विकासन्युज

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, ७ जना बिरामी

खजुरा । नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट ७ जना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

ओटिए प्लेटफर्म ट्रिप टर्बो सञ्चालनमा, हवाई टिकटको बुकिङ मोबाइल एपबाटै

काठमाडौं । अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ट्रिप टर्बो सञ्चालनमा आएको छ । प्लेटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएको कम्पनीले जनाएको छ । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । कम्पनीका अनुसार साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ । ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ । परिक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तर्राष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ । प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन तथा नेपाली संस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो । ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तर्राष्ट्रिय हवाई उडानको टिकट, अन्तराष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ । एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् । अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइटमा लग इन गरेर पनि आफूले चाहेको सेवा लिन सकिन्छ ।

भदौमै पाक्न थाल्यो मुस्ताङको स्याउ

म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो,’ ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’ घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए । ‘उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,’ उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।’ उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुुपर्ने बताइएको छ । अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा ५ सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

बुवाको पथ पछ्याइरहेका ‘युथ इन्टरपेनर्स’, कुशे औंशीमा यसरी सम्झिए बुवालाई

काठमाडौं । आज कुशे औंसी अर्थात् ‘बुवाको मुख हेर्ने दिन’ । छोराछोरीहरू आ-आफ्ना बुवालाई मनपर्ने मिठाइ तथा भोजन गराएर यो दिवस मनाउँछन् । विभिन्न उपहारहरू प्रदान गरेर सम्मान प्रकट गर्छन् । साथै, आजको दिनलाई पितृ दिवससमेत भनिन्छ । बुवाको स्वर्गवास भएका छोराछोरीहरूले तिर्थ गई बुवाका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर यो दिवस मनाउने अभ्यास छ । बुवालाई खुसी राखे सुख मिल्छ भन्ने विश्वास पनि छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिन छोराछोरीहरूले बुवासँगै बिताउँछन्, सँगै खाना खान्छन् । एकआपसमा माया तथा सम्मान प्रकट गर्छन् । अधिकांशले यो दिवसलाई विशेष रूपमा मनाउँछन् । आज हामीले नेपालमा ठूला व्यवसायीहरू, जसले आफूलाई मात्रै चिनाएनन्, आफूसँगै आफ्नो छोरालाई पनि सँगै उद्योग व्यवसायमा संलग्न गराए, जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरे । जसले देशमा रोजगारी सिर्जना र राजस्व वृद्धिमा अतुलनीय योगदान दिए । तिनै उद्योगी व्यवसायीहरूका छोराहरूलाई कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा आफ्नो बुवाको लागि सन्देश के छ भनेर सोधेका छौं । मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदिपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदिपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्ः  मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनु भएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं । उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो । मेरो मात्रै होइन, व्यावसायिक सर्कलकै आइडल हो मेरो बुवा- सूर्यांश वैद्य सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज् अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिए । म अत्यन्तै भाग्यशाली छु कि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नु भएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनु भएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तरको साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरो लागि एक महान व्यक्तित्वको रूपमा मेरोसामु उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केवल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो । मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ । मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्ट्रिकोणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत र बल मिलिरहेको छ । उहाँले मलाई दिनु भएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवन प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ । बुवा मेरो प्रेरणा र पथप्रदर्शक हुनुहुन्छ- सुगम घिमिरे नेपाली व्यावसायिक घराना एसजी ग्रुपको नेतृत्व शिवप्रसाद घिमिरेले गरिरहेका छन् । ग्याँस, ट्रेडिङ, शिक्षा, कृषि, उर्जा, निर्माण, ग्यास र हस्पिटालिटी क्षेत्रमा लगानी रहेको यस व्यावसायिक घरानाले पनि व्यावसायिक क्षेत्रमा पृथक किसिमको छवि बनाएको छ । अध्यक्ष घिमिरेका छोरा सुगम घिमिरे पनि अहिले एसजी ग्रुपको डाइरेक्टरका रूपमा काम गरिरहेका छन् । सन् २०१७ मा बोर्डमा प्रवेश गरेका उनी नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका सदस्य र स्टार्टअप संयोजकका रुपमा पनि काम गरिरहेका छन् । उनै सुगम घिमिरेसँग पनि हामीले कुशे औंसी कसरी मनाउँदै हुनुहुन्छ भनेर जिज्ञासा राख्यौं । उहाँ (शिवप्रसाद घिमिरे) मेरो बुवा मात्रै होइन, उहाँ मेरो निर्देशक, पथप्रदर्शक र प्रेरणा पनि हो । उहाँ एसजी ग्रुपको व्यवसायको सृष्टिकर्ता पनि हो । एउटा सामान्य किराना पसलबाट सुरु भएको व्यवसाय आज विभिन्न क्षेत्रमा फैलिएको छ । देशमा एउटा परिचित व्यावसायिक समूहका रुपमा एसजी ग्रुप चिनिएको छ । बुबाकै योगदानको कारण आज एसजी ग्रुप, ग्यास, पेट्रोल तथा हाइड्रो लगायत क्षेत्रमा फैलिएको छ । यो सबै श्रेय मेरो बुबालाई नै जान्छ । उहाँकै मिहिनेतले आज देशको अर्थतन्त्रमा थोरै भएपनि योगदान मिलेको छ । मेरो लागि सधैं कुशे औंसी- सचिन ढकाल नेपाली व्यावसायिक घरानामा अग्रणी व्यावसायिक ग्रुपमध्येमा पर्छ आईएमई ग्रुप । जसको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्र, हाइड्रोपावर, रेमिट्यान्स, पर्यटन लगायत दर्जनौं क्षेत्रमा उनको लगानी छ । उनले आफूसँगै आफ्नो छोरा सचिन ढकाललाई पनि व्यवसायमा अग्रसर गराइरहेका छन् । सचिनले बुवालाई सम्झदै भनेः मेरो लागि सधैं कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन हो । हामी बाबुछोरा सधैं काममा जानुअघि भेटेर अंकमाल गर्छौं र छुटिन्छौं । बाबुछोराको सधैं मिटिङ हुन्छ । मेरो लागि मात्रै होइन, आफ्नो समाज र सिंगो देशको लागि उहाँले धेरै कुरा दिनुभएको छ । बुवाले थालेको पाइला पछ्याएर म अगाडि बढिरहेको छु । कुशे औंसी मनाउन नपाइए पनि विशेष शुभकामना- उज्वलकुमार श्रेष्ठ पञ्चकन्या ग्रुप नेपाली व्यावसायिक घरानामा परिचित नाम हो । यस समूहको कार्यकारी नेतृत्व अहिले तेस्रो पुस्ताले सम्हालिरहेको छ । अहिले तेस्रो पुस्ताको नेतृत्व उज्ज्वलकुमार श्रेष्ठले गरिरहेका छन् । उनी पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् । यो ग्रुपको सुरुवात उज्वलका हजुरबुवा प्रेमबहादुर श्रेष्ठले गरेका हुन् । उनका बुवा ध्रुवकुमार श्रेष्ठ र काका प्रदीपकुमार श्रेष्ठकै पथमा उनी अगाडि बढिरहेका छन् । हामीले तेस्रो पुस्ताका नेतृत्वकर्ता उज्वलकुमार श्रेष्ठसँग पनि कुशे औंसीको विषयमा जिज्ञासा राख्यौं । हामीले प्रत्येक वर्ष कुसेँ औंशी विशेष तरिकाले मनाउँथ्यौं । तर, यस पटक मेरो हजुरबुवाको भाइ (कान्छो हजुरबुबा) को मृत्यु भएको कारण कुशे औंसी मनाइँदैन होला । हामीले प्रत्येक वर्ष कुशे औंसीमा हजुर बुबा, बुबा र अंकलहरुसँगै बसेर मनाउँछौं । सबै सँगै बेसर लञ्ज/डिनर लिन्छौं । भदौ १५ औं गते पञ्चकन्या ग्रुपको विशेष दिन पनि हो । हामी हजुरबुबाको जन्मदिनको अवसरमा पञ्चकन्या ग्रुपको पनि स्थापना दिवस मनाउँछौं । यस पटक पनि भदौ १५ गते मनायौं । पञ्चकन्या ग्रुपको नेपाली व्यावसायिक क्षेत्रमा पृथक किसिमको पहिचान छ । आम उपभोक्ताले पञ्चकन्या ग्रुपप्रति जुन विश्वास र भरोसा राख्नु भएको छ । त्यो हजुरबुवा, बुवा र अंकलकै कारणले हो । हामीले विदेशबाट आयात हुने वस्तु नेपालमै उत्पादन गरिरहेका छौं । गुणस्तरीय र नयाँ वस्तु उत्पादनमा पञ्चकन्याले पृथक छवि निर्माण गरेको छ । पञ्चकन्याले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतसँगै राजस्व र रोजगारी सिर्जनाले पनि देशको अर्थतन्त्रमा विशेष योगदान गरेको छ । विशेष कार्यक्रम गरेर मनाउँदैछौं- अशोक राणा नेपालको वित्तीय क्षेत्रमा कसैले बिर्सिन नसक्ने नाम हो हिमालय शमशेर राणा । राणाको २०७९ माघमा निधन भए पनि उनको कामको धेरैले प्रशंसा गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेर इतिहास रचेका राणाले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याएको श्रेय पनि पाइरहेका छन् । उनै राणको छोरा हुुन् अशोक राणा । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका अशोकले कुशे औंसीको अवसरमा घरमा विशेष कार्यक्रम राखेका बताए । स्व‍. बुवा हिमालय राणा र छोरा अशोक राणा । ‘हामीले बुवाको सम्झनामा कुशे औंशीको दिनमा घरमै सानो कार्यक्रम राखेका छौं । सबै परिवार जम्मा भएर बुवाप्रति श्रद्धासुमन प्रकट गर्ने गर्ने कार्यक्रम छ, उहाँले परिवारमा मात्रै होइन देशकै लागि ठूलो योगदान दिनु भएको छ,’ उनले आफ्नो बुवालाई स्मरण गर्दै भने, ‘देशले नै सम्झिने काम उहाँले गर्नु भएको छ ।’

जागिर खाँदै इन्जिनियर बन्नेका लागि दैनिक ६ घण्टा नेक विडिएच

काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दापनि डिप्लोमा होल्डर्सहरुमा आफ्नो पढाईको चाहना मनमै दवाएर राख्नुपर्ने परिस्थिति छ । यद्यपि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पढ्दै काम गर्ने सोच बनाएकाहरुलाई उपाय नभएको हैन । डिप्लोमा गरेर सरकारी तथा गैरसरकारी निकायमा काम गरिरहेकाहरुलाई पढेर विश्वविद्यालयको सर्टिफिकेट हासिल गर्ने सहज उपाय सन्ध्याकालिन कक्षा हो । तर, यो सबै कलेज तथा विश्वविद्यालयहरुमा छैन । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले भने सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीको समस्या निराकरण गर्न ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम चलाइरहेको छ । जहाँ दिउसो काम गरेर साँझको समय अध्ययन गर्न सकिन्छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक आधिकारीक रुपमा सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूको लागि सिभिल इन्जिनियरिङ पढाईको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन संस्थापक अध्यक्ष स्वप्राडा दीपक भट्टराई, पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र प्राडा राजेन्द्र प्रसाद अधिकारीले पोखरा विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेका हुन् । सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहना भएपनि बञ्चित सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूलाई कुशल सिभिल इन्जिनियर बन्ने अवसर प्रदान गरिएको नेकका प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘डिप्लोमा गरेका तथा फुल टाइम काम गरेर पार्टटाइम पढ्ने योजना बनाएकाहरुलाई यो विडिएच कार्यक्रम अत्यन्त लाभदायक छ । डिप्लोमा पछिपनि विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गर्न सक्छन् ।’ प्राचार्य भण्डारी भन्छन् । डिप्लोमा गरेकाहरुलाई काम गर्दै इन्जिनियरिङको उच्च शिक्षा अध्ययन गर्ने बाटो नेपाल इन्जिनियरिङ कलेजले खोलिदिएको छ । ९ सेमेष्टरको यो विडिएच कार्यक्रम अन्य कार्यक्रम भन्दा एक सेमेष्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षे हुँदा यो कोर्ष पुरा गर्न भने साढे ४ वर्ष लाग्छ ।नेपाल इन्जिनियरिङ कलेजले ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम बेलुका ५:३० देखि ९:०० बजे (माघ देखि कार्तिक सम्म) र बेलुका ४:३० देखि ८:०० बजे सम्म (कार्तिक देखि माघ सम्म) सञ्चालन गर्दछ । साँझ सञ्चालन हुने कक्षाका कारण सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ अध्ययन गर्नको लागि कार्यालयबाट अध्ययन बिदा लिनुपर्ने तथा जागिर नै छोडी पढ्नु पर्ने बाध्यता छैन । नेक विडिएच कार्यक्रममा १३० क्रेडिटको हुन्छ । हप्ताको ६ दिन वेलुका सैद्धान्तिक पढाई र शनिबार विहान ७ बजेदेखि ३ बजे सम्म प्रयोगात्मक कक्षा हुने गर्दछ । सन् २००१ देखि २०२१ सम्म आई पुग्दा नेक विडिएचमा ९०० बढी बिद्यार्थीहरुले सिभिल इन्जिनियरिङ अध्ययन गरि सकेका छन् । त्रिभुवन विश्वविद्यालयको २ वर्षे डिप्लोमा कार्यक्रम हुँदा फिजिक्स केमिष्ट्री र गणितको विस्तृत अध्ययन नहुने हुनाले विज्ञान र गणित विषय समावेश गरि थप एक सेमेष्टर अध्ययन गराउनु परेको थियो । तर, हाल तीन वर्षे डिप्लोमा कार्यक्रम भएको अवस्थामा यसलाई परिमार्जन गर्ने प्रस्ताव पोखरा विश्वविद्यालयसँग रहेको जनाएको छ । नेकमा पोखरा विश्वविद्यालयले दिने छात्रवृत्ति सँगै कलेज आफैंले विभिन्न शीर्षकमा छात्रबृत्तिहरु पनि दिएको छ । प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ । यसका अलावा कलेजले प्रादेशिक तथा स्थानीय तहमा पनि छात्रवृत्तिहरु दिइरहेको कलेजका प्राचार्य भण्डारी बताउँछन् । सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तरगत गठन गरिएको बोर्डमार्फत यो कलेज सञ्चालनमा रहेकाले अन्य निजी क्षेत्रको दाँजोमा यहाँको शैक्षिक शुल्क कम रहेको छ भने, शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरकै रहेको दावी गरिएको छ ।

इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आइतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गरेका छन् । टेलिफोन वार्तामा दुई नेताहरूले गाजा पट्टीमा तत्काल युद्धविराममा पुग्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्नको आवश्यकतामा जोड दिए । क्षेत्रको स्थिरता पुनःस्थापना गर्न आवश्यक रहेको इजिप्टको राष्ट्रपति सिसीले बताए । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र बन्धक–कैदी विनिमय सम्झौतामा पुग्न मध्यस्थता प्रयासहरूको नेतृत्व गर्नुपर्ने बताए । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले आइतबार प्यालेस्टाइनीहरूको मृत्यु हुनेको संख्या अद्यावधिक गरे । गाजा पट्टीमा इजरायली आक्रमणको करिव ११ महिनापछि अहिले यो संख्या ४० हजार ७३८ पुगेको छ ।

त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।

शिवानी एयरले साढे ५५ करोड रुपैयाँ नतिरेपछि वायुयान बेच्दै क्यान

काठमाडौं । आर्थिक संकटका कारण बन्द भएको शिवानी एयरले साढे ५५ करोड रुपैयाँ सरकारलाई भुक्तानी गर्न बाँकी रहेको छ । हवाई तालिम दिने उदेश्यले खुलेको शिवानी एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई ५५ करोड ५० लाख ९४३ रुपैयाँ बक्यौता रहेको छ । पटक–पटक ताकेता गर्दा पनि एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरका नाममा रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गर्ने भएको हो । ‘प्राधिकरणलाई शिवानी एयरले वि.सं. २०६९ असोज ८ गतेसम्मको तिर्नु बुझाउनु पर्ने बाँकी बक्यौता ५५ करोड ५० लाख ९४३ रुपैयाँ र तत्पश्चात पनि शिवानी एयरले भरतपुर नागरिक उड्डयन कार्यालयलाई तिर्नु बुझाउनु पर्ने रकम बुझाएको छैन,’ क्यानले भन्यो । शिवानी एयरका अध्यक्ष तथा प्रबन्ध संचालक मणिन्द्रलाल रन्जितकारले वि.सं. २०८० बैशाख ३१ गते बसेको बैठकमा बाँकी वक्यौता रकमको बैंक ग्यारेन्टी ७ दिन भित्र पेश गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । साथै भरतपुर नागरिक उड्डयन कार्यालयमा वि.सं २०८० साउन ८ गते बसेको बैठकमा वक्यौता रकम अर्थ विभागसँग समन्वय गरी बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त कार्यहरू नगरेको हुँदा अबको २१ दिनभित्र शिवानी एयरले बुझाउनु पर्ने बाँकी वक्यौता रकम बुझाई हिसाब फरफारक गर्न प्राधिकरणले अन्तिमपटक समय दिएको छ । यदि उक्त समयमा भुक्तानी नगरेमा भरतपुर नागरिक उड्डयन कार्यालयको हाता भित्र रहेका शिवानी एयरको नाममा दर्ता कायम रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गरिने जनाएको छ । यसरी प्राधिकरणबाट वायुयान तथा अन्य पार्टपुर्जाहरू लिलाम बिक्री गरेकोमा शिवानी एयरले कुनै दावी विरोध गर्न पाउने नपाउने प्राधिकरणको भनाइ छ । साथै वायुयान तथा अन्य पार्टपूर्जाको बिक्री गरेर वक्यौता रकम बाँकी रहेमा सरकारी नियमसरह शिवानी एयरका संचालकबाट असुल उपर गरिने जनाएको छ ।