विकासन्युज

चितवनमा स्किल सेवाले घर निर्माण सम्बन्धी गर्यो परामर्श कार्यक्रम

काठमाडौं । स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ । भाद्र २९ गते शनिबार दिउँसो ११ बजे सिरेन बुटिक होटल चितवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो । घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट सस्थापन समुह नै चितवनमा हुनेछन् चितवनमा बनेका प्राय नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएकोले चितवन जिल्लामा यस कार्यक्रम अयोजना गरिएको चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको विषय बनेको कम्पनीका चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन् । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो । घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन् । घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन् । यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ । जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक हुने गर्दछ । यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौ साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ। यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने कम्पनीले जनाएको छ ।

क्रेस्ट माइक्रो लाइफको आईपीओले पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । सर्वसाधारणमा सेयर निष्कासनको तयारीमा रहेको क्रेस्ट माइक्रो लाइफले क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट ‘आइसीआरए डबल बी’ रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको मानिन्छ । साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग मिति २०८१/०५/१७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनका लागि सेयर प्रत्याभुतीकर्ताको रूपमा नियुक्त समेत गरिसकेको छ । स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरूमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रक्रयिाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ । यस कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशत अर्थात रु। २२ करोड करोड ५० लाख रुपैयाँ रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा सार्वजनिक निष्कासन गर्ने घोषणा गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको बालुवाटारमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, सेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहकलाई सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

असोज पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्चीको पानी आउने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रूपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौंबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए । मौसममा सुधार आउनेबित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रूपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए । तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ । अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको बताए । सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।

मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् । विद्युत नियमन आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उनले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताएका हुन्  । ‘सुशासन र न्यायिक सुधारको काम गर्दा नत्थी लगाउने गरीकनको व्यवस्था गर्नुभएन, कानुन, नियम अग्रगामी हुनुपर्यो, पश्चगामी हुनुभएन,’ उनले भने । मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे । ‘हामीले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुनेगरी काम हुन सकेको छैन, निजी र अन्तर्राष्ट्रियजगत्लाई विश्वासमा लिएर उक्त लक्ष्य हासिल गर्न लाग्नुपर्छ,’ मन्त्री खड्काले भने । ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत प्राधिकरणबीच एकापसमा समन्वय गरेर ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नियमावली तथा कार्यविधि बनाउनुपर्ने उल्लेख गरे । जहाँ समस्या छ त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले जलविद्युत उत्पादनको लाइसेन्स लिने तर काम नगर्ने प्रवृत्ति बढेकाले यसको अन्त्य गर्न जरुरी रहेको बताए । उनले ऊर्जा क्षेत्रको विकासका लागि देखिएको बाधकलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउँदा सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई हासिल गर्न सहयोग पुग्ने बताए । विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयातीत इन्धनलाई न्यूनीकरण गर्दै विद्युत् खपत बढाउने रणनीतिका साथ आयोग अगाडि बढेको बताए । धेरै विद्युत खरिद गर्ने संस्थालाई नै महँगोमा विद्युत बिक्री गर्नुपरेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता भएको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस- ९ एक्सपेटेड क्रेडीट लस (ईसीएल) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनसँग समझदारी गरेको छ । उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पूरा गर्न सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयनरअनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महिला हिंसा नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुन्छ : मन्त्री सुडी 

काठमाडौं ।  महिला बालबालिका तथा सामाज कल्याणमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा रहेका महिलाले भोगेको घरेलु हिंसाका बारेमा ध्यानाकर्षण भएको बताए । महिलामाथि भइरहेको हिंसा नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको कथन छ । हिंसापीडित महिलालाई सम्मानपूर्वक राख्नका लागि देशभर नै आश्रयस्थल निर्माणका लागिसमेत मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिँदै उनले मधेस प्रदेशमा उक्त स्थलको निर्माण प्रक्रिया अगाडि बढेको र बागमती प्रदेशमा छिट्टै बोलपत्रको काम अगाडि बढ्ने बताए । अछामको छाउपडीसँग जोडिएको एक घटनाको छानबिन प्रक्रिया अगाडि बढिसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने मन्त्री साहको भनाइ छ । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र सेवाका लागि सरकारले आवश्यक पहल गरीररहेको उल्लेख गरे ।

हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ । निगमले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाई भाडा घटाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यही भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको हो । काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगञ्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ । पोखराबाट भद्रपुरको भाडा २ सय रुपैयाँले घटेको छ । विराटनगर भैरहवाको भाडा १९५ रुपैयाँले घटेको छ । पोखरा विराटनगर १७५ रुपैयाँले घट्दा काठमाडौं धनगढी २२० रुपैयाँले घटेको छ । आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।