विकासन्युज

वित्तीय अपराधको अनुसन्धानमा थप कडाइ गरिँदै, छुट्टै निकाय गठनको तयारी

काठमाडौं । पछिल्लो समय वित्तीय अपराध बढ्न थालेसँगै यसप्रति सरकारले चिन्तित बनेको छ । दिनप्रतिदिन वित्तीय अपराधका घटनाहरू बढ्न थालेसँगै वित्तीय सम्बन्धि अपराधको अनुसन्धान गर्ने निकायको जिम्मेवारी पनि बढेको छ । विगतमा वित्तीय अपराध सम्बन्धि गतिविधिहरू कमै हुने भएपनि पछिल्लो समय त्यस्ता गतिविधिहरू बढ्दा अनुसन्धान गर्ने निकायलाई पनि जिम्मेवारी थपिरहेको छ । दिनप्रतिदिन वित्तीय अपराधका घटना बढेसँगै सरकारले वित्तीय अपराध अनुसन्धान गर्ने छुट्टै निकाय गठन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने जानकारी दिएका हुन् । गृहमन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्ला दिनमा वित्तिय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने जानकारी दिएका हुन् । उनले यसको प्रक्रिया पनि अगाडि बढेको बताएका हुन् । कुनै व्यक्तिको स्वार्थका लागि अनधिकृत रूपमा सम्पत्तिको स्वामित्व परिवर्तन गर्ने, वित्तीय अराजकता तथा अनियमितता र कर छलिजस्ता कार्यहरू वित्तीय अपराधमा पर्छन् । पछिल्लो समय वित्तीय अपराधका घटनाहरू अनपेक्षितरूपमा बढिरहेका छन् । अर्थतन्त्रमा आएको सुस्तताका कारण समयमा कर्जा तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको हो । समयमै कर्जा भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राखिन्छ । कालोसूचीमा राख्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सिफारिस गर्नुपर्छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पनि सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्न अत्याधुनिक प्रविधि सहित सुरक्षा निकायलाई सक्षम बनाउने घोषणा गरेका थिए । उनले क्रिप्टोकरेन्सी, हुण्डी, संगठित अपराध, अन्तरदेशी र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले विशेष रणनीति बनाएर काम गर्ने घोषणा गरेका थिए । सरकारले गठन गर्ने ब्यूराेले सहकारी ठगीदेखि सुन तस्करी र बैंकिङ कसुरदेखि अनलाइन ठगीसम्मका मुद्दाहरूमाथि अनुसन्धान गर्नेछ । यसअघि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा छुट्टै ब्यूरोका लागि पत्राचार गरेको थियो । अहिले ब्यूरो स्थापनाका लागि निर्देशिका तयार पार्ने काम भइरहेको बुझिएको छ । ब्यूरो स्थापनाका लागि करिब डेढ सय जना जनशक्ति आवश्यक पर्ने बताइएको छ ।

प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्धको अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश खारेज गरेको हो । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको थियो । तर, सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत् भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

नेपाल विश्वविद्यालय विधेयकमा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव

काठमाडौं । नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी उपसमितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ मा ‘अध्यापक तथा कर्मचारी’ भन्ने शब्दहरूको सट्टा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव दिएको छ । प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा समितिसमक्ष प्रतिवेदन पेस गर्दै उपसमितिले ‘उपकुलपति, रजिष्ट्रार तथा परिषद्, प्राज्ञिक परिषद् र कर्मचारी समितिका’ भन्ने शब्दहरुको सट्टामा ‘उपकुलपति, रजिष्ट्रार, र परिषद्का’ भन्ने शब्दहरू राख्न सुझाव दिएको हो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा उपसमितिका संयोजक देवेन्द्र पौडेलले समितिका सभापति अम्मरबहादुर थापासमक्ष प्रतिवेदन पेस गर्दै भने, ‘विधेयकमा उल्लेख गरिएको बैठकमा भन्ने शब्दपछि ‘स्वदेशी’ भन्ने शब्द थपी सोही उपदफामा रहेका ‘वा अनुसन्धानकर्तालाई’ भन्ने शब्दहरूको सट्टा ‘अनुसन्धानकर्ता वा विद्यार्थी प्रतिनिधिलाई’ भन्ने शब्दहरू राख्नुपर्ने सुझाव पेस गरिएको छ ।’ ‘मनोनयन भएका सदस्यहरूको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइ सदस्यको तीन वर्ष र बाँकी एक तिहाइ सदस्यको चार वर्षको हुनेगरी पदावधि कायम गर्नुपर्नेछ’, प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, उपसमितिले ‘शिक्षाविद्’ भन्नाले नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झ्नुपर्छ’ भनी सुझाव दिएको छ । समितिले विधेयकको सम्बन्धमा छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न संयोजक पौडेल र सदस्यहरू डिगबहादुर लिम्बू र दिपा शर्माको सदस्यतामा उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्मा, रामप्रकाश चौधरी, ज्ञानु बस्नेत सुवेदी, डा. चन्द्र भण्डारी र कालुराम राईलगायतले उपसमितिको प्रतिवेदनका आधारमा विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

निर्माणाधीन ‘सेफ्टी ट्यांकी’ भित्र बेहोस हुँदा ३ जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी-त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । सेफ्टी ट्यांकीभित्र तीन जना बेहोस भई लडी रहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

इष्टर्न साहाराले आइपीओ निष्कासन गर्ने

काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय कित्ताका दरले ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । साधारण सेयरको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । विसं २०७९ सालमा पब्लिक कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय बिर्तामोड झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा छ ।

भेरी अस्पताल सर्वसाधारणले अनलाइनबाट टिकट काट्न पाउने

खजुरा । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको हो । अस्पतालमा देनिक सयौंको संख्यामा बिरामी सेवाग्राहीको घण्टौंसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले अनलाइन टिकट सेवाको सुरुआत गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरूले टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘घण्टौँसम्म लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्न अनलाइन टिकेट सेवा सुरु गरेका छौँ ।’ मेसु थापाका अनुसार सेवाग्राहीले परीक्षण गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित चिकित्सक र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्कबापत ३० अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चाहेको समयमा टिकट बुक गर्न पाउनेछन् । सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । उनका अनुसार अस्पतालको सेवालाई थप गुणस्तरीय र समयसापेक्ष बनाउन थप सुविधा विस्तार गर्दै लगिएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला राखिएको अस्पतालले जनाएको छ ।

साउनमा जम्मा साढे ५ हजार पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी । घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् । गत असारमा कूल १० हजार सात सय ६८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए । असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । ‘वर्षातको याम पदयात्राका लागि अनुकूल नहुने हुँदा पर्यटक आगमन घटेको हो,’ प्रमुख कडरियाले भने, ‘मनसुन पदयात्राका लागि पनि गन्तव्य पहिचान र प्रवद्र्धनको काम भइरहेकाले पछि यस याममा पनि पर्यटक आकर्षित हुन सक्छन् ।’ असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रुपमा लिने गरिएको उनले बताए । आयोजना प्रमुख डा. कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने गरेको छ । (एक्याप) को तथ्यांकअनुसार गत आवमा २ लाख २२ हजार १ सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएकामा सबैभन्दा बढी चैत महिनामा ३५ हजार २ सय ६५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा एसियाली मुलुकका १ लाख १७ हजार ८ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक सो क्षेत्रमा आएका थिए । आव २०७९÷८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएका थिए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय १० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकीन नै गर्न नसकिने आयोजनाले जनाएको छ । यहाँको अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले बताए ।

वित्तीय अनुसन्धान ब्यूरो गठन गर्छाैं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरूसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए । प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसदमा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुङ्ग्याएर मन्त्रिपरिषद्मा पठाउने सो अवसरमा उनले जानकारी दिए । ‘प्रहरीका केही कानुन धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिए,’ गृहमन्त्री लेखकले भने, ‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौँ ।’ सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उनको भनाइ थियो । सर्वोच्च अदालतले २०७०/७१ मा नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यतिका दिनसम्म पालना नभएको उल्लेख गर्दै गृहमन्त्री लेखकले आफूले पदभार ग्रहण गरेपछि सो कार्य अघि बढाएको जानकारी दिए । गृहमन्त्री लेखकले उत्तरमा तिंकर नाका तथा कोरला नाकाका साथै दक्षिणतर्फ बेलहिया नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित पार्ने, कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् शिक्षालयबाट विद्यार्थीलाई तालिम दिएर स्वयंसेवकका रूपमा खटाउने, केन्द्रीय नागरिकता सूचना प्रणालीलाई वडास्तरमा लैजाने तथा ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । सरकार गठनको एक सय दिनको अवधिलाई ध्यानमा राख्दै विभिन्न कामहरु प्राथमिकतामा राखेर काम अघि बढाइएको गृहमन्त्री लेखकको भनाइ थियो ।