जीडीपीको ४४ प्रतिशत पुग्यो सार्वजनिक ऋण, लक्ष्यभन्दा बढी ऋण लिनुपर्ने बाध्यता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को महिलो महिनामा ४१ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । यससँगै नेपालले तिर्न बाँकी रहेको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको ४३.३४ प्रतिशत पुगेको छ । उक्त ऋणमध्ये १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६८ अर्ब ५४ करोड बाह्य ऋण हो । कार्यालयले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकाेमा साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ । साउन महिनामा नेपालले १९ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण प्राप्ति १२.१२ प्रतिशत तथा बाह्य ऋण प्राप्ति १.६ प्रतिशत रहेको छ । कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण २१.१० प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड र वाह्य ऋण दायित्व २२.२४ प्रतिशत अर्थात् १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कर्यालयका अनुसार सरकारले कुल साउनमा १९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले १७ अर्ब आन्तरिक ऋण भुक्तानी गरेको छ भने २ अर्ब २७ करोड वाह्य ऋण भुक्तानी गरेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा कुल ५ अर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा साउनमा ४३ अर्ब ५९ करोड ऋण प्राप्त भएको कार्यालयले जनाएको हो । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण १२.१२ प्रतिशत तथा वाह्य ऋण १.६६ प्रतिशत रहेको कार्यालय रहेको बताएको छ । यसैगरी खर्च तथा ऋण बढिरहने तर राजस्व संकलन नबढ्ने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने देखिएकाे छ ।
एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्ने लक्ष्य
काठमाडौं । विराटनगरको एसिएन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको छ । कम्पनीले उत्पादनसँगै कोदोको बिस्कुटको बजारीकरण समेत गरेको जनाएको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको उत्पादन सुरु गरेको कम्पनीको दाबी छ । हालसालै मात्र कोदोको उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक आशिष जाजूले बताए । ‘उद्योगमा पहिलेदेखिको लगानी थियो । त्यसलाई थप मात्र गरेका हौं,’ उनले भने, ‘यसलाई हामीले भारततर्फ निर्यात गर्ने लक्ष्य पनि लिएका छौं । यसका लागि काम सुरु गरिसकेका छौं ।’ उद्योगले नेपालमै पहाडी क्षेत्रमा उत्पादित कोदो कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जनाइएको छ । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ । जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए । ‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्,’ उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ ।’ उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए । उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए । जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् । एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ ।
अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ । हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् । साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ । मूल्य फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् । इन्जिन सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ । किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ग्राउण्ड क्लियरेन्स सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ । सिट क्षमता सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ । टायर यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ । सुरक्षा प्रणाली सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ । उच्च गति सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।
जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा
म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । ‘मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।’ पाँच उडानमार्फत ९० जना मुुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।
श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिबाना, थप कारबाहीका लागि सिफारिस
काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले ७ असारमा विवरण मागेको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिबाना गरिएको झाको भनाइ छ । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी)हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको तथा सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको महानगरले जनाएको छ । उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्यादभन्दा कम देखिएको छ । तेलको लेबलमा उल्लेख भएका तत्वहरू र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त नभएको महानगरले जनाएको छ । लेबलमा उल्लेख फाइदाहरू (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ । कपाल उमार्ने रसायनिक तत्व सम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा छैन । कच्चा पदार्थ तथा जडीबुटीहरू एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानिकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध गराउन सकेन । तेलको लेबलमा उल्लेख गरिएको उपभोग्यरप्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त नभएको र तेलमा प्रयोग गरिएको जडीबुटीहरूको मात्रा यकिन गर्ने गुणस्तरीय विधि तथा कुनै पनि परीक्षण गरेको विश्लेषण प्रतिवेदन साथै उक्त जडीबुटीहरूको मानव स्वास्थ्यमा असर हुने/नहुने दस्तावेज पनि इण्डष्ट्रीले दिन नसकेको महानगरको भनाइ छ । यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको जनाइएको छ ।
टोयोटा विजय उत्सव : एक्सचेन्जदेखि बीमा सुविधा, कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा बम्पर छुट
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ १३ बाट सुरु गरेर १८ गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम सार्वजनिक गर्न लागिएको कम्पनीको भनाइ छ । विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुट पाउने छन् । कार्यक्रममा विभिन्न बैंकहरूको सहकार्यमा सहजै फाइनान्स सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेन्जरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ । यस कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रूपमा डेली लक्की ड्रसमेत रहेको छ ।
हाम्राे शिक्षा प्रणाली परम्परागत भयाे, पाठ्यक्रमलाई प्रविधिसँग जोड्न आवश्यक छ : सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अहिलेको हाम्रो पाठ्यक्रमलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको परम्परागत शिक्षा प्रविधिले शिक्षालाई सिपसँग जोड्न नसकेको बताएकी हुन् । उनले श्रमको सम्मान पहिलो प्राथमिकता रहेको बताएकी छन् । ‘डाक्टर, इन्जिनियरलाई जति सम्मान दिन्छौं त्यति नै सम्मान हामीले श्रम गर्ने अन्य सबैलाई दिन सक्नुपर्छ र मात्रै शिक्षालगायत रहेक कुरामा समानता हुन्छ,’ उनले भनिन्, ‘हामिले डाक्टर इन्जिनियर मात्रै भन्न थाल्यौं भने के हुन्छ होला सोचौ त ?’ नेपालको शिक्षालाई पनि प्रविधिसँग जोड्न आवश्यक रहेको उनले बताइन । ‘जबसम्म हामीले शिक्षामा पढ्दै कमाउँदैको धारणा जोड्न सक्दैनौं तबसम्म शिक्षामा सुधार हुन सक्दैन,’ उनी भन्छिन्, ‘अहिलेको शिक्षा सुधार्नका लागि सबैभन्दा पहिले अभिभावकलाई आफ्नो बच्चाले अध्ययन गर्न लागेको विषयको बारेमा बुझाउनपर्छ ।’ अभिभावकलाई प्राविधिक विषय पढ्दाको फाइदा, उपयागिता तथा प्रभावकारिताको बारेमा बुझाउने हो भने मात्रै शिक्षा प्रभावकारी हुने उनको भनाइ छ । ‘हाल सीटीईभीटीमा अध्ययनरत विद्यार्थीको संख्या उल्लेख भए पनि म पढाइमा कमजोर थिएँ त्यसैले टेक्निकल अध्यय रोजेँ भन्नेहरू धेरै हुनुहुन्छ,’ उनले भनिन्, ‘यो कुरा एकदमै गलत हो । टेक्निकल पार्टमा पनि आफ्नो क्षमताअनुसारको व्यक्ति आउन सके त्यो क्षेत्र पनि सुधार हुँदै जान्छ, त्यसैले हामीले यसमा जोड दिन आवश्यक छ ।’
प्रधानमन्त्रीद्वारा महिला भलिबल खेलाडीलाई जनही ३ लाख पुरस्कार वितरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन् । खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही १ लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे । ‘हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईंहरू जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।’ आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले दशरथ रंगशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरूलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरुपमा व्यवस्था हुनुपर्ने बताए । मन्त्रालयका सचिव सुमनराज अर्यालले सीमित स्रोत साधनबीच नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति आभार व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले लिएको अग्रसरता प्रशंसनीय रहेको बताए । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले भलिबलको विकासका लागि के गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री ओलीको प्रतिबद्धताबमोजिम कभर्ड हल बन्ने विश्वास व्यक्त गरे । पुरस्कृत कप्तान शाहीले पुरस्कारबाट प्रोत्साहन मिलेको र आगामी खेलमा राम्रो प्रदर्शन गरी राष्ट्रलाई चिनाउने संकल्प गरे ।