कुमारी बैंक र इसेवाबीच ईजी लोन सुविधाका लागि सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत ईजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ईजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने ईजी लोन सुविधामा लागु हुने थप सर्तबारे इसेवाको वेबसाइट/एपमार्फत जानकारी लिन सकिने छ ।
मुकेश अम्बानीको घरभन्दा महँगो याट, मूल्य कति ?
काठमाडौं । यदि कसैले संसारको सबैभन्दा महँगो चिज के हो भनेर सोध्यो भने धेरैले मुकेश अम्बानीको घर ‘एन्टिलिया’ को नाम लिन्छन् । तर, यो जवाफ गलत हुनेछ । फोर्ब्सका अनुसार संसारको सबैभन्दा महँगो वस्तु भनेको याट हो । यसको मूल्य एन्टिलियाको भन्दा दोब्बर छ । विलासी सुविधाले भरिएको यो याट एक मलेसियाली व्यापारीको हो । यद्यपि, यी व्यवसायीको नाम भने खुलाइएको छैन । यो याट सन् २०११ मा लन्च गरिएको थियो । यसको नाम ‘हिस्ट्री सुप्रिम याट’ हो । यो प्रसिद्ध ब्रिटिस डिजाइनर स्टुअर्ट ह्युजेसद्वारा बनाइएको थियो । स्टुअर्ट लक्जरी वस्तुहरू बनाउनका लागि परिचित छन् । यो याट पूरा हुन तीन वर्ष लागेको थियो । मूल्य कति ? फोर्ब्सका अनुसार यो याटको मूल्य ४ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ । जहाँ मुकेश अम्बानीको घर एन्टिलियाको मूल्य २ अर्ब डलर रहेको छ । यो याटको सबैभन्दा विशेष कुरा यो हो कि, यो सुन र प्लेटिनमको मोटो तहले ढाकिएको छ । डाइनोसोरको हड्डीदेखि उल्कापिण्डसम्म प्रयोग यो याटको विशेषताले जो कोहीलाई छक्क पार्न सक्छ । यसमा एक धेरै विलासी बेडरुम छ । बेडरुममा एउटा मूर्ति छ, जुन डाइनोसोरको हड्डीबाट बनेको छ । साथै, यसको भित्ता पनि उल्कापिण्डले बनेको छ । यसमा १० हजार किलो सुन र प्लेटिनम प्रयोग गरिएको छ । हिरा जडित वाइन बोतल याटमा १८.५ क्यारेट हीरा जडित एक अद्वितीय वाइन बोतल पनि छ । साथै, यसको मास्टर सुइटमा एक्वाभिस्टा प्यानारोमिक वाल एक्वेरियम समावेश छ । यसको तौल ६८ किलो छ र २४ क्यारेट सुनले बनेको छ । फोर्ब्सको सूचीमा यो याट विश्वको सबैभन्दा महँगो वस्तुको सूचीमा पहिलो नम्बरमा परेको छ । दोस्रो स्थानमा मुकेश अम्बानीको घर एन्टिलिया रहेको छ । तेस्रो नम्बरमा फ्रान्सको भिल्ला लियोपोल्डा रहेको छ । चौथो नम्बरमा ‘साल्भेटर मुन्डी’ र पाँचौं नम्बरमा ‘द कार्ड प्लेयर्स’ पेन्टिङ छ । एजेन्सी
धनुषामा ३७७ उद्योग बन्द, ९ हजार बढी कामदार बेरोजगार
जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आवमा वाणिज्यतर्फ २५९ तथा उद्योगतर्फ ११८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब ९ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ १ हजार १२ उद्योग दर्ता, २ हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ १६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी २२५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् । त्यसैगरी उद्योगतर्फ नयाँ दर्ता ८०५, नवीकरणतर्फ ९७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ १०६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ । सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण बापत ५७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा पसल बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए । हाल धनुषामा साना उद्योग ५३६, लघु उद्योग ५५१ तथा घरेलु उद्योग १ हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योमा महिला र पुरुष गरी करिब सात हजार कामदार प्रत्यक्षरूपमा लाभान्वित हँदै आएका कार्यालय प्रमुख यादवले बताए ।
स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने
काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति गरेका हुन् । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारासहित आगामी दिनहरूमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी निःशुल्क लिभप्युअर आरओ ड्रिंकिङ वाटर सिस्टम जडान गर्ने कम्पनीले जनाएको छ । स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कँडेल साथै मार्केटिङ एक्जुकेटिभ विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठसमेतको उपस्थितिमा एक औपचारिक समारोहबीच दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेका हुन् ।
सेबोनले चाँडै नेतृत्व पाउँछ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) ले चाँडै नेतृत्व पाउने बताएका छन् । ऊर्जा उत्पादक संघ (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सेबोन लामो समयदेखि नेतृत्वविहीन हुँदा धेरै काम रोकिएको बताउँदौ निःस्वार्थपूर्ण तरिकाले चाँडै योग्य व्याक्तिलाई अध्यक्षमा छान्ने उनले बताएका हुन् । अर्थमन्त्री पौडेलले नेपालमा रहेका जलस्रोतको भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन् । ‘हाम्रो देशमा भएका नदी प्रणालीलाई सही सदुपयो कसरी गर्न सकिन्छ भन्नेमा हामीले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, नदी प्रणालीको सही सदुपयोगले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ उनले नेपालमा उत्पादन भएको ऊर्जा आन्तरिकरूपमा नै खपत बढाउने बताए । ‘आन्तरिकरूपमा खपत भएर बचेको उर्जा मात्रै बेच्ने नीति सरकारले लिएको छ,’ उनले भने । निजी क्षेत्रका आयोजनामा पनि विदेशी लगानी भित्र्याइनुपर्ने उनले बताए । त्यसमा पनि ऊर्जा खपत अधिकतम् मात्रामा हुने कम्पनीलाई भित्र्याउन विशेष जोड दिनुपर्ने उनले बताएका छन् ।
कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त
काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । २०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए । कुमारी बैंकमा रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकमा डीसीईओ पद खाली थियाे ।
अनुचित कार्यमा कारबाही गर्ने अधिकार दिनुस् : सतर्कता केन्द्र
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बँधमा छलफलका क्रममा बोल्दै केन्द्रका प्रहरी नायब महानिरीक्षक निरञ्जन बिष्टले यस्तो माग गरेका हुन् । उनले अन्तरिम संविधान, २०६३ मा अनुचित कार्यमा कारबाही गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएपनि, २०७२ को संविधानबाट सो अधिकार हटाइएको बताए । उनले अनुचित कार्यमाथि छानबिन गरी कारबाही नगर्दा भ्रष्टाचार बढ्नसक्ने भन्दै अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार कानुनतः राष्ट्रिय सतर्कता केन्द्रलाई दिन माग गरे । सतर्कता केन्द्रले सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमितरूपमा भए/नभएको र पदमा बहाल रहेको व्यक्तिले आफ्नो कर्तव्य पालन गरे/नगरेको विषयमा लिखित तथा विद्युतीय माध्यमबाट सार्वजनिक संस्थामा उजुरी लिने व्यवस्था मिलाउनुपर्ने लगायतका विभिन्न सुझावहरू दिएको छ ।
मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नसिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो । उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् । चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरूमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरू प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको र यो समझदारी ५ वर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।