विकासन्युज

१ लाख बढीको बीमाशुल्क भुक्तानी नगदमा नहुने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको छ । बुधबार एक जरूरी सूचना प्रकाशन गरी कम्पनीले १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क भुक्तानी गर्दा नगदमा नगर्न भनेको हो । कम्पनीका अनुसार १ लाखभन्दा बढीको कारोबरा बीमा कम्पनीको नाममा जारी एकाउण्ट पेयी चेक, अनलाईन माध्यम वा अन्य कुनै बैंकिङ्ग प्रणालीबाट मात्र गर्नुपर्नेछ । साथै रकम भुक्तानी पश्चात मोबाइलमा कारोबार भएको पुष्टी बारे मेसेज आए नआएको यकिन गर्न बीमितलाई सजग गराएको छ । बीमालेखको शर्त तथा सुविधा बमोजिम निश्चित समय पश्चात् प्राप्त हुने अवधि भुक्तानी रकम वा अन्य कुनै पनि दाबी रकम भुक्तानी लिन बीमा कम्पनीमा सम्पर्क गर्नुपर्नेछ । गुगल पे वा एप स्टोरबाट सूर्वज्योति लाइफको मोबाइल एप डाउनलोड गरी आफ्नो बीमालेखको सबै विवरण सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मोबाइल एपमा रजिस्टर/लग इन गर्न मोबाइल नम्बर कम्पनीमा रहेको नम्बरसँग मिलेको हुनुपर्नेछ । बीमालेख अन्तर्गका सुविधाहरूलाइ कायम राख्न आफ्नो बीमालेखको नविकरण मितिहरू यकिन गरि निर्धारित समयमानै बीमाशुल्क भुक्तानी गर्नुपर्ने र बीमाशुल्क रकम अनलाइनमार्फत् वा नजिकको शाखा कार्यालयमा गई भुक्तानी गर्न सकिनेछ । बीमालेख धितो बापत यदि कुनै कर्जा लिएको छ भने कर्जाको ब्याज नियमित रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । समयमा भुक्तानी नभएको अवस्थामा कम्पनीको नियम अनुसार बीमालेखको कर्जा तथा ब्याज सम्बन्धी यस कम्पनीका शर्तहरू लागू हुनेछ ।

सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान गरेको हो । इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेद दिन बैंकले आग्रह गरेको छ । आवेदनका साथ उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ । साथै ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको व्यत्तिले आवेदन दिनुपर्ने बैंकले जनाएको छ । व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकको भनाइ छ । वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ बर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्ने छ ।

३ सय रुपैयाँमा बिक्रीमा राख्यो नेपाल इन्स्योरेन्सले सेयर

काठमाडौं । नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । कम्पनीको सेयरमा यहि भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिँदा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

धान फल्ने खेत दान गरे, २३ वर्षपछि बस पुग्यो

काठमाडौं । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उनले बताए । ‘धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो, बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ,’ भण्डारीले भने । पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् । जग्गादाता गोविन्द उपाध्यायले भने, ‘नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।’ उनले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताए । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिए । ‘बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ,’ उनले भने । उनले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताए । विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ । बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ ।

‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि बढे पर्यटक

काठमाडौं । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो । साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ । ‘धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, स्थानीय पदम बोहराले भने, ‘अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन् ।’ द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ । यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती छ । स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ । उनका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन् । जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो । त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो ।

आज यी प्रदेशमा भारी वर्षा हुने, यस्तो छ २४ घण्टाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले मौसम बुलेटिनमा उल्लेख छ । वर्षा हुने ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

रेकर्ड बिन्दुमा डलरको मूल्य, यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९८ रुपैयाँ र बिक्रीदर १४८.६४ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९६ रुपैयाँ कायम भएको छ भने बिक्रीदर १७६.७५ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.०१ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकिएको छ ।  

नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

काठमाडौं । नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । भदौ १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशक बढीको लामो अनुभव छ । साबिक युनाइटेड फाइनान्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेका पोखरेलसँग नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ ।