विकासन्युज

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कारोबार सुरू गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सातौं वार्षिकोत्सव बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी मनाएको छ । जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ गरी वार्षिकोत्सव मनाएका छन् । कम्पनीले करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म, जुम्ल्याहा जन्मेको १२औं घटना

काठमाडौं । दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ । अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताए । आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए । जुम्ल्याहा हात्तीले सुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् । सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२औं घटना हो । अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित ९ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उनले बताए ।

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जेजति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिएका हुन् । नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।’ प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गरे । ‘बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाएसरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ,’ उनले भने । सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । हाल सो सङ्गठनअन्तर्गतका आश्रयमा करिब तीन सय बालबालिका छन् ।

ईभीमय नाडा अटो शोप्रति बैंकिङ क्षेत्र हर्षित, सरकार र राष्ट्र बैंकको प्राथमिकतामा ईभी

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रल नियामकले गरेका केही व्यवस्थाले अटो र सेयर बजारमा सकारात्मक प्रभाव परेको बताएका हुन् । अहिले एनपीएको वृद्धि समस्याका रुपमा देखिएको उनले बताए । साथै घरजग्गामा केही पैसा गयो भने त्यो पनि घट्ने उनको भनाइ छ । आईसीईको व्यवसाय धेरै नै प्रभावित हुने अवस्था आएमा राष्ट्र बैंकले नीतिगत पुनरावलोकन गर्ने उनले बताए । ‘अहिले ईभीमा २० प्रतिशत र आईसीईमा ४० प्रतिशत डाउन पेमेन्टको व्यवस्था छ,’ डेपुटी गभर्नर मिश्रले भने, ‘राष्ट्र बैंकको पोलिसी डाइनामिक हुन्छ, बिक्री नै ठप्प भएछ भने त्यसमा छलफल गरौंला ।’ उनका अनुसार वातावरणका हिसाबले ईभीलाई सरकार र राष्ट्र बैंकले प्राथमिकतामा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो भएको धारणा राखे । ईभीको उपभोग वृद्धिले अहिलेका लागि राजस्व घटाएको भएपनि दीर्घकालमा पेट्रोलियम आयात घट्ने अवस्था आउने उनले बताए । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई आत्मसात गर्नका लागि हाल भइरहेको कार्य उपयुक्त रहेको उनको भनाइ छ । ‘ईभी आयातकर्ताले सवारी साधनको गुणस्तरमा ध्यान दिनुपर्छ, ताकि बैंकहरुले १०÷१५ वर्ष अवधिको कर्जा प्रवाह गर्न सकुन्,’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले वातावरणीय सन्तुलनका विषयमा सचेत भएर सरकारले लिएको नीति नाडा अटो शोमा प्रकट भएको टिप्पणी गरे । अर्थतन्त्र सुस्ताएको बेला नाडा अटो सोले बैंकिङ क्षेत्रलाई भाइब्रेन्ट गरेको उनले बताए । ‘बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्, उत्पादित ऊर्जाको उपभोगको कुरा पनि छ, ईभीको बढ्दो आयात र बिक्रीले इकोसिस्टमलाई सपोर्ट गर्छ,’ उनले भने, ‘चार्जिङ स्टेसनलगायतका पूर्वाधार खडा गरेर विद्युतीय सवारीको व्यवसायलाई दीगो बनाउनेतर्फ सम्बद्ध व्यवसायी लाग्नुपर्छ, बैंकिङ क्षेत्र सँगै अगाडि बढ्न तयार छ ।’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं सांग्रिला बैंकका सीईओ सुयोग श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र पनि प्रभावित भएको बताए । नाडा अटो शो २०२४ मा करिब ९५ प्रतिशत विद्युतीय सवारी साधनका स्टल रहेको र अवलोकनकर्ताले पनि सोही अनुपातमा विद्युतीय सवारी साधन नै बुक भएको पाइएको उनले बताए । ‘नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारले बुलिस ट्रेन्ड समातेको देखिएको छ, सेयर बजार बढेको कुराको संकेतका रुपमा नाडामा गाडी बुक भएको अवस्थालाई लिन सकिएला,’ उनले भने, ‘त्यसकारण अर्थतन्त्र माथि नगई कुनै एउटा मात्र क्षेत्र माथि जान्छ जस्तो लाग्दैन ।’

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलिप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् । वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

प्रतिकूल मौसमका कारण एयर चाइनाको उडान डाइभर्ट, अन्य उडान डिले

काठमाडौं । प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् । प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् । आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा काठमाडौं–पोखरा कुनैपनि उडान भएको छैन । पोखरा–काठमाडौं मात्र दुई उडान भएको छ । मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । यस्तै काठमाडौंबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना पनि महाशाखाले पूर्वानुमान गरेको छ ।

५३ अंकको गिरावटमा लगानीकर्ताको पोर्टफोलियो ८५ अर्ब १८ करोड रुपैयाँ घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार पुँजी बजारमा दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.६३ अंक घटेर २६९५.९३ अंकमा बन्द भएको छ । ३ हजार बिन्दुमा पुगेको बजार घटेर १ महिनापछि २७ सय बिन्दु तल झरेको हो । यस अघि गत साउन २२ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो । आइतबार २२७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबरकको कारोबार भएको छ । आज म्युचुअल फण्डबाहेक अधिकांश समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८० प्रतिशत बढेको हो । बैंकिङ समूह २.३४ प्रतिशत, विकास बैंक समूह १.८५ प्रतिशत, फाइनान्स समूह ३.४४ प्रतिशत, होटल तथा पर्यटन समूह २.९८ प्रतिशत, जलविद्युत समूह २.४० प्रतिशत, लगानी समूह १.३३ प्रतिशत, जीवन बीमा समूह १.४४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.८० प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत घटेको छ । यस्तै निर्जीवन बीमा समूह १.२३ प्रतिशत, अन्य समूह १.०४ प्रतिशत र ०.१९ प्रतिशत घटेको छ । राताम्य बजारमा सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर १ हजार ५६ रुपैयाँ पुगेको छ । यस्तै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ८.७३ प्रतिशतले घटेको छ । तर, पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको सेयर मूल्य १० प्रतिशत घटेको छ । यस्तै थ्रीस्टार हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत, उपकार लघुवित्तको ९.९१ प्रतिशत र नेपाल फाइनान्सको ९.५३ प्रतिशतले सेयर मूल्य घटेको छ । आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँ, अपि पावरको २६ करोड ७१ लाख रुपैयाँ र अरुण भ्यालू हाइड्रोका २१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज बजार पुँजीकरण ४२ खर्ब ८१ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । अघिल्लो कारोबारको आधारमा आइतकार लगानीकर्ताको पोर्टफोलियो ८५ अर्ब १८ करोड ९० लाख रुपैयाँ घटेको देखिन्छ । यसअघि अघिल्लो दिन बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रुसको दाबी

काठमाडौं । रुसले राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ। सहरनजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र सहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुर्स्क, ब्रायन्स्क, भोरोनिस र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले भने, ‘हाम्रा रक्षकहरूले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेका छन्।’ युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रुसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो। युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आक्रमण सुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रुसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ। रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आफ्नो अभियान सुरु गरेदेखि नै दुवै पक्षले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएका छन्। मस्को क्षेत्रका एक स्थानीय अधिकारीका अनुसार तीनवटा ड्रोनले कोइलाबाट चल्ने विद्युत् केन्द्र काशीरामा प्रहार गर्ने प्रयास गरेका थिए। ‘आक्रमणबाट कुनै मानवीय वा भौतिक संरचनामा क्षति भएको छैन,’ उनले भने, ‘विद्युत् अझै पनि ग्राहकसम्म सही तरिकाले पुगिरहेको छ।’ रुसी समाचार संस्थाहरूले पनि कपोट्न्यास्थित मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी भएको जानकारी दिएका छन्, तर नगर प्रमुख सर्गेई सोब्यानिनले त्यहाँ कुनै क्षति वा हताहत नभएको बताएका छन्। बेल्गोरोड क्षेत्रका गभर्नर ब्याचेस्लाव ग्ल्याडकोभले भने, ‘आक्रमणबाट बेल्गोरोडमा तीनवटा आवासीय भवनको सिसामा क्षति पुगेको छ। एउटा निजी आवासमा एउटा युटिलिटी भवन पूरै ध्वस्त भएको छ।’ बुधबार युक्रेनी ड्रोनले दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्र र उत्तरी किरोभ क्षेत्रमा रहेका दुईवटा इन्धन डिपोमा आक्रमण गरेपछि इन्त्रन डिपोमा आगलागी भएको थियो।