रहेनन् श्रवण कुमार अग्रवाल, परिसंघका अध्यक्ष राजेश कुमारलाई पितृशोक
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा निधन भएकाे छ । औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल रहेका थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन् । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य भएका थिए । गौशालालगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु हुन् ।
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । आज तोलाको २३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सोमबार प्रतितोला छापावाला सुन १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन पनि तोलाको ७ सय रुपैयाँले घटेर १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँ दरले घटेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२४.५२ प्रतिशत बढ्यो महालक्ष्मी विकास बैंकको नाफा
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २४.५२ प्रतिशत बढी खुद नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेर १ अबए ९३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेर २० करोड ७१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता ४.२५ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष १०.८७ प्रतिशत बढेर २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैंकको निक्षेप संकलन ७.२१ प््रतिशत बढेर ५५ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँ बढेर ११.२७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २७ करोड रुपैयाँ, लाभांश क्षमता कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा खुद नाफा २.४८ प्रतिशत बढेर १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । .ु गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत बढेर ४ अर्ब ६९ करोड रुपैयाँ, सञ्चालन मुनाफा १.५० प्रतिशत बढेर १ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश क्षमता ४.७१ प्रतिशत रहेको छ । गत असारसम्म बैंकको चुक्ता पुँजी ९.७५ प्रतिशत बढेर ७ अर्ब ४ करोड रुपैयाँ र जगेडा कोष १९.०६ प्रतिशत बढेर ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ । बैंकले गत वर्षसम्म निक्षेप संकलन ५.७५ प्रतिशत घटेर १ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ र कर्जा लगानी २.७१ प्रतिशत घटेर ९१ अर्ब ९० करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी १.२९ रुपैयाँ घटेर १८.१५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ ।
४ कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया, मूल्य १०१ रुपैयाँदेखि ८३३ रुपैयाँसम्म
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ वटा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो । बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर आज साउन २२ गतेदेखि बिक्रीमा राखेको हो । बैंकका अनुसार निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरो मूल्य निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानीको प्रतिकित्ता ८३३ रुपैयाँ, सूर्याेदय वोमीको प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योतिको प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन २९ गतेभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।
एचआईडीसीएलले डेढ अर्ब बढीको सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले डेढ अर्ब रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले साउन २९ गतेदेखि १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो । साउन २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह ‘क’ उप समूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री नभएको सेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त सेयर खरिद गर्न ईच्छुकले भदौ ६ गतेसम्म लिन चाहेको कित्ता दर रेटसहित बोलपत्र पेस गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका अनुसार उक्त सेयर खरिद गर्ने सेयरधनीहरू समूह ‘क’ उप समूह ‘क–२’ को ‘अन्य संस्थापक’ उप समूहमा रहनेछन् । साथै उक्त सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् एचआईडीसीएलप सङ्केतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीको उक्त सेयरमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैकका शंखमुल नयाँबानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, आर्दशनगर वीरगञ्ज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, मिलनचोक बुटवल, बाग्लुङ्ग बजार, त्रिभुवन चोक नेपालगञ्ज, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
पर्यटनमन्त्रीको कार्यतालिका : बुधबार महाशाखासँग छलफल गर्ने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत उनले एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका बनाएका छन् । पर्यटनमन्त्री पाण्डेले मन्त्रालयले निर्धारण गरेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए । आगामी भदौको पहिलो बुधबार अर्थात् ५ गते संस्कृति महाशाखा, भदौ १२ गते पर्यटन महाशाखा, भदौ १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिए । मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सम्बन्धमार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे । आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरेका छन् ।
बङ्गलादेशको आन्दोलनले नेपाल त्रसित, गरियो उच्च सुरक्षा निगरानी
काठमाडौं । बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो । केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए । ‘नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ । विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ,’ उनले भने । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य मुलुकबाट मानिसको घुसपैठ हुनेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए ।