विकासन्युज

‘मिस एप्रोच’ भएपछि टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य भने सार्वजनिक गरेको छैन । यदि ३५ दिनभित्र संस्थापकहरूले खरिद नगनरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नेशनल लाइफको ४% र सूर्योदय वोमी लघुवित्तको १४% बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यी दुवै कम्पनस्ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेशनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात नेशनल लाइफको सेयर मूल्य ७०५.७७ रुपैयाँ र सूर्योदय वोमीको सेयरमूल्य १ हजार १३.११ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको सेयर प्रतिकित्ता ७३४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्त १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज बिहीबार सोही समायोजित मूल्यका आधारमा सेयर कारोबार खुल्नेछ ।

हिमालय उर्जाको हकप्रद सेयर बिक्री बिक्री खुला

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज साउन २४ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् ।

बिहीबार पनि अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यूरोको कति पुग्यो ?

काठमाडौं । बिहीबार (साउन २४ गते) पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ चुमेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएकको हो । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । यसअघि हिजो बुधबार डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन युरो एकको खरिददर १४६.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५३ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ तोकिएको छ । यसअघि हिजो बुधबार युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ र बिक्रीदर १४६.८५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.८१ रुपैयाँ र बिक्रीदर ३०.९४ रुपैयाँ तोकिएको छ ।

इयुले युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्ने

ब्रसेल्स । युरोपेली संघ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ । परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ । परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् । कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।

सम्पत्ति विवरण पेस नगर्ने कर्मचारीको जरिवाना रकम जम्मा हुने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जरिवानाको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको खातामा जम्मा गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार राष्ट्र बैंकले बैंकहरूलाई ७७ जिल्लामा राजस्व जम्मा गर्न सहजीकरण गराउन निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सो ५ हजार जरिवाना रकम अख्तियार दुरुपयोग अनुसन्धानको संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई कोड नम्बर २०६००३५०१ मा ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग आग्रह गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार सरकारी कारोबार गर्ने बैंकहरूलाई राष्ट्र बैंकले उक्त निर्णय कार्यान्वयन गर्न भनेको हो ।

कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी

बरहथवा । काम कहिले पनि सानो ठूलो हुँदैन। मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी ४६ वर्षीय मिथलेश सहनी । कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवार आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन् । उनले दुई छोरा घरनजिकैको विद्यालयमा पढाउँछन् । सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन्। फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ। चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो । ‘अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्,’ उनले भने, ‘मानिसहरु घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ।’ सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उनीसँग अरु केही छैन। सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आएका थिए। समयमा धान काट्न उनी भारतको पञ्जाबसम्म पुगेका छन् । ‘कमाई राम्रो कहिले भएन,’ उनी भन्छन् । झन्डै १५ वर्ष पहिला उनले यसैगरी अन्न (मकै) सँग बरफ साट्ने काम गरेका थिए । आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाडे । विगत तीन वर्षबाट फेरि उनले कुल्फी बेच्न सुरु गरेका छन् । उनी हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउँछन् । त्यसपछि उनी कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्छन् । त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ। खाना खाइसकेपछि बिहान १० बजेदेखि उनको व्यापार सुरु हुन्छ । सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्छन्। साँझ घाम डुबेपछि भने उनी सिधै घर हानिन्छन् । ‘घाम डुबेपछि गाउँ पस्दिन,’ उनले भने, ‘जति व्यापार भए पनि सिधै घर पुग्छु ।’ दिनको कम्तीमा रु पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उनको भनाइ छ। ‘कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउँछु,’ उनले भने, ‘कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन्।’ पूरै बिक्री गर्दा रु दुई हजार पाँच सय फाइदा हुने उनको भनाइ छ । कुल्फी रु १० देखि ५० सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । कुल्फी बेचेर महिनाको रु एक लाखसम्म कमाइ हुने गरेको उनले बताए। केही भएन भने पनि मेहनत गर्न सक्दा उनका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन् । ‘मेहनत कडा छ,’ उनले भने, ‘दैनिक हिँड्न सक्नुपर्‍यो, भारीसहितको साइकल ५०/६० किलोमिटर ठेल्नुपर्छ ।’ कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उनको अनुभव छ। बरफबाहेक सबै कुरा आफैँ बनाउने उनले सुनाए । आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झँदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए । कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताए । वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उनको भनाइ छ । धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ । यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगारसमेत बनेर मनग्य आम्दानीसमेत गरिरहेका छन् ।