नेप्सेमा थपियो १ खर्ब ३० अर्बको सेयर, लगानीकर्ताले पाए साढे २१ अर्ब बोनस
काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे २१ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै गत वर्ष ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ भने २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै ३ करोड बराबरको एफपीओ गरी गत वर्ष कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रुपैयाँ बराबरको आईपीओ, ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २ करोड रुपैयाँ राबरको डिबेन्चर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । गत असारसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरू २५४ थिए । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।
अष्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य देशको मुद्रा भाउ के भयो ?
काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.५० रुपैयाँ र खरिददर १३३.९० रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.७७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.४३ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.३७ रुपैयाँ र बिक्रीदर ८९.२७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.९६ रुपैयाँ र बिक्रीदर ९८.४० रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको थियो ।
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । सो भेटका क्रममा नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ । मन्त्री डा. राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन् । सोमबार दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । त्यसअवसरमा उहाँहरुबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किने तालिका छ ।
आज देशभर गाईजात्रा मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचार आरोपमा १ लाख ४० हजार डलर जरिबाना, ११ वर्ष जेल सजाय
बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिबानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए । लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी सांघाईको खेलकुद प्रशासनको प्रमुख थिए । राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् । सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगत्लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहन्छन् । तर त्यो महत्त्वाकांक्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ । गत मार्चमा सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घुस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकारेका थिए । गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो । यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन् । एएफपी
जनताको अधिकार खोस्न संविधान संसोधन गर्न लागिएको होइन : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताइएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’ राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए । ‘सातरआठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व दिन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कांग्रेस र एमाले गठबन्धन सरकार बनेको बताए । अर्थतन्त्रलाई लयमा ल्याउन दायित्व अहिलेको सरकारको काँधमा आएको उनको भनाइ थियो ।
सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी थुनियो, सतर्क रहन आग्रह
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ । पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी थुनिएर एक्कासि बाढी आउन सक्ने जोखिम भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । पाँचपोखरी थाङपालका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिकाका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिकाका वडा नं. १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
मनसुनी विपद् : पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म १९० जनाको मृत्यु
काठमाडौं । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म १ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म १ सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । प्रवक्ता कार्कीकानुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् । सोही अवधिमा १ सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, ४ हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।