विकासन्युज

एकीकृत रिवार्ड प्रणालीको प्रयोगले ग्राहकलाई फाइदा हुने

काठमाडौं । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ । आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् । यस सम्झौतामा आईएमएस सफ्टवेयरको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष तम्राकार र अर्न सिक्काको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ । जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुने कम्पनीले जनाएको छ ।

मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे

काठमाडौं । नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदीपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदीपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्- मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनुभएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं । उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो ।

अर्थ मन्त्रालयद्वारा सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने सहमति

काठमाडौं । अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेस गर्न सहमति दिइएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

पढेलेखेका युवालाई रोजगारीको लागि कुनै स्थान छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए । युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे । ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरुलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन्’, उनले भने । अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाए । काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको जानकारी दिए ।

अगस्टमा ७२ हजार बढी पर्यटकले नेपाल घुमे

काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले दिएको सूचनाअनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका हुन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटकले नेपाल घुमेका थिए । अगस्टमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन् । यस्तै, कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार बढी पर्यटक भित्रिएका थिए । २०१९ पछि कोरोना फैलिएका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

सूर्यांशको नजरमा सुरज : मेरो बुवा व्यावसायिक सर्कलकै आइडल हो

काठमाडौं । सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशसँग कुशे औंसीको अवसरमा प्रतिक्रिया लिएका छौं । उनले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिएका छन्- म अत्यन्तै भाग्यशाली छुकि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नुभएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनुभएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तर साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरा लागि एक महान व्यक्तित्वकोारुपमा मेरासामू उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केबल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो । मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ । मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्टिकाेणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत मिलिरहेको छ । उहाँले मलाई दिनुभएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवनमा प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ ।

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

राँझा । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसीपी) लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहनुभएका उनले सोमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, ‘गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’ आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए। आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उहाँले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे । अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराएका थिए । आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ । भारत सरकारको १ अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।

एचआईडीसीएलको कटअफ मूल्य १३५ रुपैयाँ

काठमाडौं । लिलाममा बिक्री गरिएको हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को कटअफ मूल्य प्रतिकित्ता १३५ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो । कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्रीमा राखेको थियो । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कटअफ प्राइस प्रतिकित्ता १३५ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ ।