विकासन्युज

वडा सदस्यसहित २ जना पहिरोमा पुरिए

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

लक इन अवधि सकिएको ६ महिनामै ग्रीन लाइफ हाइड्रोबाट बाहिरिँदै ग्रीन लाइफ

काठमाडौं । लक इन अवधि सकिएको ६ महिनामै ग्रीन लाइफ हाइड्रोपावरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनी ग्रीन लाइफ इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयरको लक इन अवधि २०८० फागुन ६ गते सकिएको थियो । कम्पनीको संस्थापक समूहको १ करोड ४४ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १ लाख ३ हजार ६ सय कित्ता र कर्मचारीहरूको ६९ हजार ९२८ कित्ता गरी कूल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लक इन अवधि गत फागुनमा सकिएको थियो ।

रूस र चीनको त्रासमा बेलायत र अमेरिका, विश्व व्यवस्थामाथि खतरा बढेको चेतावनी

काठमाडौं । अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्रस र बेलायतको एमआई-सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, ‘हामीसँग एक अर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन । उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् ।’ संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन्। ‘सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ, ‘रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ,’ लेखमा भनिएको छ । लेखमा ‘उनीहरू (अमेरिका र बेलायत)ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो । ह्वाइट हाउसले शुक्रबार भनेको छ, ‘उनीहरू (बाइडेन र स्टर्ममर)ले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन्।’ इजरायलप्रति दुई राष्ट्रको अडान फरक-फरक रहेको समयमा यो बैठक हुन लागेको हो । युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

काठमाडौं । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ । इन्डोनेसियाको जकार्तामा बिहीबारदेखि शुक्रबारसम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगोपन सम्मेलन (आईएसएफ) को पहिलो दिनमा यो प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा विश्व नेता, निर्णय निर्माता, सीईओहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो । इन्डोनेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अर्सजाद रसजिदले सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणपूर्वी एसियामा नवीकरणीय उर्जा र प्राकृतिक स्रोतको ठूलो सम्भावना भएकोले बताए । ‘आसियानसँग हरित अर्थतन्त्र र ऊर्जा क्षेत्रहरूमा अगुवा बन्ने क्षमता छ, यसका लागि विकासोन्मुख मुलुकलाई विकासशील मुलुकसँगको सहकार्य आवश्यक छ,’ रसजिदले भने ।

झाडा लागेर एकजनाको मृत्यु

काठमाडौं । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ,’ उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईलेलाई जानकारी दिए । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा डा भट्टराईले बताए । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको पृष्ठभूमि महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताउनुभयो । रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी-नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा उनले जोड दिए । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू । यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाए । ‘धेरै पर्यटक सिधैँ मुक्तिनाथ पुगेर फर्किन्छन्, घुम्न र हेर्नलायक धेरै ठाउँ भए पनि ओझेलमा परेको स्याङ गाउँमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौँ,’ उनले भने । ८ वटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताए । थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ । अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । ११२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ । गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ । सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् । सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् । घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा १२० मिटर लामो झोलुङ्गे पुल बनाएको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए । जोमसोमबाट सिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हँुदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडाध्यक्ष थकालीको छ । स्याङखोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो । थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । गुफाभित्र तीनवटा खाना पकाउने, ध्यान बस्ने, सामान राख्ने कोठा छन् । सो गुफामा परापूर्वकालमा लामा ध्यान बस्ने गरेका स्थानीयवासी बताउँछन् । स्याङका पूर्व वडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेहरूका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो । स्याङखोलाको मोटरेबल पुलबाट १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लबले स्याङखोलाको किनारबाट गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाएको छ ।

९ लाख १९ हजार युवा कोरिया जान इच्छुक, १ लाख बढीले पाए रोजगारी

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन ९ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म ९ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका हुन् । सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी १ लाख ९९ हजार ११३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म ५ लाख ४८ हजार ७७१ जना भाषा परीक्षामा सहभागी भएका छन् । एक लाख बढीले पाए रोजगारी इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने संया लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार ३१० पुरुष र ७ हजार २४३ महिला गरी १ लाख ५ हजार ५४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेको इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् । इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षको अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो ७ महिनाभित्र ४ हजार २८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ । नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो । अन्य रोजगार गन्तव्यका तुलनामा दक्षिण कोरियामा अनधिकृत रूपमा बस्ने नेपाली श्रमिकको संख्या न्यून छ । दक्षिण कोरियामा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबाट नेपालले अन्य गन्तव्यका तुलनामा कम सामाजिक मूल्य चुकाउनुपरेको छ । दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब १ हजार ३५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरु अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ । दक्षिण कोरियाले सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको निर्देशक कँडेल बताउँछिन् । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ । इपिएस प्रणालीका चुनौती भाषा परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन बुझाएर रोष्टरमा रहेका युवालाई दक्षिण कोरियामा रोजगारीको प्रबन्ध मिलाउन चुनौती देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि हालसम्म ४२ हजार ५९ जना रोष्टरमा रहेकामा १८ हजार २० जनामात्र रोजगारदाताको छनोटमा पर्न सफल भएका छन् । भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । बाँकी २४ हजार ३९ जना हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न नसकेको शाखाको तथ्यांक छ । सेवा क्षेत्रमा रोष्टर परिवर्तन गराई ६९१ जनालाई रोष्टरमा राखिएकामा सातजना मात्र रोजगारदाताको छनोटमा परेको शाखाले जनाएको छ । शाखाका निर्देशक कँडेल उत्पादन, कृषि तथा पशुपालन, पानीजहाजजस्ता क्षेत्रसँगै वन र सेवा क्षेत्रमा बढीभन्दा बढी कामदार पठाउन पहल गर्नुपर्ने धारणा राख्छिन् । भाषा परीक्षाको वार्षिक कार्यतालिका स्वीकृत गरी अनुमानयोग्य बनाइनुपर्ने तथा परीक्षा उत्तीर्ण र दक्षिण कोरिया जान पाउने सङ्ख्याबीचको सामञ्जस्यता मिलाउनेतर्फ कूटनीतिक पहल लिनुपर्ने उनको सुझाव छ ।