विकासन्युज

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशंकरबीच सोमबार दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरूबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा. राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले स्वागत गरेका थिए । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्किने तालिका छ ।

बझाङको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने मुख्यमन्त्रीको घोषणा

कैलाली । बझाङको बुंगल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । यही भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, ६ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निजी विद्यालयलाई माथ खुवाइरहेको विश्व निकेतनको कथा

काठमाडौं । कुनै पनि विद्यालयलाई मुल्यांकन गर्ने प्रमुख आधार उसले दिने नतिजा हो । यस्तै, उत्कृष्ट नतिजा दिएर काठमाडौं उपत्यकामा पृथक किसिमको छवि निर्माण गर्न सफल सामुदायिक विद्यालय हो विश्व निकेतन माध्यामिक विद्यालय । काठमाडौंको त्रिपरेश्वरमा रहेको यो विद्यालयमा भर्ना हुने चाहने विद्यार्थी र भर्ना गराउन चाहने अभिभावको भीड नै लाग्छ । त्यसको एउटै कारण हो यस विद्यालयमा पढेका विद्यार्थी उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन्छन् । पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षा पद्दतिसँग प्रश्न उठिरहेको बेला विश्व निकेतनले भने त्यो प्रश्नको प्रतिकार गरिरहेको छ । विद्यार्थीहरू विश्व निकेतनमा निजी विद्यालय छोडेर आउने गरेका छन् । वि.सं २००३ मा स्थापना भएको यो विद्यालयले ७८ वर्षको अवधिमा हजाराँं विद्यार्थी उत्पादन गरिसकेको छ । जहाँबाट उत्पादन भएका विद्यार्थी अहिले देशको सर्वोच्च पद र ओहोदामा छन् । बाल शिक्षादेखि कक्षा १२ सम्म अध्यापन गराइने यो विद्यालयमा अहिले चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । जहाँ १ सय ६० जना शिक्षक तथा कर्मचारी छन् । यो विद्यालयलाई शिक्षा मन्त्रालयले २०७४ सालमा केन्द्रीय नमुना विद्यालय घोषणा गरेको थियो । जसअनुसार विद्यालयले प्राविधिक, भौतिक, शैक्षिक र व्यवस्थापकीय सहयोग पाइरहेको छ । यस्तै, प्रदेश सरकारबाट पूर्णविद्यालय नर्सदेखि विभिन्न सहयोग पाएको छ । स्थानीय सरकारले पनि भवन बनाइदिनेदेखि अन्य भौतिक संरचनाको सहयोग गरिरहेको छ । विश्व निकेतन माद्यामिकका प्रधानाध्यापक हेरम्बराज कँडेल । तस्बिर : साैगात पुडासैनी । काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी ३० रुपैयाँका दरले दिवाखाजा पनि सहयोग गरिरहेको छ । तीनै तहका सरकारको सहयोग, अभिभावकको विश्वासलाई कुठाराघात हुन नदिएर विद्यालयले पठनपाठनलाई न्याय गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । विद्यार्थीको चापले भर्ना लिन सकस विद्यायमा भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्थामा विद्यालय छैन । शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ९ सम्म भर्ना खुल्दा ३ हजार ८ सय बढी विद्यार्थीले प्रवेश परिक्षा दिए । तर, विद्यालयले ४ सय ७५ विद्यार्थीलाइ मात्र भर्ना गर्यो । बाँकी विद्यार्थीको भर्ना लिन सकेन । ‘भर्ना हुन आएका विद्यार्थीलाई फर्ता गराउनु हाम्रो मनसाय होइन,’ प्रधानाध्यापक कँडेल भन्छन्, ‘भर्ना हुन आएका सबैलाई पढाउन सम्भव छैन, सिमितलाई भर्ना गर्नु पर्ने बाध्यता छ, त्यसैले पनि भर्ना हुन आएका विद्यार्थीलाई छनोट गरेर राख्छौँ ।’ प्राथना गर्दै विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थी । यस्तै यो वर्ष कक्षा ११ को भर्नाका लागि विद्यालयले लिएको प्रवेश परिक्षामा ४ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिए । तर, विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी कानुन, इलेक्ट्रिक इन्जिनियरमा करिब १ हजार ३ सय विद्यार्थीको भर्ना लिएको उनले जानकारी दिए । नतिजामा पनि उत्कृष्ट यो विद्यालय विद्यार्थी र अभिभावकको रुचिमा पर्नुको कारण नतिजा हो । विद्यालयले १ देखि १२ कक्षासम्म उत्कृष्ट नतिजा दिँदै आएको छ । वि.सं २०८० सालमा दिएको एसईईको परीक्षामा यो विद्यालयबाट २ सय ७२ जना विद्यार्थी सहभागी थिए । जसमा ९२ प्रतिशत विद्यार्थी पास भए । प्राधानाध्यापक कँडेलका अनुसार स्वस्तिक अधिकारी, विभव ढकाल, आकृति महासेठ, अञ्जु भुसाल र एञ्जोन थापामगरले एसईईमा ४ जीपीए ल्याउन सफल भए भने २१ जना विद्यार्थीले ३.९० भन्दा बढी जीपीए प्राप्त गरे । उत्कृष्ट अंक ल्याउने विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थीहरू । ९२ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याए । ८८ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याए भने ५८ जना विद्यार्थीले २.८ देखि ३.२ ल्याएको उनले जानकारी दिए । बाँकी विद्यार्थीले २.४ जीपीए ल्याएको उनको भनाइ छ । केही समयअघि साार्वजनिक भएको कक्षा १२ को परीक्षामा २ जना विद्यार्थी ३.९५ जीपीए ल्याएर सरकारी विद्यालय तर्फ नेपालभर नै सर्वोत्कृष्ट विद्यालयका रुपमा विश्वनिकेत भयो । यस्तै, एक जना विद्यार्थी प्रविना कँडेलले ३.८८ जीपीए ल्याएर कानुनतर्फ सामुदायिक विद्यालय्मा देशभरबाट सर्वोत्कृष्ट भइन् । ११ सय १४ विद्यार्थी सहभागी कक्षा १२ को परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तिर्ण भए । जसमा १ सय ७० जना विद्यार्थीले ३.६ जीपीए भन्दा बढी ल्याए भने ४ सय ४४ जना विद्यार्थीले ३.२ देखि ३.६ को बीचमा जीपीए प्राप्त गरे । यो विद्यालयबाट एसईई पास गरेका धेरैजसो विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक कँडेल विद्यार्थी उत्कृष्ट हुँदा आत्मसन्तुष्टि हुने र काम गर्ने जाँगर बढ्ने बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको नतिजाले हामीलाई गम्भीर र जिम्मेवार बनाउँछ ।’ कसरी बनाउने उत्कृष्ट विद्यालय ? प्रधानाध्यापक कँडेल नेपालमा भएका सामुदायिक विद्यालयलाई सबैलाई उत्कृष्ट विद्यालय बनाउन सकिने बताउँछन् । उनकाअनुसार सबैभन्दा पहिले यसका लागि उत्कृष्ट काम गर्ने ईच्छा शक्ति चाहिन्छ । उनी चाहना भयो भने बाहना आफैं हट्ने बताउँछन् । उत्कृष्ट विद्यालयको अवार्ड लिँदै प्राधानाध्यापक कँडेल । उनी भन्छन्, ‘कुनै पनि विद्यालय उत्कृष्ट बनाउन तीन कुरा चाहिन्छ । एउटा, कुशल प्रधानाध्यापक, जसले टीमलाई राम्रो नेतृत्व गर्नुपर्छ । दोस्रो, विद्यार्थीले मिहिनेत गर्नुप¥यो । तेस्रो, अभिभावकले चासो राख्नुप¥यो, यति भयो भने राम्रो विद्यालय बनाउन सकिन्छ ।’ अहिले ७७ वटै जिल्लामा भौतिक संरचना बनेका छन् । सबै सरकारी स्कुलमा चिटिक्क परेका डेस्क बेञ्चसहित भौतिक पूर्वाधार बनेका छन् । अहिलेको नवीनतम् विधि अपनाएर पठनपाठन गर्ने र सरकारले पनि विषयगत र तहगत शिक्षकको व्यवस्था गरिदिनु पर्ने उनको भनाइ छ । प्रधानाध्यापक र शिक्षकले पनि मनतन लगाएर अठोटका साथ काम गर्यो र अभिभाकको मन र विश्वास जित्यो भने एउटा सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकिने उनको तर्क छ । उनका अनुसार अभिभावकले पनि आफ्ना बच्चा विद्यालय आएपछि विद्यालयबारे चासो लिनुपर्छ । ‘आफ्नो बच्चाको पढाइ कस्तो छ ? उसले के–के कुरा सिकिरहेको छ ? के सिक्न बाँकी छ ? भन्ने विषय हेर्नुपर्छ । शिक्षक, अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति सबैले उत्तिकै ध्यान दिनुपर्छ । विद्यालय अभिभावक विद्यार्थी मिलेर काम गर्दा राम्रो बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार ७० प्रतिशत विद्यार्थी निजी विद्यालय छोडेर अहिले विश्व निकेतनमा अध्ययन गर्न आइरहेका छन् । भवनकाे अभाव  विद्यालयमा बालबालिकादेखि किशोरावस्थाका विद्यार्थी हुन्छन् । यो बेला उनीहरूलाई पढाइसँगै, खेल्ने, उफ्रिने, नाच्ने तथा रमाइलो गर्ने वातावरण चाहिन्छ । विद्यार्थीको आवश्यकताको परिपुर्ति विश्वनिकेतनले गरेको छ । विद्यालयको आफ्नै ठूलो खेलमैदान छ । जहाँ विद्यार्थीलाई विभिन्न किसिमका खेल खेलाइन्छ । कक्षा कोठाको व्यवस्थापनका लागि बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइ हुन्छ । कक्षा कोठा, शौचालय, पिउने पानीको सुविधासँगै कक्षा कोठामा पनि प्रोजेक्टरको सुविधा छ । तर, विद्यालयमा अभिभावक र विद्यार्थीले अपेक्षा गरेअनुसार भौतिक संरचना तथा भवनको भने अभावछ । त्यसैले पनि सबैलाई भर्ना गर्न नसक्ने स्थितिमा विश्व निकेतन छ । विद्यालयको अहिले अहिले एउटा भावन निर्माणाधीन छ । यो भवनमा म्युजियम बनाउने विद्यालयको योजना छ । त्यहाँ धिमे बाजादेखि पञ्चेवाजा, नौमति बाजादेखि ढिकीजाँतो लगायतका परम्परा समेट्ने म्युजियम बन्नेछ । विद्यालयमा फिजिक्स ल्याब र कम्प्युटर साइन्स ल्याव पनि छ । शिक्षक कर्मचारीको न्यून दरबन्दी यो विद्यालयका लागि सरकारले ६२ जना शिक्षक कर्मचारीको लागि अनुदान दिएको छ । तर, विद्यालयमा १ सय ६० जना शिक्षक कर्मचारी छन् । ९८ शिक्षक कर्मचारी विद्यालयकै स्रोतबाट राखिएको छ । यसरी नराख्दा विद्यार्थीलाई पढाउने शिक्षकको अभाव हुने विद्यालयको भनाइ छ । विद्यालयले आफ्नै स्रोतबाट राखेका कर्मचारी तथा शिक्षकलाई तलबका लागि अभिभावकबाट आर्थिक सहयोग भनेर शुल्क लिनेको गरेको छ । जस अनुसार कक्षा १,२ र ३ का विद्यार्थीबाट वर्षभर १२ सय रुपैयाँ शुल्क लिइन्छ भने ९ र १० सम्मका विद्यार्थीबाट वर्षभर २ हजार ७ सय २५ रुपैयाँ लिइन्छ । कक्षा ११ र १२ विज्ञान पढ्नेलाई महिनाको दुई हजार, कानुन र व्यवस्थापन पढ्नेबाट मासिक ९ सय, मानविकी र शिक्षा पढ्नेबाट मासिक ७ सय रुपैँया शुल्क लिने गरिएको कँडेलले जानकारी दिए । विश्व निकेतन माद्यामिक विद्यालय । तस्बिर : सौगात पुडासैनी । कुनै शिक्षकले अनिवार्य अवकाश लिएर जानुभयो अथवा राजनीमा दिनभयो भने त्यो ठाउँमा शिक्षक ल्याउन निकै समस्या रहेको अनुभव पनि उनले सुनाए । नेपालको संविधान, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५, निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ ले कक्षा १ देखि १२ सम्म निःशुल्क भनेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य निःशुल्क, ९ देखि १२ मा निःशुल्क भनिएको छ । तर, निःशुल्क शिक्षा कुनैपनि सामुदायिक विद्यालयमा छैन । प्रधानाध्यापक कँडेलका अनुसार सरकारले शुल्कका विषयमा आवश्यक होमवर्क नगरेरै निर्णय गरेको हो । नेपालमा हतारमा निर्णय गरेर पछि पछुताउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । यदि शिक्षा कानुन अनुसार निःशुल्क गर्ने हो भने २० प्रतिशत बजेट शिक्षामा छुट्याइनु पर्ने उनको धारणा छ । ‘बैज्ञानिक किसिमले दरबन्दी मिलान गरेर पुग्दो मात्रामा शिक्षक कर्मचारी विद्यालयमा पठाइदिनुप¥यो, कर्मचारी विनाको विद्यालयमा यो सम्भव छैन,’ उनले भने । ‘शिक्षकले घण्टी लगाउन जाने कि पढाउन जाने, पढाउने कि शौचालय सफा गर्ने अहिले पनि अवस्था यस्तै छ,’ कँडेल भन्छन्, ‘यस्तो हुँदा काम गर्न चूनौती हुन्छ, यस्ता कुराले काम गर्ने जाँगरमा ब्रेक लाग्छ । यो विद्यालयलेले वर्षदिनमा ६ लाख रुपैयाँ बिजुलीको बिल, पानीमा दुई लाख, इन्टरनेटमा डेढलाख तिर्नुपर्छ । तर, सरकारले वर्षभरीमा इन्टरनेटका लागि भन्दै जम्मा १२ हजार दिन्छ ।’ उनी प्रश्न गर्दै भन्छन्, ‘सरकारले विद्यालय सञ्चालन भनेर ३० हजार रुपैयाँ दिन्छ अनि कसरी व्यवस्थापन गर्ने ? निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्दा स्वाभाविक रुपमा स्रोत र साधन जुटाउन आर्थिक स्रोत पनि चाहिने उनी बताउँछन् । यही बाध्यताले विद्यार्थीबाट शुल्क लिनुपरेको उनले बताए । सरकारले सम्बन्धन प्रदान गर्दा पनि ध्यान दिएर नक्साकंन गरी विद्याललाई सञ्चालन अनुमति दिनुपर्ने उनको राय छ । जुन देशले शिक्षालाई प्राथमिकतामा राख्छ, त्यो देशले विकास, प्रविधि, उद्यम सबै क्षेत्रमा फड्को मारेको उनको धारणा छ । ‘शिक्षामा राम्रो गरिरहेका देशहरूले शिक्षामा २५ प्रतिशत बजेट छुट्याएका छन् । तर, नेपालमा मुस्किलले १० प्रतिशत पुग्छ । विकास शिक्षामा भनिएको छ । तर, वास्तविक रुपमा मनैदेखि शिक्षा क्षेत्रमा चिन्ता चासो दिएको पाइँदैन,’ उनले गुनासो गर्दै भने । आईटीमा पनि अगाडि पछिल्लो समय सूचना प्रविधिमा तीव्र विकास भइरहेको छ । विभिन्न संघ संस्था तथा शैक्षिक संस्थाले पनि सूचना प्रविधिलाई आत्मसात गरेर काममा तीव्रता ल्याइरहेका छन् । विश्वनिकेतनले पनि आईटीमा जोड दिइरहेको छ भने अभिाभावकर विद्यार्थीलाई पनि त्यसमा अभ्यस्त बनाउने प्रयास गरिरहेको छ । अहिले विद्यालयले यस्तो मोबाइल एप बनाएको छ जसले विद्यार्थी विद्यालय आए नआएको विषय एपबाटै जानकारी हुन्छ । कुनै विद्यार्थी विद्यालय नआउँदा अभिभावकलाई सन्देश जान्छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह विश्व निकेतन माविका कर्मचारी र विद्यार्थीसँग । अनुपस्थित भएका विद्यार्थीलाई आज के पढाइ भयो ? गृहकार्य के छ ? लगायतको बारे सन्देश सोही एपबाट जान्छ । सो एपले विद्यार्थी अभिभावक र शिक्षकलाई जोड्ने काम गर्छ । यो विद्यालयमा प्राविधिकतर्फ ९ देखि १२ कक्षासम्म पढाइ हुने इलेक्टिकल इन्जिनियरिङ पनि पढाइ हुन्छ । कमजोर विद्यार्थीका लागि बिहान बेलुका उपचारात्मक कक्षा सञ्चालन गरिन्छ । हरेक शिक्षकले हरेक विद्यार्थीमा ध्यान दिएर उसको कमजोरी औल्याइँ सिकाउने गरिन्छ भने कमजोरी हटाउन शिक्षक र अभिभावक मिलेर छलफल गर्ने अभ्यास छ । ‘हाम्रो विद्यालयको नतिजा सदावहार उत्कृष्ट छ । २०५२ सालदेखि ११, १२ मा विज्ञान, २०५३ सालदेखि व्यवस्थापन, २०६३ सालदेखि मानविकी, शिक्षा, २०७६ सालदेखि कानुन विषय अध्ययापन भइरहेको छ, अझैं यलिाई थप सुधार गर्ने पक्षमा छौं,’ प्रधानाध्यापक कँडेलले भने । अंग्रेजी माध्यमबाट पनि पढाइ सरकारी स्कुल भन्ने वित्तिकै नेपाली माध्यमबाट पढाइ हुने स्कुल भनेर चिनिन्छ । धेरैको बुझाय यही हो । तर, समयको मागसँगै आजभोलि सरकारी स्कुलमा पनि अंग्रेजी भाषाबाट पढाइ हुन थालेको छ । अहिले विश्व निकेतनमा पनि अंग्रेजी भाषामा पनि पढाइ हुन्छ । वि.सं २०५८ सालबाट अंग्रेजीबाट पढाउन थालिएको कँडेलले बताए । सुरुमा कक्षा १,२ र ३ लाई एउटा सेक्सन अंग्रेजी र अर्को नेपालीमा पढाउन थालियो । त्यसपछि २०६६ साल बाट कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरियो । अहिले कक्षा १ देखि १२ सम्म विद्यार्थीको निकै भीड छ । शिक्षकको रूपमा प्रवेश गरेका प्रधानाध्यापक अहिले विश्व निकेतनको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक कँडेल २०५१ सालमा विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा प्रवेश गरेका थिए । कक्षा शिक्षकदेखि विभागीय प्रमुखदेखि सहायक प्रधानाध्यापक हुँदै उनी अहिले प्रधानाध्यापक बनेका हुन् । उनले नेतृत्व सम्हालेको ९ वर्ष भयो । योबीचमा विद्यालयका दुई जना विद्यार्थीले सामुदायिक विद्यालयमा नै देशभरमै सर्वोत्कृष्ट अंक ल्याए । २०७३ मा रोजीना अधिकारीले सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याइन् । विश्व निकेतन २०७४ असार ३० गते नुमना विद्यालयका रुपमा घोषणा भयो । २०७५ सालमा विद्यार्थी भेषराज उपाध्ययले ४ जीपीए ल्याएर देशभरमै सर्वोत्कृष्ट भए । मन्त्रालयले २०७५ मा देशभरकै कुशल प्रधानाध्यापक भनेर सम्मान सहित प्रशंसापत्र समेत प्रदान गर्यो । २०७८ मा विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भए । ‘हामी यसरी गुणस्तरीय शिक्षा दिइरहेका छौं, यो सबै जस जनप्रतिनिधि, विद्यार्थी, शिक्षकमा जान्छ, हामी थप परिस्कृत हुँदै जान्छौं,’ कँडेलले भने ।

राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्य : गृहमन्त्री लेखक

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए । उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए । उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पारे । त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको बताए । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताए ।

लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन

लमजुङ । जिल्लामा ३७ हजार ८ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको बताए । अघिल्लो आव २०७९/८० मा दुई हजार ६ हेक्टर क्षेत्रफमा २१ हजार ९ सय ३९ मेट्रिकटन आलु उत्पादन भएको थियो । सूचना अधिकारी पौडेलका अनुसार आव २०७९/८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको थियो । आव २०८०/८१ मा प्रतिहेक्टर १६.५७ टन आलु उत्पादन भएको छ । आव २०७८/०७९ मा १ हजार ९ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा गरिएको आलु खेतीबाट २१ हजार १ सय मेक्ट्रिकटन उत्पादन भएको थियो । आव २०७७/७८ मा १९ हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेति गरिएकामा २० हजार नौ सय २९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जिल्लामा आलु खेती विस्तार गर्न ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको छ । गत आवदेखि जिल्लाका तीन स्थानीय तहमा खायन जातको आलु खेती विस्तार गरिएको छ । गत आवमा कृषि ज्ञान केन्द्रमार्फत सुन्दरबजार नगरपालिका–१०, राइनास नगरपालिका– ३, ४ र ६ र मध्यनेपाल नगरपालिका–४ र १० का कृषक समूहसँग सम्झौता गर्दै आलु खेती विस्तार गरेको थियो । निर्वाहमुखी आलु खेती गर्दै आएका कृषकहरू गत आवदेखि व्यावसायिक हुन थालेका छन् । रैथाने र उन्नत जातको आलु उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ, सिँचाइ सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ । जिल्लामा आलु उत्पादन हुँदै आए पनि उपभोगका लागि बाहिरी जिल्लाबाट समेत ल्याइने गरिएको छ । जिल्लाको सुन्दरबजार, राइनास, बेँसीसहर र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । मर्स्यांदी, दुधपोखरी र क्व्हेलासोथार गाउँपालिकालाई वर्खे आलुको मुख्य पकेट क्षेत्र मानिएको छ । जिल्लामा कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलु खेती किसालने गर्दै आएको किसानको भनाइ छ ।

एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

बाँके । नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे । ‘निर्माण सम्पन्न भएको एक महिनामै ट्रयाक उप्किनु भनेको एकदमै कम गुणस्तरको सामान प्रयोग भएको भन्ने बुझ्नुपर्दछ,’ उनले भने । ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ । ‘सेन्थेटिक ट्रयाक’ निर्माणका क्रममा राखेपले केन्द्रबाटै इञ्जिनियर तथा कर्मचारी टोली खटाएको थियो । लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारीका अनुसार निर्माण गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी काम गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा खटिएका प्राविधिक टोली काठमाडौंमा रहेको र आफू यस विषयमा अनविज्ञ रहेको बताए । ‘कामको प्राविधिक भाग हेर्ने निकाय काठमाडौंमा हुनुहुन्छ । हामीले यहाँ हेर्दा ठेकेदारले काम गरेकै देखिन्थ्यो । कहाँनेर के कुरा नमिलेर ट्रयाक उप्कियो, हामी पनि अनविज्ञ छौँ,’ उनले भने, ‘यो खेलप्रेमीका लागि मात्र नभई राखेप लजिज्त हुनुपर्ने विषय बन्न पुग्यो ।’ ट्रयाक उप्किएको विषयमा राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको चन्दले बताए । उनले भने, ‘मैले यो विषयमा राखेपलाई जानकारी गराई सकेको छु । माथिबाट विज्ञ टोली आएर छानबिन गरेपछि वास्तविक पत्ता लाग्ला ।’ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले खेल क्षेत्रको विकासका लागि राखेप जिम्मेवार नभएकै कारण संरचना नबन्दै भत्कने गरेको बताए । ‘एक महिनामै ‘सेन्थेटिक ट्रयाक’ उप्कनुले राखेपको गैरजिम्मेवारीपन प्रष्ट दखिएको छ,’ उनले भने, ‘करोडौँको ठेक्कामा गुणस्तरलाई मध्यनजर गर्न आवश्यक थियो । गुणस्तरमा ध्यान नदिएकै कारण आज नेपालगञ्ज रंगशालाको यो दुर्दशा हुन पुगेको हो ।’ राखेपले सन् २०२३ मार्च २३ मा उक्त ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो कम्पनीले सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको हो । रासस

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो । दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका थिए । उनले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए । निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रूपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरूले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरे । प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए । उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राखेका थिए । युरोपेली संघ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौंबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्ने गरी अनुमति लिएको जनाइएको छ । कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

भारतले थप २५१ मेगावाट बिजुली किन्ने

फाइल फोटो काठमाडौं । भारतले नेपालका एक दर्जज जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत लैजाने भएको छ । भारतले बिहार राज्यमा प्रयोग हुने गरी थप विद्युत लैजान स्वीकृत गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको हो । यो स्वीकृतिसँगै कुल २८ योजनाबाट ९४१ मेगावाट कुल निर्यात हुने भएको छ । २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्ष २०८०र०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल दक्षिण एसियामै धेरै विद्युत् निर्यात गर्ने देश बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा बढीले बढेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । ‍नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुंगो लागेर २०८१ साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त योजना स्थगित भयो ।