विकासन्युज

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए । सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गरे । ‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ’, उनले भने । नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताए ।

कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा शिक्षा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कम्पनी ऐनबाट सञ्चालित भएकाले विगतमा शिक्षालाई नाफाका रुपमा लगानी गर्ने गरिए पनि अब कल्याणकारी अवधारणमा अघि बढ्नुपर्ने बताएकी हुन् । उनले विद्यालय शिक्षा विधेयक त्यही अवधारणमा ल्याउन आवश्यक रहेको बताइन् । उनले आजको सन्दर्भमा शिक्षामा नाफाको लागि लगानी गर्ने कुरालाई मुलुकको संविधानले स्वीकार नगर्ने उल्लेख गरिन् । उनले शिक्षा सेवा क्षेत्र भएको भन्दै यसलाई कमोडिटीको रुपमा प्रयोग गर्न नहुने उल्लेख गरिन् । उनले शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रुपमा बोलेको बताइन् । शिक्षामन्त्री भट्टराईले शिक्षा विधेयक चाँडै अघि बढ्ने पनि बताइन् । संविधानलाई कार्यान्वयन गर्नको लागि ३ वर्षभित्र ऐन ल्याउनुपर्ने भए पनि अहिले आएर मात्रै शिक्षा ऐन ल्याउन लागेको उनको भनाइ थियो । उनले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले भनेका कुराहरु अहिले पनि सान्दर्भिक रहेकाले कार्यान्वयन गरेर जाने प्रतिबद्धता जनाइन् । उनले शिक्षा ऐन अहिलेको शिक्षा व्यवस्थालाई सुधार गर्ने गरी आएको बताइन् ।

दीर्घकालीन नीति नहुँदा विद्युतीय सामग्री उत्पादन गर्न समस्या भयो : महासचिव अग्रवाल

नेपाल विद्युत व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरूको प्रदर्शनीका लागि ‘फिनइलेक्ट्रोटेक २०२४’ एक्स्पो सुरु गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा बिहीबारबाट सुरु भएको ११ औं एक्स्पो ४ दिनसम्म चल्नेछ । २ वर्षमा एक पटक आयोजना गर्दै आएको एक्स्पोमा यो पटक ५० हजार बढीले सहभागिता जनाउने अपेक्षा छ । अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनीको उद्देश्य के हो ? सहभागीहरूले यो एक्सपोमा कस्ता प्रविधिहरू देख्न पाउँछन् ? हामीले नेपाल विद्युत व्यवसायी महासंघका महासचिव गोपाल कौशल अग्रवालसँग कुराकानी गरेका छौं । यो एक्स्पो किन सञ्चालन गरिएको हो ? इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरूको प्रदर्शनी हो । नेपालमा रहेका सबै व्यवसायीलाई जमघट गराउन, एकअर्काले गरिरहेका कामबारे जानकारी गराउन, सामग्री हेर्न र देखाउन एक्स्पो आयोजना गरिएको हो । सँगै यी सामगी्रबारे नागरिकलाई जानकारी गराउने र उनीहरू पनि हेर्न सजिलो होस् भनेर प्रदर्शनी गरिएको हो । यो एक्स्पोको प्रायोजक ट्रान्सवेल्ड ट्रान्सफर्मर हो । एक्स्पो को मुख्य उदेश्य के हो ? नेपालमा भएका उत्पादन, निर्माण भएका जति पनि सामग्रीहरू छन्, तिनलाई एउटै छानामुनि ल्याएर आफ्नो प्रोडक्ट डिस्प्ले गर्नु हो । नेपालमा रहेका विभिन्न कम्पनीहरूले उत्पादन गरेका नयाँ सामानहरूको प्रदर्शनीक लागि यो एक्स्पोको आयोजना गरिएको हो । तपाईंहरूले नेपालमा कस्ता कस्ता प्रविधिहरू उत्पादन गर्दै आउनुभएको छ ? नेपालमा विभिन्न कम्पनीहरूले फरक फरक सामग्रीहरू उत्पादन गरिरहेका छन् । नेपालमा उत्पादन भएका वस्तु भनेको वारेस केवल, स्वीचेज, फ्यान्स, इलेक्टीकल प्यानल बोर्ड जति पनि नेपालमा उत्पादन भइरहेका छन् ती सबै यसमा भएका छन् । नेपालमा उत्पादन गर्ने सामान नेपालमै प्रयोग हुन्छ कि निर्यात पनि गर्नुहुन्छ के छ अवस्था ? समग्रमा भन्दा अहिले हाम्रो इलेक्ट्रिकल टे«ड एक्सपोर्टमा गएको छैन । गत वर्षहरूमा ट्रान्सफरहरू गएका थिए । तर अहिले त्यती वाउ भन्ने रुपमा गएको छैन । हाम्रा एकजना म्यानुफक्चररले बंगलादेश एक्सपोर्ट गरिराख्नुभएको छ भन्ने थाहा छ । तर खासै त्यस्तो निर्यात भइरहेका सामानहरू छैनन् । यो एक्सपोमा सहभागीले नयाँ प्रविधि के देख्न पाउँछन् ? हामीले यो पटक नयाँ प्रविधिको प्रदर्शनी भन्दा पनि क्वालिटी र सुरक्षालाई बढी फोकस गरेका छौँ । यहाँ जती पनि अहिले भारत, नेपालका विभिन्न कम्पनीका स्टलहरू छन्,यसमा हामीले क्वालीटीका सामान राखेका छौँ । गुणस्तरका सामान प्रयोग गर्नुपर्छ भन्ने मुल नाराले यो एक्सपो आयोजना गरेका हौँ । हामी विश्वस्त छौँ यहाँ आउने, सहभागी भएकाहरूले गुणस्तर सामानको अवर्नेस र लाभ उठाउने छन् । यो एक्सपोको मुख्य आकर्षण के हो ? क्वालिटी नै हो । हाम्रो यो एक्सपोमा जति पनि स्वदेशी विदेशी सहभागीहरूका ब्रान्चहरू छन्, तिनीहरू आफैमा गुणस्तरिय सामानका उत्पादक र बिक्रेता हुन् । त्यसैले गुणस्तरलाई नै हामीले बढी जोड दिएका छौँ ।यहाँ आउनेहरूलाई पनि यही विषयमा हामी जानकारी गराइरहेका छौँ । यो एक्सपोमा कस्ता सामग्रीहरूको प्रदर्शनी हुन्छ ? फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । यस्ता कार्यक्रमले विद्युत र इलेक्ट्रोटेक क्षेत्रको विकासमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ? यस्ता कार्यक्रमले इलेक्ट्रोटेक भन्दा विद्युतीय क्षेत्रलाई राम्रो गर्छ । इलेक्ट्रोटेक एउटा मेलाको नाम हो, विद्युतीय क्षेत्र भनेको इलेक्ट्रिकल ट्रेडहरूको जुन व्यवसायलाई विद्युतिय व्यवसाय भन्छौँ । यसले गर्दा नेपालको मेचीदेखि महाकालीमा छरिएर रहेको व्यवसायीले एउटै छानामुनी आएर सामानहरू हेर्न सक्छन् । यसका उत्पादको को हुन् ?, विक्रेता को हुन् भन्ने थाहा पाउन सक्छन् । यहाँ डिस्प्ले पनि राखिएको छ । धेरै सामान हामी भारतबाट मगाउँछौँ यहाँ आयो भने ती सामाग्रीहरूबारे थाह पाउन सकिन्छ । यो एक्स्पोको मुख्य केन्द्रबीन्दु कस्तो व्यवसायी हुन् ? नेपालमा रहेका सबै विद्युतिय व्यवसायी इलेक्ट्रिकल कन्सलटेन्ट, आरकेटेक इन्जिनीयर, लगायत कन्ट्रसक्सन रिलेटेड व्यवसायी र आफुलाई गुणस्तरिय सामान खोजिरहका ग्राहक हुन् । जसले यो एक्सपोमा आएर हेर्नेमात्र होईन आफ्नो भोलिको योजना सहित आफुलाई आवश्यक पर्ने सामाग्रीहरू खरिद पनि गर्नसक्छन् । किन की हामीले कन्टिटी र क्वालीटीलाई फोकस गरेका छौँ । यो क्षेत्रमा जति पनि आवश्क सामग्रीहरू छन् नेपालमै उत्पादन हुन्छ कि बाहिरबाट ल्याउनुपर्छ ? नेपालमा मार्केटको साइज धेरै सानो छ । अर्को, लगानी धेरै लाग्छ, लगानी बराबरको मूल्य उठ्न गाह्रो हुन्छ । जसका कारण हामीले यस्ता सामग्रीहरू नेपालमा उत्पादन गर्न सकिने अवस्था छैन । भारतको कुरा गर्ने हो भने त्यहाँ उत्पादन गर्न धेरै खर्च गर्नु पर्दैन । तर, हाम्रो उत्पादनमै धेरै लगानी गर्नुपर्छ । सरकारी तहबाट हेर्ने हो भने यो विषयमा राम्रो कुनै ऐन कानुन छैन, कच्चा पदार्थ आयात गर्दा वा कुनै वस्तु आयात गर्दा भन्सार दर एउटै छ । यदि सरकारले आयात गर्दा र कच्चा पदार्थमा फरक लागत बनाइदिएको भए यहीँ नयाँ सामानहरू उत्पादन गर्न सकिन्छ त्यसो नहुँदा पनि समस्या भइरहेको छ । यसमा सरकारले के भूमिका खेल्नुपर्यो ? यसका लागि सरकारले दीर्घकालिन नीति बनाउनुपर्ने छ । विगतलाई हेर्दा कस्तो छ भने नेपालमा उद्योगहरू नेपालमा स्थापना गरेका छन्, भारतबाट आयात नगरी निर्माण गर्न सकिँदैन । कच्च पदार्थ पहिले भन्सार शुल्क कम थियो । फेरि नेपालमा उद्योग स्थापना भएपछि बढ्यो । यसका लागि नीति राम्रो भएन, उत्पादन भएका र सामान र वस्तुको शुल्क एउटै गरिदिएको छ अझै भन्सार शुल्कमा हेर्न सकिएन नेपालमै सामाग्री उत्पादन गर्न झन समस्या छ । यसमा सरकार नीति राम्रो भएन । फेरि नेपालमा अर्को राजनीति समस्या पनि उस्तै छ । बेलाबेला सरकार फेरिँदा, मन्त्री फेरिँदा भन्सार शुल्क पनि फेरिन्छ । नेपालमा उद्योग स्थापनाका लागि यस्ता धेरै कुरामा सरकारले ध्यान दिनुपर्छ । यसको प्रत्यक्ष असर पर्छ विगतमा फलाम छड उद्योगमा पनि यस्तो समस्या आएको थियो अहिले मार्वल इन्डस्ट्रीमा पनि त्यस्तै समस्या आएको छ । यस्तै समस्या सधैँ हुन थाल्यो भने यहाँका उद्योग कहिल्यैपनि राम्रो हुँदैन । तपाईंहरू पनि यसका लागि आवाज उठाउनुभयो होला नि ? पक्कै उठाएका छौं । तर, यहाँ सरकार नै स्थायित्व नहुँदा समस्या देखिन थाल्यो । अहिले दुई ठूला दल मिलेर सरकार बनाएको छ । हामी स्वदेशी उत्पादकका कुरा गछौँ । तर, नेपालमै नयाँ प्रविधिहरू उत्पादनका लागि सरकारले योजना ल्याएकाे छैन । पटकपटक सरकार परिवर्तन हुँदा यसकाे प्रत्यक्ष असर हामी जस्ता उद्योगीहरूलाई परिरहेको छ । हामीले राम्रो कानुन बनाउनुपर्यो भनेर धेरैपटक मन्त्रीलाई भट्यौँ । तर, एउटा मन्त्री धेरै टिक्न नपाउँदा हामीले उठाएको आवाजलाई सरकारले सुन्न सकेन । साथै, जनशक्ती अभावकाे समस्या पनि छ । विगत दुइ वर्षमा बैंकको मुद्धा थियो । किनभने ८ प्रतिशतकाे ब्याजदर १३/१४ प्रतिशतसम्म पुग्यो । साथै करका विषयमा पनि हामीले ठूलो समस्या खेप्नु परेको छ । यी समस्याका कारण उद्योगहरू खोल्न चासो राख्दैनन् । भनेपछि राजनीतिको प्रभाव तपाईहरूको क्षेत्रमा पनि परेको छ ? हो, यो क्षेत्रमा सबैभन्दा धेरै प्रभाव राजनीतिको परेको छ । सरकारको नीति लामो समय अवधीका लागि हुनुपर्यो । तर, सरकार परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने भएकाले समस्या भोग्नु परेको छ । पटकपटक भइरहने राजनीतिक फेरबदलले उद्योग स्थापना गर्न गाह्रो छ । विदेशबाट कच्चा पदार्थ आयात गर्दा खेप्नु परेको झमेला के के हुन् ? भन्सार शुल्ककै मुद्धा धेरै छ । विगतमा पनि यही थियो, अहिले पनि छ । अर्को मूल्याङ्कनको मुद्धा छ । हामीले आयात गर्ने कच्चा पदार्थको भन्सारमा सन्दर्भ मूल्याङ्कन पुस्तिका राखेको छ । विश्वमा प्रडक्ट रेट एक सय रुपैयाँ भइसकेको छ । तर, सन्दर्भ मूल्याङ्कन पुस्तिाकामा ३ सय रुपैयाँ छ । सरकारले पनि गाइडलाइनमा रहेको व्यवस्था नै लागू हुने भनेर जबरजस्ति लगाइरहेको छ । हामीले एलसी खोलेर आरटीजेएस र टीटी गररे ल्याएको सामान एक सय रुपैयाँको भएपनि शुल्क ३ सय रुपैयाँ तिरेर ल्याउनुपर्छ । यसले गर्दा सामानको लागत बढ्छ । विगतमा एलसीमा आयात गर्दा आरटीजेएस शुल्कमा ५ प्रतिशत डेभिड सिस्टम थियो । विगतमा कुनै सामान आयात ग¥यो भने सरकारले शुल्कमा छुट दिन्थ्यो । तर, विगत १० महिनादेखि सरकारले पोलिसी रोलब्याक गरेको छ । यस्तो समस्यासँग जुध्दै सामग्रीहरू उत्पादन गरिरहनुभएको छ है ? हामी यहाँ लगानी गरिरहेका छौँ । केही सामान उत्पादन गरिरहेका छौँ । बिक्री वितरण पनि गरिरहेका छौँ । सरकारको नीति राम्रो नभएपनि हामीले गर्नुपर्ने बाध्यता छ । किनकी हामीले पोलीसी रोल ब्याक गर्यौँ भने बैंकिङ माध्यमबाट क्रेडिट सुविधा लिएका हुन्छौँ । जति उधारो लिएका छौँ त्यो गुम्ने डर हुन्छ । तर, हामीलाई सरकारबाट सहयोग छैन । हामी राज्यलाई ट्याक्स तिछौँ । तर, सरकारले हामीलाई त्यो अनुसार मूल्याङ्कन गरेको छैन । के हासिल गर्ने अपेक्षा राख्नु भएको छ ? यो एक्स्पो भनेको सचेतना कार्यक्रम हो । हामी २/२ वर्षमा गछौँ । विश्वमा नयाँ सूचना, प्रविधि के आइरहेका छन् भन्ने जनाकारी सर्वसाधारणलाई दिने उदेश्यले गरिएको हो । हामीले चार दिनको लागि यो एक्स्पो आयोजना गरेका छौँ । एक्सपोमा गुणस्तरीय सामग्रीहरू र नयाँ ब्राण्डका प्रविधिको बारेमा जानकारी लिन सकिन्छ ।

नेपाली यू-१९ महिला क्रिकेट टोली स्वदेश फर्कदैँ

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो । यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी गराए । उनले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताए । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ । मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् । पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् । पाकिस्तानका विभिन्न भागहरूमा धुलो तथा धुवाँको प्रदुषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् । पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाँकिदा हावाको गुणस्तर घटेकाले विद्यालयहरू बन्द भएको र सयौँ मानिसहरू अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ । नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ । पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदुषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो । प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ । रासस

मुस्ताङमा स्याउको बढ्दो माग, पुर्‍याउनै मुस्किल

गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए । पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन,’ शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’ विगतमा परम्परागत रुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् । ‘नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ,’ शेर्पाले भने, ‘उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।’ बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले जानकारी दिए । मुस्ताङको मुख्य फलफूल खेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन-तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट मदिरासमेत बनाउन थालेका छन् । मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए । उनका अनुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष ९१ करोड ८६ लाख रुपैयाँको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो । जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङले जानकारी दिए । ‘पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्,’ उनले भने । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ । केही वर्षयता तापक्रम बढ्दा पनि मुस्ताङका उपल्ला भूभागमा स्याउ खेती बढ्दै गएको स्थानीयवासी बताउँछन् । मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, ठिनी, खिङ्गा, छुसाङ, कागबेनीलगायतका स्थानमा स्याउको व्यावसायिक खेती भइरहेको छ । विशेषतः मुस्ताङमा स्थानीय प्रजातिभन्दा पर्याप्त उत्पादन हुने प्रजातिका स्याउ लगाउन थालिएको ठिनीका निरज थकालीले बताए । स्याउको उत्पादन बढेपछि उवा, फापरलगायत रैथाने बाली लगाउन छाडिएको छ । ‘स्याउको उत्पादन बढ्दै जान थालेपछि रैथाने बाली लगाउने ठाउँमा किसानले स्याउ लागाउन थालेका छन्,’ थकालीले भने, ‘हिमाली क्षेत्रमा खेतीयोग्य जमिन कम हुने भएकाले थोरै जमिनमा कुन खेती गर्दा अधिकतम फाइदा हुन्छ त्यसतर्फ किसान लाग्ने गरेका छन् ।’ बगैँचाबाट स्याउ प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको थकालीले जानकारी दिए । ‘बजारमा यहाँको स्याउको माग बढ्दो छ । तर मागअनुसार उत्पादन हुनसकेको छैन,’ उनले भने, ‘यस वर्ष उत्पादन सकिएको छ, तर माग उत्तिकै छ ।’ स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई/तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ । रासस

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेन : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गरेका हुन् । उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताए । प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए । नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको जानकारी दिए । उनले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताए । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गरे । ‘उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ । भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन’, उनले भने । मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए ।

बजार दोहोरो अंकले बढ्यो, १० अर्ब बढीको कारोबार

काठमाडाैं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । बजार परिसूचक १३.९५ अंकले बढ्दा २ हजार ७ सय ४८.७८ विन्दुमा उक्लिएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेचबाट १० अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । जानकीको ३५ करोड २४ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा न्यादी ग्रुपको ३२ करोड ६ लाख, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज गुरास लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्कट लागेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।