वअध्यक्षहरू वासु गिरी र लता प्याकुरेल, श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासंघ बागमती प्रदेशका उपाध्यक्ष रामकृष्ण खड्का, महासंघ बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठ, महासंघ काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, भक्तपुर जिल्ला अध्यक्ष प्रेम खर्बुजा, भक्तपुर जिल्ला पूर्वअध्यक्ष विरेन्द्र जत्ति, काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, महासंघका कार्यकारिणी सदस्य विनोददेव पन्त, डिल्लीराम गिरीलगायतको सहभागिता रहेको थियो ।
एकीकृत निर्देशन २०८० मा संशोधन, निर्माण कम्पनीलाई कर्जा प्रवाहमा ‘क्रेडिट रेटिङ’
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरूले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारका रूपमा लिनुपर्ने हुन्छ । हाल५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित कर्जा र १ अर्ब वा सो भन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ । एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बण्डलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । ‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ,’ संशोधित एकीकृत निर्देशनमा भनिएको छ । त्यसैगरी, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायतका क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ । ‘बैंक तथा वित्तीय संस्थाले रु दुई करोडसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ,’ एकीकृत निर्देशनको संशोधनमार्फत् राष्ट्र बैंकले भनेको छ ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याइने बताएका छन् । शुक्रबारदेखि साताको चार दिन थाइ एयर एसियाले भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ओलीले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताएका छन् । उनले लेखेका छन्, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ, हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ, यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ ।’
सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर
नारायणगढ । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ । उनीहरूको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । प्रमुख मियाँले भने, ‘नवलपुरका एक बालकको उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो, अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।’ यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् । सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी राखेर उपचार गरिने उनले बताउनुभयो । अकास्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ । सर्पदंशका बिरामीको उपचार गर्न अस्पतालको सघन उपचार कक्षमा छुट्टै श्यया राखिएको छ । हाल अस्पतालको सघन उपचार कक्षमा तीन सर्पदंशका बिरामीको उपचार भइरहेको प्रमुख मियाँले बताए ।
दूध बेचेर मासिक एक लाख आम्दानी गर्दै दाङका घर्ती
दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिक रूपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् । ‘मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने बताउँदै ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने, ‘भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।’ घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक रूपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर रहेका छन् । उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए । ‘दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ,’ उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ । बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउँछन् । दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्दछ । भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन् । त्यसका लागि उनी थप संरचना निर्माण गर्ने तयारीमा छन् । व्यावसायिक रूपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए । फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ । रासस
एनआईएमबी एस क्यापिटल १३औं वर्षमा, ४१ लाख बढी ग्राहकले पाए सेवा
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शुक्रबार १२ वर्ष पूरा भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल शुक्रबारदेखि १३औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुलारुपी म्युचुअल फण्ड लन्च गरेको थियो । कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।’ हाल एनआईएमबी एस क्यापिटलले १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ । साथै, एनआईएमबीले हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्न गर्दै आइरहेको छ । साथै, ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आइपिओरएफपिओ जारी गर्न सफल रहेको छ । कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्यसचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हाँसिल गरेको उपलब्धिलाई बधाई दिनुका साथै आगामी दिनको सफलताको लागि शुभकामना व्यक्त गरे । एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड(एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ । हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ । एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरू प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत
भद्रपुर । झापामा नगदेबालीका रूपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ’, उनले भने । सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउँछन् । ‘मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ’, उनले भने । अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउँछन् । उनका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउँछिन् । ‘बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रूपमा आम्दानी भइरहन्छ,’ उनले भनिन् । राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउँछन् । ‘पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ’, उनले भने ।