मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखलामा आबद्धता अभिवृद्धि हुनसक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिष्टिक्स’ लागत न्यूनीकरण हुनसक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्नसक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुनसक्ने, सूचना प्रविधि सेवा लगायतका सेवा निर्यात अभिवृद्धि हुनसक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।
एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला
काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो कम्पनीमा स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौला केहि समय कृषि विकास बैंकको अध्यक्ष जिम्मेवारी बहन गरेका थिए । तत्कालिन सरकार परिवर्तन भएपछि उनले कृषि विकास बैंकबाट राजिनामा दिएका थिए । उनै निरौलाले विगत एक वर्षदेखि एनएलजीमा सञ्चालकको रुपमा रहेका भएतापनि उनी अहिले कम्पनीबाट बाहिरिएका छन् । उनले घरायसी कारणले कम्पनीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।
नेपालमै एमबीबीएसको इन्टर्नसिप दिन नपाएर छटपटाइरहेका विद्यार्थी
काठमाडौं । सर्लाहीका नवीन यादव बंगलादेशमा प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्दै थिए । तर, बंगलादेशमा विद्यार्थीको आन्दोलन चर्किँदा देश नै अशान्त बन्यो । उनी फर्केर नेपाल आए । अहिले उनी नेपालमै बसिरहेका छन् । विदेशमा पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था भइदिएको भए अहिले उनी कुनै अस्पतालमा बिरामीको सेवामा व्यस्त हुन्थे । तर, नेपालमा इन्टर्नसिप गर्न नपाउँदा अहिले नेपालमा त्यत्तिकै बस्नुपर्ने उनको बाध्यता छ । हुन त नवीनलाई बंगलादेशमा पढ्न जाने रहर थिएन । उनले नेपालमै पढ्न धेरै प्रयास पनि गरे । तर, सीमित कोटाका कारण स्वदेशमै एमबीबीएस पढ्न पाएनन् । नेपालमै पढ्न नपाउँदा बुबाआमाको सम्पत्ति धितो राखेर उनी परदेश लागे । बोली र भाषा फरक भएको देशमा पक्कै पनि नेपाल जति सहज हुँदैन । र, पनि मिहिनेत गरी पढे । उनले एमबीबीएस पास गरे । तर, जुन देशमा विद्यार्थीले अध्ययन गरे, त्यही देशमा इन्टर्नसिप गर्नुपर्ने नेपालको बाध्यात्मक प्रणालीले उनी एक वर्ष थप बंगलादेशमा बस्नुपर्यो । नवीन यादव डोटीका अनिस खड्का पनि अहिले बंगलादेशबाट फर्केर नेपालमा त्यत्तिकै बसेका छन् । एमबीबीएसको अन्तिम वर्षमा अध्यनरत उनी परीक्षा दिन नपाउँदै नेपाल फर्कनुपर्यो । बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएपछि नेपाल फर्किन बाध्य उनी अहिले त्यत्तिकै बसिरहेका छन् । ‘अब कहिले सहज अवस्था हुन्छ, कहिले पढ्न पाइन्छ, पहिले कोभिडमा त्यस्तै भयो, अहिले फेरि अवस्था उस्तै आयो,’ अनिसले विकासन्युजसँग भने । उनी पनि पाँच वर्ष बंगलादेशमा पढेर परीक्षा दिइसकेपछि नेपालमै इन्र्टनसिप गर्न पाउँदा आर्थिकदेखि हरेक कुरामा सहज हुने बताउँछन् । बाध्यताले विदेश पढ्न जानुपर्छ नेपालमा पढाइ हुने चिकित्सा शिक्षामा सिमित कोटा छुट्याइको छ । कोटाभन्दा बढी विद्यार्थी पढाउन पाइँदैन । जसका कारण डाक्टर बन्न मन लागेका विद्यार्थी पढाइबाट बञ्चित हुनुपर्ने अवस्था छ । नेपालमा पढ्न नपाउँदा कतिपय विद्यार्थी बंगलादेश, भारत र चीन लगायतका देशमा जानुपर्ने बाध्यता छ । अनिसले आजभन्दा ६ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयको मेडिकल परीक्षा पास गरे । उनले आफू पढ्न किस्ट मेडिकल कलेज रोजे । उनी भर्ना प्रक्रियाबारे बुझ्दै थिए । उनलाई एकदिन फोन आयो, ‘तीन दिनभित्र ५० प्रतिशत रकम ल्याई भर्ना हुनु आउनुपर्यो ।’ उनलाई कलेजबाट फोन आउँदा शुक्रबार थियो । पछिल्लो दिन शनिबार । आइतबारसम्म पैसा जुटाउन समस्या भयो । अनिश खड्का उनले केही दिनको समय दिन अनुरोध गरे । प्रतिउत्तरमा उनलाई सीट छोड्न भन्ने जवाफ आयो । ‘तिमीले त्यो सिट छोड्याे भने तिम्रै पछाडि झोलामा पैसा लिएर भर्ना गर्न आइसकेका छन्,’ अनिस भन्छन्, ‘यहाँ पढ्न खोज्दा पनि पैसाको बार्गेनिङ हुन्छ,’ विकासन्युजसँग गुनासो गर्दै उनले भने, ‘नेपालमा नाम निकाल पनि पैसा जुटाउन नसकेर बंगलादेश जानुपर्यो ।’ पेप्सीखोलाकी स्तुती कार्की पनि नेपालमा पढन् नपाउँदा विदेश जानुपरेको बताउँछिन् । विदेश पढ्न जाँदा नेपालको भन्दा बढी पैसा खर्च गर्नुपर्ने बताउँदै उनी पढिसकेपछि एक वर्ष गर्नुपर्ने इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने बताउँछिन् । नवीन, अनिस स्तुतिजस्ता धेरै विद्यार्थी बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । उनीहरू सबैजना अहिले नेपाल फर्केका छन् । सबैजनाको पीडा एउटै छ । माग पनि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने रहेको छ । आफ्नै देशमा हेपाह प्रवृति बंगलादेशमा चिकित्सा शिक्षा अध्यन गरिरहेका विद्यार्थीले पढेर नेपाल आउँदा आफूहरूमाथि हेपाह प्रवृत्ति हुने गरेको तितो अनुभव सुनाएका छन् । बंगलादेशमा पढेर आएका ६५ प्रतिशत विद्यार्थी लाइसेन्समा फेल हुने गरेको भन्दै नेपालमै आफूमाथि हेर्ने नजर फरक रहेको उनीहरूले बताएका छन् । स्तुतिले आफ्ना समस्या लिएर सम्बन्धित निकायमा जाँदा जिम्मेवार व्यक्तित्वले नै विभेदात्मक अभिव्यक्ति दिने गरेको अनुभव सुनाइन् । बंगालदेशमा पढेर आएका विद्यार्थीलाई मेडिकल काउन्सिलले समेत कमजोर, नजान्ने , जबर्जस्ती पास भएर आएका भन्ने तरिकाको व्यवहार गरेको उनको गुनासो छ । स्तुति कार्की अहिले अन्तिम सेमेस्टर पढ्दै गरेकी स्तुति यस्ता व्यवहार र अभिव्यक्तिले मानिसकरूपमा दबाब पर्ने गरेको सुनाउँछिन् । नवीनले पनि मेडिकल काउन्सिल, एशोसिएसन लगायतका विभिन्न संस्थाका कर्मचारीबाटै नराम्रो व्यवहार हुने गरेको बताए । ‘नेपालमा पढाइ हुने किताब र बंगलादेशमा विद्यार्थीले पढ्ने किताब एउटै हुन्, तर हामीलाई बंगलादेशबाट पढेर आएपछि कमजोर हुन्छन् भन्ने धरणा राखिएको छ यो गलत हो’, अनिस भन्छन्, ‘३ घण्टाको परीक्षाले हामीले वर्षभरि पढेको कुरालाई मापन गर्न सक्दैन ।’ उनी प्रश्न गर्दै भन्छन्, ‘नेपालमा कन्सलटेन्सी खोल्न हुने, म्यानपावर खोल्न हुने, विद्यार्थीलाई बाहिर पढ्न जाउ भन्न हुने तर विद्यार्थीलाई नेपालमै होल्ड गर्न सकिँदैन भने कस्तो प्रणाली हो यो ?’ आफ्ना समस्या सुनाउँदा नेपाल मेडिकल काउन्सिलले नेपालमा जो पायो त्यही विद्यार्थी आउन थाले भन्ने गैर जिम्मेवारपूर्ण जवाफ दिएको उनीहरूले बताएका छन् । नेपालमै इन्टर्नसिप हुनुपर्ने माग अहिले बंगलादेशमा अध्ययन गरिरहेका करिब तीन हजार विद्यार्थी स्वदेश फर्केका छन् । उनीहरू अहिले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल लगायतका विभिन्न निकाय धाइरहेका छन् । बंगलादेशमा पढाइ सकेपछि स्वदेशमै इन्टर्नसिप हुनुपर्ने माग गर्दै विभिन्न निकाय धाइरहेका हुन् । त्यहाँ पढेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्केर काम गर्छन् । इन्टर्नसिपमा उनीहरूले बंगाल भाषामा इन्टर्नसिप गर्नुपर्ने हुन्छ । त्यहाँ इन्टर्नसिप गर्दा र नेपालमा आएर काम गर्दा फरक हुने उनीहरूको गुनासो छ । बंगलादेशमा इन्टर्नसिप गर्दा उताकै औषधीको नाम चिन्नपर्छ जुन नेपाल आएर काम हुँदैन । ‘नेपालमा आएर नेपालकै औषधीको नाम सिक्यौँ भने काम गर्न सहज हुन्थ्यो, स्तुति भन्छिन, ‘यहाँ इन्टर्नसिप गर्दा यहाँको मेडिकल सिस्टमलाई पनि बुझ्न सकिन्थ्यो, नागरिकलाई पनि सेवा गर्न सकिन्थ्यो, बंगलादेशमा समस्या निकै भोग्नुपर्यो ।’
साढे ५ करोड खर्चेर बन्यो पैयूँ गाउँपालिकाको भवन
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ । प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० रुपैयाँ लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए । निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक एक लाख रुपैयाँ भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताए । पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिए । रासस
डेंगीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौं उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र नाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त नेपाल माइक्रोले चुँक्ता पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्न लागेको छ ।
वर्षाले हवाई उडान प्रभावित; टर्किस र एयर इन्डियाको विमान भारत ‘डाइभर्ट’
काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताए । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो माग गरेका हुन् । उनले सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी समेत दिए । आफूहरु संविधान संशोधनको विपक्षमा नरहेको भन्दै विधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका संशोधन भए समर्थन गर्ने जानकारी दिए । उनले अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभइ जनताको अधिकार कटौति गर्ने उद्देश्य रहेको जिकिर गरे । दुई राजनीतिक दलहरु मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए । समानुपातिकता, समावेशिताको अधिकार कटौति गर्ने दुःशाहस सह्य नहुने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा जोड दिए । सरकार दलाल, विचौलिया, उद्योग व्यवसायीहरुलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको आरोप लगाउँदै सरकारले छुट दिए आफूले सो विषयमा बोल्ने जानकारी दिए । ‘हामी संविधान संशोधनको बिरोधी होइन, संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ त्यसलाई परिमार्जन गर्न, जनतालाई अझ धेरै अधिकार दिनका लागि यो देशका सरकार नै विचौलियाले बनाइदिएको छ’, उनले भने । अध्यक्ष दाहालले सरकार विचौलियाले बनाइदिएको आरोप लगाए ।