विकासन्युज

४४ व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका ७, काठमाडौंका २४, चितवनका ५ र धुलिखेलका ८ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । उक्त आव मा सो कार्यालयले ऐन, नियमबमोजिम अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित २ हजार ७४, अनुरोधात्मक नमूना १५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १६२ गरी २ हजार ७३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए । नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहरूलाई नियामनुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट आव २०८०/८१ मा नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित ३०९ वटा नमूना प्रयोगशाला विश्लेषणका क्रममा ९ वटा नमूना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमूनाउपर थप अनुसन्धान अघि बढाइएको प्रमुख घिमिरेले बताए । सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेका लगायत अखाद्य भएका ११ लाख २० हजार ७४६ रुपैयाँ मूल्य बराबरको वस्तु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । यस्तै सो कार्यालयले उक्त आवमा उद्योग स्थापनाका लागि ८६ खाद्य उद्योगलाई सिफारिस तथा ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी कुल ३११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ । होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा मुग्लिन, सौरहालगायतका स्थानमा सञ्चालित ४२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले उक्त आवमा विभिन्न शीर्षकमा २२ लाख ३२ हजार ९६० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

हाईलाइफको २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका सेयरधनीहरूले २ः१ अनुपात अर्थात् २ कित्ता सेयर हुने सेयरधनीले १ कित्ता सेयरका लागि आवेद दिन पाउनेछन् । कम्पनीको भदौ ११ गते सम्पन्न विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । भदौ १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छकु सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित, साढे १ अर्ब मुआब्जा वितरण गरिने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ’, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने । प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.०४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्यसपछि सुरु भयो हिमाली अल्लो तथा सुती कपडा उद्योग…

काठमाडौं । सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन् । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले चितवन आउने निधो गरेका हुन् । मनकलाले भनिन्, ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रणा गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।’ सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थिन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल भएकि छिन् । उनले सुनाइन्, ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।’ पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे । सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।’ अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ । कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । मनकलाले भनिन्, ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।’ कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउँछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् । देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाए ‘सबै योजना उनकै (मनकला) हो ।’ उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छन् भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन् । चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । देवेन्द्रले भने, ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।’ ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

अत्यधिक रक्तश्राव भएपछि दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

काठमाडौं । दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिए । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । ‘अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो,’ उनले भने । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

१५ करोडको खुदो निर्यात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा ९ हजार ७४१.६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म ३ हजार ५५५.६ मेट्रिक टन अर्थात् ५ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो । भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन् । उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्नेछ । आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

घट्यो विदेशी मुद्राको मूल्य

काठमाडौं । आइतबार विदेशी मुद्राको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज अधिकांश विदेशी मुलुकको मुद्राको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.०६ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.३५ रुपैयाँ र बिक्रीदर ९९.८० रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको छ ।

नाडा अटो शोको ५ दिनमा स्काइवेलका ९९ गाडी बुुकिङ, केक काटेर ‘सेलिब्रेट’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो । मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए । स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए । हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ । जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ । स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो । नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।