साइमेक्स इंकले नेपालमा लन्च गर्यो २०२४ भर्सनको बीवाईडी एट्टो ३
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ । बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको कम्पनीले बताएको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुँडिरहेका छन् । ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ । यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ भने यसले गर्दा आधुनिकता प्रदान गरेको छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको कम्पनीको भनाइ छ । बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९/९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०/४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ । बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ ।
सरकारलाई बैंकले तिरे ३० अर्ब कर, यी हुन् २ अर्ब बढी तिर्ने चार बैंक
काठमाडौं । बैंकिङ क्षेत्रले सरकारलाई करिब ३० अर्ब रुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रले नाफा बापत २९ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर तिरेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नबिलले गत आवमा २ अर्ब ७३ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । त्यस्तै, प्रभुले २ अर्ब ५७ करोड, ग्लोबल आइएमईले २ अर्ब ५५ करोड र नेपाल इन्भेटमेन्ट मेगा बैंकले २ अर्ब १४ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार एभरेष्टले १ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब ६४ करोड, कुमारीले १ अर्ब ६२ करोड रुपैयाँ र नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड रुपैयाँ करका लागि छुट्याएको छ । सिद्धार्थ बैंकले १ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ करोड, नेपाल बैंकले १ अर्ब २३ करोड, हिमालयन बैंकले १ अर्ब २० करोड, एनएमबिले १ अर्ब र सानिमाले ९७ करोड रुपैयाँ कर तिर्नका लागि प्रोभिजन गरेको छ । तथ्यांकअनुसार नेपाल एसबिआईले साढे ८६ करोड, सिटिजन्सले ७४ करोड, माछापुच्छ«ेले ७९ करोड र एनआईसी एसियाले ५४ करोड रुपैयाँ करका लागि छुट्याएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीमा ३० प्रतिशत आयकर तिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको आम्दानीबाट बैंकहरुले सो कर तिर्नका लागि प्रोभिजन गरेका हुन् । राष्ट्र बैंकले वित्तीय स्वीकृत गरेपछि मात्रै पछि बैंकहरुले आम्दानीका आधारमा कर रकम निर्धारण हुनेछ ।
नेप्से ७९ अंकले घट्दा लगानीकर्ताको रोजाइमा माइक्रोफाइनान्स
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करो८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो । यस दिन ६० कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । बाँकि सबै समूह राताम्मै भएको छ । सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह ३.८३ प्रतिशतका दरले घटेको हो । आइतबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका छन् ।
नाडा अटो शोमा एमएडब्ल्यू वृद्धिले नयाँ मोडल पनि सार्वजनिक गर्ने, नाम गोप्य
काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा नयाँ मोडेलको ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ सँगै नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको हो । यद्यपि, शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन । त्यस्तै, फिचर मूल्य र यसका फिचरसमेत शोमा नै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ‘यसले ड्राइभिङ एउटा आवश्यकता मात्र होइन पूर्ण रूपको अनुभव पनि हो भन्ने कुरालाई बुझाउँछ,’ कम्पनी स्राेत भन्छ, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउछ ।’ यो मोडल नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यस्तै, नाडामा दिइने अफरबारे पनि शोमा मात्रै थाहा हुने कम्पनीकाे भनाइ छ । कम्पनीले दिपल एल०७ प्रिमियम ईभी सेडान पनि अटो शोमा राख्ने जनाएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ साउन ३१ गते सार्वजनिक गरेको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई यो मोडलमा अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । यस्तै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । यस्ता थुप्रै फिचरहरू दिपलमा दिएको कम्पनीले जनाएकाे छ ।
इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा
तेल अभीभ । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ । आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् । एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, ‘हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।’ ‘आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,’ उनले भने । गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ ।
बीमा ऐन २०७९ को ‘दफा ६’ पूर्ण कार्यान्वयन गर्दै प्राधिकरण, पहिलो पटक पाउँदैछ महिला
काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस पटक भने महिला सञ्चालकलाई नै नियुक्त गरेर सो ऐनको दफा ६ पूर्ण रुपमा लागु गर्न लागेको हो । ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था भएको प्राधिकरणले अब महिला सञ्चालक पाउने भएको हो । ५ सदस्यीय समितिमा एक सञ्चालकले गत साता अवकास पाएका थिए । बीमा विज्ञका रूपमा प्राधिकरणको सञ्चालकमा रहेका कपिलदेव ओली गत साता मात्र ४ वर्षे कार्यकाल पूरा गरेर प्राधिकरणबाट बिदा भएका हुन् । अब उनको स्थानमा महिला सञ्चालक आउने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विकासन्युजलाई जानकारी दिए । बीमा ऐन, २०७९ को दफा ६ मा प्राधिकरणमा एक जना महिला सञ्चालक रहने व्यवस्था उल्लेख गरिएको छ । बीमा विज्ञका रूपमा २ जना सञ्चालक रहने व्यवस्था छ । त्यसमध्ये एक जना सञ्चाकल महिला हुनुपर्ने ऐनमा उल्लेख छ । तर, ऐनमा नै महिला सञ्चालकको परिकल्पना गरिएको भए पनि हालसम्म प्राधिकरणले महिला सञ्चालक पाउन सकेको छैन् । ऐनमा नै भएको व्यवस्था हालसम्म किन लागु भएन भन्ने प्रश्नमा अध्यक्ष सिलवालले भने, ‘हालको सञ्चालक समितिको गठन बीमा ऐन २०४९ ले गरेको हो, त्यसकारण महिला सञ्चालकको उपस्थिति भएन । र, हाल रिक्त रहेको सञ्चालक पदमा महिलाको उपस्थिति हुनेछ ।’ हालको सञ्चालक समिति । प्राधिकरणको सञ्चालक समितिमा सरकारले नियुक्त गर्ने एक जना अध्यक्ष, सञ्चालक सदस्यका रूपमा अर्थ मन्त्रालयका एक जना सहसचिव, कानुन मन्त्रालयका एक जना सहसचिव र २ जना बीम विज्ञ सदस्यका रूपमा रहने व्यवस्था छ । सोही २ जनामध्ये एक जना महिला अनिवार्य हुनुपर्ने छ । बीमा ऐन २०७९ जारी भएको एक वर्ष बितिसक्दा पनि प्राधिकरणले महिला सञ्चालक पाएको भने छैन । अध्यक्ष सिलवालका अनुसार अब भने प्राधिकरणले महिला सञ्चालक पाउने छ । अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्याल र सन्तोष रिजाल सञ्चालक समिति सदस्यका रुपमा काम गरिरहेका छन् ।
नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ
नेपालगञ्ज । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो एक सय ६० रुपैययाँ मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।’ एकैपटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउने र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताइन् । कोहलपुरबाट ल्याई नेपालगञ्जमा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्, उनी भन्छिन् । नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए । उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । जुम्लाको स्याउको मूल्य प्रतिकेजी एक सय ६० छ भने भारतबाट आयात गरिएको स्याउ दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ । नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् ।
सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन एक महिनामा ३ अर्ब ७५ करोड
वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ, भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ,’ उनले भने । भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रुपैयाँले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए । कार्यालयले आव २०७९÷८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।