ग्लोबल आइएमई बैंकबाट यति एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकका लागि यति एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाइने भएकाे छ । उक्त क्यासब्याक अफरअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ का प्रयोगकर्ताहरूले यति एयरलाइन्सको हवाई टिकटको खरिदमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । क्यासब्याकका लागि बैंकका ग्राहक तथा ग्राहक परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यति एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्याईयति’ प्रोमो कोड प्रयोग गर्नु पर्नेछ । बैंकका अनुसार ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएकाे छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
न्युजिल्याण्डको घरायसी जीवनको लागत ३.८ प्रतिशतले बढ्यो
काठमाडौं । सेप्टेम्बर २०२४ को १२ महिनामा औसत न्युजिल्याण्डको घरपरिवारको जीवनयापनको लागत ३.८ प्रतिशतले बढेको छ । जुन १२ महिनामा ५.४ प्रतिशतले वृद्धि भएको छ । हालको घरायसी जीवनको लागत ८.२ प्रतिशत थियो । जुन १२ महिनादेखि डिसेम्बर २०२२ तुलनामा रेकर्ड गरिएको थियो । घरेलु जीवन–लागत मूल्य सूचकांकहरू अनुसार मुद्रास्फीतिले प्रत्येक त्रैमासिकमा १३ विभिन्न घरपरिवार समूहहरूलाई कसरी असर गर्छ भन्ने मापन गर्दछ । यसको विपरित, उपभोक्ता मूल्य सूचकांकले कसरी मुद्रास्फीतिले समग्र न्युजिल्याण्डलाई असर गर्छ भनेर मापन गर्दछ । सेप्टेम्बर २०२४ क्वार्टरको १२ महिनामा मुद्रास्फीति २.२ प्रतिशत थियो । जुन १२ महिनामा क्वार्टरमा ३.३ प्रतिशतले वृद्धि भएको थियो । सेप्टेम्बर २०२१ देखि तीन वर्षमा, ब्याज भुक्तानी ११७ प्रतिशत बढेको छ । सोही अवधिमा सिपिआई जसमा नयाँ घर निर्माणको लागत समावेश छ । त्यो पनि १५.७ प्रतिशतले बढेको छ र औसत घरपरिवारको लागि ब्याज भुक्तानी समावेश गर्ने घरायसी जीवन–लागत मूल्य सूचकांकमा २०.३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले चार लाख ५८ हजार रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार रुपैयाँ, व्यक्तिगत विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार रुपैयाँ पाउनेछन् । विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले ३० हजार रुपैयाँ पाउँने छ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् । नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उनले बताए । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् । क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताए । प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ । रासस
भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट
धरान । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक एक लाख रुपैयाँ खर्च खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।’ उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले एउटा विरुवालाई १० देखि २० सम्म रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । रासस
छठका लागि भारतबाट ५० लाखका केरा आयात
जलेश्वर । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाख रुपैयाँसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाख रुपैयाँको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए । जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाख रुपैयाँको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश, विश्वका ३ दर्जनदेशमा व्यवसायिक सम्बन्ध स्थापित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा वि.सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो । विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम्बन्ध स्थापित गरी कम्पनीले विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । प्रतिस्पर्धी बजारमा पुनर्बीमा कम्पनीलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौति र अवसर रहेको छ । १० अर्ब चुक्ता पुँजीबाट सुरु भएको यस कम्पनीको हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुँजी पुगेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको ३९.९६१ प्रतिशत र सर्वसाधारण सेयरधनीको १६ प्रतिशत सेयर स्वामित्व छ । हाल कम्पनीमा स्थायी ४७ जना, करार ६ जना, व्यवस्थापन पर्शिक्षार्थी एक र सहायक प्रशिक्षार्थी २ जना कर्मचारी कार्यरत रहेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा छन् भने अध्यक्ष देव राज ढुंगाना रहेका छन् । कम्पनीले विभिन्न जोखिम समुहको बीमा, पुनर्बीमा तथा बीमा दाबी भुक्तानी व्यवस्था मिलाउन गठन हुने बीमा पुलको स्थापना तथा व्यवस्थापन गर्ने, पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुन आउने पुनर्बीमा तथा बीमा शुल्कबाट सिर्जित बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी बीमकहरुले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफूले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफूले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनः पुनर्बीमा (रेट्रोसेसन) गराउने काम गर्छ । यस्तै, सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरुसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरहरुको सेवा लिई वा सो संयुक्त रुपमा वा छुट्टाछुट्टै पुनर्बीमा गर्ने गराउने, आफूले ग्रहण गरेका पुनर्बीमा तथा बीमा व्यवसाय अन्तर्गत उत्पन्न भएका दाबी एवं व्यवस्थापन गरेका बीमा कोष अन्तर्गत उत्पन्न हुने दाबी भुक्तानी सम्बन्धी कार्य गर्ने, बीमकहरुले गरेको बीमा व्यवसाय अन्तर्गतको प्रत्यक्ष हिस्सा ग्रहण गर्ने कम्पनीको कर्तव्य हो । कम्पनीले पुनर्बीमा अन्डरराइटिस, पुनर्बीमा दाबी भुक्तानी, पूल म्यानेजमेन्ट, रेट्रोसेसन लगायतका पुनर्बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु कम्पनीले प्रदान गर्छ ।
तिहारमा ५० करोडको फूलमाला बिक्री, ४४ हजारभन्दा बढी किसानले लिए लाभ
काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १ सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए । काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने २२१ हेक्टरमा १ हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।