पहिराेले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध
दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका-६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरा गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिराले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए । ‘एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ,’ उनले भने, ‘पहिराको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।’ स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही राजमार्गका केही पहिरा सफा गरेका छन् । आज बिहान स्थानीयले पहिराले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए । गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिए ।
चार बीमा कम्पनीको नाफा वृद्धिमा ‘सेञ्चुरी क्रस’, नेपाल इन्स्योरेन्सलाई पछ्याउँदै सिद्धार्थ प्रिमियर
काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ । समग्रमा ५२.६२ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आव २०७९/०८० मा ४ अर्ब ८६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरूले गत आवमा भने ७ अर्ब ४२ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ४ वटा कम्पनीहरूको नाफ शतप्रतिशतभन्दा धेरैले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा वृद्धि उच्च रहेको छ । आईजीआईको खुद नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर, प्रभु र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा क्रमशः १२६.९९, ११८.१८ र १०८ प्रतिशतले बढेको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर, प्रभु र युनाइटेड अजोडको नाफा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । आईजीआईले नाफा २५१.४५ प्रतिशत वृद्धि गरेर ६० करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ९ लाखर युनाइटेड अजोडले ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । चार वटा कम्पनीको नाफा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नेपाल इन्योरेन्सको ८७.८३ प्रतिशत, सगरमाथा इन्स्यारेन्सको ८३.९६ प्रतिशत, ओरियन्टलको ८३.४२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ८२.५२ प्रतिशत खुद नाफा बढेको छ । यस्तै, नेशनल र हिमालयन एभरेष्टको नाफा क्रमशः ५२.०२ प्रतिशत र ५०.०९ प्रतिशतले बढेको छ । एनएलजी र सानिमाको खुद नाफा क्रमशः २१.७८ प्रतिशत र २०.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेको र राष्ट्रिय बीमा कम्पनीको नाफा भने क्रमशः २.७८ र १८.८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा
काठमाडौं । प्रहरीले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र संगठित अपराधमा पूरक अभियोग दर्ता गरेको हो । अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा लगाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले अदालतमा भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । बयानमा उनको नाम लिएका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि आफूले नचिन्ने बयान दिएका छन् ।
सरुवा र बढुवा माग्नेको भीडले अर्थमन्त्री आजित, मन्त्री र नेताको घर नचाहार्न आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गरेका छन् । उनले सरुवा र बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहीत हुने बताए । उनले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरू राख्नुहोला । तर, नेता र मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला, सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन्, उनीहरू राष्ट्रको सेवाभन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरू अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ, त्यो बाटो नहिँड्नु होला ।’ राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको उनले बताए । ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेशभन्दा पनि कानुन, राष्ट्र हित, नागरिक हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छन् । खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताइन् । पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरे ।
१० करोड लागतमा जाजरकोटको चौखामा बन्यो सबस्टेशन
काँक्रेविहार । नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए । जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ । सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो । यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ । भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ । सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ । कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि संघीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो । समाइला र वडावनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ । प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत जडानको काम हुन सकेको छैन । ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।
ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ मा प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरूलगायतका लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय संस्थाबाट बाट उक्त डिजिटल हस्ताक्षर लिएको जनाएको छ । डिजिटल हस्ताक्षर प्रणाली सुरु भएपश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ । भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्ने बैंकले बताएको छ। बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ ।
पोर्चुगलमा राहदानी शिविरबाट ७ करोड २० लाख राजस्व संकलन
लिस्बन । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार पाँच सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ । विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो ।