विकासन्युज

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

राष्ट्र बैंकले गर्‍यो दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जानकारी गराएको हो । राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरेको जानकारी गरेको हो । ती दुई कम्पनीले नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको जानकारी गराएको छ । ‘केन्द्रीय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप– विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

नाफामा नम्बर वान बन्यो नेपाल इन्स्योरेन्स, ८७.७८ प्रतिशत बढाउँदा ईपीएस ४२.६१ रुपैयाँ

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै नाफा हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ३७ करोड ३० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८७.७८ प्रतिशत बढेको हो । गत असारसम्म कम्पनीले ७६ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले ३४ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ, महाविपत्ति कोष ९ करोड ९२ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटी ११ करोड ७७ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २४.९६ रुपैयाँबाट बढेर ४२.६१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा छ । कम्पनीले ४५ करोड २३ लाख रुपैयाँ दीर्घकालिन लगानी र ३ अर्ब ९२ करोड २३ लाख रुपैयाँ सर्टटम लगानी गरेको छ ।

समृद्धि फाइनान्सको मधुवन शाखाबाट वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सले साउन ३० गते बुधबार संस्थाको मधुवन शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफूल र फूलका २६ बोट लगाई सम्पन्न गरिएको हो । साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भैसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै मोदी इनर्जी

काठमाडौं । मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको ५८ औं बैठकले बैंकको ऋण चुक्ता गर्नको लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगको सहमतिपछि हकप्रद सेयर निष्कासनको एजेन्डा आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।

जुम्लामा ४ हजार बढी साना तथा घरेलु उद्योग दर्ता, २४ लाख राजस्व संकलन

फाइल फोटो जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका ४ हजार २ सय १६ उद्योग दर्ता भएका हुन् । गत आवमा २ सय ४ नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य १ सय २२, सेवामूलक ६८ छन् । गत आवमा २४ लाख राजस्व संकलन भएको छ । यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

भैरहवा र पोखरा विमानस्थलका लागि टिकट, ग्राउण्ड ह्याण्डलिङ र इन्धनमा छुट, २ वर्षसम्म सहुलियत

काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताए । मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिनु सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको बताए । ‘सरकारले उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि तोकिएको समयका लागि नलिने सहुलियत लिएका छौं,’ उनले भने । उनले सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको बताए । सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको उनले बताए । इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनेको उनको भनाइ छ । उनले अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको जानकारी दिए । विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रिपरिषद्मा पेस भएको उनले बताए । सरकारले विमानस्थलमा दिने सहुलियतले विमानस्थल पूर्णरूपमा सञ्चालन हुने विश्वास उनको छ । उनले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएको भन्दै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्ने प्रयास गरिरहेको बताए । उनले पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना भएकाले परियोजना निर्माणमा राज्यको क्षतमा भन्दा ठूलो लगानी भए पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा परियोजना बनाउनको लागि लिएको ऋणको साँवा ब्याज समेत भुक्तानीमा समस्या रहेको बताए ।

निफ्राको सीईओ बने बैंकर अधिकारी, ‘पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु’

काठमाडौं । बैंकर कृष्णबहादुर अधिकारी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत बनेका छन् । असार ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनी यसअघि नेपाल बैंकको सीईओ थिए । २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारीले लगातार दुई दशक नेपाल बैंकमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए पास गरेका छन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् । अधिकारीसँग कर्जा शाखामा बढी समय काम गरेको अनुभव छ । कर्जा जोखिम विश्लेषणमा र खराब कर्जा असुलीमा अधिकारी दख्खल छन् । अधिकारीले नेपाल बैंकमा हुँदा बैंकको छवि र बिजनेस एउटा उचाइमा पुर्याएका थिए । उनले सरकारी नेपाल बैंकलाई प्रतिस्पर्धी बनाउनुका साथै विजनेस विस्तारमा पनि आक्रामक बनाएका थिए । उनले अब निफ्रालाई पूर्वाधार क्षेत्रमा अग्रणी संस्था बनाउने बताएका छन् । ‘बैंकमा पैसा राखेर ब्याज खानेभन्दा पनि कर्जा लगानी गर्ने र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्ने योजना छ, एकै चोटी सबै कुरा सम्भव हुँदैन,’ निफ्रालाई पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु,’ उनले विकासन्युजसँग भने । यस्तो थियो उनको नेपाल बैंकमा पफर्मेन्स