बाटोको असुविधाले ऐतिहासिक महत्वको ठाउँ गलेखामकोट ओझेलमा
काठमाडौं । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका-६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट १ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ । आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन् । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछिन् । गलेखामकोटमा एकपटकमा २०/२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास-२ का सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताउँछन् । ‘गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ,’ उनले भने । यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाइ छ । कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।’ गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ । गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । १६ लाख ५० हजार रुपैयाँको लागतमा भ्युटावर निर्माण गरिएको छ । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताइन् ।
तनहुँ जलविद्युत् आयोजनाको भुक्तानी युरोपियन बैंकमार्फत् हुने
काठमाडौं । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैंकमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ । गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् । आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छभने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् ।
कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कालिका लघुवित्तका तीन जना संस्थापक बाहिरिँदै
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तका अनुसार संस्थापक सेयरधनी मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयर संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
रेकर्ड बिन्दुमा पुगेको डलरको मूल्य घट्यो, यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । रेकर्ड बिन्दुमा पुगेको अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । आज एक युरोको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२९ रुपैयाँ र बिक्रीदर ९९.७४ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ तोकिएको छ ।
‘सत्ता टिकाउन जे पनि गर्न सकिन्नँ, सहनशील भएर भारतसँगको समस्या समाधान हुँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र सहनशील भएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवासमा आज आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्या रहेका र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए । ‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लागेको छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाती रहेका विषयमा छलफल गर्न सहज हुन्छ, प्रधानमन्त्री ओलीले भने, ‘भारत उन्नत संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुलस्त रूपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन हामीले जे पनि गर्नु हुँदैन ।’ भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोपका लागि प्रयोग गर्न नहुने तर्क गर्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति नभएको स्पष्ट गरे । ‘पहिला पहिलाका वैदेशिक सम्बन्धहरु बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीय रुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधरमा गरिनुपर्छ’, उनले भने । सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताउँदै उनले लोकतन्त्रका नाममा अराजकता हुन नहुने भनाइ राखे । संयुक्त राष्ट्रसङ्घको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र त्यसका आधारमा थप बहस गर्न सकिने बताए । । पुस्तकको समीक्षा गर्दै संविधानविद् डा. विपीन अधिकारीले देशमा उपलब्ध अपार जलसम्पदाको उपयोग गर्नेगरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिए ।
५०० डलर शुल्क तिर्नुपर्ने उपल्लो मुस्ताङमा घुम्न यस कारण आवश्यक
काठमाडौं । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो । एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए । “पर्यटकहरुले सङ्केत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइनपोष्टिङ राखिएको हो,” उनले भने, “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्व र विशेषता बुुझ्नका लागि नक्सासहितको सूूचनापाटी राखेका छौँ ।” स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ । अग्ला, नाङ्गा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोष्टिङ राखिएको एक्यापका प्रमुुख प्रमोदराज रेग्मीले बताए । उपल्लो मुस्ताङको दामोदरकुण्ड पुुगेर फर्कनुभएका म्याग्दीको अन्नपूूर्ण गाउँपालिका –५ का गणेश गुरुङ (सुुुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूूचनापाटी तथा साइनपोष्टिङले सहज बनाएको बताए । अझै धेरै ठाउँमा साइनपोष्टिङ, सूचनापाटी र होडिङ बोर्ड राख्नुपर्ने उनले बताए । अन्नपूूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुुुप्रै पर्यटकीय र धार्मिकस्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक भूूगोल पनि यहाँका आकर्षण हुुन् । सन् २०२३ मा तीन हजार चार हजार ८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुुुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ । अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुुँदा पर्यटक आगमन अपेक्षित रुपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए ।
‘कर्मचारीको सहयोगबिना नेताले पनि भ्रष्टाचार गर्न सक्दैनन्, नेपाललाई ‘नन् करप्ट’ राष्ट्र बनाऔं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन् । एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन् । ‘तपाईंहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुुस् ।’ प्रधानमन्त्री ओलीले भने, ‘म चुनौती दिएर भन्छुु, म आफूू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’ राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए । उनले सरकार टे«ड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताए । उनले अधिकार छ भन्दैमा दुुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने बताए । ‘अहिले नियोजित रुपमा अराजकता सृजना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन ।’ प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए ।