२३ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि, लाभांशमा राष्ट्र बैंक लचिलो
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) औसत ५.६९ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको एनपीएल ६.१० प्रतिशत बिन्दुभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खराब कर्जा ०.४१ प्रतिशत घटेको तथ्याङ्कले देखाउँछ । तर ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये २३ वटा लघुवित्तको खराब कर्जा भने ५ प्रतिशतभन्दा बढी रहेको छ । गत वर्ष सबैभन्दा धेरै कर्जा आत्मनिर्भर लघुवित्तको रहेको छ । अघिल्लो वर्ष ७.५८ प्रतिशत खराब कर्जा रहेको यस लघुवित्तको गत वर्ष १३.२२ प्रतिशत बिन्दुमा पुगेको हो । धेरै एनपीएल हुने लघुवित्तको दोस्रो नम्बरमा युनिक नेपाल लघुवित्त रहेको छ । अघिल्लो वर्ष १४.७१ प्रतिशत खराब कर्जा १३.३९ प्रतिशत रहेकोमा गत वर्ष १२.७४ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै नेष्डो लघुवित्तको १२.५८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको १०.६ प्रतिशत, समता घरेलु लघुवित्तको १०.४८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९.९२ प्रतिशत, मातृभूमि लघुवित्तको ९.८५ प्रतिशत, नाडेप लघुवित्तको ८.२८ प्रतिशत बिन्दु खराब कर्जा रहेको छ । यस्तै स्वस्तिक लघुवित्तको ८.०८ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ७.९२ प्रतिशत, विजय लघुवित्तको ७.७४ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तको ७.६८ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.४३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१६ प्रतिशत, फरवार्ड लघुवित्तको ६.८१ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ । यस्तै ग्रामीण विकास लघुवित्तको ६.६५ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.६ प्रतिशत, श्रृजनशील लघुवित्तको ६.४९ प्रतिशत, एनएमबि लघुवित्तको ६.३५ प्रतिशत, सूर्योदय वोमी लघुवित्तको ६.११ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.५६ प्रतिशत र इन्फिनीटी लघुवित्तको ५.२९ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा संस्थालाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्न सक्ने कानुनी व्यवस्था छ। राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही अगाडि बढाएर लाभांश वितरणदेखि नयाँ शाखा कार्यालय खोल्न नपाउने प्रावधान छ । तर, लघुवित्त वित्तीय संस्थाको हकमा भने खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएपनि लाभांश वितरणमा भने रोक लगाउने व्यवस्था छैन । नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएपछि सिघ्र सुधारात्मक कारवाही अगाडि बढाउन सक्ने भएपनि लाभांश वितरणमा भने बन्देज नरहेको बताउँछन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएको लघुवित्तलाई लाभांश वितरणमा कुनै कडाइ नरहेको बताउँछन् । तर, शाखा कार्यालय विस्तार गर्न भने नपाउने उनको भनाइ छ । ‘५ प्रतिशत भन्दा बढी एनपीएल भएका लघुवित्तले लाभांश वितरण गर्न पाउँछन्, लाभांश वितरणका लागि खराब कर्जाको सीमा तोकेको छैन,’ उनले भने, ‘खराब कर्जा बढी छ । तर, नाफा बाँड्ने रकम छ भने फरक पर्दैन । शाखा कायालय खोल्न भने पाउँदैन ।’
ओलीलाई वर्षमानको सुझाव- बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरु हाँस्ने गरेको बताए । ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई राखेर यसो भनेको सुन्दा मानिसहरु हाँस्ने गर्छन् । मान्छेहरु भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस-एमालेबीच सहमति गरिएको आरोप उनले लगाए । उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस=एमालेबीच गठबन्धन भएको उल्लेख गरे । ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं । हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरुलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं । खबरदारी गर्छौं’, पुनले भने । पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरुले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए । फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए । तर, काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे । ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन जाला भन्न थाल्नुभएको छ ।’ सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरुको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनको थियो । पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे । फरक प्रसंगमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए । जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौं आधुनिक विद्यालय भवनहरु निर्माण भएको तथा सिंचाई र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे । उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सृजना गर्ने योजनासहित आफूहरुले काम गरिरहेको चर्चा गरे ।
नबिल बैंकले घर बनाउन ७.९९ प्रतिशतमै ऋण दिने
काठमाडौं । नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ । तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।
कर्णाली सरकारले सबै जोखिमयुक्त घरहरूको बीमा गर्ने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा घर बीमामा बजेट छुट्याएको उनले बताएका हुन् । प्रदेश सरकारले यसका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । ‘राष्ट्रियस्तरको यो बहसमा सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरु छौं, विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस्,’ मुख्यमन्त्री कँडेलले भने । उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई २ लाखका दर विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको बताए । चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले १ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खाद्य तथा कृषि सङ्गठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमको बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताए । विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने उनले सुझाए । उक्त बहसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली समेतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गरे ।
आज यी प्रदेशमा भारी वर्षा हुने, सडक तथा हवाई यातायातमा असर पर्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
नेप्सेमा थपियो १ खर्ब ३० अर्बको सेयर, लगानीकर्ताले पाए साढे २१ अर्ब बोनस
काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे २१ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै गत वर्ष ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ भने २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै ३ करोड बराबरको एफपीओ गरी गत वर्ष कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रुपैयाँ बराबरको आईपीओ, ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २ करोड रुपैयाँ राबरको डिबेन्चर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । गत असारसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरू २५४ थिए । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।
अष्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य देशको मुद्रा भाउ के भयो ?
काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.५० रुपैयाँ र खरिददर १३३.९० रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.७७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.४३ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.३७ रुपैयाँ र बिक्रीदर ८९.२७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.९६ रुपैयाँ र बिक्रीदर ९८.४० रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको थियो ।
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । सो भेटका क्रममा नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ । मन्त्री डा. राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन् । सोमबार दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । त्यसअवसरमा उहाँहरुबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किने तालिका छ ।