विकासन्युज

पेट्रोलियम पदार्थको मूल्य सस्तियो, अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य ३७ डलर घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।

सडकमा ढल नबनाउँदा ५ सय घर बर्सेनि डुबानमा

सिरहा । सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् । बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताए । ‘बस्तीको पूर्वतर्फबाट नाला निर्माण नगरी पक्की सडक बन्यो । त्यसपछि यो वर्ष त पूरै गाउँ सामान्य वर्षामै डुबानमा पर्‍यो’, उनले भने, ‘कति महिनासम्म डुबान रहिरहने हो टुंगो छैन ।’ समस्याको दीर्घकालीन समाधान गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । बस्तीको पश्चिमतर्फ नजिकै कमला नदीमा रहेको तटबन्धका कारण पानी निकासमा समस्या भएको अर्का स्थानीयवासी राजकुमार यादवको भनाइ छ । ‘एकातर्फ कमला नदीको तटबन्ध छभने अर्कातर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । अनि कहाँबाट पानीको निकास हुन्छ रु’ उनले भने, ‘भारी वर्षा हुँदा घरबाट बाहिर निस्कन सकिने अवस्था छैन । केटाकेटी र वृद्धवृद्धालाई झन् जोखिम बढेको छ ।’ पानीको उचित निकास नहुँदा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आइसकेको उनले बताए । मुख्यगरी यहाँको पासमान गाउँ, महाराजा टोल, कजकलवा, यादव बस्तीलगायत क्षेत्रमा डुबानको समस्या हुँदै आएको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । कमला तटबन्ध व्यवस्थित नहुँदासम्म समस्या सुल्झन गाह्रो हुने उनको भनाइ छ । कमला तटबन्ध क्षेत्रका ठाउँठाउँमा राखिएको कलभर्ट ९कजवे०बाट वर्षामा कमला नदीमा आएको बाढी उल्टो बस्तीतिर पस्ने गरेको अध्यक्ष यादवले बताए । ‘कमला तटबन्धका कजवे व्यवस्थित नहुँदा यो समस्या बढिरहेको छ भने अर्को, पानी निकासमा ध्यान नदिई बिनानालाको सडक निर्माण गरिनु हो । वर्षा सुरु भएदेखि बस्तीभरि पानी भरिएर एक घरबाट अर्को घरमा जान पनि समस्या छ’, अध्यक्ष यादवले भने, ‘बिनानाला कुनैपनि बाटो स्वीकृत गरिनुहुँदैन ।’ उनले बसबिट्टा क्षेत्रमा डुबान हुनुको मुख्य जिम्मेवार कमला सिँचाइ, सडक डिभिजन र नगरपालिका भएको आरोप लगाए । अर्कातर्फ बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको अध्यक्ष यादवको भनाइ छ । जसले गर्दा सदरमुकाम नजिकै रहेको बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । पानी निकासका लागि सामान्य ‘ह्युमपाइप’ले नहुने भन्दै वडाको स्रोत र साधनले नधान्ने उनले सुनाए । सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीनकुमार यादवले बसबिट्टा क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँग समन्वयको कार्य भइरहेको बताए । ‘तत्कालका लागि बजारलगायत बस्ती क्षेत्रमा जम्मा भएको पानी निकासका लागि दक्षिण–पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ । त्यसैगरी पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्ने सोचिरहेका छौँ’, उनले भने । तराई मधेसका अधिकांश स्थानमा दीर्घकालीन असर र प्रभाव मूल्यांकन नगरी विकास निर्माणका काम गरिँदा बर्सेनि डुबानका समस्या आउने गरेको जानकारहरू बताउँछन् । मुख्यगरी सडक निर्माण गर्दा नाली र ढलको व्यवस्था नगरी पूर्वाधार विकास गरिँदा यहाँको हुलाकी सडक र महेन्द्र राजमार्गका ठाउँठाउँमा डुबानको समस्या हुँदै आएको छ । सदरमुकाम सिरहा, सुखीपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकालगायत विभिन्न ठाउँमा बर्सेनि डुबानको मारमा स्थानीय छन् । यहाँका कतिपय विद्यालय, अस्पताल, सरकारी भवन डुबानमा पर्दै आएका छन् ।

गुगलद्वारा ‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको घोषणा

वासिङ्टन । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो । यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो । यो एआई ‘टेक्स्ट–टू–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो । अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डहरू मार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ । फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा–३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ । एजेन्सी

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको ‘पुनहिल’

म्याग्दी । निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा शनिबार बिहान देखिएको हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ । बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाए । ‘बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,’ उनले भने ‘कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिँड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।’ चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताए । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताए। ‘शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,’ उनले भने ‘छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तव्य रहेछ ।’ अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ । घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताए । ‘पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,’ उनले भने ‘एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।’ पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल÷घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताए। ‘गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,’ उनले भने ‘मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।’ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए । पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उनले बताए।

एमसीसी कार्यान्वयनको एक वर्ष पुग्यो, प्रसारणलाइन निर्माण र सडक मर्मतमा उल्लेख्य प्रगति भएको दाबी

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागु भएको एक वर्ष भएको छ । एमसीसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरूपमा लागु हुने अर्थात् ‘इन्ट्री इन टु फोर्स’ (ईआईएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको पहिलो वर्ष विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । ‘कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको एक वर्षमा एमसीए नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कुल १२ करोड ६० लाख अमेरिकी डलर लागतको तीन वटा ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता भएका छन् । ‘१८ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ’, एमसीए–नेपालले भनेको छ, ‘निर्माण व्यवसायीलाई आयोजनास्थलमा पहुँच उपलब्ध गराउने सन्दर्भमा पनि महत्वपूर्ण प्रगति भएको छ । रुख गणना, जग्गा प्राप्ति र पुनर्वाससम्बन्धी क्रियाकलाप नेपाल सरकारका नीति, नियम एमसीसीको वातावरणीय मार्गनिर्देशन र अन्तर्राष्ट्रिय वित्त निगमको कार्यसम्पादन मापदण्डअनुरूप भइरहेका छन् ।’ एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किलोमिटर सीमापार विद्युत प्रसारण लाइन निर्माणका लागि एमसीए नेपालले हिजो शुक्रबार मात्र भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनबाट नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण सम्पन्न गर्ने गरी १ करोड २३ लाख ६० हजार अमेरिकी डलर लागतमा सम्झौता भएको हो । कुल ३१४ किलोमिटर प्रसारण लाइनमध्ये बाँकी २९७ किलोमिटर प्रसारण लाइनका लागि यही वर्षभित्र पुनः बोलपत्र आह्वान गर्ने योजना रहेको एमसीए नेपालले जनाएको छ । एमसीए नेपालले विसं २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । जसमा चरण (लट–१) को लप्सीफेदी(रातामाटे(न्यू हेटौंडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो तरण (लट–३) को न्यू बुटवल–नेपाल–भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो । सोमध्ये लट–३ अर्थात् १८ किलोमिटर न्यू बुटवल–नेपाल–भारत सीमासम्मको प्रसारण लाइनको लागि मात्रै पुनः ठेक्का लागेको हो । सुरुवाती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि ती ठेक्का प्रक्रिया रद्द भएको एमसीए नेपालको तर्क थियो । पुनः खरिद प्रक्रिया अघि बढाउन आयोजनाको ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानमा संशोधन गरिने एमसीए नेपालले बताउँदै आएको छ । त्यसैगरी विभिन्न १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माण गर्न जग्गा प्राप्तिमा प्रगति भएको एमसीए नेपालको दाबी छ । प्रसारण लाइन टावरको जग निर्माण गर्न १०४ हेक्टर जग्गा आवश्यक पर्नेछ । यो अवधिमा दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको, जग्गाको मुआब्जा निर्धारण गर्न नौ वटा जिल्लामा मुआब्जा निर्धारण समिति गठन गरिएको, धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको र नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको एमसीए नेपालले जनाएको छ । प्रसारण लाइन आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका(७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न गत असार १ गते भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता भइसकेको छ । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसनको निर्माण ३९ महिनाभित्र सकिसक्ने लक्ष्य राखिएको छ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनबीच विद्युत प्रसारणको लागि महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । सडक मर्मत आयोजनाअन्तर्गत सडक विभागको प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको तथा धानखोलाबाट लमहीसम्म ‘फुल डेप्थ रिक्लेमेसन’ (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर सडक स्वीकृत भएकाले यसैवर्ष बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्टअनुसार परियोजना निर्माण सम्पन्न गरिसक्नु पर्ने पाँच वर्षको अवधि गणना सुरु भएको पहिलो वर्ष बितिसक्दा पनि जग्गा अधिग्रहण र मुआब्जा वितरण नसकिँदा तोकिएको समयभित्र काम सम्पन्न हुनेमा शंका उब्जाएको छ । एमसीए नेपालको पहिलो वर्षको बजेट खर्च पनि कम देखिएको छ । गत आर्थिक वर्षका लागि एमसीए नेपालले पाएको कुल बजेटको करिब ३० प्रतिशतमात्रै खर्च गरेर बाँकी ७० प्रतिशत समर्पण (सरेन्डर) गरेको अर्थ मन्त्रालयले जनाएको छ । एमसीए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी गत आवमा सरकारले १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा खर्च हुन नसकेपछि सात अर्ब ६० करोड ७० लाख रुपैयाँ बजेट सरेन्डर गरिएको हो । मन्त्रालयका अनुसार गत आवका लागि एमसीए नेपालका लागि तोकिएका माइलस्टोनको प्रगति कमजोर छ । विद्युत प्रसारण लाइन निर्माण गर्न आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त देखिएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको एमसीए नेपालले स्वीकारेको छ । परियोजनाको पूर्वतयारी नसकिँदै ‘ईआईएफ’ घोषणा भएको भन्दै आलोचनासमेत भएको थियो । परियोजना लागु गर्न पूरा हुनुपर्ने भनी एमसीसी कम्प्याक्टमा तोकिएका सर्तमध्ये जग्गाको अधिग्रहण पनि एउटा मुख्य सर्त थियो । उक्त सर्त हालसम्म पूरा हुनसकेको छैन । प्रसारण लाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुनसकेको छैन । एमसीए नेपालले चालू आर्थिक वर्षका लागि १३ अर्ब ३६ करोड रुपैयाँ बजेट पाएको छ । जसमध्ये चालूतर्फ एक अर्ब २३ करोड ८५ लाख र पुँजीगततर्फ १२ अर्ब १२ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । चालू आवका लागि एमसीसीको स्रोतबाट ९ अर्ब ९० करोड ८२ लाख र नेपाल सरकारको स्रोतबाट तीन अर्ब ४५ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । रासस

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिबार अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिए । उनले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे । अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकातर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उहाँले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूण विषय रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे । शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौंँ कुर्नुुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उनले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गरे । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न भई सञ्चालनमा आउने बताए । ‘आयोजना जसले सञ्चालन गरे पनि जनताले कमजोरी तथा ढिलासुस्तीका विषयमा सबैभन्दा पहिलो विकास समिति, अस्पताल प्रशानलाई प्रश्न उठाउने भएकाले अस्पताल परिवारसँग आयोजनाले समन्वय गर्नुपर्छ,’ उनले भने । अध्यक्ष श्रेष्ठले आयोजना कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे । अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचनाबारे बोल्दै उनले सीमित जनशक्ति र स्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपरेको स्पष्ट पारे। अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भीड लाग्दा महिनौँसम्म लाइन लाग्नुपर्ने स्थितिको सिर्जना भएको उनले उल्लेख गरे । अस्पतालको विभागीय प्रमुखका तर्फबाट डा वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि तीनगुणा बढी सेवाग्राहीलाईसेवा उपलब्ध गराउनुपरेको जानकारी गराए । अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. इन्द्र ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढिरहेको जानकारी दिए । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थप गर्ने योजनामा रहेको उनले बताए ।

करोडौंको स्याउ बाटैमा अलपत्र, कर्णाली राजमार्ग खुल्न अझै २ दिन लाग्ने

कर्णाली । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौंको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । ‘पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ’, प्रमुख जिल्ला अधिकारी नेपालीले भने, ‘त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ ।’ दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडक आगमन सञ्चालन गर्न तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए । ‘हामीले तीनवटा स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छ्याइसकेका छौँ’, उनले भने, ‘किटु खोलामा सडक भासिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ ।’ पहिरो पन्छ्याउने कामलाई तीव्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाइएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार सडकको पहिरो पन्छ्याएर नियमित आवतजावत हुन अझै २ दिन लाग्नेछ । अहिलो भएको ठाउँमा प्रहरीद्वारा हिँड्नलाई ढुंगा राखेर पैदल हिँड्ने यात्रालाई सहयोग गरिएको उनले बताए । यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउन प्रहरीले सहयोग गरेपनि स्याउ बोकेका गाडीहरु भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने चन्दननाथ नगरपालिका–९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे । ‘केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ’, उनले भने, ‘दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ ।’ करोडौँको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरु चर्को मारमा परेका छन् ।

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’ को आयोजना गर्ने

रियाद । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ । शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ । उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रूपमा सञ्चालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।