गाउँमा ‘हिट’ भएर काठमाडौं छिरेको टेक्नो मोबाइल
काठमाडौं । नेपाली बजारमा आएका जुनसुकै सामान वा वस्तु होस्, त्यो सुरुमा काठमाडौंमा बढी चल्छ र बिस्तारै गाउँघरतिर जान थाल्छ । तर, यसको ठिक विपरीत नेपालमा यस्तो एउटा वस्तु छ जुन पहिला हिमाल र पहाडतिरका मानिसका हात-हातमा पुगेर ‘हिट’ भएपछि बल्ल संघीय राजधानी काठमाडौं प्रवेश गर्दैछ । त्यो के होला ? त्यो हो- ‘टेक्नो मोबाइल’ । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारी टेक्नोलाई मानिसहरूले पहाडको ‘आइफोन’ भन्ने गरेको बताउँछन् । ‘हामी सबैभन्दा सुरुमा हिमाल, पहाडका हरेक मानिसको हात-हातमा पुग्यौं, त्यसपछि बिस्तारै सहर छिर्यौं र अहिले मात्रै हामी काठमाडौं पस्दैछौं,’ उनी भन्छन्, ‘जो कुनै ब्रान्ड सहरमा छाएर त्यसपछि गाउँघरसम्म पुग्छन्, तर हामी मात्रै यस्तो ब्रान्ड हौं जो पहिलै नै गाउँघरमा हरेकको रोजाइ बनिसकेर अहिले मात्रै काठमाडौं प्रवेश गर्दैछौं ।’ सुरुको दिनमा सहरबाट प्रतिस्पर्धा गर्न एकदमै गाह्रो पनि थियो त्यसैले गाउँघरमा छाएर मात्रै सहर पस्ने निर्णय गरेको उनी सुनाउँछन् । गाउँघरमा हरेकले आफ्नो ब्रान्ड प्रयोग गरिसकेपछि उनीहरूको प्रतिक्रिया राम्रो आएको उनको भनाइ छ । ‘पहिले धरातल राम्रो बनाएर त्यसपछि चलेका ब्रान्डसँग प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सोच भयो र साेहीअनुसार हामीले काम गर्यौं,’ उनी भन्छन् । अहिले टेक्नोलाई ‘पहाडको हिरो’, ‘पहाडको आइफोन’ लगायत उपनाम दिने गरेको उनी बताउँछन् । ‘सबैभन्दा कम मूल्यमा पर्फमेन्स राम्रो दिने, फोरजी राम्रोसँग चल्ने यदि कुनै पनि फोन छ भने त्यो टेक्नो मोबाइल मात्रै हो,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले सधैं ‘बिलो द लाइन’ बसेर काम गर्यौं जसको प्रतिफल अहिले टेक्नो मोबाइल नेपालको टप पाँच ब्रान्डभित्र परेको छ ।’ मोबाइल भन्नेबित्तिकै जो कोहीले मनमा आइफोन सम्झिनु स्वभाविक हो । तर, नेपालको भौगोलिक अवस्थाका कारण यहाँको हरेक क्षेत्रमा आइफोन सम्भव छैन । जसको फाइदा उठाउँदै टेक्नो माेबाइल पहाडको आइफोन बनेकाे उनी बताउँछन् । अन्य मोबाइलको तुलानामा टेक्नो मोबाइल सस्तो रहेको उनी दाबी गर्छन् । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले पनि आफूहरू पहाडको हिरो भएर चिनिन पाउँदा खुसी लागेको भनाइ राखे । ‘जब म सबैभन्दा सुरुमा टेक्नो मोबाइलको ब्राण्डिङका लागि काठमाडौं आएँ, त्यतिबेला मलाई धेरै मानिसहरूले न्यूरोडको २,४ वटा पसल लैजानुभयो र भन्नुभयो कि यो न्यूरोडमा जति पसल छ त्यसमा आफ्नो उपस्थिति देखाउन सकियाे भने मोबाइलको बजार खाइन्छ,’ उनले विगतलाई सम्झिँदै सुनाए, ‘तर, मलाई त बजार खानु मात्रै थिएन त्यसैले मैले भने कि म पहिले गाउँघरमा टेक्नो मोबाइल बेच्छु र मात्रै सहर पस्छु, त्यसपछि सबैको आवश्यकता भइसकेपछि अनि मात्रै काठमाडौंको न्यूरोडका पसलमा मोबाइल बेच्छु, मेरो यो चाहना पूरा भएको छ, आज त्यो दिन आएको छ ।’ छोटो समयमा नै नेपालको टप ५ ब्राण्ड बन्न सकेको उनी बताउँछन् । ‘टेक्नाे माेबाइल यति छोटो समयमा नै नेपालको टप ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ,’ उनी भन्छन्, ‘ग्रहकहरूको चाहना अनुसारको उत्पादन र ग्रहकको सन्तुष्टि हाम्रो पहिलो रोजाइ हो ।’ मोबाइल ब्राण्ड टेक्नोले बिहीबार मात्रै नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताएका छन् । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी भण्डारीले गरेका छन् । साथै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको उनको दाबी छ । कम्पनीले ग्रहकहरूको सन्तुष्टिलाई पहिलो नम्बरमा राख्दै १०० दिने रिप्लेसमेन्ट वारेन्टी समेत प्रदान गरेको छ । यसरी सय दिनसम्म कुनै समस्या आए तुरुन्तै फिर्ता गरिदिने टेक्नो मात्रै पहिलो मोबाइल रहेको पनि उनी दाबी गर्छन् । टेक्नो ७० भन्दाबढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो । टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट एचआईओएस अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । ब्रान्डको नेपालमा अधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको उनले बताएका छन् । कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्ने कम्पनीले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजे र खोजेअनुसार मोबाइल पाउने र सर्भिस तथा पार्टसहरू सहजै पाउने पनि कम्पनीले बताएको छ ।
आन्दोलनकारीले सर्वोच्च अदालत घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश राजीनामा दिन बाध्य
काठमाडाैं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रधानन्यायाधीश हसन राजीनामा दिन बाध्य भएका हुन् । आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन् । अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए । हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् । राजीनामाका लागि केही औपचारिकताहरू बाँकी रहेको र ती औपचारिकताहरू पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउने उनले बताएका छन् । एजेन्सी
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ। यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा. उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए । उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।’ अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा. नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए । ‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ,’ उनले भने । मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरू लागि परेको बताए । अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिँदा सेवाग्राही समस्यामा
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । ‘यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो,’ उनले भने, ‘भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो ।’ अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् । सिटिस्क्यान मेसिन बिग्रिएको करिब एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए । उनले शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँग सिटिस्क्यानको समस्या देखाउँदै नयाँ सिटिस्क्यानको माग समेत गरे । उनले पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिदैँ दोस्रो त्रैमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए । भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ ।
निराशालाई कामबाटै चिर्दै अघि बढ्छौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । आज काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए । ‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ ।’
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
काठमाडौं । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । बिहीबार साँझ सञ्चारकर्मीहरूसँग गरेको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । ‘नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ, नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो,’ चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उनले भने । नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकहरुको टोली हाल नेपालमा रहेको जानकारी दिँदै उनले पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना राजदूत छन्ले व्यक्त गरे । जलविद्युतको विकासबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न अन्तर्देशीय विद्युत व्यापार फलदायी हुने उनले बताए । अल्पविकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यमा सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राजदूतले हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो बैठकले नेपालसहित विश्वका अन्य मुलुकलाई रोजगारीका निम्ति आफ्नो श्रमबजार खुला गरेको जानकारी दिए । राष्ट्रपति सी चीनफिङको अध्यक्षतामा सम्पन्न बैठकले तीनसयभन्दा बढी कानुनी सुधारका घोषणा गरेको जानकारी दिँदै राजदूत छन्ले चीनले नेपालको विकासका निम्ति द्विपक्षीय सहायता बढाउने बताए । ‘हामी नेपालको आर्थिक वृद्धिमा योगदान गर्न चाहान्छौँ, पर्यटन प्रवर्द्धन तथा जलविद्युतको उत्पादनबाट त्यो सम्भव छ,’ नेपालमा उत्पादित बिजुली चिनियाँ बजारमा खपत गर्न सकिने उल्लेख गर्दै उनले भने । चीनले घोषणा गरेका सुधारबाट चीन र नेपालबीचको साझेदारी अझ घनिभूत हुने तथा चीनले हासिल गरेको विकासको प्रतिफल नेपालले पनि उपभोग गर्न पाउने विचार राजदूत छन्ले व्यक्त गरे। देशको चौतर्फी विकासलाई नेपालका राजनीतिक दलका नेता तथा कर्मचारीले केन्द्रमा राखेर काम गर्न जरुरी भएको आफ्नो विश्लेषण सुनाउँदै अबको पाँच वर्षमा नेपालले विकासको गति लिनेमा आफू ढुक्क रहेको बताए । परिश्रमी नेपाली जनताको विकासप्रतिको चाहाना पूरा गर्न नेपालको नेतृत्व सफल हुने उनले बताए । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य नेपालमा पर्यटनका पूर्वाधार अपर्याप्त भएकाले अधिकभन्दा अधिक पर्यटकीय संरचना निर्माणमा चिनियाँ राजदूतले जोड दिए । उनले प्रविधि हस्तान्तरणका साथै अन्य प्राविधि सहायता विस्तार गर्न चीन तयार रहेको बताए । एक फरक प्रसङ्गमा उनले विकासका पूर्वाधार तयार गर्ने उदेश्यले राष्ट्रपति सीले अघि सारेकाे ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा आबद्ध सबै राष्ट्रको हित हुने र त्यसप्रति विमति जनाउनुपर्ने कारण नरहेको बताउदै केही प्राविधिक काम पूरा नहुँदा नेपालसँग विआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुननसकेको स्पष्ट पारे । उनले केही समयभित्रै नेपाल–चीनबीच विआरआई साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताए । बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरूमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको तर्क छ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरू, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेका उनको कथन छ । ‘हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौँ,’ चिनियाँ राजदूतले भन] ।
बंगलादेशबाट भागेकी शेख हसिनाको सम्पत्ति कति छ ?
काठमाडाैं । बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर ज्यान बचाउनका लागि देश नै छाड्नुपर्यो । शेख हसिना बंगलादेशमा आफ्नो विलासी बंगला र घरजग्गा छोडेर आफ्नो ज्यान बचाउन राजधानी ढाकाबाट भारत पुगिन् । बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गरेको छ । हसिनाले बंगलादेशमा १५ वर्ष शासन गरिन् । बंगलादेश छाडेसँगै उनीसँग कति सम्पत्ति थियो भन्ने विषयमा चर्चा चलेको छ । करिब एक महिनाअघि बंगलादेशमा शेख हसिनाको घरमा काम गर्ने कामदारको सम्पत्तिको मुद्दाले निकै चर्चा पाएको थियो । शेख हसिनाको घरमा काम गर्ने चपरासी जहाँगीर आलमसँग २ अर्ब ८४ करोड भारुको सम्पत्ति भेटिएपछि उनी विदेश फरार भएका थिए । यदि उनका घरमा काम गर्ने कामदारसँग २ अर्ब ८४ करोड भारतीय रुपैयाँ सम्पत्ति थियो भने शेख हसिनाको योभन्दा धेरै सम्पत्ति होला ? सन् २०२४ को चुनावी सपशपत्रअनुसार शेख हसिनाको कुल सम्पत्ति ४ कराेड ३६ लाख बंगलादेशी टका अर्थात् करिब ३ कराेड १४ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ । शेख हसिनाको आम्दानीको सबैभन्दा ठूलो हिस्सा कृषिबाट आउँछ । शेख हसिनाको नाममा ६ एकड खेतीयोग्य जमिन छ । यसबाहेक माछापालनबाट पनि आम्दानी हुन्छ । यसबाहेक उनले आफ्नो पैसा धेरै व्यवसायमा लगानी गरेकी छन्, जसबाट उनले वार्षिक १२ लाखभन्दा बढी आउने बताइएको छ । उनले कपडा, दूरसञ्चार, बैंकिङलगायत धेरै ठाउँमा लगानी गरेकी छन् । उनले दूरसञ्चार क्षेत्रमा ठूलो लगानी गरेको बताइएको छ । यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेकी छन् । शेख हसिनाको बंगलादेशको कपडा र परिधान उद्योगमा ठूलो लगानी भएकाे बताइएकाे छ । सन् २०२२ मा शेख हसिनाले खेतीबाट ७८ लाख कमाएकी थिइन् । उनीसँग करिब १३ लाखको सुन रहेको छ । उनको नाममा रहेको ६ एकड जमिनको मूल्य ६ लाख टका रहेको छ । उनीसँग ३४ लाख टकाभन्दा बढीको प्लट छ । ब्लूमबर्ग रिपोर्टका अनुसार शेख हसिनाको लन्डनमा पनि एउटा घर छ, यद्यपि त्यो उनको नाममा नभएकाे उल्लेख छ । त्यस्तै, पर्प्लेक्सिटी एआईका अनुसार शेख हसिनाको सम्पत्ति धेरै देशमा फैलिएको छ । हसिनाको ढाकामा ३ करोड डलरको हवेली छ । सिलहटमा एउटा अपार्टमेन्ट छ, जसको मूल्य करिब १ करोड डलर रहेको बताइएको छ । उनले सिंगापुर र दुबईमा पनि केही सम्पत्ति किनेकी छन् । उनीसँग ४७ लाखको कार छ । यद्यपि, उनले यो उपहारको रूपमा पाएका थिइन् । उनको अधिकांश सम्पति बहिनी र छोराको नाममा रहेको बताइएकोे छ । एजेन्सी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट नौ हजार चार सय ८७ जनाले नागरिकता लिएका थिए । सोही अवधिमा चौध हजार आठ सय २२ जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो । गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार नौ सय चार वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए । सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार पाँच सय ८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आवमा कूल नौ हजार चार सय ८७ नागरिकता वितरण भएका थिए । स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए । कूल चौध हजार आठ सय २२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार चार सय ४३ र वालिङबाट सात हजार तीन सय ७९ वितरण भएका थिए । ‘जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’, उनले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।’