जलवायुसम्बन्धी आगामी सम्मेलन कोप-२९ ‘फाइनान्स कोप’ हुने
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए । ‘जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन्तिम रुप दिने र यसमा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमध्ये कसले कति रकम राख्ने भन्ने बारेमा टुंगो लाग्ने बताइएको छ’, उनले भने, ‘साथै रकमको मात्रा खोल्ने कि नखोल्ने तथा के के विषयलाई जलवायु वित्त भन्ने विषयमा समेत टुंगो लगाउने काम यो सम्मेलनमा हुनेछ ।’ यस विषयमा नेपालले तयारीका लागि हाल वातावरण संरक्षण नियमावली संशोधन प्रक्रियालाई अघि बढाएको, बजारमा कार्बन बेच्नका लागि स्विडेन र दक्षिण कोरियासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढाएको र यसका लागि आवश्यक पर्ने निर्देशिका बनाउन समूह गठन गरिएको सहसचिव डा पौडेलले जानकारी गराए। कोप–२८ को ठूलो उपलब्धिका रुपमा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोष कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ । हाल उक्त कोष कार्यान्वयनका लागि कार्यविधि, प्रक्रिया र मोडालिटी बनाउने काम भइरहेको छ । कोप–२९ कै तयारीका लागि यही भदौ १३ गते मलावीको लिलोङवेमा सम्पन्न अल्पविकसित देशका मन्त्रीहरुको सम्मेलनले आफ्ना मागसहितको घोषणापत्र जारी गरेको एलडिसिज समूहका अध्यक्षका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिए । कुल ४५ अल्पविकसित देशका मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखसहतिको सम्मेलनले जारी गरेको घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन र पेरिस सम्झौता सम्बन्धमा आफ्ना मागका विषय समेटेका छन् । नेपाल सरकारद्वारा कोप–२९ को तयारी प्रारम्भ नेपाल सरकारले कोप–२९ को तयारीका लागि हाल वनमन्त्रीको अध्यक्षतामा सम्मेलनसँग सम्बन्धित सबै विषयमा निर्देशन र समन्वय गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ । त्यस्तै, वन सचिवको अध्यक्षतामा ‘स्टाटस पेपर’लाई अन्तिम रुप दिन र ‘पोजिसन पेपर’ बनाउन प्राविधिक समिति गठन गरिएको छ । सम्मेलनका लागि विषयगत ‘थिमेटिक पेपर’ बनाउने, छलफल र परामर्शका लागि आवश्यक रायसुझाव संकलन गर्न तथा परामर्श र समन्वय गर्न जलवायु परिवर्तन महाशाखाका प्रमुखको अध्यक्षतामा कार्यदल गठन गरिएको छ । वन मन्त्रालयले कोप–२९ मा नेपालको सहभागितालाई समावेशी र उपलब्धिमूलक बनाउनका लागि तयारी सुरु गरेको छ । यसका लागि विगतको वर्षमा जस्तै कोप–२९ को मस्यौदा मार्गचित्र तयार गरिएको छ । यसका साथै, नेपाल पक्ष राष्ट्र भएको पेरिस सम्झौता र कोप–२८ को निर्णयबमोजिम सन् २०२५ को फेब्रुअरीसम्ममा सन् २०३५ सम्मको नयाँ लक्ष्य राखी नेपालले पनि ‘एनडिसी–तेस्रो समीक्षा’ पेस गर्नुपर्ने भएको र यसका लागि प्राविधिक समिति गठन गरी प्रक्रिया सुरु अघि बढाइएको डा पौडेलले बताए । कोप–२९ को मस्यौदा मार्गचित्रलगायत तयारी र ‘एनडिसी–तेस्रो समीक्षा’ तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा ‘एनडीसी–तेस्रो समीक्षा’ तयारी प्राविधिक समितिको संयुक्त बैठक आगामी सोमबार भदौ १७ गते तय गरिएको छ । कोप–२९ मा नेपालबाट हालसम्म वन मन्त्रीस्तरको सहभागिता हुने निश्चित भए पनि राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता हुने भन्ने विषयमा स्पष्ट भइसकेको छैन् । नेपालबाट हालसम्मको उच्चस्तरीय सहभागिता नेपालबाट हालसम्म चार सम्मेलनमा राष्ट्ररसरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गत वष युएईको दुबईमा भएको कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने जलवायुविज्ञ ढकालले बताए ।
पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना
भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । टेम्कमैयुङ(४ नागीमा रहेको यो झरना करिब ६० मिटर अग्लो छ । विगतका वर्षहरूमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झरना रहेको स्थानीयले बताउने गरेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौं मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । यो झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित रहेको छ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाको अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको थप विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए । विषेशगरी गर्मी याममा धेरै पर्यटकको जमघट हुने उनको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए । ‘महभिर झरनामा पर्यटकको आकर्षक केन्द्रका रूपमा स्थापित भइरहेको छ’, उनले भने, ‘दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।’ भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् । खास गरेर यहाँ गर्मीयाममा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए । यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भइरहेको उनको भनाइ छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘महभिर झरना पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।’ महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिइन् । मुख्य रूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको उपाध्यक्ष राईले बताइन् । ‘यहाँ धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटन र यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौं ,’ उनले भनिन् । यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । महभिर झरना संरक्षण तथा विकाससँगै यहाँको अवलोकन गर्ने मानिसको सङ्ख्या बढेको वडाध्यक्ष हर्कराज राईले जानकारी दिए । सडकको सहजतासँगै पर्यटकको आवागमन बढेको उनको भनाइ छ । वडाध्यक्ष राईले भने, ‘वडाभित्रका पर्यटकीयस्थलको योजनाबद्ध विकासमा जुटेको छ ।’
‘सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ’
लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने ,’अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।’ उनले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको छ भने । उनले नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि मुख्य दुई मुख्य पार्टी मिलेर वर्तमान सरकार बनेको जनाउँदै यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको बताए । विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ भने। उनले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताए। उनले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताए। उनले आयोजना समयमै सक्न निर्देशन दिँदै उनले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे। अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। उनले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे। उनले भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए। ‘भवनमात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रक्रियासँगै थालेर भवन बनेलगत्तै सबै सेवा सञ्चालन गर्ने गरी अहिल्यैबाट काममा लाग्नुपर्छ’, उनले भने, ‘यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।’ उनले १२ सय शय्याको अस्पतालमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधासम्पन्न अस्पताल बन्न जरुरी रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल भवनले सिङ्गो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पताल भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने छ भने । निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले अस्पताल निर्माण प्रक्रिया केही वर्षअघि नै सुरु भए पनि विविध कारणले हुन नसकेको स्मरण गर्दै शिलान्यासको चरणमा आइसकेकाले अब समयमै गुणस्तरीय काम र समयमै निर्माण सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमूना अस्पताल बन्ने विश्वास व्यक्त गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रहेका प्रदेश सरकारअन्तर्गतका निर्देशनालय र अन्य कार्यालय प्रदेश सरकारले जबर्जस्ती दाङ सार्न खोजेको जनाउँदै यसलाई रोक्न माग गरे । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा निर्माण सुरु गरिएको १२ तले सुविधासम्पन्न भवनमा एक हजार दुई सय शय्या रहने छन् । प्रदेश सरकारको ६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको छ । प्रदेश सरकारको चारवटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तरवृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो । प्रदेश संस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुँदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको छ । विसं २०७६ मा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टका रूपमा अघि बढाउने प्रक्रिया थालेको थियो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका लागि चालु आवमा १अर्ब ८० करोड बजेटसमेत विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारको लागतमा बोलपत्र प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ । अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्नेगरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए।
बेजोसलाई उछिन्दै मस्क बने विश्वकै धनी व्यक्ति, कति थपियो सम्पत्ति ?
काठमाडौं । प्रायः संसारमा धनीहरू झन् धनी हुँदै गएका छन् भनेर भनिन्छ । यद्यपि, यो सबैमा लागु हुँदैन । तर, त्यस्ता केही धनी व्यक्तिहरू छन् जो लगातार धनी हुँदैछन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा समावेश भएका विश्वका शीर्ष २ धनी व्यक्तिको सम्पत्ति पछिल्लो २४ घण्टामा निकै बढेको छ । यो यति धेरै भएको छ कि यसले शीर्ष १० मा रहेका बाँकी ८ धनीको २४ घण्टाको कमाईलाई पछाडि पारेको छ । अर्थात् टप-२ को आम्दानी शीर्ष–१० का बाँकी ८ धनी व्यक्तिको आम्दानीभन्दा बढी भएको भन्न सकिन्छ । यस सूचकांकमा टेस्लाका संस्थापक एलोन मस्क पहिलो स्थानमा र अमेजनका संस्थापक जेफ बेजोस दोस्रो स्थानमा छन् । पछिल्लो २४ घण्टामा एलोनले ५.५९ बिलियन डलर (लगभग ४७ हजार करोड भारु) र जेफ बेजोसले ५.९५ बिलियन डलर (लगभग ५० हजार करोड भारु) कमाएका छन् । यस्तो अवस्थामा यी दुई शीर्ष धनीले २४ घण्टामा ११ अर्ब ५४ करोड भारु कमाए । अब यस सूचकांकमा शीर्ष १० मा परेका बाँकी ८ धनी व्यक्तिको कुरा गरौँ । यसमा बर्नार्ड अर्नाल्ट, मार्क जुकरबर्ग, बिल गेट्स, ल्यारी एलिसन, वारेन बफेट, ल्यारी पेज, स्टीव भोल्मर र सर्गेई ब्रिन पर्छन् । यीमध्ये बर्नार्ड बाहेक अन्य ७ धनी व्यक्तिको सम्पत्ति पछिल्लो २४ घण्टामा बढेको छ । यी ८ धनीहरूको २४ घण्टामा कुल कमाई ८ अर्ब ९० करोड डलर रहेको छ । यस्तो अवस्थामा हेर्ने हो भने यो टप-२ को कमाईभन्दा २ अर्ब ६४ करोड डलर कम हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलोन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति २३९ अर्ब डलर छ । टेस्लाको सेयर एकै दिनमा ३.८० प्रतिशतले बढेको छ । यो वृद्धिसँगै एलोन मस्कको सम्पत्ति पनि बढेको छ । जेफ बेजोस २०२ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका दोस्रो धनी व्यक्ति हुन् । योसँगै अमेजनको सेयरले पनि एकै दिनमा ३.७१ प्रतिशत रिटर्न दिएको छ । यसले जेफ बेजोसको आम्दानी बढाएको छ । अम्बानी र अडानीको यस्तो छ अवस्था यस सूचीमा भारत र एसियाका सबैभन्दा ठूलो धनी मुकेश अम्बानी ११३ अर्ब डलरका साथ ११औँ स्थानमा छन् भने १०१ अर्ब डलरका साथ गौतम अडानी १५औँ स्थानमा छन् । २४ घण्टामा अम्बानीले ८९४ मिलियन डलर र अडानीले १६४ मिलियन डलर गुमाए । यस वर्ष अम्बानीको कुल सम्पत्ति १६.८ बिलियन डलरले बढेको छ भने अडानीको कुल सम्पत्ति १६.४ बिलियन डलरले बढेको छ । यो वर्ष एनभिडियाका संस्थापक जेन्सेन ह्वाङ सबैभन्दा धेरै कमाइ गर्नेमा पहिलो स्थानमा छन् । यो वर्ष उनको नेटवर्थ ६०.७ बिलियन डलरले बढेको छ । विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा यस वर्ष तीन धनी व्यक्तिको मात्रै सम्पत्ति घटेको छ । यसमा अर्नाल्ट, फ्रान्कोइस बेटानकोर्ट मायर्स र कार्लोस स्लिम पर्छन् । एजेन्सी
सम्झौता सकिन १० दिन बाँकी हुँदा काम २० प्रतिशतमात्रै
बाँके । परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन । मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । तर, काम भने करिब २० प्रतिशत मात्र भएको छ । संघीय सरकारको लगानीमा बन्न लागेको नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ । सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए। ‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ। तर प्रगति भने निराशाजनक छ,’ उनले भने । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ वैशाख देखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ। परसपुर–गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो। तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।
भौतिकमन्त्री दाहालले भने : मुग्लिन-पोखरा सडकको काममा ढिलासुस्ती नगर्नुस्
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन गरेका छन् । दाहालले शुक्रबार साँझ मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गरेका हुन् । मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगतिबारे मन्त्री दाहाललाई जानकारी गराए । यो खण्डमा हालसम्म ६५ प्रतिशत प्रगति भएको पाण्डेले जानकारी गराए । त्यस्तै दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको पुलमा ३० प्रतिशत प्रगति भएको उनको भनाइ थियो । यो खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको उनको भनाइ छ । पूर्वी खण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भागमा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म २० किलोमिटर दुई लेन सडक कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौडेलका अनुसार ११ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको पौडेलले जानकारी दिए । विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति केही बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा योजना कार्यालयको पहलमा सरोकारवाला निकायहरूको साथ र सहयोगले सडक स्तरोन्नतिमा भौतिक प्रगति नौ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ । पश्चिम खण्डको म्याद विसं २०८१ भदौ १२ गतेसम्म छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।
राजमार्गको दुरावस्था : काठमाडौं पुग्न हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी
मलेखु । बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौं पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् । नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौं पुर्याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो । राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौं पुर्याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा. मधुकर दाहालले बताए । ‘जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो,’ डा दाहालले भने । धादिङबेँसीबाट काठमाडौं कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन । एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्र्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन । राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ । वर्षौदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्छन्, ‘सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।’ धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौं भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ । राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
अब तनहुँमा पनि प्याराग्लाइडिङ, परीक्षण गरेको ६ वर्षपछि व्यावसायिक उडान
दमौली । तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताए । व्यास नगरपालिका-११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भने, ‘मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौं ।’ उनले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । ६ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका थिए । तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन–चार किमिको दूरीमा यस ठाउँ पर्छ। यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।