लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको जनाएको छ ।
दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्ने गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच विस्तार गर्ने गरी परिणामुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँग आग्रह गरेका हुन् । उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए । नागरिकले सहज र सरलरूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुने गरी परिणममुखी काम गर्न उनले निर्देशन दिए । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न, अखाद्यवस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन उच्च निगरानी गर्न उनको निर्देशन छ । उनले दसैंतिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।
टीआरसी विधेयक पारित भएकोमा अमेरिका, ईयूसहित १० देशले गरे स्वागत
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् । टीआरसी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्यांकन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,’ विज्ञप्तिमा उल्लेख छ । नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सो विधेयक पेस भएको थियो । बिहीबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका छन् ।
५ प्रहरी अधिकारीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, लिखित जवाफ माग
काठमाडौं । सर्वोच्च अदालतले उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै ५ प्रहरी अधिकारीले दायर गरेको रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । रिट निवेदक प्रहरी अधिकारीले मागेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरू पदअनुसारको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । तर, अवकाशमा जान नचाहेर ३० वर्षे सेवा हद कायम नहोस् भन्दै उनीहरूले रिट हालेका हुन् ।
दिपल, सेरेस र नामी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनभित्रै कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय रहेको र उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरीसकेको छ । ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५ सय छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट ५०० रुपैयाँ छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
अरू स्थानीय निकायले सिको गर्ने तिलोत्तमा : ‘ग’ वर्गका फरक क्षमताकालाई पनि भत्ता
काठमाडौं । चिटक्क सजिएको ६ लेनको बाटो । बाटोको दाँयाबाँया बेगनबेली फूलका बोट । सिंगारपटार गरिएकाे आकर्षक सडक । झट्ट हेर्दा गर्दा जो कोहीलाई कुनै विदेशी स्थानको झल्को दिलाउन सक्छ । तर, यो स्थान हाे रुपन्देहीको तिलोत्तमा नगरपालिका । विदेशमै भएको अनुभव दिलाउने अन्य थुप्रै त्यस्ता वस्तुहरू छन् यस नगरपालिकामा । हर्न नबजाइन ६ लेनको सडकमा सान्तसँग गुडिरहेका सवारीसाधन, साइकलयात्रीलाई छुट्टै लेन यस्तै, यस्तै । रुपन्देहीको मध्य भागमा २४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ तिलोत्तमा नगरपालिका । २०७१ सालमा स्थापित यो नगरको जनसंख्या १ लाख ४९ हजार छ । त्यस्तै, देशकै बढी २.२६ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ । आधारभूत स्वास्थ्य, शिक्षा, वातावरण सुधार, चेतना प्रवाह लगायतका काम नगरपालिकाले नियमित गर्दै आएको छ । यसकै कारण उत्कृष्ट र नमुना पालिकाको रूपमा स्थापित भएको छ तिलोत्तमा । देशभरिका २७६ नगरपालिकामध्ये तिलोत्तमाले आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा तथा सुशासनको क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको भन्दै नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानसमेत गरेको थियो । नगरले ‘समृद्ध नगर खुसी नगरबासी’ भन्ने नारालाई मुल मन्त्रकै रूपमा लिएको नगरप्रमुख रामकृष्ण खाँण बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट सिटीको अवधारणास्वरूप हामीले अप्टिकल फाइबर बिच्छयाएका छौं, त्यस्तै नगरभित्र वाइफाइ पनि फ्री गरेका छौं ।’ याे बालमैत्री घोषित नगरपालिका पनि हो । नगरपालिकाले आधारभूत शिक्षामा आफ्नै पाठ्यक्रम बनाएको छ । नगरप्रमुखको मासिक सुविधाबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ भने पोषण सुधार्न ६ कक्षासम्मका बालबालिकालाई संघले दिने १५ रुपैयाँको खाजामा १० रुपैयाँ थपिन्छ । कक्षा ६ का विद्यार्थीलाई पनि आफ्नै स्रोतबाट दिवा खाजाको व्यवस्था नगरपालिकाले गरेको छ । सरकारले भने कक्षा ५ सम्म मात्र खाजाको व्यवस्था गरेको छ । कक्षा ५ सम्मकाले पाउने खाजाको रकममा पनि प्रतिविद्यार्थी १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याइएको छ । तिलोत्तमाका ४२ सामुदायिक विद्यालयमा करिब १८ हजार ५ सय विद्यार्थी छन् । नगरपालिकाले फोहोरमैला प्रशोधन, पशु दर्ता, पकेट मेरो पहिलो डस्बिन र विकास निर्माणमा समुदायको बृहत् परिचालनजस्ता थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ । जसका कारण हरेक नागरिकको मन जित्न सफल भएको खाँण बताउँछन् । तिलोत्तमामा सडक संरक्षणको अभावमा निर्माण गरेको वर्ष दिन नबित्दै भत्किएर पुन निर्माण गर्नुपर्ने अवस्थासम्म पुगेका थुप्रै सडकका कथा छन् । तर, यहाँ सडक विभागले बनाएको सडकलाई पनि सिंगारपटार गरेर झनै चिकिट्ट पारिएको छ । ६ लेनको उक्त बाटोलाई दायाँबायाँ फूलका विरुवाहरूले सजाइएको छ । सडक किनारमा फुलेका फूलहरू र शान्तसँग गुडिरहेका सवारीसाधनहरूलाई एकनाशले नियाल्ने हो भने पनि कुनै विदेशभन्दा कम नलाग्ने नगरबासीहरू बताउँछन् । पूर्वपश्चिम, सिद्धार्थ राजमार्ग र सहायक मार्गलाई वृक्षारोपण गरेर हरियाली बनाएको तिलोत्तमाका सडकमा बत्तीको पनि व्यवस्था रहेको छ । लगानी सम्मेलनमार्फत ठूला व्यवसायीलाई आकर्षण गरेको तिलोत्तमाले साना तथा मझौला व्यवसायीका लागि औद्योगिक ग्राम बनाइरहको छ । नगरपालिकाले एक वडा, एक उत्पादनका लागि पकेट क्षेत्र छुट्याइएको नगरप्रमुख खाँण बताउँछन् । ‘हामीले एक वडा, एक उत्पादनका लागि पकेट क्षेत्र छुट्याएका छौं,’ उनी भन्छन्, ‘किसानलाई दूध उत्पादन, उपकरण खरिद र बीउ खरिदमा समेत नगरले अनुदान दिँदै आएको छ ।’ नगरपालिकाले कृषि उपजको बजारीकरण तथा भण्डारणमा पनि सहयोग गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि नगरपालिकाले थुप्रै कार्यहरू गरेको छ । नगरले रोजगारी बढाउन वैदेशिक रोजगारीबाट फर्केका र अन्यलाई व्यावसायिक तालिमको व्यवस्था गरेको छ । जसबाट सिप सिकेर आफ्नै गाउँघरमा केही गर्न सक्ने बनाउनलाई तालिमहरूको व्यवस्था गरिएको खाँण बताउँछन् । नगरपालिकाले सामुदायिक वन र सार्वजनिक जग्गालाई पनि एकदमै राम्रोसँग व्यवस्थापन गरेकाे उनी बताउँछन् । जसले नगरको आन्तरिक आम्दानी र पर्यापर्यटन बढाएको छ । देश संघीयतामा गइसकेपछि स्थानीय तहले स्थानीय सरकारका रूपमा घरदैलोबाटै नागरिकलाई सेवा दिइरहेका छन् । जसमध्ये कपितयले सयौंको भीडमा नागरिकको मन जित्ने गरी काम गरेर आफूलाई नमुनाका रूपमा पनि उभ्याएका छन् । पछाडि परेका पालिकालाई यिनीहरूले हौसला र प्रेरणा थपिदिएका छन् । पालिकाहरू बेथितिको चाङले भरिएका छन् भन्ने भाष्यलाई चिर्ने काम उत्कृष्ट पालिकाले गरेको देख्न सकिन्छ । तिलोत्तमा पनि यीनै भित्रको एक नगरपालिका हो । यति मात्रै होइन नगरपालिकाले अन्य पनि थुप्रै सुविधाहरू प्रदान गरेको छ । यस पालिकामा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई पनि भत्ताको व्यवस्था छ । जबकि संघीय सरकारले क र ख वर्गकालाई मात्र अपांगता परिचयपत्र र भत्ता दिने गर्छ । त्यस्तै, यस नगरपालिका क्षेत्रमा गुट्खासमेत खान पाइँदैन । नगरपालिकाले सरसफाइलाई ध्यानमा राख्दै गुट्खा निषेध गरेको नगरप्रमुख खाँण बताउँछन् । जनप्रतिनिधिहरू राजनीतिक प्रतिशोधका कारण विकासका कामहरू नै ठप्प पारेर बसेका उदाहरणहरू पनि थुप्रै छन् । तर, यस नगरपालिकामा भने जनप्रतिनिधिहरूले विकासमा राजनीतिक प्रतिशोध साध्दैनन् । पालिकामा ‘कर्मचारी–जनप्रतिनिधि’ बीचको ‘ट्युनिङ’ मिलेको देखिन्छ । यहाँका जनप्रतिनिधि अघिल्ला पटक ल्याइएका ‘असल’ नीति तथा कार्यक्रमलाई निरन्तरता दिन कत्ति पनि हिच्किचाउँदैनन् । आफूले ल्याएका योजनालाई निरन्तरता दिएको भन्दै विपक्षी दलका पूर्वजनप्रतिनिधिले पनि प्रशंसा नै गर्ने गरेका छन् । जनप्रतिनिधिको यस्तो व्यवहारबाट बुझ्न सकिन्छ कि उनीहरूमा चुनावका बेला मात्रै राजनीति गरौं तर अरू बेला जनताको सेवा गरौं भन्ने भाव छ । तिलोत्तमा पुग्ने जुन कुनै स्थानीय तहका जनप्रतिनिधिहरू पनि त्यहाँको सिको गरेर फर्किने गरेका छन् । नगरपालिकाले प्रविधिलाई पनि उत्तिकै जोड दिएको खाँण बताउँछन् । पालिकाले अनलाइनबाटै कर तिर्ने सुविधा दिएको छ । जसले गर्दा सेवाग्राहीहरूको समय बचत भएको उनी बताउँछन् । नगरपालिकाले सम्पत्ति कर जुनसुकै वडाकाे भए पनि एकै ठाउँमा रकम जम्मा गर्ने सुविधा समेत दिएको छ । यसले थप सहज भएको सेवाग्राहीहरूले बताउने गरेका छन् । नगरपालिकाले अनलाइन कर तिर्ने विषयमा प्रत्येक वडामा तालिम नै चलाएको थियो । नगरपालिका प्रत्येक वडाकाे १ हजार ९ सय २३ टोलमा नै पुगेर तालिम प्रदान गरिएको उनले बताए । नगर बासीले विद्युत्, खानेपानी लगायतका बिल पनि अनलाइनबाट नै तिर्ने गरेका छन् । तिलोत्तमा नगरपालिकाले अनलाइन विलिङसँगै सामुदायिक विद्यालयहरूका एप पनि सञ्चालनमा ल्याएको छ । जुन एपको माध्यमबाट अभिभावकले बालबच्चा घरबाट विद्यालयसम्म पुगेको र शिक्षकले विद्यार्थी घरसम्म पुगेको थाहा पाउन सक्नेछन् । त्यस्तै, विद्यालयको बस कति बेला आउँछ वा फर्किन्छ, विद्यालयको जानकारी, सूचना, विद्यालयमा हुने समयका गतिविधि आदि समावेश गरिएको उनी बताउँछन् । तिलोत्तमा नगरपालिकाले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक रूपमा गरेको छ । सञ्जालको प्रयोग गरेको सेवाग्राही तथा सर्वसाधारणमा महत्वपूर्ण सूचना तथा जानकारीहरू प्रदान गर्ने गरेको छ । त्यसका लागि नगरपालिकाले फेसबुक, ट्वीटर, युट्युब जस्ता माध्यमको प्रयोग गरेकाे छ । यसमा कार्यालयका विभिन्न गतिविधिसँगै सूचनाहरू समेत राख्ने गरेको नगरपालिकाले जनाएको छ । सामाजिक सञ्जाल प्रयोग नगरपालिकाले कोरोनाको समयमा प्रभावकारि ढंगले सञ्चालन गरेको थियो ।