भरतपुर महानगरले दियो २६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन् । उनले भनिन्, ‘महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।’ शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताइन् । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पुर्याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।’ वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उनले बताइन् । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।
आईएमई लाइफबाट बाहिरिए सीईओ फुयाँल
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएको छ । कम्पनीले एक सूचना जारी गर्दै पदावधि सकिएको जानकारी गराएको छ । कम्पनीका अनुसार भदौ ६ गतेदेखि उनको कार्यकाल सकिएको हो ।
यस्ताे छ नाडा अटो शोको तयारी (फोटो फिचर)
काठमाडौं । भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि आयोजक टिमले तीव्र रूपमा तयारी सुरु गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले प्रदर्शनीस्थलमा स्टल बनाउने काम ७० प्रतिशतभन्दा बढी सकिएको बताएको छ । भोलिसम्म अटो शोका लागि सम्पूर्ण तयारी पूरा भइसक्ने आयोजकले जनाएको छ । यस पटकको अटो शोमा चारपांग्रे २४, दुईपांग्रे १९ र हल्का व्यावसायिक सवारी साधनका १२ गरी ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन् । गाडी विक्रेता बाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ । तस्बिरहरू ः साैगात पुडासैनी
द बेस्ट बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट गरिमा बैंक सम्मानित
काठमाडौं । गरिमा विकास बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इर्मरजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड गरिमा विकास बैंक लिमिटेड द बेस्ट बैंक इन एसिस्ट क्वालीटी अवार्डबाट सम्मानित भएको छ । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको बैंकले बताएको छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।
कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध
उदयपुर । यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके । तर, उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन् । यही पेशाबाट उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन् । सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन् । कागती बिक्रीबाट वार्षिक ५ लाख आम्दानी गर्ने गरेको उनले जानकारी दिए । विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएका छन् । अहिले उनको गोठमा एक सयको संख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् । उनले एक हजारको संख्यामा लोकल कुखुरा र एक हजार हाँस पालेका छन् । खसीबाट वार्षिक ७ लाखसम्म र हाँस कुखुरा बिक्री गरी ४ लाखसम्म आम्दानी गर्छन् । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन् । ‘मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ,’ उनले भने, ‘राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।’ अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छन् । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिन्छन् । उनका चार छोरामध्ये उनी साहिँला छोरासँग बस्छन् । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउँछन् उनी । उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छन्, ‘उहाँ कर्मठ कृषक हुनुहुन्छ, यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ, उहाँ सफल कृषकमात्र नभइ समाजसेवी पनि हुनुहुन्छ ।’ पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरे र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्राचार्य थापामगरले जानकारी दिए । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, ‘जीतुहर्क एक संघर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।’ ८० वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउँछन् । ‘सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन,’ उनी भन्छन्, ‘यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन, म यसमै सन्तुष्ट छु ।’ उनी दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन् । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक संकट पर्दा उनले सरसापटी दिने गरेका छन् । ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउँछन् । रासस
भारतमा बस दुर्घटनामा बाराका ४५ तीर्थयात्री घाइते
बारा । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् । ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए । ‘बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ,’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य नीजि क्लिनिकमा उपचार भइरहेको उनले बताए । भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामुहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साइमेक्स इंकले नेपालमा लन्च गर्यो २०२४ भर्सनको बीवाईडी एट्टो ३
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ । बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको कम्पनीले बताएको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुँडिरहेका छन् । ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ । यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ भने यसले गर्दा आधुनिकता प्रदान गरेको छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको कम्पनीको भनाइ छ । बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९/९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०/४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ । बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ ।
सरकारलाई बैंकले तिरे ३० अर्ब कर, यी हुन् २ अर्ब बढी तिर्ने चार बैंक
काठमाडौं । बैंकिङ क्षेत्रले सरकारलाई करिब ३० अर्ब रुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रले नाफा बापत २९ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर तिरेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नबिलले गत आवमा २ अर्ब ७३ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । त्यस्तै, प्रभुले २ अर्ब ५७ करोड, ग्लोबल आइएमईले २ अर्ब ५५ करोड र नेपाल इन्भेटमेन्ट मेगा बैंकले २ अर्ब १४ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार एभरेष्टले १ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब ६४ करोड, कुमारीले १ अर्ब ६२ करोड रुपैयाँ र नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड रुपैयाँ करका लागि छुट्याएको छ । सिद्धार्थ बैंकले १ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ करोड, नेपाल बैंकले १ अर्ब २३ करोड, हिमालयन बैंकले १ अर्ब २० करोड, एनएमबिले १ अर्ब र सानिमाले ९७ करोड रुपैयाँ कर तिर्नका लागि प्रोभिजन गरेको छ । तथ्यांकअनुसार नेपाल एसबिआईले साढे ८६ करोड, सिटिजन्सले ७४ करोड, माछापुच्छ«ेले ७९ करोड र एनआईसी एसियाले ५४ करोड रुपैयाँ करका लागि छुट्याएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीमा ३० प्रतिशत आयकर तिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको आम्दानीबाट बैंकहरुले सो कर तिर्नका लागि प्रोभिजन गरेका हुन् । राष्ट्र बैंकले वित्तीय स्वीकृत गरेपछि मात्रै पछि बैंकहरुले आम्दानीका आधारमा कर रकम निर्धारण हुनेछ ।