डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न संसदीय समिति गठन गरौं : सांसद बास्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दबाब दिइएको भन्दै डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् । उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन विद्युत उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे । डेडिकेटेड र ट्रंकलाइनका विषयमा आफूले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए । बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गरे । त्यस्तै, बैठकको विशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्न पूर्वप्रधानमन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गरे । पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिँदै अनमिनको रेकर्ड हेर्न सुझाव दिए । अहिले उठेका प्रश्नहरूलाई विगतका घाउ कोट्याउने गरी परिस्थितिलाई असहज नबनाउन उनले आग्रह गरे । उनले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गरे । पौडेलले टुँडिखेलमा विरोध गरेका युवाहरूको कुनै गल्ती नभएको र आवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गरे ।
महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच समझदारी
काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्नेछन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभरि १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।
फोटोनले २८औं वार्षिकोत्सव नेपालसहित विश्वव्यापी मनायो
काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सव विश्वभिर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो । फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियालगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो । नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिइएको थियो । एमएडब्लू वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर १ कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्यान्ड र टीएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ । फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिनेछ ।
नेप्सेमा ३६ अंककाे गिरावट, कारोबार रकम कति ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से बिहीबार पुनः घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३२२ स्टकको १२ अर्ब २२ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार १३ अर्ब ७२ करोडको रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से घटे पनि दुई स्टकको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको ३७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ । १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड ०.१० प्रतिशत बढेको छ । यस्तै, जीवन बीमा समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ । लघुवित्त समूह २ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा समूह परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ८.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक घटेको छ ।
रविलाई गगनले भने- ९ मिनेटमा सकिन्छ भनेको बयान ९ घण्टा दिनुपर्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन् । उनले आफूहरूसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए । उनले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताए । उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न पनि उनले आग्रह गरे । महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताए ।
शिक्षालाई सिपसँग जोड्ने किसिमले अबको पाठ्यक्रम परिमार्जन हुन्छ: शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्ने गरी अगाडि बढेको बताएकी छन् । ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताएकी हुन् । उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्ने गरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ । उनले सीटीईभिटीलाई पुनर्संरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनर्संरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको बताइन् । ‘सीटीइभीटीलाई हामीले पुनर्संरचना गर्नुपर्छ । २०४५ सालको आवश्यकता आज २०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौं। नयाँ ढंगले निर्माण गरेका छैनौं । त्यही नीतिबाट मार्गदर्शिक छौं,’ उनी भन्छिन्, ‘म आएपछि सिटीईभिटीलाई पुनर्संरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनर्संरचनाका लागि दुई वटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौं ।’ उनले पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको पंक्तिलाई कसरी जोड्ने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित रहेको बताइन् । ‘हामीले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौं त्यहाँ नै हामी गलत भयौं,’ उनले भनिन्, ‘हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षपण त बारम्बार गर्यौं तर हामीले के भन्यौं भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौं ।’ साँच्चिकै शिक्षालाई सबल बनाउने हो भने प्रतिष्पर्धी जनशक्ति तयार गर्न सक्नुपर्ने उनले बताइन् । ‘ग्लोबल टु लोकल र लोकल टु ग्लोबल’ कसरी लिंकेज स्थापित गर्ने ? त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा उसले मात्रै अन्तर्राष्ट्रिय रूपमा पनि योगदान गर्नसक्ने उनको भनाइ छ । सोही किसिमको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब बहस हुनुपर्ने उनले औंल्याइन । ‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस्,’ उनी भन्छिन्, ‘सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौं ।’ उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयकाबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । उनले शिक्षा भनेको ज्ञान मात्रै नभइ सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताएकी हुन् ।
पूर्वगभर्नर, सचिव र बैंकर्स मिलेर ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना, ५० करोड पुँजीको कम्पनीले आईपीओ ल्याउने
काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुने भएकाे छ । छिटै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्देखि कृषि क्षेत्रका उद्यमीले सहकार्य गर्न लागेका छन् । पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतले एग्रो भेन्चर क्यापिटलमा लगानी गर्न लागेका हुन् । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग, व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएकाे उनीहरूले बताएका छन् । पूर्वबैंकर रमेशकुमार भट्टराइले आ-आफ्ना क्षेत्रमा लामो अनुभव हासिल गरेका साथीहरू मिलेर एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएको बताए । अमेरिका र युरोपमा सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट सुरु भइसकेको छ । विदेशी लगानीका र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भेन्चर क्यापिटल नेपालमा काम गरिरहेका छन् । राम्रो सम्भावना भए पनि पूूँजी अभावमा धेरै उद्योग, व्यवसाय चल्न नसकेको र जोखिम बढी हुने भएकाले बैंकहरूले सहज लगानी गर्ने अवस्था हुँदैन । यस्ता उद्योग, व्यवसायमा ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) ले लगानी गर्छन् । यस्ता समस्या सम्बोधन गर्न कृषि क्षेत्रका उद्योग–व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको भट्टराईले बताए । उनका अनुसार विभिन्न चरणको छलफलपछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल राख्ने निर्णय भएको हाे । कम्पनीको तत्कालको चुक्ता पूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको उनले बताए । प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याउने तयारी भएकाे भट्टराईले बताए । संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ । नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालन भए पनि कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसाय स्थापना, सञ्चालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नरहेको उनले बताए । सोही कारण कृषि क्षेत्रमा काम गर्ने गरी भेन्चर क्यापिटल स्थापना गर्न लागिएको भट्टराईले बताए । प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको सम्भाव्यता अध्ययन र आवश्यक तयारी भइसकेको उनले बताए । आगामी साता बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीसाग छलफल गरी अगाडि बढ्ने उनले बताए ।
निजी कम्पनीहरूसँग नाफा खान एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका छ : सांसद झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताए । उनले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरूसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको उनले बताए ।