आईएमइ र कमर्स प्लेक्सबीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारी
काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारीमा सहमति भएको छ । एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको हो । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए । कमर्स प्लेक्स सिमपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिनट्रयाक द्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसायले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो । कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भने, ‘आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको छ ।’ आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । मन्त्रालयमा मंगलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयको रहेको बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताए । उनले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरे । लगानी दशकमा के-के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताए । उनले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गरे । उनले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको बताए । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि सुरु गर्ने योजना रहेको बताए । मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताए । नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको बताए ।
हिमालयन लघुवित्तले दियो १० लाख २५ हजार बीमा वापतको रकम
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको आयोजना गरी संस्थाको १ जना सदस्य केन्द्र न ६७ समूह नं. २ मा आवद्ध ज्ञानमति थारुको चत्याङको मृत्यु भए पश्चात् पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान अमिरिका थारुलाई १ लाख ७१ हजार ७८८ रुपैयाँ कट्टा गरि ८ लाख ५३ हजार २१२ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका छन् । बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडा अध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु र बिरेन्द्र यादबको उपस्थिति रहेको थियोे ।
सुकेटार विमानस्थलमा पुनः उडान सुरु, उडान तालिका सातामा एक दिन मात्र
ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, ‘मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो ।’ निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ । बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौं–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ । उडान पुनः सञ्चालन भएसँगै दशैं, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ(काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति ९ हजार ४ सय ७६ रुपैयाँ रहेको निगमले जनाएको छ ।
दक्ष जनशक्ति अभावमा अस्पतालका भेन्टिलेटर र आइसीयू ५ वर्षदेखि प्रयोगहीन
पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको एक करोड ६९ लाख रुपैयाँ लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए । भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उनको भनाइ छ । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनले बताए । सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उनले बताए । ‘पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन’, उनले भने । कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै ५ करोड रुपैयाँभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उनको भनाइ छ । अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । ‘हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन रु’ उनले भने । ‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए । त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । ‘सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने रु यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ’, उनले भने, ‘यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।’ पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौंका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उनको गुनासो छ ।
नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन
कञ्चनपुर । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनःजाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिएका छन् । उनका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानुनको पालना गरी प्रयोग भए÷नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ । टोली प्रमुख जोशीले झलारी बजारका ४० बढी व्यापारीका नापतौल यन्त्र नवीकरण गर्नेसँगै पुनः जाँच गरिएको बताए । ढक, तराजुलगायत नापतौल यन्त्रमा सामान्य घटबढ देखिए पनि अनियमियता भएको नपाइएको उनले बताए । उनका अनुसार सुनचाँदी, कलकारखाना, उद्योगले प्रयोग गर्ने नापतौलका यन्त्र एक वर्षभित्र र बाँकी अन्य व्यवासायीले प्रयोग गर्ने यन्त्र दुई वर्षभित्र नवीकरण र पुनः जाँच गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । ‘नयाँ नापतौलका यन्त्र ३५ दिनभित्र दर्ता गर्दा रु पाँचमात्रै शुःल्क तिर्नुपर्ने प्रावधान छ”, नापतौल कार्यालयका सहायक निरीक्षक जोशीले भने, ‘निर्धारित समयभित्र दर्ता नगराए रु एक हजारदेखि रु पाँच हजारसम्म शुःल्क तिर्नुपर्ने हुन्छ ।’ नापतौलका यन्त्र दर्ता गर्ने प्रक्रिया, नवीकरण र पुनः जाँच गराउने कार्यसँगै कानुनी पक्षबारे व्यापारी व्यवसायीलाई सचेत पार्ने काम भइरहेको उनको भनाइ छ ।
राष्ट्र बैंकले गर्यो वर्षौंदेखिको चलनमा ब्रेक, साढे १ अर्ब जोगिने
काठमाडौं । मान्छेहरुले हातमा नयाँ नोट पर्ने वित्तीकै दशैं आएको महसुस गर्थे । विभिन्न बैंकबाट नयाँ नोट साँटेर दशैंका लागि घर जाने मानिसहरुको भीड लाग्थ्यो । नयाँ नोट पाएको खुसी पृथक किसिमको हुन्थ्यो । नयाँ नोटले दशैं आएको रौनक दिन्थ्यो । मानिसहरुले दक्षिणा दिँदा नयाँ नोट नै प्रयोग गर्थे । तर, यस पटक त्यस्तो हुने छैन । मानिसहरुले नयाँ नोट प्रयोग गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले यसपटक नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी गरेको छ । गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको सहप्रवक्ता डा.डिल्लीप्रसाद पोखरेलले बताए । विगतमा दशैं तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिन्थयो । करिब १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्थ्यो । तर, यस पटक बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरण गर्ने छैनन् । नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्ने गर्थ्याे । राष्ट्र बैंकले नयाँ नोटमा देखेको खर्चका कारण यो वर्षदेखि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको बताएको छ । डिजिटल कारोबारलाई बढावा दिन बैंकले दशैंमा नयाँ वा सुकिला नोट नबाँड्ने भएको बताएकाे हाे । विगतमा राष्ट्र बैंकले दसैंका लागि भनेर ३/४ महिनाअगावै नयाँ नोट छपाइको काम गर्थ्याे । डिजिटल कारोबारलाई प्रोत्साहन र नोट छपाइको लागत घटाउन राष्ट्र बैंकले यस्तो निर्णय लिएको बताएको छ । विगतमा राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सयका दरले वितरण गरेको थियो ।
महालक्ष्मी विकास बैंकले सवारी पार्किङ्गका लागि ३ रोपनी जग्गा भाडामा लिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले जग्गा भाडामा लिने भएको छ । केही संख्यामा सवारी साधन पार्किङ्ग तथा अन्य प्रयोजनको लागि २ देखि ३ रोपनीसम्मको जग्गा भाडामा लिने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त जग्गा रिङ्गरोडबाट भित्र वा ३ देखि ५ किलोमिटर बाहिर आवश्यक रहेको बैंकको भनाइ छ । जग्गा भाडामा दिन ईच्छुक फर्म÷कम्पनी तथा व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पाउण्ड तथा सेड भएको जग्गालाई विशेष प्राथमिकता दिइने बैंकले जनाएको छ । भाडामा दिने जग्गामा न्युनतम १६ फिटको सडकसँग जोडिएको हुनुपर्ने, भाडामा दिने जग्गा कुनै किसिमको कानूनी झमेला नभएको हुनुपर्ने, जग्गा भाडामा दिँदा २ देखि ५ वर्ष अवधिको लागि दिनुपर्नेछ । एक वा एक भन्दा बढी जग्गाधनी भएमा निजहरूले संयुक्तरुपमा पनि प्रस्ताव पेश गर्न सक्ने छन् ।