यी हुन सरकारले पुरस्कृत गर्ने उत्कृष्ट कर्मचारी
काठमाडौं । सरकारले २१औं निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ । सो पुरस्कार २०८२ को २२ औं निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शङ्करबहादुर केसी पुरस्कृत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागार्ईं, कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ । त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका अनुसार, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरुत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेलाई प्रदान गरिनेछ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौँमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत शतलसिंह उखेडा, उच्च अदालत तुलसीपुरमा कार्यरत इजलाश अधिकृत कृष्णप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत खाद्य अनुसन्धान अधिकृत सुशिला सिंह, जिल्ला सहकारी वकिल कार्यालय हुम्लामा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता शिलुकमा लिंथेप, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत शाखा अधिकृत उदयप्रकाश लिम्बू, महालेखा परीक्षकको कार्यालय अनामनगरमा कार्यरत लेखापरीक्षण अधिकारी कृष्णबहादुर खत्रीलाई पनि उक्त पुरस्कार प्रदान गरिनेछ । यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिनियर अनमी (छैटौंँ) राममाया गुरुङ, सङ्घीय संसद् सचिवालय सिंहदरबारमा कार्यरत सिनियर अहेव (छैटौँ) पुष्पराज रिजाल र राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवनमा कार्यरत नायब सुब्बा रोशनी नेपाललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टङ्गालमा कार्यरत नायब सुब्बा राजेद्रप्रसाद ढुङ्गाना, राष्ट्रपति कार्यालयमा कार्यरत नायब सुब्बा प्रतिभा काफ्ले, जिल्ला निर्वाचन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर गणपैत यादव, हुम्ला जिल्ला अदालतमा कार्यरत नायब सुब्बा छत्तबहादुर बोगटी, कैलाली जिल्ला अदालतमा कार्यरत डिट्ठा हिरालाल सुनार, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा कार्यरत हल्का सवारी चालक मानबहादुर दराई, अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी जनक महत र सडक विभाग काठमाडौँमा कार्यरत कार्यालय सहयोगी टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । रासस
कर्मचारीले सहयोग गरेनन्, नयाँ १९ सय कर्मचारीलाई भर्ना गर्दैछौं : मुख्यमन्त्री आचार्य
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित कार्यक्रममा उनले कर्मचारीले सेवाग्राहीलाई कानुनी गाँठो बल्झाएर होइन्, निकास दिएर सेवाप्रवाह गर्न निर्देशन दिए । उनले भने, ‘कानुनको गाँठो पारेर जनताको कामलाई आलटाल गर्ने होइन् । यदि कहीकतै कानुनको गाँठो परेको छ भने त्यो गाठोलाई कसरी फुकाउन सकिन्छ त्यसको निकास दिने कुरामा जान जरुरी छ । निकास खोज्ने भन्दा कामलाई बल्झाउनेतिर कर्मचारी जाने तलदेखि माथिसम्मको परिपाटी छ यसको अन्त्य हुन जरुरी छ, सहयोग गरेर अगाडि बढ्नुपर्छ ।’ उनले लुम्बिनी प्रदेश सरकारले छिट्टै विभिन्न तहमा एक हजार नौ सय नयाँ कर्मचारीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिए । संघीय सरकारले हस्तान्तरण गरेको स्वीकृत दरबन्दी अनुसार लुम्बिनी प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा चार हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल दुई हजार एक सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्टै लोक सेवा आयोगमार्फत विज्ञापन खोलिने मुख्यमन्त्री आचार्यले बताए । उनले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षदेखि लागु हुने बताए ।
धुलिखेल-खावा सडक दुई दिन बन्द, २० करोड बजेटको आयोजना निर्माणमा हेलचक्य्राइँ
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन भक्तपुरस्थित सडक डिभिजन कार्यालयले शुक्रबार र शनिबार टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएको थियो । काठमाडाैंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न थप दुई दिन आज र भोलि मालबहाक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ । काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो । डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले बिहीबारेदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालबाहक यातायाका साधनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय भएको थियो । यसअघि पनि गत जेठमा उक्त सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक)बन्द गरिएको थियो । साथै दुईसाता टिपरलगायत मालवाहक यातायातका साधनलाई पनि पूर्णरुपमा निषेध गरिएको थियो । केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको थियो । रासस
विशाल बिल्डिङ, कंक्रिटको काठमाडौं (फोटोफिचर)
काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो । तर, अहिले कंक्रिटको पहाड बनेको छ । तस्बिर न्यूज एजेन्सी नेपाल
दुर्गाको बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसको अध्यापन गराउन अनुमति, अराजकता रोक्लान् ?
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए । विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो । नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए । सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए । विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए । यो मेडिकल कलेजको सञ्चालक दुर्गा प्रसाईं हुन् । आफ्नो मेडिकल कलेजले अध्यापनको लागि सीकृति नपाएको आवेगमा सो प्रसाईंले अराजक किसिमका अभिव्यक्ति दिँदै आएका थिए । उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्ने बताउँदै आएका थिए भने बैंकरलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने अभिव्यक्ति दिँदै आएका थिए । अब सरकारले उनको मेडिकल कलेजलाई अनुमति दिएको छ । उनी भने अब आफ्नो अराजक अभिव्यक्ति र गलत कार्यहैली रोक्ने धेरैको अपेक्षा छ ।
१३ बिघा सरकारी जग्गा ७ भीआईपीको कब्जामा, टेरेनन् अदालतको आदेश, कर्मचारीको हारगुहार
काठमाडौं । पछिल्लो समय सरकारी जग्गा अतिक्रमण हुने विषय सामान्य भइसकेको छ । सामान्य मानिसभन्दा पनि राजनीतिक रुपमा ठूलो पहुँच भएका व्यक्तिहरुले सरकारी जग्गा अतिक्रमण गरेर अन्ततः आफ्नै नाममा नामसारी गर्न सफल हुन्छन् । त्यस्तै हेटौंडा पनि यस्तै विषयले अहिले प्राथमिकता पाएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा ठूलो समस्या भएको छ । केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण भएको छ । यसले केन्द्रलाई आफ्नो व्यवसाय गर्न समस्या भइरहेको बताएको छ । ‘केन्द्रका नाममा भएका जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्, कार्यालय प्रमुख सरोजकुमार यादवले भने, यसले माछापालन प्रभावित भएको छ ।’ कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाईं, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए । उनीहरुले जग्गा फिर्ता गर्न नमान्नुको कारण राजनीतिक पहुँच भएको बुझिएको छ । अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उनले जानकारी दिए । अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ । ‘अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए’, प्रमुख यादवले भने, ‘त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर, पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।” अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ । ‘अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ’, प्रमुख यादवले भने । तर, उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।’ यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताए । ‘अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भने, ‘त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।’ कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताए । उनले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिए । रासस
अब मधेसमा पनि एमबिबिएस पढाइ, ७५ प्रतिशत विद्यार्थी निःशुल्क पढ्न पाउने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए । सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । रासस
दशैंमा ठूल्ठूला सहरमा खसीबोका सप्लाई गर्ने बजार, खेतिपाती छोडेर बाख्रा पालनमा आकर्षण
फाइल फाेटाे काठमाडौं । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएक ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भने, “खसीबोका पाँच हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । “व्यापारको टुङ्गो हँुदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ”, उनले भने । पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताइन् । राईले मासिक पाँच लाख रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, “पुख्र्यौली पेसा खेती किसानी हो, तर विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु ।” प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उनी बताउँछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् । धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । प्रत्येक साता एक सयदेखि एक सय ५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताए । काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए । सबै खर्च कटाएर मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ । चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ । उनले वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको बताए । धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उनले जानकारी दिए ।