विकासन्युज

पदबहाली गर्दै सीइओ जोशीले भने- १६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छु

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर । काठमाडौं । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ । सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएका छन् । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो । प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आइतबार पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताए । उनले भने, ‘मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।’ नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ । सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्र्याउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ । सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्ने तथा गुणस्तरीय पर्यटक भ्त्रियाएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे । पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उहाँले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए । साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए । ‘मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।’ निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने सीइओ जोशीको पहिलो दायित्व रहेको छ । ‘मुख्य चुनौती दक्ष जनशक्ति नै हो नाथमलगायतका आतिथ्यतासम्बन्धी शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरेर दक्ष जनशक्ति बढाउनेमा काम गर्नेछु,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनको सुधार पनि प्राथमिकतामा हुनेछ । कार्यविधि पारित नभएको, कर्मचारीको दक्षता अभिवृद्धि गर्नुपर्ने छ ।’ सीइओ जोशीले बोर्ड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए । आफू दोस्रो पटक ठूलो जिम्मेवारीका साथ आएको उल्लेख गर्दै उनले कैयौं चुनौती भए पनि सफलतापूर्वक काम गर्नेमा विश्वास व्यक्त गरे । ‘गन्तव्यको छवि खस्कँदो छ, यस क्षेत्रमा लगानी बढिरहेको र गतिविधि कम भइरहेको अवस्था छ । कोभिडअघिको अवस्थामा विदेशी पर्यटक आगमन पनि पुग्न नसकेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी प्रवर्द्धन आवश्यक छ,’ सीइओ जोशीले भने । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको यही भदौ २० गतेको ३७९ औं बैठकले बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले यही २१ गते शुक्रबार बोर्डको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेबाट सीइओ पदको नियुक्तिपत्र लिएका थिए । को हुन् सीइओ जोशी ? दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय जोशीले गोरखा भूकम्प, नकाबन्दीलगायत चुनौतीकाबीच पनि पर्यटन बढाउन र निजीक्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेका थिए । प्यासिफिक एसिया ट्राभल एशोसियन (केन्द्र) मा डेस्टिनेसन कमिटि चेयर र विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य समेत रहेका जोशीले ‘च्याम्पियन इन च्यालेन्ज’, ‘पर्यटन हिरो’, एसियाका राष्ट्रिय पर्यटन संस्थामध्ये सर्वोत्कृष्ट सीइओ, पाटा पर्सनालिटि अफ द इयर, नाटा पर्सनालिटी जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेका छन् । जोशीले नेपाल उद्योग परिसङ्घमा महानिर्देशकका रूपमा पनि सेवा गरिसकेका छन् ।

दशैंलाई लक्षित गरी ब्लाक एण्ड डेकरले सार्वजनिक गर्‍यो ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना

काठमाडौं । ब्लाक एण्ड डेकरले दशैं-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना घरेलु सामग्रीहरूको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् । यस योजनामा स्योर सट उपहारस्वरूप ग्राहकले ब्लाक एण्ड डेकरको ओएफआर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनरलगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्ना सामानमा आकर्षक छुट पनि रहेको छ । ग्राहकहरूले यस योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादन टिकाउ र भरपर्दो रहेको चाैधरी ग्रुपले जनाएकाे छ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप हाे ।

सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा ५०० सम्म छुट पाउने

काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ । सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् । ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री एयरलाइन्सकाे टिकट काट्दा ५ सय रुपैयाँसम्म छुट हुने बैंकले जनाएकाे छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न बैंक र श्री एयरलाइन्सबीच यस्ताे सम्झाैता भएकाे हाे । त्यसैगरी, बैंकले ग्राहकहरूलाई प्रोत्साहन गर्न विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको छ । बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers। मा अफर विवरणबारे जानकारी राखिएकाे सानिमा बैंकले जनाएकाे छ । सानिमा बैंकले ७ वटै जिल्लाका १३३ कार्यालय र १२४ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

गण्डकी प्रदेशमा ११ लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ । प्रदेशभित्र महिला स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको उनले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र सङ्घीय सरकारले ५० प्रतिशत बीमाबापतको रकम भुक्तानी गर्दै आएको छ । सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपाङ्गता भएका ५ हजार एक सय ४५ परिवारका साथै एचआइभी सङ्क्रमित २ हजार एक सय ४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ । १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमाका लागि पाँचजनासम्मको परिवारले रु तीन हजार पाँच सय बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा प्रतिथप सदस्य ७ सय रुपैयाँ बुझाउनुपर्छ । बीमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुुका साथ विमामा आवद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कूल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत कोपेमेन्ट(सह भुक्तानी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नेप्से २ हजार ७ सयमा झर्‍यो, दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।

विनाशपछि अझ राम्रो बन्दै धार्चे, पर्यटक लोभ्याउन आकर्षक पूर्वाधार निर्माण

  काठमाडौं । प्राकृतिक विपद्का कारण विनाश भएका त थुप्रै पालिकाका उदाहरण छन् । तर विनाशपछि पुनरुत्थान गर्दै उदाहरणीय काम गरेका पालिकाहरू भने कमै होलान् । यसको एक गतिलो उदाहरण हो- गाेरखाकाे  धार्चे गाउँपालिका । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ठूलो क्षति भयो । जसको असर थुप्रै पालिकाहरूले बेहाेर्नुपर्‍याे । प्रत्यक्ष रूपमा क्षति बेहाेर्ने धार्चे गाउँपालिका पनि एक हो । गोरखाको लाप्राकले भूकम्पपछि गरेको पुनरुत्थान अनुकरणीयसँगै चामत्कारिक छ । क्षतिपछि लाप्राक पहिलेभन्दा अझै सुन्दर र बलियो बन्दै अघि बढेको छ । यस पालिकाले सरकार, दाता र गैरसरकारी संस्थाहरूको सहयोगसँगै आफ्नो प्रयासबाट ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ बनाएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उनका अनुसार भूकम्पको केन्द्र (इपिसेन्टर)लाई भित्र पारेर २० किमि ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ बनाइएको हो । त्यस्तै, भूकम्पले क्षतिग्रस्त लाप्राकका दुई सय ५० घरलाई होमस्टेको रूपमा विकास गरेको छ । भूकम्पको केन्द्रमा अन्य पनि थुप्रै यस्तै कामहरू भएका छन्, जसले पर्यटकलाई लोभ्याइरहेका छन् । भूकम्पको केन्द्रमा इपिसेन्टर चौतारो बनाइएको छ । त्यस्तै, प्याराग्लाइडिङ, क्यानोनिङ, रक क्लाइम्बिङ र स्कीजस्ता पर्यटक लोभ्याउने आकर्षक पूर्वाधार बनाइएको गुरुङले बताए । काठमाडौंबाट सात दिनमै गणेश हिमाल पुग्ने एक्स्पिडिसन रुट पनि गाउँपालिकाले निर्माण गरिरहेको छ । गणेश हिमाल तस्बिर साभार: धार्चे गाउँपालिकाको वेबसाइट‍ । गाउँपालिकाभित्र घुम्नैपर्ने पर्यटकीय स्थलको प्रचार गरिएको अध्यक्ष गुरुङ बताउँछन् । ‘पर्यटक तान्न आफ्नो क्षेत्रभित्रका भूगोल, सम्पदा र पूर्वाधारको जानकारी दिने ‘एग्रो टुरिजम एप’ बनाएका छौं,’ उनी भन्छन्, ‘यसको सहायताले कुनै पनि पर्यटक बिना गाइड नै यहाँ आइपुग्न सक्छन् ।’ गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर-पूर्वी भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखा बजारबाट करिब ७२ किलोमिटर उत्तर-पश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा बारपाकसुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा पनि रहेको छ । गाउँपालिका छ सय ५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने गाउँपालिको केन्द्र वडा नम्बर ५ माछीखोलामा रहेकाे छ । भूकम्पअघिको लाप्राक बस्ती ।  तस्बिर साभार: धार्चे गाउँपालिकाको वेबसाइट‍ । यस गाउँपालिकामा प्रकृतिका पुजारी आदिवासी जनजातिहरूको बाहुल्यता रहेको अध्यक्ष गुरुङ बताउँछन् । यहाँका बासिन्दाले आफ्नो घरबाट बाहिर कतै प्रस्थान गर्ने बेलामा आफ्नो रक्षा एवं कार्यसिद्धिका लागि खोलानाला एवं डाँडाकाँडाको पूजा गर्ने चलन रहिआएको उनको भनाइ छ । उनी भन्छन्, ‘यसरी पूजा गर्दा धर्च (कपडाको टुक्रा) ढुंगाको देउरालीमा चढाउने वा काठको लठ्ठीमा बाँधेर गाड्ने प्रचलन रहेको छ ।’ स्थानीय गुरुङ भाषामा ध्वजालाई धर्च र डाँडाकाँडालाई गाङ भनिन्छ । बोल्दै जाने क्रममा यही शब्द अपभ्रमित भई धार्चेडाँडा भन्ने प्रचलन चलेकाे स्थानीयहरू बताउँछन् । समुन्द्री सतहबाट तीन हजार चार सय ५० मिटर उचाइमा रहेको रुबीनाला ग्लेसियर धार्चे गाउँपालिका, बारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूमात्र होइन, समग्र नेपालकै पर्यटकीय स्थलको रूपमा परिचित रहेको अध्यक्ष गुरुङ बताउँछन् । कम उचाइमा रहेको  रुबीनाला ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । त्यसैगरी, यसै गाउँपालिका भएर पुगिने नेटुंगोमा रहेका एक सय आठ प्राकृतिक धारा सौन्दर्यताको दृष्टिले मात्र होइन, पौराणिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने अध्यक्ष गुरुङले जानकारी दिए । ‘जिउँदै स्वर्ग जान हिँडेका पाण्डवहरूले यहाँ रहेका धारामा नुहाएर नजिकै रहेको नेटुंगो गुफामा ध्यान गरेका थिए भन्ने जनविश्वास प्रचलित रहेको छ,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, धार्चे गाउँपालिकाका विभिन्न स्थानहरूमा तातोपानीका मूलहरू रहेका छन् । विशेषगरी, स्थानीय माछाखोला बजारसँगै बुढीगण्डकीको वरिपरि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहँदै आएको छ ।’ तातोपानीमा नुहाउँदा शरीर स्वस्थ अनि सबल बन्छ भन्ने जनविश्वास रहेको अध्यक्ष गुरुङ बताउँछन् । धार्चे गाउँपालिकास्थित लापुबेंसीमा रहेको नौलेखोला झरनाको शिरमा रहेको नौलेखाला चिंगारलाई स्थानीयहरूले परम्परागत रूपमा दैवीय शक्ति मानेर पूजाअर्चना गर्दै आएका छन् । यसलाई धार्चे गाउँपालिकाले शिवलिंगको रूपमा धार्मिक पहिचान प्रदान गरी एक तीर्थस्थलको रूपमा विकास गर्ने लक्ष्य समेत लिएको अध्यक्ष गुरुङले बताए । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइने उनी बताउँछन् । उनका अनुसार समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्त्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिङ र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रुटहरूको समेत बिस्तार गरेको छ । यारुबगरस्थित बुढीगण्डकीको किनारमा बनाइएको क्यान्टिलिभर पुल सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण रहेको छ । यस ठाउँमा मनाइने मकै विवाह विश्वमै एक नौलो संस्कृति रहेको अध्यक्ष गुरुङ बताउँछन् । ‘यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृतिसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्दछ,’ उनी भन्छन्, ‘मकै रोप्ने समय माघ र फाल्गुण महिनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअगाडि धर्ति पूजालगायतका अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ ।’ नेपाली समाजमा परिचित राम जानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको उनी बताउँछन् । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन नसकेको अध्यक्ष गुरुङको गुनासाे छ । भूकम्पले गरेको विनाशपछि क्रमश: सुधार हुँदै गएको पालिका हाल उत्कृष्ट पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ ।

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा आर्थिक वृद्धिमा असर पुग्छ: चेम्बर

  काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्यव्यवस्था समितिमा विचाराधीन सो विधेयकले निजी क्षेत्रलाई धप धराशायी बनाउने र लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यव्यवस्था समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ मा निजी क्षेत्रको सम्बन्धमा प्रस्तावित मस्यौदाका व्यवस्थाले निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्र भित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको छ । यसले निजी क्षेत्रको लगानीसमेत निरुत्साहित हुनेछ ।’ चेम्बरले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरतामा जोड दिएको छ । नीतिगत स्थिरता भएमा मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिने चेम्बरले उल्लेख गरेको छ । एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । मुख्यसचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘नेपालको बैंकिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने निश्चय नै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ र आर्थिक वृद्धिमा नै असर पुग्नेछ ।’ यस्तै, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालयअन्तर्गत ल्याउन पनि चेम्बरले आग्रह गरेको छ । नवनियुक्त मुख्यसचिव अर्याललाई सुझाव दिने क्रममा निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै सच्याउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गाको कर्जामा आम्दानीको स्रोत दुई गुणा देखाउनु पर्ने राष्ट्रबैंकको नीतिका कारण यो क्षेत्रमा समस्या देखिएको बताए । उपाध्यक्ष दीपक श्रेष्ठले विदेशी कम्पनीलाई प्याटेन्ट अधिकार दिँदा नेपाली उद्योगमा पर्ने असरबारे ख्याल गर्नुपर्नेमा जोड दिए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा मुख्यसचिव अर्यालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाए । चाडपर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्न अर्यालले बताए । रास

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ % सम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच सम्झाैता भएकाे छ । दुवैबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइ सेवामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा दिनुका साथै कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यससम्बन्धमा थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएकाे छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।