साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न वन कभर र लिबर्टी कलेजबीच समझदारी
काठमाडौं । साइबर सुरक्षा कम्पनी वन कभर प्राइभेट लिमिटेड र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । लिबर्टी कलेज ग्लोबल कलेजको एक मात्र स्वामित्व र व्यवस्थापनमा रहेको छ । र, यसले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रम सुरु गरेको छ । यस संस्थागत सहकार्यको उद्देश्य कलेजमा साइबर सुरक्षा जागरूकता, शिक्षा, र घटनाको व्यवस्थापनलाई उल्लेखनीय रूपमा वृद्धि गर्नु भएको बताइएको छ । उक्त सहकार्यले लिबर्टी कलेज र विशेष गरी यसको विद्यार्थी समुदायका लागि सुरक्षित र जानकारीयुक्त डिजिटल वातावरण प्रदान गर्ने छ । वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेज तथा यसको मातृ कम्पनी ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरुले वन हबको टोलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । साथै, लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीका शैक्षिक प्रमुख डा. समीर खरेल र लिबर्टी कलेजको टोली उपस्थित थिए ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार नुवाकोटमा भएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयले दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको जनाएको छ ।
४५ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ८० जनाको निधन, कुन कम्पनीको हेलिकप्टर कति पटक दुर्घटना ?
काठमाडौं । नेपालमा हवाइ यात्रालाई असुरक्षाका रुपमा लिन थालिएको छ । विभिन समयमा एकपछि अर्को दुर्घटनाले नेपाली आकाश असुरक्षित छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । नागरिक उडड्यन प्राधिकरणका अनुसार पछिल्लो ४५ वर्षको अवधिमा नेपालमा ४० वटा हेलिकप्टर दुर्घटना भएका छन् । विभिन्न समयमा भएका हेलिकप्टर दुर्घटनाको कारण हालसम्म ८० जनाले ज्यान गुमाएका छन् । नेपालमा सञ्चालित भीभीआईपी, हिमालयन हेलिकप्टर, नेपाल एयरवेज, कर्णाली एयर, गोर्खा एयरलाएन्स, एसिएन एयरलाइन्स, मनकामना एयरवेज, सिम्रिक एयर, एयर डाइनेस्टी, श्री एयरलाइन्स हेली हान्सा, फिटसल एयर, मनाङ एयर र माउन्टेन हेली कम्पनीको हेलिकप्टर हालसम्म दुर्घटनामा परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । [pdf id=502406]
दुबई एयरपोर्टको आवागमनमा वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को पहिलो छ महिनामा चार करोड ४९ लाख यात्रुको आवागमन भएको दुबई विमानस्थलका सञ्चालकले बुधबार जानकारी दिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भएको दुबई विमानस्थलले जनाएको छ । सन् २०२३ को पहिलो छ महिनामा उक्त विमानस्थल भएर आवागमन गर्ने यात्रुको सङ्ख्या चार करोड १६ लाख रहेको थियो । ‘यस वर्षको पहिलो छ महिनामा हवाई आवागमनमा रेकर्ड तोड्ने गरी भएको प्रदर्शनले विश्वव्यापी उड्डयन मार्गको रूपमा हाम्रो रणनीतिक महत्वलाई उजागर गर्दछ,’ प्रमुख कार्यकारी पल ग्रिफिथ्सले भने । उनले भने, ‘हामीसँग बाँकी वर्षका लागि धेरै आशावादी दृष्टिकोण छ, र हामी सन् २०२४ को लागि पूर्वानुमान गरिएको नौ करोड १८ लाख अतिथिहरूको आवागमनको वार्षिक रेकर्ड तोड्ने मार्गमा छौँ । सन् २०१८ मा यो विमानस्थलले आठ करोड ९१ लाख यात्रुलाई सेवा दिएको थियो, जुन महामारीअघिको सबैभन्दा व्यस्त वर्ष हो ।’ गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता यस क्षेत्रमा उथलपुथल भए पनि पहिलो छ महिनामा वर्षको सकारात्मक नतिजा आएको हो । ग्रिफिथ्सले भने, ‘भारतजस्ता प्रमुख स्रोत बजारहरूको बलियो माग र चीनजस्ता बजारहरूको क्रमिक तर निश्चित पुनरुत्थानले हाम्रो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।’ हवाई यात्रावृद्धिले दुबईलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न प्रेरित गरेको छ, जसले २०१० देखि खाडी वित्तीय हबको हवाई ट्राफिकको अपेक्षाकृत हिस्सा प्राप्त गरेको छ । यसै वर्षको सुरुमा धनी संयुक्त अरब इमिरेट्स (युएई) ले दुबईको बाहिरी इलाकामा अल मकतूममा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको थियो, जुन खाडी इमिरेट्सका शासकले लगभग ३५ अर्ब डलरको लागतमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल हुने बताएका थिए । पूर्ण रुपमा सञ्चालनमा आएपछि विमानस्थलको वार्षिक २६ करोड यात्रु क्षमता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । परियोजनाको पहिलो चरण १० वर्षमा तयार हुने अपेक्षा गरिएको छ, जसमा एक वर्षमा १५ करोड यात्रुहरूलाई सेवा दिने क्षमता छ । युएईका अधिकारीले यसले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्न चाहन्छन् । यसले वार्षिक १२ करोड यात्रुहरूलाई सेवा दिनसक्छ । शहरी वस्ती रहेका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक विस्तार असम्भव छ । रासस
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए ।
एक वर्षमा खाद्यसम्बन्धी २ हजार ४३० उद्योग नवीकरण, १ हजार ४१७ उद्योग दर्ता
फाइल फोटो काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८०/२०८१ मा म्याद गुज्रिएका, ऐन, नियम निर्देशिका बमोजिम नपाइएका १ करोड १ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको खाद्यपदार्थ नष्ट गरेको छ । बुधबार विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराएको हो । गत आर्थिक वर्षमा विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३ हजार ६६३ पटक गरेको बताएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खाद्य तथा दाना उद्योग अनुगमन ३ हजार २७७, होटल रेष्टुरेन्ट अनुगमन २ हजार ५८५, रेपिड रेस्पोन्स अनुगमन ५४३, हाट/बजार/मेला/महोत्सव अनुगमन १ सय १६, संवेदनशिल खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक गरी कुल ११ हजार २ सय ३ पटक अनुगमन गरेको बताए । उनले गत आर्थिक वर्षमा १४८ वटा होटल रेस्टुरेण्ट स्तरीकरण गरिएकोमा ९ वटाले अति उत्तम, ३४ वटाले उत्तम, ४२ वटा सामान्य र ६३ वटाले सन्तोषजक पाएको बताए । भन्सार विभागमा खाद्य पदार्थ नियमनका क्रममा विभागले १२ वटा विभिन्न भन्सार बिन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयबाट खाद्य तथा पेय पदार्थहरूका ४६ हजार ९४८ वटा नमुनाहरूको जाँच विश्लेषण गरी नियमन गरेकोमा ४५ वटा नमूनाहरु प्रतिकुल पाएको बताए । नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३ हजार ३५७ वटा नमूनाको आरबिपिआर विधिबाट जीवनाषक विषादी अवशेष परीक्षण गरिएकोमा ३७ नमूना प्रतिकुल पाइएको उनले बताए । विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट प्रदान गर्ने खाद्य तथा दाना पदार्थको विश्लेषण सेवालाई सहज र थप प्रभावकारी बनाउन अनलाइन प्रणालीमा आधारित प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली (ल्याबोरोटरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) प्रणालीको विकास गरी सञ्चालन गरेको बताए । प्रतिकुल पाइएका खाद्य तथा दाना पदार्थहरू उत्पादन तथा बिक्री गर्ने व्यवसायीहरूलाई गत आर्थिक वर्षमा १७८ वटा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । प्रवक्ता महर्जनले १७८ मुद्दामध्ये प्रशोधित पिउने पानीका ४५, खाद्यान्न÷दलहनका २९, गुलियो पदार्थ÷कम्फेक्सनरीका २२, फल तथा सागपातजन्य पदार्थका ३ वटा, चिया÷कफी ३, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ रहेको बताए । त्यसमध्ये ६१ वटा मुद्दा दुषित, ५९ वटा मुद्दा न्युन गरणस्तर र ३५ वटा मुद्दा लेबल सम्बन्धित रहेको र २३ वटा खाद्य ऐन नियम निर्देशिक उल्लंघन सम्बन्धित रहेको बताए । पत्रकार सम्मेलनमा बोल्दै विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले सम्पूर्ण खाद्य श्रृंखलाको प्रत्येक चरणमा खाद्य स्वच्छता कायम हुनुपर्ने गरी काम गरिरहेको बताइन् । उनले विभागमा जनशक्ति थप हुनु जरुरी रहेको बताइन् । उनले संघीयता लागु भइसकेपछिको अवस्थामा सरकारले महत्व दिएर जनशक्ति थपिएको भए पनि पर्याप्त नहुँदा केही जटिलता आएको बताइन् । जनताले महशुस गर्ने गरी काम गर्न थप प्रयोगशालाको निर्माण गरी प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘बजार सुधारका लागि हामीले विभिन्न कामहरु गरिरहेका छौँ, विभिन्न उद्योग पनि नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले पनि के भन्छ भने कुनै पनि खाद्यवस्तु उत्पादनको लागि उत्पादनकर्ता स्वयं पनि जिम्मेवार हुनुपर्छ, त्यही बमोजिम नयाँ राजपत्रमा वैशाख २३ गते प्रकाशन भएको यो ऐन छ, यसले स्पष्टसँग एउटा परिच्छेदमा नै विभिन्न स्टेक होल्डरहरूको दायित्व पनि छुट्याइएको छ, उसको उत्पादनको लागि उ स्वयं पनि जिम्मेवार हुनुपर्छ र त्यहीअनुसार कसुरहरु पनि ठहर गरिएको छ ।’ उनले परम्परागत खानेकुराको गुणस्तर कस्तो हुने भन्नेबारेमा पनि विभागले काम गरिरहेको बताइन् । उनले विभागले गुणस्तरको लागि बजार अनुगमनलाई तीव्रता दिएको पनि बताइन् । उनले गुणस्तरमा कैफियत देखिए कारबाही गरेर अघि बढ्ने बताइन् । उनले स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयलाई थप प्रभावकारी बनाउने गरी विभाग अघि बढीरहेको पनि जानकारी दिइन् । आर्थिक वर्ष २०८०/२०८१ मा विभागका प्रयोगशालाहरुबाट छुर्पी, चिया, कफी, खाद्यान्न, अचार, तयारी चाउचाउ, महका नमूना लगायत गरी २६ हजार ३०७ वटाको प्रयोगशाला परीक्षण भएको छ । त्यस अवधिमा उद्योग अनुज्ञापत्र जारी ९३३ वटा, उद्योग नवीकरण २ हजार ४३० वटा, उद्योग स्थापनार्थ दर्ताको सिफारिस १ हजार ४१७ गरी ४ हजार ७८० उद्योगहरुलाई सिफारिस गरेको विभागले जनाएको छ ।
यही हो दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टर, यस्तो छ दुर्घटनाको रेकर्ड
काठमाडौं । नुवाकोटको सुर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको खुलेको छ । काठमाडौबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको निधन भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको बुझिएको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार रहेको बताइएको छ । यसअघि सन् २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । ९एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । सो दुर्घटनामा एयर डाइनेस्टी तथा यति एयरलान्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको पनि निधन भएको थियो । अहिले टनामा एयर डाइनेस्टीको नेतृत्व पवित्रकुमार कार्कीले गरिरहेका छन् । उनी कम्पनीको प्रबन्ध निर्देशक छन् । नागरिक उडड्यन प्राधिकरणका अनुसार यस कम्पनीको हेलिकप्टर सन् २००६ मा ९एन एसीआर हेलिकप्टर धवलागिरी बेस क्याम्पमा दुर्घटनामा परेको थियो भने सन् २००५ मा पनि ९ एन एजीजी हेलिकप्टर रामेछापको ढोसेमा दुर्घटना भएको थियो । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।
सेयर बजारको उत्साह कायम रहला ?
काठमाडौं । सेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेको थिए । बैंक तथा इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको सेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्यांक छ । खासगरी सेयर बजारमा जलविद्युत कम्पनीहरूको उपस्थिति बढिरहँदा बैंकहरूको हिस्सा घटेको देखिन्छ । पछिल्ला वर्षहरूमा जलविद्युतसहित अरू उत्पादनमूलक कम्पनीहरूले पनि सर्वसाधारणलाई सेयर जारी गरेर पैसा संकलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैंक तथा बीमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैंक तथा बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि संख्या घटाउन काम गरेको छ । खासगरी सेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसंकेत नै हो । किनकि नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् । पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषिलगायत क्षेत्रको पनि प्रवेश बढिरहेको छ । यद्यपि, हाल नेप्सेमा १२ वटा समूहगत परिसूचक मापन गर्ने गरिएको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, बीमा कम्पनी, म्युचुअल फन्ड, होटल, उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत् र अन्य समूहका परिसूचकहरूलाई नेप्सेले गणना गर्छ । यसरी सेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले सेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रूपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको सेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता संकटका कारण बढेको ब्याजदर र सेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अंकबाट पनि तल झरिसकेको नेप्से परिसूचकांक अहिले भने हालै आएको आव २०८१/८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अंककाे छेउछाउ आइसकेको छ । अब क्रमशः सेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरूमा पुनःविचार गर्दै गैरआवासीय नेपालीलाई पनि सेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरूका लागि २० करोडको क्याप हटाएको छ । सेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ । केही हप्तायता बजार निरन्तर बढिरहँदा सेयर बजार पुँजीकरण पनि बढेको छ । २०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडाअनुसार सेयर बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब नाघेको छ । जुन कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा १४ खर्ब मात्र कम हो । कुनै बेला अर्थात् तीन हजार तीन सय अंकमा मार्केट पुगेको बखत ४० खर्बको पुँजीकरण भएको सेयर बजार अहिले नेप्सेमा थपिएका कम्पनीहरूका कारण ४४ खर्ब पुगेको छ । खासगरी सेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरू बढिरहेका देखिन्छन् । नेपालको सेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा सेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र सेयर बजारले नै दर्साउछ । त्यसकारण पनि सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको संकलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ । अहिले नेपालमा सेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरूको संख्या २०८० चैतसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाको संख्या नै २६ लाख नजिक पुगेको तथ्यांक छ । यद्यपि, आर्थिक मन्दी, तरलता संकटलगायत कारण सेयर बजार सुस्ताउँदा अहिले सेयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् । जे होस् पछिल्लो वर्षहरूमा नेपालमा सेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ । पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैंककाे चर्को ब्याजदरविरुद्ध व्यसायीहरूले गरेको आन्दोलनले ठूलो दबाब परेको हो । बैंकहरूकाे ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैंककाे ब्याजदर घट्दा विगतदेखि नै सेयर बजार बढ्ने गरेको दखिन्छ । त्यसकारण आगामी दिनहरूमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेटलगत्तै आएको मौद्रिक नीतिले पनि सेयर बजारलाई उत्साह दिएको छ । सेयर बजारलाई कता डोर्याउने भन्ने कुरामा मौद्रिक नीतिको धेरै भूमिका हुनेगर्छ । यद्यपि, मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ । विगतका वर्षहरूमा मौद्रिक नीतिमा सेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएकामा यसपटक धेरै नै खुल्ला गर्ने गरी प्रोत्साहनकारी रूपमा मौद्रिक नीति आयो । मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि केही खुकुलो गरी आयो । फलस्वरूप सेयर बजारमा हरियाली छाएको देखिन्छ । गत वर्षहरूमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि सेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । अहिले ती व्यवस्था हटाइएको छ । फलस्वरूप सेयर कारोबारको ‘भोलुम’ र नेप्से परिसूचक निरन्तर बढिरहेका छन् । विगतमा तीन हजार तीन सय अंककाे नेप्से परिसूचकांक पुगिरहँदा बजारमा एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । अहिले त्यो रेकर्डसमेत ‘बे्रक’ भएर नेप्सेमा झन्डै २२ अर्ब (रु २१ अर्ब ९१ करोडसम्म) करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । यसले समग्रमा आशा जगाएको छ । वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्यांकीय हिसाबले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र तथ्यांकीय रूपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभाव क्रमशः पर्दै जाने बताएका छन् । ब्याजदर घटिरहेको छ । त्यसकारण सेयर बजार उकालो लागिरहने देखिन्छ । सेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आमसर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताहरूले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरुले समेत आफ्ना बुझाइ सच्च्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् । सरकारले पनि सेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । सेयर बजारले आमसर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, सेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले सेयर बजारमा धेरै मान्छेहरू आकर्षित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहिणीको उपमा दिएका महिलाहरूको संख्या नै सेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिलाहरू कति सशक्त रूपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को सेयर बजारबाट सरकारले १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा गफमा सीमित हुन्छ । रासस (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)