बिरामीको चाप बढेपछि अस्पताल व्यवस्थापनमा समस्या
गाईघाट । जिल्ला सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ । अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो । जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार हाल दैनिक पाँच सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । भाइरल ज्वरो, रुघाखोकी, डेङ्गी र अन्य रोगका बिरामी दैनिक पाँच सय भन्दाबढी आउन थालेपछि अस्पतालको शय्याले धान्न छाडेको उनले बताए । शय्या अभाव भएपछि भूइँमासमेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माका अनुसार अस्पतालको क्षमता बढाइदिन सम्बन्धित निकायमा पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भने, ‘अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढ्दै गएको कारण क्षमता वृद्धि गरिदिनेबारे पटक–पटक कोशी प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका स्वास्थ्यमन्त्रीसँग भेट गरेर अनुरोध गरिसकेका छौँ, तर सुनुवाइ भइरहेको छैन ।’ स्वास्थ्य मन्त्रालयको नियमावली अनुसार दुई सय शय्यासम्मको अस्पताल वृद्धिको अनुमति प्रदेश सरकारले दिनसक्ने व्यवस्था छ । सो भन्दा बढीको क्षमता वृद्धि गर्न परे सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयको अनुमति आवश्यक पर्छ । अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाका अनुसार उदयपुरको जनसङ्ख्या हाल तीन लाख ७८ हजारभन्दा बढी पुगिसकेको छ । यस अस्पतालमा उदयपुर बाहेक खोटाङ, भोजपुरका बिरामीसमेत उपचारका लागि आउने गर्छन् । रासस
झिनो अंकले बढ्यो नेप्से, निर्जीवन बीमा समूहमा उच्च आकर्षण
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार भने झिनो अंकले बढेको छ । यस दिन नेप्से ६.९० अंकले बढेको छ । उक्त अंकको वृद्धिपछि नेप्से २८३०.१६ बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यस दिन १३ अर्क ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १३ अर्ब १० करोडको कारोबार भएको थियो भने आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको थियो । यस दिन १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घटेको छ । त्यस्तै, ५ कम्पनीको स्थिर रहेको छ । मंगलबार ५ समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै निर्जीवन समूह ४.७८ प्रतिशतले बढेको छ । विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, माइक्रोफाइनान्स ०.३६ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै फाइनान्स समूह १.५७ प्रतिशतले घटेको छ । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८ तथा व्यापार समूह ०.४१ प्रतिशतले घटेको छ । यस दिन दश कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ कायम नभएका कम्पनीको आईपीओ निष्कासनमा रोकविरुद्ध अर्थसमितिमा उजुरी
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आईपीओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो । लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए । लेखा समितिले धितोपत्र बोर्डलाई विसं २०८० पुस १२ गते ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । ‘धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ,’ समिति सभापति चालिसेले मंगलबारको बैठकमा भने । पछिल्लो समय अधिकांश कम्पनीले ‘प्रिमियम’ मूल्यमा आईपिओ जारी गर्ने गरेका छन् । प्रिमियममा आईपिओ जारी गर्न दिँदा बोर्डको तजविजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रूपमा रहेको लेखासमितिको निर्देशनमा उल्लेख छ । ‘धितोपत्र बोर्डले नियम संशोधन गरी कम्पनीको पुनःमूल्याङ्कन गरी मूल्य बढाएर आईपिओ जारी गर्ने प्रयोजनका लागि नेटवर्थमा गणना गर्न पाउने बनाएपश्चात् ‘लिक्विडेसन’मा जान लागेको कम्पनीले पनि आफुखुसी मूल्यांकन बढाएर आईपिओ जारी गर्न थालेको देखिन्छ,’ लेखासमितिको उक्त निर्देशनमा भनिएको छ, ‘लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न र पुनःमूल्यांकन नगरी नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ जारी गर्न दिने गरी कार्यसम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देश गर्दछ ।’ अन्यथा घाटामा गएका कम्पनीले पुनःमूल्यांकन गरी मूल्य बढाएर सेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्यधिक जोखिममा पर्नसक्ने भएकाले त्यस्तो अवस्था आउन नदिने यो निर्देशन दिइएको लेखासमितिको भनाइ छ । लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा परेको उजुरीमा रु ९० प्रतिशेयर नेटवर्थ कायम नहुने कम्पनीलाई आइपिओ निष्कासनका लागि रोक लगाउँदा यसबाट पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था नरहने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्न जाने उल्लेख छ । त्यस्तै, बाढीपहिरोबाट प्रभावित जलविद्युत् आयोजनाको पुनःनिर्माण गर्न ५० प्रतिशत ‘प्रमोटर’ सेयरमा ‘लकइन’ अवधिको व्यवस्था हटाउन यसअघि भएका निर्णयको कार्यान्वयनका लागि समितिमार्फत् निर्देशनको माग उजुरीकर्ताले गरेका छन् । त्यसैगरी, अर्थसमितिको आजको बैठकले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्तावको छलफल सकेको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका थिए ।
यी ९ बैंकलाई अझै पुँजीकोषको सकस, दुई बैंकले लाभांश नदिने निश्चित
काठमाडौं । बैंकहरू पुँजी कोषको सकसमा परेको लामो समय भयो । अझैं पनि यो समस्या समाधान हुन सकेको छैन । पछिल्लो एक वर्षमा बैंकहरुले सबैभन्दा बढी समस्या प्राथमिक पुँजी कोषमै बेहोरिरहेका छन् । अहिले पनि अधिकांश बैंकको समस्या यही छ । बैंकहरु प्राथमिक पुँजी कोष अनुपातकै कारण व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विशेषगरि अहिले कुमारी र एनआईसी एसिया बैंक पुँजी कोषको ठूलो दबाबमा छन् । नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुमारी बैंकको पुँजी कोष ८.५६ प्रतिशत र एनआइसी एशियाको ८.४४ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात छ । गत चैतको तुलनामा असारमा बैंकको पुँजी कोषमा सुधार भए पनि समस्या भने सुधार हुन सकेको छैन । बैंकरूको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी पुँजी कोष स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । स्ट्याण्डर्ड चार्टर्डको प्राथमिक पुँजी कोष १४.३६ प्रतिशत छ । क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा तोकेअनुसार बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी अनुपात र ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्छ । तर, अहिले अधिकांश बैंकको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकले यसमा पुनः व्यवस्था संशोधन गरेर प्राथमिक पुँजी कोषमा ०.५ प्रतिशत र पुँजीकोष ११.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरिसकेको छ । हाल कृषि विकास बैंकको ११.७८ प्रतिशत, नेपाल बैंकको १०.९५ प्रतिशत, एभरेष्टको १०.८७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकको १०.८४ प्रतिशत, प्राइम कमर्सियल १०.४४ प्रतिशत, ग्लोबल आइएमईको १०.४४ प्रतिशत, लक्ष्मी सनराइजको १०.२७ प्रतिशत, सानिमाको १०.२२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १०.२१ प्रतिशत र नेपाल एसबिआई बैंकको १०.१० प्रतिशत प्राथमिक पुँजी कोष अनुपात छ । ९ वटा बैंकको प्राथमिक पुँजी कोष भने ९ प्रतिशतको हाराहारीमा छ । प्रभु बैंकको ९.८९ प्रतिशत, एनएमबिको ९.७ प्रतिशत, सिद्धार्थको ९.६५ प्रतिशत, नबिलको ९.६४ प्रतिशत, माछापुच्छ्रेको ९.३५ प्रतिशत, सिटिजन्सको ९.२७ प्रतिशत र हिमालयनको ९.०४ प्रतिशत हाराहारीमा प्राथमिक पुँजी कोष अनुपात छ । प्राथमिक पुँजी अनुपात र पुँजी कोष अनुपात बैंकहरुले बहन गरेको कुल जोखिममको आधारमा हो । बैंक तथा वित्तीय संस्थाले पुँजीकोष सम्बन्धी व्यवस्थालाई पालना नगरेमा लाभांश वितरण गर्न नसक्ने व्यवस्था छ ।
सरकारलाई चिकित्सक संघको जवाफ- स्वास्थ्यकर्मीलाई अपरिहार्य रहेको बिदाको दिन ओपीडी सञ्चालन गर्न सकिन्न
काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूलाई बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै २०४८ सालदेखि सरकारी अस्पतालहरूमा दरबन्दी नथपिएको र सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्थामा बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिनु आपत्तिको विषय भएको जनाएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरङ्ग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले निर्णय फिर्ता लिन चिकित्सक संघले माग गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन स्मरण गराउँदै संघले पर्याप्त आराम गर्न नदिई बिदाका दिनमा समेत बहिरङ्ग सेवा सुरु गरेमा धेरै समस्या आउने जनाएको छ । स्वास्थ्यकर्मीहरूमा शारीरिक तथा मानसिक तनाव बढ्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कमी आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने, कामको अत्यधिक बोझ तथा लगातारको तनावले गर्दा परिवारमा असमझदारी तथा डिभोर्ससम्म हुने गरेका घटनाहरू देखिएका विज्ञप्तिमा उल्लेख छ । कतिपय स्वास्थ्यकर्मीहरूमा अत्यधिक तनावका कारण जटिल मानसिक समस्याहरू उत्पन्न भएर आत्महत्यासमेत बढेको अहिलेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने निर्णय ठूलो अन्याय भएको संघले जनाएको छ ।
सानिमाका यी ३ म्युचुअल फन्डको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?
काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएको हो । भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो । जसअनुसार इकाइधनीहरूलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ । घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ । यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन् ।
लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्दो, पथप्रदर्शक लिएर पदयात्रामा जान सुझाव
गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । ६ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा ६ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो । कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । १४ मध्ये १० भारतीय, ३ नेपाली र १ युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘मुस्ताङमा लेक लागेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।’ पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । ‘हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ,’ उनले भने, ‘यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।’ काठमाडौं उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताए । ‘पदयात्रा गर्नेहरू ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ,’ उनले भने । मुक्तिनाथ समुद्र सतहदेखि ३ हजार ७ सय १० मिटर र तिलिचो ताल ४ हजार ९ सय १९ मिटरको उचाइमा अवस्थित छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ । उनले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाए । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए । नयाँ र टाढाको गन्तव्यस्थल छभने एक्लै पदयात्रा गर्न नहुने उनको भनाइ छ । ‘पदयात्रा गर्दा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ,’ उनले भने, ‘पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने सरकारको नीति कार्यान्वयन हुन सकेमा पदयात्रामा आउने जोखिम घटाउन सकिन्छ ।’ उनका अनुसार नेपालको हिमालय क्षेत्रमा झन्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधी र सामग्री साथमा बोक्नुपर्ने गुरुङले बताए । कतिपयलाई तीन हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिने हुँदा एकै दिन धेरै नहिँडी विश्राम लिँदै पदयात्रा गर्नुपर्ने उनको भनाइ छ । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताए । ‘लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ,’ उनले भने, ‘लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ ।’ लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ । ‘लेक लाग्न नदिन केही औषधि पनि खान सकिन्छ, तर सामान्य लक्षण देखिए पनि तल फर्किनुपर्छ, सावधानी अपनाइएन भने स्वास्थ्य अवस्था जटिल बन्न सक्छ, समयमा उद्धार र उपचार हुन सकेन भने मत्यु नै हुन्छ,’ उनले भने । उनले स्थानीय वातावरणमा अनुकूलन नभई एकै पटकमा मुक्तिनाथलगायत उच्च हिमाली भेगमा जाँदा भारतीयलगायत विदेशी पर्यटकको लेक लागेर मृत्यु हुने गरेको बताए । ‘मुक्तिनाथ जाँदा एक दिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ,’ उनले भने, ‘हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख डा रविन कडरियाले लेक लागेका पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरेर बचाइएको बताए । आयोजना कार्यालयले गत वर्षदेखि लेक लागेका घटनाको तथ्यांक राख्न सुरु गरेको उनको भनाइ छ । ‘लामो दूरीको पदयात्रामा निक्लँदा एक्लै जानु हुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँड्नुपर्छ,’ डा. कडरियाले भने, ‘ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका क्रममा गत आवमा लडेर तीन विदेशी पर्यटकको मृत्यु भएको उनले जानकारी दिए । कास्कीमा स्विडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको उनको भनाइ छ । उनका अनुसार मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको थियो । लेक लागेर मात्र नभई अन्य घटनाबाट पनि विदेशी पर्यटकले ज्यान गुमाउने गरेका छन् । गत असोजमा डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसको मृत्यु भएको थियो । गत वर्ष नै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुराँमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृतावस्थामा फेला परेको ‘एक्याप’ले जनाएको छ । मनाङ–खाङ्सार–तिलिचो पदमार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय भारतीय पर्यटक मोहमद रिजीमको ज्यान गएको थियो । मनाङ ङिस्याङ–६ मा लेक लागेर धादिङ गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारीको मृत्यु भएको थियो । तिलिचो आधार शिविर जाने क्रममा दाङको घोराही उपमहानगरपालिका–९ का राम डाँगीको मृत्यु भएको ‘एक्याप’को तथ्यांकमा उल्लेख छ । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका ‘एक्याप’को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले भने, ‘मनाङको भू–बनोट जटिल रहेकाले पथप्रदर्शकविना पदयात्रा गर्नु जोखिमपूर्ण हुन्छ, मौसमको अनुकूलता हेरेर मात्र मनाङको यात्रा तय गर्नुपर्छ ।’ मनाङ भित्रने अधिकांश पदयात्री पर्यटक तिलिचो ताल हुँदै थोरङ भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निस्कने गरेको उनले बताए । झन्डै पाँच हजार मिटर उचाइमा रहेको तिलिचो ताल र पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङ भञ्ज्याङ पार गर्नु जो कोहीका लागि सहज नभएको उनको भनाइ छ । पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेको बताए । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने स्वास्थ्य समस्याबारे पर्यटक र यससम्बद्ध संघ संस्था सजग रहनुपर्छ । ‘मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ,’ अध्यक्ष गुरुङले भने । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा २ लाख २२ हजार १ सय ८० विदेशी पर्यटक भित्रिएका थिए । त्यसमध्ये एसियाली मुलुकका १ लाख १७ हजार ८ सय ४५ र अन्य मुलुकका १ लाख ४ हजार २ सय ५६ पर्यटक रहेका छन् । आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार २ सय ६५ र सबैभन्दा कम साउनमा जम्मा ५ हजार ४ सय १ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । आयोजना प्रमुख डा. कडरियाले अघिल्लो आव २०७९÷८० को तुलनामा झन्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार ७ सय ७७ र अन्य मुलुकका ८२ हजार ७ सय ३३ गरी कुल १ लाख ७२ हजार ५ सय १० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । रासस
परराष्ट्रमन्त्री आरजुले भनिन्- राजदूत सिफारिस समावेशी भएन, ‘आईएम सरी’
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा यसबारे सांसदहरूले प्रश्न उठाएका थिए । त्यसको जवाफमा राणाले भनिन्, ‘राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं, यसपटक समावेशी भएन, आईएम सरी।’ १८ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट शून्य प्रतिनिधित्व रहेको भन्दै प्रश्न उठिरहेको छ । यसैबीच अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समावेशिताबारे आगामी दिनमा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिले ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने’ निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिमा पनि राजदूत सिफारिस समावेशी नभएकोबारे सांसदहरुले प्रश्न उठाएका थिए ।