ब्रिटिश काउन्सिलले गर्यो एजेन्ट र परामर्शदाताहरूसँग छलफल
काठमाडौं । ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्ने उदेश्यले छलफल गरेको जनाइएको छ । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौंमा एजेन्ट र परामर्शदाता बैठक बोलाई छलफल गरेको थियो । बैठकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा कसरी सफलता दिलाउने भन्ने विषयमा छलफल भएको थियो । ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क (AQF) जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ । सन् २०१९ सँग यस्तै तथ्याङ्कलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो। उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गरेको बताइन् । ‘६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं,’उनी भन्छिन्,‘ हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा, र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ।’
द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्न लागेको हो । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए । विद्यार्थीलाई विश्वव्यापी रुपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालित यस कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न ल्याब, पुस्तकालय, छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान रहेका छन् । शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीहरूले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ । विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय रुपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको यस कलेजमा बिबिएम, बिसिए, बिए एसडब्लु, बिबिएस र एमबिएसका साथै कक्षा ११ र १२ का कक्षाहरू पनि सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बिबिएम र बिसिएका कार्यक्रममा आइबिएमसँगको सहकार्यले विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको ढोका खुल्ने उनले बताए । साथै विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारी प्राप्त गर्न सफल हुने उनको दावी छ । न्यौपानेले भने, ‘सम्पूर्ण उत्तिर्ण विद्यार्थीहरूलाई रोजगारीको ग्यारन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आइबिएमको तालिम, त्यसले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सीपहरूले निपूर्ण बनाउने र उद्यमशीलता समेत प्रवर्द्धन गर्छ’, उनले भने, ‘जसबाट उनीहरू आफ्नै पेशा व्यवसाय सफल रुपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’ जुनसुकै आर्थिक अवस्थाका भएपनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट वञ्चित हुनु हुँदैन भन्ने कलेजको मान्यता रहेकोले यी विषय अध्ययनका लागि न्यूनतम शुल्क नै कायम गरिएको उनले बताए ।
लघु र हवाई बीमाको व्यापारमा उछाल, किन घट्यो मोटर र कृषि बीमाको बजार ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार ३४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएपनि गत आर्थिक वर्षमा भने ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ । यस्तै, यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भएको छ भने १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बीमा क्रमशः १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो । गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसाय सामान्य रुपमा वृद्धि भएको छ । निर्जीवन बीमाको व्यपार ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । निर्जीवन तर्फको मूख्य व्यवसायको रुपमा हेरिएको मोटर बीमाको बजार भने घटेको छ । निर्जीवन बजारको ४० प्रतिशतको हिस्सा ओगट्ने मोटर बीमाको व्यापार गत आवमा खुम्चिएको हो । मोटर बीमाको बजार ५.५६ प्रतिशतले खुम्चिएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मोटर बीमाको व्यापार ७४ करोड रुपैयाँले घटेको हो । यस्तै, कृषि बीमाको बजार ११.२५ प्रतिशतले घटेको हो । सरकारबाट बीमा अनुदान वापतको रकम भुक्तानी नपाएपछि बीमा कम्पनीहरुले करिब अढाई महिना कृषि बीमालेख जारी गर्न रोकेका थिए । सोही कारणले पनि यो पोर्टफोलियोको व्यापार घटेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् । यस्तै, समून्द्रिक बीमालेख अन्तर्गतको बजार १.७४ र इन्जिनिरिङ्ग तथा निमाण क्षेत्रको बीमा बजार ०.९६ प्रतिशतले घटेको छ ।
सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
कुलमानलाई कारबाही गरे आन्दोलनमा उत्रिने चेतावनी
काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’ कार्यकारी निर्देशक घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत महशुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब वक्यौता रकम असुलीको लागि चट्टानझैँ उभिएको स्मरण गर्दै मोर्चाले भनेको छ, ‘कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदालाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।’ साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरुको आन्दोलनमा ऐक्वेबद्धता जनाइदिनका लागि अपिल समेत गरेको छ ।
भवन र सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न अध्यक्ष सिलवालको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रीया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताए । अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरीब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित वर्गलाई दीर्घकालिन रुपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए । अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्दै त्यसबाट नागरिकहरुलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारबाही, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भुमिका सम्बन्धी प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरुलाई मर्का परेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए ।
सरकारले सहकारीको लिखत पारित गर्दा शुल्क लिन नपाउने, राजस्व गुम्ने
काठमाडौं । अब सहकारीको लिखत पारित गर्दा शुल्क नलाग्ने भएको छ । बागमती प्रदेशको आर्थिक तथा योजना मन्त्रालयले भूमी व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र काट्दै सहकारीको धितोबन्धक वा दृष्टिबन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्क (सेवा शुल्क) नलिन निर्देशन दिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०८० भदौ ६ गते आदेश जारी गर्दै रिटको अन्तिम किनारा नभएसम्म सहकारीको लिखत रजिष्ट्रेसन गर्दा सहकारी ऐन, २०७४ को व्यवस्था अनुसार शुल्क लिने कार्य नगर्नु/नगराउनु भनेपछि मन्त्राललयले शुल्क नलिनका लागि विभागमा पत्राचार गरेको हो । ‘हाल सो रिट निवेदनको अन्तिम किनारा (फैसला) नभइसकेको परिप्रेक्ष्यमा उक्त रिटमा सर्वोच्च अदालतबाट यस अघि भएको अन्तरिम आदेशलाई खण्डन गरि अर्को आदेश वा अन्तिम फैसला भएको खण्डमा सहकारीको धितोबन्धक वा दृष्टिबन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्क (सेवा शुल्क) लिने व्यवस्था आवश्यक हुने हुँदा प्रदेश आर्थिक ऐन, २०८१ मा सो व्यवस्था राखिएको बेहोरा अवगत गराउँदै माथि उल्लिखित रिट निवेदनको फैसला हुँदा फैसला बमोजिम हुनेनै हुँदा हाललाई सर्वोच्च अदालत, संवैधानिक इजालसवाट मिति २०८०/०५/०६ मा भएको आदेश बमोजिम सहकारीको लिखत रजिष्ट्रेसन गर्दा सहकारी ऐन, २०७४ को व्यवस्था अनुसार शुल्क लिने कार्य नगर्नु/नगराउनु हुन जानकारी गराइएको बेहोरा आदेशानुसार (सचिवस्तर) अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।
हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण
काठमाडौं । हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण भएको छ । हिमालयन बैंकले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको हो । साउन २१ गतेदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जारी गरेको बैंकले जनाएको छ । उक्त शाखाको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् ।