५ लाखले घट्यो ओरा ईभीको मूल्य, नयाँ मूल्य कति ?
काठमाडौं । ओरा जेरो थ्रीको मूल्य घटेको छ । भिजी इम्पेक्सले ओरा जेरो थ्रीको मूल्य ५ लाख रुपैयाँले घटाएको हो । यसअघि उक्त विद्युतीय कार (ईभी) को मूल्य ४७ लाख ४७ हजार रुपैयाँ थियो । मूल्य घटेपछि उक्त ईभी अब ४२ लाख ४९ हजार रुपैयाँमा नै पाइने कम्पनीले जनाएको छ । घटेको मूल्य शुक्रबारदेखि नै लागु हुने कम्पनीले जनाएको छ ।
जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी
काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् । स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा बर्दिवासमा नयाँ शोरुम सञ्चालन
काठमाडौं । नेपालमा व्यावसायिक सवारीसाधनको अग्रणी कम्पनी एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो ब्राण्ड–न्यू शोरुमको उद्घाटन गरेको छ । होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यही साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकका रूपमा हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनहरूको रेन्ज प्रदान गर्दछ । आफ्नो व्यावसायिक सवारीसाधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन् । डेडीकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्ने र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्ने कम्पनीले जनाएको छ । बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारीसाधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन् ।
९८.९४ प्रतिशत अंक ल्याउने कुलमानका नतिजाहरू
काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएको आज तीन वर्ष पुरा भयो । वि.सं २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई तत्कालीन प्रधानमन्त्री सेरबहादुर देउवाले पुनः प्राधिकरणको जिम्मेजारी दिएका थिए । वि.सं २०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त भएका उनै घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता गरेका थिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनका आधारमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त ल्याउन सफल भए । गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको क्रममा रहेकाले त्यसको नतिजा आउन बाँकी रहेको उनले बताए । उनी प्राधिकरणको कार्यकारी निर्देशक भने पहिलोपटक २०७३ सालमा नियुक्त भएका थिए । ८ वर्षअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्रै थियो । विद्युतीकरणको स्थितिलाई तीन वर्षअघिसम्म ८९.७ प्रतिशत पुर्याए । दोस्रोपटक भने उनले ९९ प्रतिशत पुर्याएको दाबी गरे । ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत् ग्राहक सङ्ख्यालाई बढाएर सामुदायिकसहित ५९ लाख ३५ हजार पुर्याएको उनको भनाइ छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको र अब छिट्टै देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेका थियो । तर, हाल १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ । ‘घर-घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ, देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको छ, भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेका छन्, जसले गर्दा पेट्रोलियम पदार्थको खपत घट्दा कार्बन उत्सर्जन घटाउन योगदान पुगेको छ,’ उनले भने ‘विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ, निजी क्षेत्रबाट निर्माण गरिएका ४ सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।’ उनी कार्यकारी निर्देशक बन्नुअघि प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । तर, आफूले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि विगतका दिन फर्केर हेर्नु नपरेको उनले बताए । आर्थिक वर्ष २०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । उनका अनुसार ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाएको भएपनि प्राधिकरण नाफामै रहेको उनले बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । सिंचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ । प्राधिकरणले नाफा कमाउन मात्र नभई आफ्नो सामाजिक दायीत्वलाई पनि उत्तिकै जिम्मेवारीका साथ पूरा गरिरहेको उनले बताए । प्राधिकरणले चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेर सोबाट संकलन भएको रकमले ठूला जलविद्युत आयोजनामा लगानी गर्ने उनले बताए । विगत ८ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको उनकाे भनाइ छ । यसअवधिमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रुपैयाँ पुगेको छ । देशभरी रहेको जग्गाहरूको एकिन गरी करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको उनले बताए । गत वर्ष १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार गत वर्ष भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । गत वर्ष आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ । सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । ८ वर्षअघिसम्म विद्युत वितरणतर्फका वितरण सबस्टेसनहरु ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । वितरण लाइनतर्फ ८ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ । ८ वर्ष अघिसम्म प्रणालीबाट २५.८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२.७३ प्रतिशतमा झारिएको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको छ । प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाहरु गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ भने विगत ८ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १७०६ मेगावाट थप भएको छ । जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास उर्जा ६ मेगावाट छ । २०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम
वीरगञ्जमा भारतीय नागरिकको कोठामा स्टोरी गरी राखिएको ५ करोडको भेप बरामद
पर्सा । वीरगञ्जमा एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छलेर भण्डारण गरी राखेको भेप (इलेक्ट्रिक चुरोट) पर्सा प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा शुक्रबार करिब १ बजे वीरगञ्ज महानगरपालिका-६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डी ३/ २५००० ब्रान्डको भेप छापा मारेर बरामद गरेको हो । ७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको भेपको मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ । भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
मुकेश अम्बानीको रिलायन्सले ४२ हजार कर्मचारीलाई जागिरबाट निकाल्यो
काठमाडौं । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एक वर्षअघिको तुलनामा आर्थिक वर्ष २०२३/२४ मा करिब ११ प्रतिशत अर्थात् ४२ हजार कर्मचारीलाई जागिरबाट निकालेकाे छ । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाएको जनाएको छ । यो कटौती विशेष गरी खुद्रा क्षेत्रमा भएको छ, जहाँ कम्पनीका धेरै स्टोरहरू बन्द थिए र उनीहरूको विस्तारमा पनि कमी आएको थियो । भारतको सबैभन्दा ठूलो रिटेल सञ्जाल र टेलिकम नेटवर्क सञ्चालन गर्ने रिलायन्सले नयाँ नियुक्ती संख्यासमेत घटाएको छ । आर्थिक वर्ष २०२४ मा कम्पनीको कर्मचारी संख्या ३ लाख ४७ हजार रहेकोमा एक वर्षअघि अर्थात आर्थिक वर्ष २०२३ मा ३ लाख ८९ हजार थियो । कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार नयाँ कर्मचारी नियुक्ति संख्या एक तिहाइभन्दा बढीले घटेर १ लाख ७० हजारमात्रै छ । कम्पनीले आफ्नो रिटेल व्यवसायमा सबैभन्दा ठूलो कटौती गर्यो । यसअघि आर्थिक वर्ष २०२२/२३ मा कर्मचारी संख्या २ लाख ४५ हजार रहेकोमा आर्थिक वर्ष २०२३/२४ मा कर्मचारीको संख्या २ लाख ७ हजारमा झरेको थियो । उही समयमा जियोमा एक वर्ष पहिले कर्मचारी संख्या ९५ हजार थियो । यो आर्थिक वर्ष ९० हजारमा झरेको छ । एजेन्सी
‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’
बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहजरूपमा सेवा सुविधा दिने रहेको बताए । अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भने, ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो, अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्धरूपमा काम गर्दै जानेछौँ, यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’ अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे । ‘सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो, त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ,’ मन्त्री पौडेलले भने, “गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ, अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ ।’ भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रूपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए । अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउने गरी व्यवस्था गर्न आग्रह गरे । भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने आश्वासन दिँदै उनले भने, ‘अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन ।’ सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताए । अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद दीपा शर्माले भेरी अस्पताल पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै प्रेषण केन्द्रका रूपमा रहेकाले यसको स्रोतसाधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारमा मन्त्रालयले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिइन् ।
प्रोटेक्टिभ माइक्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडाैं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र क्यापिटलबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनी नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित पाएको बीमा कम्पनी हो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हालसम्म २९ वटा कार्यालयमार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।