विकासन्युज

श्रीमतीलाई नक्कली सुराकी बनाइ कमिसन खाएको भन्दै पूर्वडीआईजी खरेलविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आइतबार युवराज पौडेल (युवराज सफल) ले खरेलविरुद्ध उजुरी निवेदन दायर गरेका हुन् । नेपाल प्रहरीका पूर्व उच्च अधिकारीले आफू सेवामा रहँदा सुराकीवापत कमिसन खाएँ भनेर अभिव्यक्ति दिएको भन्दै उनले उजुरी दिएको उल्लेख गरेका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ । कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहनस्वरूप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् । सही सुराकीलाई नदिई नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् । उनले प्रहरीको सुराकीमा धेरै भ्रष्टाचार भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।

चालु खाता २ खर्ब २१ अर्ब र शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा

काठमाडौं । चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को असारसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब २१ अर्ब ३४ कोड रुपैयाँले बचतमा रहेको छ । जबकी अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

हेटौँडा । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । २५ वर्षदेखि निरन्तर कानुन व्यवसायीका रूपमा कार्यरत उनले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन् ।

साढे २० खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, १५.६ महिनाको आयात धान्ने

काठमाडौं । गत वर्ष विदेशी मुद्रा सञ्चिति साढे २० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.६ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति ३०.४ प्रतिशत बढेर १५ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । वि.सं. २०८० असारमा राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्थसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकको डाटामा महँगी १०८ प्रतिशतले घट्यो, कुन वस्तुको मूल्य कति घट्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी ह्वात्तै घटेको बताएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार महँगी २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा महँगी १०८.४० प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेकोछ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप-समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमँ राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाए । यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए । ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मीयसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव रहेको बैंकले बताएको छ ।

रेमिट्यान्स १६.५ प्रतिशतले बढेर साढे १४ खर्ब पुग्यो, विदेश जाने बढेको बढ्यै

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

नेपाल एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय–समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ ।