पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला । अविरल वर्षासँगै मंगलबार राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
नेशनल लाइफको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन
काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग गरेकी छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले संविधानले अधिकार दिए पनि प्रयोगमा नआएको बताइन् । मातृ भाषा पढाउनेहरू धेरै भए पनि दरबन्दी शिक्षकलाई व्यवस्थापकले पैसा उठाएर आफ्नो स्रोतबाट मातृभाषा शिक्षक राख्नुपर्ने विडम्वना रहेको बताइन्। विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा उनले ऐन बनाउँदा सो विषयलाई छुटाउन नहुने भनाइ राखिन् । समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले विद्यालय शिक्षालाई बलियो बनाउन संघीय संरचनालाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् । उनले तीन तहको सरकार छ भन्ने कुराको बोध गर्नसके विद्यालय शिक्षा बलियो बन्ने जिकिर गरिन् । उनले परीक्षा बोर्डले तोकेको मापदण्डभित्र बसेर कार्यविधि बनाउन जरुरी रहेको बताइन् । उनले परीक्षा सञ्चालनको विधि के, व्यवस्थापन र प्रमाणीकरण विषयलाई प्राविधिक र सैद्धान्तिक विषयलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नेग री मेकानिजम बनाउन आग्रह गरिन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विद्यार्थीलाई पढ्ने की सिकाउने भन्ने कुरामा स्पष्ट नरहेको जिकिर गरे । २०७२ सालको नेपालको संविधानले जिल्ला शिक्षा कार्यालय नचिन्ने तर जिल्लाको कार्यालयहरुले खर्च बढाइरहेको बताए । संविधानको अवलम्वन, अभ्यास गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधवार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो ।
दुर्घटनास्थलबाट ५ जनाको शव काठमाडौं ल्याइँदै
काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा भएकाे दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको निधन भएको छ।
दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा : २० करोड रुपैयाँ दाबी आउन सक्ने
काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको सलिको इन्स्योरेन्स स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको १८ करोड रुपैयाँ बराबरको बीमा गरिएको छ भने यात्रूहरूको २० हजार अमेरीकी डलर र हेलिकप्टर पाइलटको १ लाख अमेरीकी डलरको बीमा गरिएको कम्पनी स्रोतले बतायो । तर, हेलिकप्टरको बीमामा बीमाङ्क रकमको ५ प्रतिशत कट्टा गरेर बाँकी रकम दाबी भुक्तानी दिईने बीमालेख शर्तमा उल्लेख छ । त्यसैले हेलिकप्टर कम्पनीले बीमा दाबी बापत १७ करोड १० लाख रुपैयाँ पाउनेछ । कम्पनी स्रोतका अनुसार मृतक पाइलटका परिवारले भने एक लाख डलर अर्थात् १ करोड ३३ लाख रुपैयाँ र ४ जना यात्रुका परिवारले भने प्रतिव्यक्ति २० हजार डलरका दरले ८० हजार डलर अर्थात् १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउनेछन् । यदि सो हेलिकप्टरमा कार्गाे अथवा कुनै सामाग्रीमा क्षति भएको छ भने पनि बीमा कम्पनीले क्षतिको विवरण हेरेर दाबी भुक्तानी दिनेछ । साथै हेलिकप्टर दुर्घटना हुँदा तेस्रो पक्षलाई पनि क्षति भएको छ भने त्यसको दायित्व पनि बीमा कम्पनीले बेहोर्ने छ । तर, कार्गाे र तेस्रो पक्षको क्षतिको विवरण भने सर्भेयरले सर्भे गरेपछि मात्रै यकिन तथ्याङ्क आउने कम्पनीले बताएको छ । कम्पनी स्रोतका अनुसार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको कुल बीमा दाबी २० करोड रुपैयाँसम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रहने देखिन्छ । बीमा कम्पनीको दायित्य ३० लाख रुपैयाँ र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने बीमा कम्पनीले बताएको छ । उक्त हेलिकप्टर बीमाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स सहित विश्वका ७ पुनर्बीमा कम्पनीमा गरेको कम्पनीले बताएको छ । नेपाल रिइन्स्योरेन्सले भने ४ करोड रुपैयाँ दायीत्व बेहोर्नुपर्ने देखिन्छ ।
प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनसबापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान
काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । सम्मानपत्रसहित नगद राशि २ लाख रुपैयाँको यो सम्मान बर्सेनी प्रदान गरिँदै आएकोमा यस वर्ष थापालाई प्रदान गरिएको हो । पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा.थापालाई प्रदान गरिएको संस्थाका अध्यक्ष मधुरमण आचार्यले बताए । सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव एवंम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ कपर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एव व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन संघले विसं २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् । डा. भेषबहादुर थापा यो सम्मान पाउने २०औं व्यक्ति हुन् ।