विकासन्युज

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमँ राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाए । यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए । ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मीयसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव रहेको बैंकले बताएको छ ।

रेमिट्यान्स १६.५ प्रतिशतले बढेर साढे १४ खर्ब पुग्यो, विदेश जाने बढेको बढ्यै

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

नेपाल एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय–समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ ।

घरजग्गा कारोबार ३१.७७ प्रतिशतले बढ्दा व्यवसायीमा खुसीयाली, अब सुधार हुने अपेक्षा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा घरजग्गा कारोबार बढेको छ । घरजग्गा कारोबार बढेसँगै यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको तुलनामा चालु आवको साउन महिनामा ६.६० प्रतिशतले घरजग्गाको कारोबार बढेको छ । तर, राजस्व संकलन भने ३१.७७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको साउन महिनामा १ लाख १९ हजार ३२४ पटक घरजग्गासम्बन्धी काराबार भएको थियो भने चालु आवको सोही अवधिमा यस्तो कारोबार १ लाख २७ हजार २०६ पटक भएको छ । गत आवको साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा घरजग्गा कारोबारबाट ३ अर्ब बढी रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको तुलनामा ३१.७७ प्रतिशत बढी हो । गत साउन महिनामा कित्ताकाटको संख्या पनि बढेको छ । साउनमा ४४ हजार ४१९ पटक जग्गा कित्ताकट भएर ९५ हजार ९४९ वटा कित्तामा विभाजित गरिएको छ । गत आवको सोही अवधिमा ३५ हजार २४५ वटा कित्तालाई ७६ हजार ९७० वटा कित्तामा विभाजित गरिएको थियो । नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण घरजग्गाको कारोबार बढेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् । अध्यक्ष लोहनीका अनुसार मौद्रिक नीतिले घरजग्गा क्षेत्रको पनि केही विषय समेटेका कारण घरजग्गा कारोबार बढेको हो । चालु आवको मौद्रिक नीतिले घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यही कारणले पनि केही हदसम्म सकारात्मक प्रभाव पारेको अध्यक्ष लोहनीको भनाइ छ । तर, एक महिनाको कारोबारलाई मात्र हेरेर विश्लेषण गर्न नहुने उनकाे भनाइ छ । ‘समग्रहमा खुकुलो मौद्रिक नीतिले केही सकारात्मक प्रभाव पारेको देखियो । तर, एक महिनाको कारोबारका आधारमा विश्लेषण गर्न मिल्दैन,’ उनले भने । ऋण भुक्तानी आम्दानी अनुपातलाई ८० प्रतिशत पुर्याउनुपर्ने महासंघको माग छ । यसैगरी लोन टु भ्यालु रेसियोलाई पनि ८० प्रतिशत पुर्याउने महासंघको माग रहेको अध्यक्ष लोहनीले बताए । यी विषयहरूको सम्बोधन भएको खण्डमा घरजग्गाको कारोबर अझै बढने अनुमान उनको छ । बढी राजस्व संकल हुने १० मालपोत चालु आवको पहिलो महिना अर्थात साउनमा घरजग्गा कारबारबाट सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यलयमा  लगनखेल मालपोत कार्यालय रहेको छ । लगनखेल मापोतबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन हुँदा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २३ करोड ३७ लाख २२ हजार रुपैयाँ राजस्व संकल भएको छ । यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २२ करोड ४२ लाख ७७ हजार, मालपोत कार्यालय चावहिलबाट २२ करोड २७ लाख ८ हजार, मालपोत कार्यालय कलंकीबाट १७ करोड ३२ लाख ५६ हजार, मालपोत कार्यालय सिमाराबाट १४ करोड ६९ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, मालपोत कार्यालय कास्कीबाट ११ करोड ७२ लाख ६३ हजार, मालपोत कार्यालय चितवनबाट ९ करोड ५३ लाख ९५ हजार, मालपोत कार्यालय मनमैजु ९ कोड २१ लाख ८८ हजार र भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट ९ करोड १६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

४७ खर्बको बजार पुँजीकरणसँग लगानीकर्ता असन्तुष्ट, ‘अहिलेको अंक वास्तविक होइन’

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो यात्रामा छ । कम्पनीहरूको सेयर मूल्य बढ्दा बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार सेयर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ । तर, केही लगानीकर्ताहरुले भने नेप्सेको बजार पुँजीकरण सही नभएको तर्क राख्दै आएका छन् । उनीहरूले वर्तमान सेयर बजार पुँजीकरण सच्याउनु पर्ने विश्लेषण गर्न थालेका छन् । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत् सेयर बजार पुँजीकरणको गणनाको विधिको विषयमा अनविज्ञता प्रकट गरेका छन् । ‘ नेप्सेमा कार्यरत विज्ञ साथीलाई अनुरोध, नेप्सेको कारोबार मूल्यको आधारमा हुने नेप्सेको बजार पुँजीकरण कति हो भनी दिनु न । नेप्सेको पुँजीकरण त कारोबार मूल्यमा हुनु पर्ने होइन ?’ उनले अहिलेको बजार पुँजीकरणको गणना विधि गलत भएको धारणा राखेका छन् । नेप्सेले कुल सूचीकृत कम्पनीको सेयर संख्या र त्यसको सेयर मूल्यको गणनाका आधारमा बजार पुँजीकरण निकाल्दै आएको छ । पुँजीकरण नै सेयर बजारको आकार हो । लगानीकर्ता केशव कोइरालाले पनि अहिलेको बजार पुँजीकरणले लगानीकर्तालाई त्रसति बनाइरहेको बताएका छन् । उनका अनुसार अहिलेको बजार पुँजीकरण वास्तविकभन्दा माथि छ । उनले उदाहरण दिँदै भनेका छन्, ‘नेपाल टेलिकमको कारोबारयोग्य करिब ८ प्रतिशत सेयरको मूल्यमा आएको उतारचढावले बजार पुँजीकरणमा ठूलो हलचल ल्याउँछ । जबकि करिब ९२ प्रतिशत सरकारसँग रहेको सेयर कारोबार नै हुँदैन । वास्तविक बजार पुँजीकरण गणना कहिले होला ?’ उनीहरूले अहिलेको बजार पुँजीकरणको विषयप्रति असन्तुष्टि पोखेका छन् । अधिवक्ता तथा सेयर बजारका जानकार समेत रहेका लगानीकर्ता ज्योति दाहालले पनि नेप्सेको बजार पुँजीकरण धेरै माथि रहेको टिप्पणी गरेका छन् । अहिलेको बजार पुँजीकरण यथार्थ नभएको टिप्प्णी गर्दै उनले भनेका छन्, ‘२०७८ मा म आफैंले गणना गर्दा बजार पुँजीकरण १४ खर्ब रुपैयाँको मात्रै थियो, आजका दिनसम्म आइपुग्दा २० खर्ब पुगेको हुन सक्छ ।’ लगानीकर्ता दाहाल सेयर बजार पुँजीकरण कारोबारको आधारमा मात्रै कामय गरिनु पर्ने बताउँछन् । ‘अहिले नेप्सेको कुल बजार पुँजीकरणलाई जीडीपीसँग तुलाना गरेर चर्चा भइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन, अहिले बजारमा संस्थापक र सर्वसाधारणको सेयर गरि दुई किसिमको सेयर छन्, तीनीहरूको कारोबार गर्ने विधि फरक छ । सर्वसाधारण सेयर मात्रै दैनिक कारोबारमा आउँछ त्यसरी हेर्ने हो भने अहिलेको नेप्से बजार पुँजीकरण भनेको फ्लोट अर्थात् १६ खर्ब ८० अर्ब मात्रै हो,’ उनी भन्छन्, ’नेप्सेमा सूचीकृत सम्पूर्ण सेयर संख्यालाई आधार मान्ने हो भने चाँहि ४७ खर्ब ६५ खर्ब सहि हो । तर, ती सबै सेयर दैनिक कारोबारमा आउने सेयर होइनन् ।’ दाहाल उदाहरण दिँदै भन्छन्, ‘मानौं एउटा परिवारमा ५ जना सदस्य छन् त्यसमा ३ जना कमाउने छन् र २ जनाको कमाइ छैन भने परिवारको सदस्य ३ जना मात्रै भन्न त मिलेन नि नेप्सेमा सूचीकृत कुल सेयरमा संस्थापक र सर्वसाधारणको सेयर ठ्याक्कै त्यस्तै हो । देख्नलाई नेप्सेको बजार पुँजीकरण ४७ खर्ब हो तर कारोबार हुने १६ अर्ब मात्रै हो ।’ यस्तै, सेयर बजार विश्लेषक मुक्ति अर्याल पनि नेप्सेले हाल उल्लेख गरेको कुल बजार पुँजीकरण गलत भएको व्याख्या गर्छन् । उनी भन्छन्, ‘हाल नेप्सेले सूचिकृत सेयरलाई मूल्यले गुणना गर्दा जति आउँछ त्यसलाई नै बजार पुँजीकरण मान्छ । तर, संस्थापक सेयर दैनिक कारोबारमा आएको हुँदैनन् र तिनीहरूको मूल्य पनि सर्वसाधारणको भन्दा फरक हुन्छ । तर, नेप्सेले भने सर्वसाधारण सेयरको मूल्यलाई नै आधार मान्ने गर्छ, जुन गलत हो ।’ बजार पूँजीकरणको विषयमा थुप्रै लगानीकर्ताहरूले आफ्नो धारणा राखेका छन् । उनीहरूको भनाइ अलग भएपनि आशय भने एउटै छ– नेप्सेको बजार पुँजीकरण कति हो ? के भन्छ नेप्से ? लगानीकर्ताहरूको गुनासोपछि हामीले नेप्सेका प्रवक्ता मुराहरि पराजुलीलाई सो प्रश्न राख्यौं । उनले जवाफमा भने, ‘हामीले बजार पुँजीकरण कति हो भनेर पत्ता लगाउने विधि भनेको संसारभर चलेको विधि नै हो, त्यसमा कुनै शंका गर्नुपर्ने आधार म देख्दिनँ, सेयरको संख्या र सेयरको कुल मूल्यलाई गुणना गर्दा जुन अंक आउँछ, हामीले त्यही राख्ने हो । हामीले तलमाथि गर्दैनौं ।’ नेप्सेमा हाल राखिएको बजार पुँजीकरण विश्व बजारमा प्रयोग हुने विधिबाट नै निकालिएको उनी स्पष्ट पार्छन् । संस्थापक सेयरको मूल्य र पब्लिक सेयरको मूल्य फरक–फरक हुने गर्छ । तर, बजार पूँजीकरणमा भने पब्लिक सेयरको मूल्यलाई मात्रै आधार मान्ने गरिएको छ । लगानीकर्ताहरू भने यो विधि सही नभएको तर्क गर्छन् । तर, प्रवक्ता पराजुली भन्छन्, ‘बजार पुँजीकरण गणना गर्दा दुई थरी मूल्य राख्न मिल्दैन, एउटै मूल्य राख्नुपर्छ । र, अर्को कुरा संस्थापक सेयरको मूल्य माग र आपूर्तिले निर्धारण गर्दैन ।’ त्यति मात्रै होइन नेप्सेमा ट्रेडका आधारमा मात्रै बजार पुँजीकरण राख्नुपर्ने पनि लगानीकर्ताहरूको माग छ । नेप्सेले कुल बजार पुँजीकरण, फ्लोटको आधारमा बजार पुँजीकरण, सूचीकृत समूह लगायतको आधारमा दैनिक छुट्टा–छुट्टै रुपमा डाटा प्रकाशित गर्ने गरेको र उक्त तथ्यांक नेप्सेको वेवसाइटमा जुनसुकैबेला हेर्ने मिल्ने पराजुली बताउँछन् । ‘लगानीकर्ताहरूले कारोबारको आधारमा मात्रै बजार पुँजीकरण राख्न माग गर्नुभएको छ, त्यसको लागि हामीले फ्लोट मार्केट क्यापिटलाइजेसन राखेका छौं, जुन हामीले धेरै अघिबाट नै राख्दै आएका हौं,’ उनी भन्छन्, ’फ्लोट मार्केट क्यापिटलाइजेसनमा संस्थापक सेयर वा जुन सेयर ट्रेड हुँदैन त्यसको गणना गरिँदैन ।’ नेप्सेले धेरै अघिबाट नै सो काम गर्दै आएको भएपनि लगानीकर्ताहरूको ध्यान त्यसतर्फ नगएको उनी बताउँछन् । उनका अनुसार नेप्सेले कुल बजार पुँजीकरण, सेन्सेटिभ बजार पुँजीकरण, कारोबारमा मात्रै आउने सेयरको फ्लोट बजार पुँजीकरण, सेन्सेटिभ फ्लोट मार्केट क्यापिटलाइजेसन र हरेक सेक्टरको कुल बजार पुँजीकरण समेत राखिदिने गरेको छ । पछिल्लो समय नेपालको सेयर बजारको पुँजीकरणलाई नेपालको जिडिपीसँग तुलना गरेर हेर्न थालिएको छ । जसको कारण यो बहसको विषय पनि बनेको छ । नेप्सेका अनुसार हाल कुल बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । हाल नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५४ खर्ब रुपैयाँको छ । नेपालको प्रक्ष्येपित जीडीपी भने ५७ खर्ब छ । नेप्सेका अनुसार हाल १३ अर्ब ४२ करोड ४२ लाख सेयर सूचीकृत छ ।

लगानीकर्ताको रोजाइबाट बाहिरियो नेपाल फाइनान्स, खरिदकर्ता शून्य

काठमाडौं । केही दिनअघिसम्म निरन्तर सकारात्म सर्किट लागिरहेको नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेको छ । वित्तीय विवरण कमजोर रहँदा पनि निरन्तर सकारात्मक सकिर्ट लागेको कम्पनीको आइतबार भने बारोबार सुरु भएको एक घण्टामै नकारात्कम सर्किट लागेको हाे । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोस्रो बजारजमा कम्पनीको १ लाख ३७ हजार कित्ता सेयर बिक्रीका लागि राखिएको थियो । तर, खरिदकर्ता भने शून्य छन् ।  लगानीकर्ताहरूको रोजाइबाट नेपाल फाइनान्स क्रमश बाहिरिदै गएको देख्न सकिन्छ । गत वर्ष फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीकाे गत असारसम्म प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो ३६०.१५ रहेको छ ।

सरुवा भएर अर्थ मन्त्रालयमा आएकासहित १५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई अर्थ मन्त्रालय आएका सहसचिवहरूको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकेकाे हाे । यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पँगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ । यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण, प्रवेश परीक्षामा उत्साहजनक सहभागीता

काठमाडौं । नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको छ । शनिबार चाँगुनारायण–४ भक्तपुरमा दिइएको पहिलो प्रवेश परीक्षामै कक्षा १२ पास गरेका विद्यार्थीहरूले उत्साहजनक सहभागीता जनाएको कलेजले जनाएको छ । स्नातक तहमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा लिइएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरूले सहभागीता जनाएको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ४८० कूल सिटको प्रवेश परीक्षामा झण्डै आधा सिटमा विद्यार्थीहरूले परीक्षा दिएका छन् । ‘स्नातक तहका सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा आर्किटेक्ट विषयको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक रूपमा सहभागीता रह्यो,’ प्राचार्य भण्डारीले भने । प्रवेश परीक्षा निरिक्षणका लागि आएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको बताए । कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिष्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गरे । ‘पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरूको पाठ्यक्रम चेन्ज गरेका छौं, नेपाली विद्यार्थीहरू विदेश नजाउन् स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत छ,’ प्राध्यापक कोइरालाले भने । प्रवेश परीक्षाको निरिक्षणमा आएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताए । पछिल्लो समय कक्षा १२ पास गर्नेबित्तिकै विद्यार्थीहरू विदेश गइहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तीमा ब्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गरे । ‘नेपालको इन्जिनियरिङ शिक्षा अर्न्तराष्ट्रियस्तरको छ, हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्या आइपर्छ, देखासिकी र लहडमा नजाउँ,’ अध्यक्ष खत्रीले भने । प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरू पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनोट गरेको बताए । ‘यहाँ फुलटाइम फ्याकल्टी हुँदो रहेछ, ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ, त्योसँगै आईटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरू पनि रहेछ,’ कलेजले दिने छात्रवृत्ति पनि आफूलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भने । सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुइँचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शीर्षकमा १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको छ । गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।