मन्त्रालयहरूले १०० दिनभित्र गर्ने कामबारे छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्यमुख्य कामबारे बिहीबार छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रहेको छ । प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ६३.४७ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार ४ सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र १ हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको तथा बैठकमा त्यसबारे छलफल भएको जानकारी दिए । मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाई उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ । बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजना समयमा सम्पन्न नभएको प्रस्तुतिकरणमा उल्लेख छ । समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ । आर्थिक वर्षको सुरुआतदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए । रासस
सेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ३० अर्बको कारोबार हुँदा ३० महिनायताकै उच्च विन्दुमा
काठमाडौं । पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । यसअघि सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । साथै नेप्से ३० महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंक बढेर ३०००.८१ को विन्दुमा बन्द भएको हो । बिहीबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । लगानीकर्ताहरू बैंकिङ समूहमा झुम्मिँदा सो समूह ५.६५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सूचीकृत समूहमध्ये फाइनान्स ३.०५, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन समूह १.७३, लघुवित्त ०.१३ र अन्य समूह २.३० प्रतिशतका दरले घटेको छ भने त्यसबाहेक सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले कमाउँदा सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताहरूले ३.०५ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमको आधारका हिमालयन रि, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमश शीर्ष स्थानमा रहेका छन् । बिहिबार बुटवल पावर, राष्ट्र बिमा कम्पनी र मोदी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।
साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रूपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुंगै ढुंगाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो । सन्यास, सन्यासीहरूको आश्रमस्थलका रूपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म, संस्कार र संस्कृतिको केन्द्रका रूपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो । तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो । ‘धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ,’ उनले भने, ‘इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ ।’ ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिंग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुनःनिर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताए । जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उनले बताए । ‘समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी संघसंस्थाबाट आर्थिक संकलन गरी निर्माण कार्य गर्दै आएका छौँ,’ उनले भने, ‘यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक संकलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ ।’ गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।
कस्तो हुनुपर्छ राष्ट्रिय साइबर सुरक्षा नीति ? यस्ता छन् विज्ञका सुझाव
काठमाडौं । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ पार्न इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी परामर्श बैठक गरेको छ । टिमले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ पार्न महत्त्वपूर्ण प्रयासमा सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोवेसन र टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीको सहयोगमा राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी परामर्श बैठक आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई समावेश गरी सबल र समावेशी साइबर सुरक्षा नीति विकासमा योगदान पुर्याउने अवसर प्रदान गरेको टिमका अध्यक्ष चिरन्जीवी अधिकारीले बताए । उनका अनुसार परामर्शको उद्देश्य नीति सबै सरोकारवालाहरूको विविध दृष्टिकोण र आवश्यकतालाई समेट्ने रहेको थियो । जसले गर्दा देशभर एक सुरक्षित र लचिलो डिजिटल वातावरणलाई प्रोत्साहन दिन सकियोस् । कार्यक्रममा साइबर सुरक्षा चुनौतीहरूका बारेमा प्रमुख विचार राख्दै अधिकारीले व्यापक राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकतामा जोड दिएका छन् । अधिकारीले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्नुपर्ने महत्त्वलाई रेखांकित गर्दै यसले बढ्दो साइबर खतराबाट जोगाउन र देशका डिजिटल सम्पत्तिको दीर्घकालीन लचिलोपन सुनिश्चित गर्न मद्दत पुर्याउने बताए । त्यस्तै पूर्वडिआईजी डा. राजीव सुब्बाले नेपालमा साइबर सुरक्षा शिक्षाको महत्त्वमाथि ध्यान केन्द्रित गरे । उनले आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञहरूलाई तयारी गराउन व्यावहारिक सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रमहरूलाई सुधार गर्नुपर्ने माग गरेका छन् । फिनटेक विशेषज्ञ गणेश घिमिरेले नेपालमा सीमापार आर्थिक लेनदेनका सम्भावना र चुनौतीहरूको गहिरो विश्लेषण गरे । उनले अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा रहेका साइबर सुरक्षा कमजोरीहरूलाई उजागर गर्दै यी लेनदेनलाई सुरक्षित बनाउन सुरक्षा उपाय सुदृढ गर्नुपर्ने आग्रह गरे । घिमिरेको विशेषज्ञताले सुरक्षित सीमापार आर्थिक गतिविधिको लागि नियामक र प्राविधिक सुधार आवश्यक रहेको देखाउँछ। साइबर साक्षरता प्रवर्द्धन र नीति कार्यान्वयनको कमीमा ध्यान दिँदै इनफो डेवलपर्सको तर्फबाट प्रतिनिधित्व गर्दै रेशम भण्डारीले ग्रासरुट लेभलमा साइबर साक्षरताको महत्त्वमा जोड दिए । उनले सामान्य जनसंख्यामा साइबर खतराको बारेमा चेतना र बुझाइ वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउएका छन् । जसले सुरक्षित डिजिटल वातावरणको सिर्जना गर्न मद्दत गर्ने उनको भनाइ छ। भण्डारीको समुदायस्तरीय शिक्षा पहलमा केन्द्रित रणनीतिले राष्ट्रिय साइबर सुरक्षालाई तलबाट माथि सुधार गर्न उद्देश्य राखेको देखाउँछ । त्यस्तै, शरदचन्द्र प्याकुरेलले अहिलेका अनुकूल नीति हुँदाहुँदै पनि कार्यान्वयनको गति ढिलो रहेकोमा ध्यान दिएका छन् । प्याकुरेलले नीति निर्माण र कार्यान्वयनबीचको खाडललाई स्पष्ट गर्दै यस खाडललाई मेटाएर मात्र साइबर सुरक्षामा सार्थक प्रगति सम्भव हुने बताए । वीरेन्द्र सिंह धामीले देशमा बढ्दो साइबर अपराधको रोकथामका लागि प्रभावकारी कानुनी संरचनाको आवश्यकता औंल्याएका छन् ।
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीबिरंगी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरूको आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए । ‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,’ उनले भने, ‘केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।’ सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौंका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताए । ‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भने, ‘थरीथरीका फूलले रंगिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।’ ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।’ संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ । संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताए । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताए । ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ । ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए । रासस
नाडा अटो शोमा सार्वजनिक गरिँदै प्रिमियम सेडान दिपल एल०७
काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने नाडा अटो शोमा चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सेडान सार्वजनिक गर्ने भएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ सार्वजनिक गर्ने भएको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिन्छ । डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड-२०२३ प्राप्त गरेको कम्पनीले जनाएको छ । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ । कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ ९एआर एचयूडी० रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६।८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापाबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । साथै, क्याबीनको बीचमा १५।६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । साथै, यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउने कम्पनीको भनाइ छ । सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहने कम्पनीले जनाएको छ ।
गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल
गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार ७ सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७.५० शुन्य प्रतिशत रोपाइँ सकिएको छ । ९३ हजार ६ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै १ लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । निर्देशनालयको तथ्यांकअनुसार नवलपुरमा १८ हजार ७ सय १६, कास्कीमा १६ हजार २ सय २०, लमजुङमा ११ हजार ८ सय ७५, गोरखामा १० हजार १ सय ४०, तनहुँमा ७ हजार ६ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ । यस्तै, स्याङ्जामा १४ हजार ३ सय ९०, पवर्तमा ७ हजार ५ सय २५, बागलुङमा ५ हजार ७ सय सात र म्याग्दीमा ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ । धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ । अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताउँछन् । दुई वर्षअघि प्रतिहेक्टर ३.६ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर ३.७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ । समयमै वर्षात र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए । प्रतिकुल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए । ‘सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्,’ निर्देशनालयका प्रमुख रेग्मीले भने ।
यातायात कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले सेवाग्राहीको सवारी चालक अनुमतिपत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराइदिने भन्दै २० हजार घुस लिएको अख्तियारले जनाएको छ । आरोपपत्रमा कैद सजाय र बिगोसमेत माग गरिएको छ ।