विकासन्युज

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहजरूपमा सेवा सुविधा दिने रहेको बताए । अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भने, ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो, अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्धरूपमा काम गर्दै जानेछौँ, यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’ अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे । ‘सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो, त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ,’ मन्त्री पौडेलले भने, “गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ, अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ ।’ भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रूपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए । अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउने गरी व्यवस्था गर्न आग्रह गरे । भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने आश्वासन दिँदै उनले भने, ‘अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन ।’ सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताए । अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद दीपा शर्माले भेरी अस्पताल पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै प्रेषण केन्द्रका रूपमा रहेकाले यसको स्रोतसाधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारमा मन्त्रालयले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिइन् ।

प्रोटेक्टिभ माइक्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडाैं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र क्यापिटलबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनी नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित पाएको बीमा कम्पनी हो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हालसम्म २९ वटा कार्यालयमार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

लमजुङको नयाँ पर्यटकीय गन्तव्य ‘जोडी परेवा’

लमजुङ । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको‘जोडी परेवा’ को प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ । पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा रहेको छ । सो बगैँचाको समेत संरक्षण गर्ने गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउँछन् । मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरुका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झण्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ । जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही स्थानमा २ लाख ५० हजार रुपैयाँ खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ । मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र त्यहाँ नेपालको ठूलो राष्ट्रिय झण्डा राख्ने योजना समेत वडा कार्यालयको रहेको छ । यस स्थानमा रहेका पुराना आँपका रुखहरूको संरक्षण खाली स्थानमा वृक्षरोपण गर्नुका साथै वनभोजका लागि आवश्यकपर्ने भौतिक संरचना, शौचालय निर्माण, खानेपानीको व्यवस्था लगायतको संरचना निर्माण गर्ने कार्य छिट्टै थालनी गर्ने वडाध्यक्ष श्रेष्ठले बताए । मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको स्थानीय सयपत्री बोर्डिङका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा बताउँछन् । यस पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका–११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोसमेत दृश्यावलोकन गर्न सकिन्छ । वडाध्यक्ष श्रष्ठका अनुसार सो स्थानलाई प्रवर्द्धन गर्न विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने, यहाँको हटिया बजारमा कोदोबाट उत्पादन हुने रक्सीलाई प्रवर्द्धन गर्ने योजना रहेको छ।

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता पश्चात इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहजरूपमा उपलब्ध गराउनेछ । साथै, इक्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

समृद्धि फाइनान्सको इटहरी शाखाबाट वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार संस्थाको इटहरी शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा १८ बगम्बेली फूलका बोट लगाइ सम्पन्न गरिएको हो । साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न, वित्तीय सचेतना भिडियो सार्वजनि

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारणमाझ सचेतना जगाउनको लागि #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागीता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सकाबीच उक्त भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बाहानामा ग्राहकहरूसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर ग्राहकहरूलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधिहरूको न्यूनिकरण हुने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा बैंकका उच्च व्यवस्थापनको समुह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरे ।

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन् । उनले भने, ‘म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।’ विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए । उनले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि।’ सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए । उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२/२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ । वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ । लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ । लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताए । स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउँछन् । तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताए । तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् । यसबाट डेंगुको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०।०६ प्रतिशत र हिमाली भेगमा ०।०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । सोलुमा बढ्दै डेंगुको सङ्क्रमण सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे । नमुना जाँच गर्दा उनलाई डेंगुको सङ्क्रमण पुष्टिभएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधी सेवन गरिरहेका छन् । यहाँ डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए । यसमा पुरुष १९ र महिला ८ छन् । उनले भने, ‘सोतामाङमा सङ्क्रमित भएका सबै जसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरूलाई समेत सङ्क्रमण पुष्टि भएपछि सोलुमा पनि डेंगु फैलिएको पुष्टि भयो ।’ विशेष गरी डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाँडाकुँडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए । उक्त अभियानअन्तर्गत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरूमा समेत डेंगुको सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो । यसले सर्वसाधरणलाई जनचेचना फैलिन सहयोग गर्ने भएकाले कार्यालयले सुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताए । डेंगुको सङ्क्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्ने बारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

३५ अर्ब घाटामा रहेको प्राधिकरण ८ वर्षपछि ४७ अर्ब नाफामा

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । प्रबन्ध निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै तीन वर्षको अवधिमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका हुन् । उनले तीन वर्षअघि पदवहालीका बेला ‘आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको’ सार्वजनिक गरेको बताए । यसलाई पूरा गर्न प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको थियो । देश लोडसेडिङमुक्त भएर नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । उनले आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा नेपालमा विद्युतीकरणको अवस्था ५८ प्रतिशतमात्र रहेकोमा अहिले विद्युतीकरण ९९ प्रतिशत पुगेको जानकारी दिए । उनले आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जानकारी दिए । बिकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको उनकाे भनाइ छ । अब छिट्टै देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको उनले जानकारी दिए । यस्ता छन् उपलब्धि  आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ । अब छिट्टै देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ । सुकुम्बासी वस्ति तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको छ । गाउँ बस्तीको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको छ । आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ । घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ । देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको छ, भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेका छन् जसले गर्दा पेट्रोलियम पदार्थको खपत घट्दा कार्बन उत्सर्जन घटाउन योगदान पुगेको छ । विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् । तीनवर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । त्यस्तै, सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिप्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ । यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायीत्वलाई पनि उत्तिकै जिम्मेवारीकासाथ पूरा गरिरहेको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ । यसरी, प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविश्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ । आफ्नो पूँजिको तत्कालका लागि १० प्रतिशत सेयर आमसर्वसाधारणलाई निश्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको छ । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको छ । विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । यसबाट प्रष्ट छ संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिक रुपमा लगानीका लागि एउटा दह्रो स्रोत हो । प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ । देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रुपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आ.व. मा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ । तसर्थ, गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । https://youtu.be/8kSJjhHdSa0 [pdf id=502781]