निफ्राको सीईओ बने बैंकर अधिकारी, ‘पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु’
काठमाडौं । बैंकर कृष्णबहादुर अधिकारी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत बनेका छन् । असार ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनी यसअघि नेपाल बैंकको सीईओ थिए । २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारीले लगातार दुई दशक नेपाल बैंकमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए पास गरेका छन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् । अधिकारीसँग कर्जा शाखामा बढी समय काम गरेको अनुभव छ । कर्जा जोखिम विश्लेषणमा र खराब कर्जा असुलीमा अधिकारी दख्खल छन् । अधिकारीले नेपाल बैंकमा हुँदा बैंकको छवि र बिजनेस एउटा उचाइमा पुर्याएका थिए । उनले सरकारी नेपाल बैंकलाई प्रतिस्पर्धी बनाउनुका साथै विजनेस विस्तारमा पनि आक्रामक बनाएका थिए । उनले अब निफ्रालाई पूर्वाधार क्षेत्रमा अग्रणी संस्था बनाउने बताएका छन् । ‘बैंकमा पैसा राखेर ब्याज खानेभन्दा पनि कर्जा लगानी गर्ने र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्ने योजना छ, एकै चोटी सबै कुरा सम्भव हुँदैन,’ निफ्रालाई पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु,’ उनले विकासन्युजसँग भने । यस्तो थियो उनको नेपाल बैंकमा पफर्मेन्स
भन्सार छलेर ल्याएका मोबाइल र जुत्ताचप्पल बरामद
झापा । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका सात लाख ६७ हजार रूपैयाँ बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो । गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ । यसैगरी, बुधबार नै मेचीनगर नगरपालिका–६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका जुत्ता, चप्पल र ५५ किलो सुपारी पनि बरामद गरिएको जनाइएको छ ।
पर्वतमा १२२ पूर्वाधार योजना पूरा
पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत १२२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट १५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा १२२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका १३३ योजना र संघीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका तथा ७ वटा मर्मत गरिएका हुन् । उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । ती योजनाको रकम पनि फ्रिज भएको छ । गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभञ्याङ–पोखराचौर सडक ८ किलोमिटर कालोपत्र गरिएको छ । यसैगरी सेराबेँसी–मोहरिया–भुकताङ्, फलेवास नगरपालिका–३ स्थित नुवार–सहिदचोक–चुुचुनदेउराली सडक पाँच सय ६० मिटर र वाँझावारी–राम्चे–चौतारा– शंकरपोखरी सडक ५ सय ६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ । सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्र : ३४ उद्योगमा ८ सयलाई रोजगारी, अधिकांश कामदार भारतीय
राँझा । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा ८ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरूले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् । ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसीले बताए । विसं २०३० मा २ सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।
यी चार प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानूमान छ । आगामी २४ घण्टामा सबै प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू-भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशत उछाल, ईपीएस ११३.२० रुपैयाँ
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४५.४५ प्रतिशत बढेर १५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले गत असारसम्म १२ अर्ब ९७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ, महाविपत्ति कोष २ करोड ९० लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोष १ करोड २६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष १६.७२ प्रतिशतको बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३४.५९ रुपैयाँबाट बढेर ११३.२० रुपैयाँ पुगेको छ ।
रेमिट्यान्स लागत ५० प्रतिशतसम्म घटाउन कार्यकारी निर्देशक पौडेलको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडलले रेमिट्यान्स शुल्क घटाउनु पर्ने बेला आएको बताएका छन् । बुधबार आइएमई र जीएमई रेमिट्यान्सबीचको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले रेमिट्यान्स लागत घटाउनु पर्ने समय आएको बताएका हुन् । हाल रेमिट्यान्सको लागत ४ प्रतिशत रहेको छ । विश्वव्यापी तुलना गर्दा उक्त शुल्क महँगो नभएपनि ५० प्रतिशतसम्म घटाउन कम्पनीहरूलाई उनले आग्रह गरे । लागत घटाउँदा रेमिट्यान्स थप वृृद्धि हुने र औपचारिक माध्यमबाट आउने उनले विश्वास गरे । ‘अहिले रेमिट्यान्सको लागत ४ प्रतिशतको हाराहारीमा छ, अन्य देशको तुलनामा यो शुल्क महँगो होइन । तर, डिजिटाइजेशन गर्दा ५० प्रतिशत घटाउन सकिने हाम्रो अनुमान छ, १४ सय अर्ब रेमिट्यान्स भित्रिँदा ४ प्रतिशत शुल्क लिँदा ५६ अर्ब रुपैयाँ लागत लाग्छ, यदि ५० प्रतिशत लागत घटाउने हो भने २८/३० अर्ब कम भएर थप रेमिट्यान्स भित्रिन सक्छ,’ उनले भने, ‘मर्जरले लागत घटाउन र रेमिट्यान्सलाई फर्मल च्यालनमा ल्याउन थप उत्प्रेरणा मिलोस् ।’ रेमिट्यान्स रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी होस् भनेर राष्ट्र बैंकले थुप्रै काम गरिरहेको उनले बताए । औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन १ प्रतिशत बढी ब्याज दिँदा करिब १२५ अर्ब निक्षेप संकलन भएको उनको भनाइ छ ।साथै आईपीओमा १० प्रतिशत सेयर दिने व्यवस्था रहेको उनले सुनाए । ठूलो पुँजी भएका रेमिट्यान्स कम्पनीलाई अन्य थप कार्य गर्न दिने गरी राष्ट्र बैंकले व्यवस्था गरिरहेको उनको भनाइ छ ।
कालिञ्चोक दर्शनको नाफासँगै बढ्यो ईपीएस, यस्ता छन् अन्य सूचक
काठमाडौं । कालिञ्चोक दर्शनको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ रहेको छ ।