यस्तो छ आजको तरकारीको मूल्य
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । [pdf id=508470]
काठमाडौं आउने एकजना यात्री, जहाज ग्राउन्डेडपछि शुक्रबार मात्र उडान भरिने
काठमाडौं । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने नीति लिएको सुनारले जानकारी दिए । ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ, त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ, उनले भने । अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किनेछ। हाल दाङबाट काठमाडौँ जाँदा ७ हजार १ सय रुपैयाँ भाडा लाग्छ भने काठमाडौंबाट दाङ आउँदा ७ हजार २५० रुपैयाँ भाडा लाग्ने उनले बताए । अहिले दाङबाट काठमाडौं जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उनको भनाइ छ । यसअघिको शुक्रबार दाङबाट काठमाडौं जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए । उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । ७५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर १ हजार ५ सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।
सरकारी कर्मचारीले ३० मिनेटभित्र खाजा खाइसक्नुपर्ने
काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ उनले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन् ।
सहकारी छानबिन समितिमा अर्थमन्त्री र गभर्नरले भने- प्रतिवेदन कार्यान्वयन गरिन्छ
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो । सोही अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री पौडेलले सहकारीबाट ऋण लिनेले तिर्नुपर्दैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिए । सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने उनको भनाइ छ । समितिका सभापति सूर्य थापाले सहकारीको उज्यालो भविष्यका लागि समितिको प्रतिवेदन महत्वपूर्ण हुने बताए । सरोकारवाला सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाको भनाइ छ ।
कुमारी र सूर्याेदय वोमीको सेयर बिक्रीमा, ३५ दिनपछि सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनीको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ । यस्तै सूर्याेदय वोमी लघुवित्तले पनि साढे ७ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
अमेरिकी डलरको मूल्य स्थिर, अन्य देशको घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ स्थिर राखेको छ भने अन्य देशको घटाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१७ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९५ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ तोकिएको छ ।
भगवती हाइड्रोपावरको १४.७३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत कर प्रयोजनसहित नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ४ प्रतिशतका दरले २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशतका दरले ६ करोड १४ लाख २१ हजाररुपैयाा नगद लाभाश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी २४औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनछे । कम्पनीको साधारण सभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर काठमाण्डौंमा बस्नेछ । कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्ती गर्नेछ । सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं १९७१ भदौ २४ गते जन्मका थिए । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि.सं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रुपमा रहेको छ । कांग्रेस र नेकपा (एमाले) मिलेको लोकतान्त्रिक–प्रगतिशील गठबन्धन सरकारमा सहभागी छ । क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए । वि.सं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो । वि.सं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ८ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गरे । क्यान्सर रोगले बिपीको वि.सं २०३९ साउन ६ गते निधन भयो । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । नेपाली राजनीति र साहित्यमा रुची राख्नेले बिपीका कृति खोजी खोजी पढ्ने गरेका छन् । बिपीका बारेमा लेखिएका कृति प्रत्येक वर्षजस्तो एउटा न एउटा प्रकाशित हुने गरेको छ । बिपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई वि.सं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याएको छ । पुनःनिर्माण सम्पन्न गरेपछि सङ्ग्रहालय सर्वसाधारणले पनि अवलोकन गर्न पाउने गरी खुला गरिने जनाइएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ । बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा नेपाली लेखक सङ्घ काठमाडौं शाखाले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई कांग्रेस महामन्त्रीद्वयले सम्बोधन गर्ने जनाइएको छ ।