विकासन्युज

चितवनमा ८ सय बढी उद्योग तथा व्यावसाय बन्द

चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायिक फर्महरू बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फर्मतर्फ ४८० बन्द भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको संख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १ सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए । गत आर्थिक वर्षमा २ हजार १ सय ९ वटा उद्योगहरू नवीकरण गरिएको छ । वाणिज्यतर्फ २ हजार ६ सय ८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५० उद्योगको अभिलेख रहेको र २० हजार १ हजार ४१ वटा व्यावसायिक फर्म रहेका छन् ।

प्रधानमन्त्रीको निर्देशन- तस्करी र भ्रष्टाचार सह्य हुँदैन, देशलाई बर्बाद हुनबाट जोगाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरूपमा काम गर्न निर्देशन दिएका छन् । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई आज तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्कारी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र बेथिति हुर्किएको उल्लेख गरे । ‘अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन, तपाईंहरू जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस्, कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस्, देशलाई बर्बाद हुनबाट जोगाउनुस्, जनतालाई आशा र विश्वास दिने काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खानका लागि मात्रै राज्यका निकायहरु खडा गरेर राखिरहनुपर्छ भन्ने छैन ।’ उनले अझ राम्रोसँग काम गरुन् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्पष्ट पारे । स्वदेशमा युवाहरूले काम पाउने र सम्मानका साथ काम गर्ने वातावरण हुने गरी काम गर्न निर्देशन दिए । ‘लोकतान्त्रिक मूल्य, मान्यताका साथ सुशासन विकास आवश्यक छ, जनताका समस्या सम्बोधनका साथै विकास र समृद्धिको लक्ष्य हासिल गर्न दृढ र कटिबद्ध भएर प्रस्तुत हुनुहोस्,’ उनले भने । मुख्यसचिव लीलादेवी गड्तौलाले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित काममा गत आर्थिक वर्षमा निर्धारण गरिएका लक्ष्यमध्ये ६३ प्रतिशत पूरा हुनु र पुँजीगत खर्च ४८ दशमलव ८९ प्रतिशत मात्र हुनु सुखद् नभएकाले कमीकमजोरीको पहिचान गरी आगामी दिनमा प्रभावकारीरूपमा काम गर्नुपर्ने बताइन् । बैठकमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, सचिवहरूलगायत उपस्थित थिए ।

सय कामदार विदेश नपठाए पनि म्यानपावर नवीकरण हुने

काठमाडौं । कम्तीमा सय कामदार पठाउन नसक्ने इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) पुनः नवीकरण हुने भएका छन् । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै सय कामदार पठाउन नसक्ने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो । साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो । विभागले सोही अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि इजाजतपत्र नवीकरण लागि म्यानपावर कम्पनीलाइ बोलाएको हो ।

बुद्धको जहाज विराटनगरमा अवतरण गर्न नसकेपछि चन्द्रगढीमा आकस्मिक अवतरण

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौबाट विराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए । दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए । मुख्यमन्त्रीसहित अरू यात्रुहरू चन्द्रगढी विमानस्थलमा विमानभित्रै बसेका थिए । विमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।

यी १४ व्यवसायीले पाए देशभर नुन पुर्‍याउने जिम्मा, खच्चरदेखि हवाइजहाजको प्रयोग

काठमाडौं । आयोडिन नुनको ठेक्का साढे ७ करोड रुपैयाँमा लागेको छ । देशभरि आयोडिन नुनको ढुवानी गर्न साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले १४ कम्पनीलाई साढे ७ करोड ५० लाख ८९ हजार रुपैयाँमा ठेक्कामा लगाएको हो । कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को कोटाबाट दुर्गम जिल्लाहरूमा नुन ढुवानी गर्न विभिन्न १४ वटा कम्पनी छनोट भएको साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले जनाएको छ । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनका अनुसार मुस्ताङ्ग, मनाङ्ग, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, बझाङ्ग, बाजुरा, हुम्ला, दार्चुला, रोल्पा, अछाम गरी कुल १५ दुर्गम जिल्लामा नुन ढुवानी गर्न १४ कम्पनी छनोट गरिएको हो । धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स, द्वा सप्लायर्स, एञ्जिला ट्रेड एण्ड सप्लायर्स, कुमार कन्स्ट्रक्सन सेवा, देउती बज्यै कन्स्ट्रक्सन एसप्रालि, ॐ जयदुर्गे जनरल अंडर सप्लायर्स, एलवि सप्लायर्स, एस टिके भवानी निर्माण ए सप्लायर्स सेवा प्रालि, कालभैरव ट्रेड कन्सर्न एण्ड सप्लायर्स, टसी कार्गो ढुवानी सेवा, रोसन ट्रेडर्स एण्ड सप्लायर्स, भूमिराज ढुवानी सेवा, मालिका ढुवानी सेवा, रोशन ढुवानी सेवा कम्पनी छनोट भएका हुन् । धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्सले मुस्ताङ्ग सदरमुकाम, डोल्पाको तिन्जे, बझाङ्ग सदरमुकाम, तल्कोट, बाजुरा मौरे, गौमूलको कृतिचौर, दार्चुलाको मा. शंकरपुर र अछाम सदरमुकाममा नुन ढुवानी गर्ने ठेक्का पाएको छ । यी ठाउँमा १२ हजार क्विण्टनल नुन ढुवानी गरेको १ करोड ९३ लाख ४९ हजार रपैयाँमा ठेक्का लागेको साल्ट टेडिले जनाएको छ । कर्पाेरेशनका अनुसार मुस्ताङ्ग सदरमुकाममा ५ सय क्विण्टल नुन ढुवानी गरेको ५ लाख ९९ हजार ५ सय रुपैयाँ, डोल्पाको तिन्जेमा १ हजार ८ सय क्विण्टल ढुवानी गरेको १ करोड ३५ लाख रुपैयाँ लिनेछ । यस्तै बझाङ्ग सदरमुकाममा ४ हजार क्विण्टनलको १९ लाख १६ हजार रुपैयाँ, बझाङ्गको तल्कोटमा १ हजार क्विण्टलको ६ लाख ४९ हजार रुपैयाँ, बाजुरा मौरेमा १ हजार ४ सय क्विण्टल पुर्याएको ७ लाख ६१ हजार ६ सय रुपैयाँ, गौमूलको कृतिचौरमा ५ सय क्विण्टलको ४ लाख २४ हजार ५ सय रुपैयाँ, दार्चुलाको मा. शंकरपुरमा ३ सय क्विण्टलको १ लाख ८६ हजार रुपैयाँ र अछाम सदरमुकाममा २ हजार ५ सय क्विण्टल नुन पुर्याएको १३ लाख १२ हजार ५ सय रुपैयाँ लिने कर्पाेरेशनको भनाइ छ । द्वा सप्लायर्सले मनाङ्ग सदरमुकाममा ४ सय क्विण्टल नुन ढुवानी गरेको ५ लाख ५६ हजार रुपैयाँ कर्पाेरेशनबाट लिनेछ । कुमार कन्स्ट्रक्सन सेवाले रुकुम पूर्व रुकुमकोट र तकसेरा तकमा १ हजार ४ सय क्विण्टल नुन पुर्याएको ११ लाख ६६ हजार ४८८ रुपैयाँ ढुवानी भाडा लिनेछ । एञ्जिला ट्रेड एण्ड सप्लायर्सले रुकुम पश्चिम मुसिकोट, चौरजहारी, जाजरकोट थलहबजार, डोल्पा सदरमुकाम, जुफाल, सर्मि, लिक, जुम्लाको नराकोट र गोरुचौरमा ११ हजार १ सय क्विण्टल नुन ढुवानी गरेको ८० लाख ७६ हजार ६७५ रुपैयाँ ढुवानी शुल्क लिनेछ । जसमध्ये रुकुम पश्चिम मुसिकोटमा ४ हजार ५ सय क्विण्टल नुन ढुवानी गर्दा २३ लाख ८९ हजार ९५० रुपैयाँ, रुकुम पश्चिम चौरजहारीमा ८ सय क्विण्टलको ३ लाख ७० हजार ६४० रुपैयाँ, जाजरकोट थलहबजारमा १ हजार २ सय क्विण्टलको ५ लाख ८९ हजार ८६० रुपैयाँ लिनेछ । यस्तै डोल्पाको सदरमुकाममा १ हजार ५ सय क्विण्टलको १३ लाख ४२ हजार ४४० रुपैयाँ, जुफालमा ५ सय क्विण्टलको ४ लाख ४३ हजार ५२५ रुपैयाँ, सर्मिमा ३ सय क्विण्टलको ७ लाख ४५ हजार ८ सय रुपैयाँ, लिकमा ३ सय क्विण्टलको ३ लाख ५ हजार १०० रुपैयाँ र जुम्लाको नराकोटमा १ हजार क्विण्टल नुन पुर्याएको ९ लाख ६ हजार २६० रुपैयाँ लिने साल्ट ट्रेडिङ कर्पाेरेशनले जनाएको छ । देउती बज्यै कन्स्ट्रक्सन ए.स. प्रालिले जाजरकोट जुनिचांदीको तांगा, जुम्ला सदरमुकाम, कालिकोट, कालिकोटको रास्कोट, मुगु सदरमुकाम र श्रीकोट, बाजुरा, कोल्टी, कवाडी, धुलाचौर, दार्चुलाको खण्डेश्वरी, दुहु गौरमारा र अछामको मुजाबगरमा १७ हजार २ सय क्विण्टल नुन ढुवानी गरेको १ करोड ५१ लाख २ हजार १ सय रुपैयाँ भाडा लिनेछ । ॐ जयदुर्गे जनरलले डोल्पाको काइगाउँ ३ सय क्विण्टलको ५ लाख ७० हजार रुपैयाँ, एल.बि. सप्लायर्सले मुगु सोरुकोट र बाजुरा पाण्डवगुफाको वेरमा १ हजार ४ सय क्विण्टल नुन ढुवानी गरेको २० लाख ६६ हजार रुपैयाँ ढुवानी भाडा लिने भएका हुन् । एस टिके भवानीले बझाङ्गको बागथलामा १ हजार २ सय क्विण्टल नुन पुर्याएको ४ लाख ७८ हजार ८ सय रुपैयाँ, कालभैरव ट्रेड कन्सर्नले बाजुरा सदरमुकाम, अछामको कमलबजार,साफेँबगर र बाजुरा छेदेदहको डोगडीमा ४ हजार ८ सय क्विण्टल नुन पुर्याएको ३० लाख ९० हजार २३७ रुपैयाँ ढुवानी भाडा लिने साल्ट ट्रेडिङ कर्पाेरेशनको भनाइ छ । टसी कार्गोले हुम्लाको श्रीनगरमा ९ सय क्विण्टल नुन पुर्याएको ९ लाख ९० हजार रुपैयाँ र सिमिकोटमा हवाईमार्गमार्फत् १ हजार १ सय क्विण्टल नुन पुर्याएको १ करोड ४६ लाख ३० हजार रुपैयाँ ढुवानी भाडा लिने कर्पाेरेशनले जनाएको छ । रोसन ट्रेडर्सले हिल्सा याल्वाङ्गमा ५ सय क्विण्टल नुन ढुवानी गरेको १९ लाख ७४ हजार ६७५ रुपैयाँ, मालिका ढुवानी सेवाले दार्चुलाको व्यास सुन्सेरामा ५ सय क्विण्टल नुन पुर्याएको ५ लाख ९९ हजार रुपैयाँ लिनेछ । भूमिराज ढुवानी सेवाले दार्चुला सदरमुकाम, दार्चुलाको गोकुलेश्वर, नौगाड होपरीगाड, अछामको मेल्लेख र चौरपाटीमा ७ हजार ८ सय क्विण्टल नुन ढुवानी गरेको ४८ लाख ४० हजार २ सय रुपैयाँ, रोशन ढुवानी सेवाले रोल्पा, अछामको ढकारी र विनायकमा २ हजार ३ सय क्विण्टल नुन ढुवानी गरेको १५ लाख ९९ हजार ८५४ रुपैयाँ भाडा लिने ट्रेडिङ कर्पाेरेशनले बताएको छ ।

होण्डा कारको दशैं उपहार, अफरमाथि अफर

काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्यायाएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रूपैयाँसम्मको नगद छुट, २ वर्षका लागि गाडीको बीमा र कर छुट तथा ५ वर्षसम्म गाडी सर्भिसिङको सुविधा पनि निःशुक्त पाउन सक्नेछन् । यसमा ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनका निम्ति होण्डा कारको खरिद गर्दा आकर्षक ब्याजरदरका साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराउने कार्य भइरहेको छ । कम्पनीले ग्राहकहरूलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा उपलब्ध गराउनेछ । यस्तै होण्डाले आफ्ना ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन्स’ को सुविधा दिनुका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रूचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साहन जगाउने विश्वास कम्पीनीले लिएको छ ।

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

ढोरपाटन । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्र अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो । प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटनमा धेरैको रोजाइमा परेको छ । ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए । बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो । अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहन्छन् । दशक अगाडिदेखि नै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले बर्सेनि हजारौँको सङ्ख्यामा आउने गरेका छन् । ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ सय मिटरको उचाइ पर्छ । ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो । यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरूको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् । बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ । प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ । त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका–९ का व्यवसायी सन्देश थापाले बताए । गत असारदेखि हालसम्म ८० समूहका करिब पाँच सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उनको भनाइ छ । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् । यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) सञ्चालन गरेको उनको भनाइ छ । बुकीमा टाढा–टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे सञ्चालन गरेको थापा बताउँछन् । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरि, माछापुच्छ्रे, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमशृङ्खला अवलोन गर्न सक्ने उनको भनाइ छ । बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता भएको थापा बताउँछन् । थापाले भने, ‘बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरूले यहाँको कुनै महसुस गर्न सक्नुभएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एकपटक पुग्नै पर्छ, गत वर्षसम्म त खासै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले ‘भिडियो’ र फोटो खिचेर जानुभयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ ।’ कात्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बेसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताए । पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको संख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उनको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका बिधि सिकाउने र बेँसीबाट आएकाहरूलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउँछन् । यसै बर्खा लागे सयौँको सङ्ख्यामा पर्यटक बुकी उक्लिएको उनको भनाइ छ । ‘बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,’ अध्यक्ष पुनले भने, ‘चार/पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरू छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।’ गलकोटबाट घुम्न आएकी समिता अर्गेजाले बुकी मनमोहक रहेको बताइन् । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाइ लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकै छिनमा थकान मेटाएको उनको भनाइ छ । अर्गेजाले चारजनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ–ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताइन् । बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उनी बताउँछिन् ।

ग्राण्डीको तीज अफर : महिलालाई उपचारमा छुट

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ । काठमाडौंको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो । ग्राण्डीले रु चार हजार ६०० मा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, पेटको अल्टासाउण्डलगायतका सेवा प्रदान गर्न लागेको हो । अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था गरेको बताए । ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो । आजदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ । ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।