विकासन्युज

घोडेपानी आउने पर्यटकलाई सडक नै समस्या

म्याग्दी । पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ । लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए । ‘गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ,’ उनले भने, ‘पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।’ घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ । लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताए । बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो । ‘साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुपर्छ,’ उनले भने, ‘यो ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।’ १८ किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् । वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।

एनएमबि बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर कति ?

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

अर्थमन्त्री भन्छन् : सेयर बजार र नाडा अटो शोले अर्थतन्त्र चलायमान गर्छ

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पारेपनि सोचेअनुरुप काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनले नेपाल राष्ट्र बैंकले सबैले चाहेअनुसारको मौद्रिक नीति सार्वजनिक गरेपनि त्यसले अपेक्षाकृत बजार चलायमान बनाउन नसकेको बताएका हुन् । उनले मौद्रिक नीतिमा यस्तो स्वागत बिरलै हुने गरेको पनि धारणा राखे । ‘सबैले चाहेको जस्तो मौद्रिक नीति आयो, यसले बजारमा एक किसिमको सकारात्मक प्रभाव पनि पारेको छ । तर, हामीले अझैं धेरै गर्न बाँकी छ, अझैं पनि बैंकले कर्जा लगानी गर्न सकेका छैनन्, अहिलेका हाम्रा नीति प्रयाप्त भएनन् कि भन्ने हाम्रो बुझाइ छ, वर्तमान शिथिलता चिर्न सरकारले कदम चाल्नुपर्ने देखिएको छ,’ उनले भने । उनले नाडा जारी नाडा अटो शो र सेयर बजारको चहल पहलले बजार थप चलायमान भइरहेको धारणा राखे । यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ब्याजदर घटिरहेकोले यसले आर्थिक गतिविधि बढाउन सहयोग नै गर्ने धारणा राखे । उनले पछिल्लो समय अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको पनि धारणा राखे । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) जस्ताको त्यस्तै पारित हुन नहुने बताए । यसले उद्योगी व्यवसायीलाई लगानीका लागि निरुत्साहन गर्ने उनको भनाइ छ ।

रुख ढलेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीमा आइतबार बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । यस्तै, सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।

सानिमा रिलायन्सले सार्वजनिक गर्याे नयाँ बोनस दर, कुन योजनामा कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०७९/८० का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । सावधिक जीवन बीमा योजना (एकल) योजनामा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जनाएको छ । त्रिपल सावधिक बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम््रमको अवधिका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन योजनमा ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)का सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ । कम्पनीका अनुसार १५ वर्षे अग्रिम भुक्तानी योजनाका सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनाका सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाका सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ र सामूहिक सावधिक योजनाको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको कम्पनीको भनाइ छ । सावधिक योजनामा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । सीमित भुक्तानी सावधिकमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

विशाल बजारको ५ करोड रुपैयाँ पार्किङ्ग भाडा उठेन

काठमाडौं । विशाल बजार कम्पनीको पार्किङ स्थल भाडामा लिएको कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ । विशाल बजारको पार्किङ्ग क्षेत्र संचालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडा वापतको ५ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो । सम्झौता बमोजिम उज्वल निर्माण सेवाले मासिक वहाल रकम, विद्युत महाशुल वापतको रकम र सोको हर्जना रकम समेत गरी ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भुक्तानी गर्नुपर्ने रहेको विशाल बजार कम्पनीले जनाएको छ । उक्त रमम हालसम्म पनि दाखिला नगरेको हुँदा हिसाब फरफारक गर्न भनेको हो । यदि समयमै उक्त रकम भुक्तानी नगरेमा कानुनी कारवाहीको प्रकृया अघि बढाईने कम्पनीले जनाएको छ ।

ब्रोकर नम्बर ९१ ले घोषणा गर्याे लाभांश

काठमाडौं । सिविआईएल सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समिति बैकठले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । साथै लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते सिबिआईएल सेक्यूरिटिजको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान ८ बजे दोस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा भदौ २४ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागि भई लाभांश प्रप्ता गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको ४१ हजार ५७० कित्ता गरी कुल ८१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।