अध्यक्ष ढकाल भन्छन्- आर्थिक सुधारको आधार तयार हुँदैछ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा भनेका हुन् । भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए । उनले सरकार, निजि छेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिनेमा जाेड दिए । उनले दुई संस्थाले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । अध्यक्ष ढकालले उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए । उनले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण सावित भएको जानकारी दिए । भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । उनले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।
संसारकै उत्कृष्ट एडास प्रविधिसहितको एक्सपेङ जी ६ नेपालमा उपलब्ध, मूल्य ८५ लाख रुपैयाँ
काठमाडौं । सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ लञ्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी ६ भेरियन्ट सार्वजनिक गरेको हाे । कम्पनीका अनुसार यसकाे मूल्य ८४ लाख ९९ हजार तोकिएको छ । चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसइपिए २.० प्रविधि ल्याएको हाे । एक्सपेङ जी ६ मा ४४० एनएम टर्क, १९० केडब्ल्यू पावर र ४३५ किमी रेन्जजस्ता विशेषता छन् । साथै यसको ब्याट्री क्षमता ६६ केडब्ल्यूएच छ । संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) र ९-डायमेन्सन ब्याट्री सेफ्टी पनि रहेकाे सिजीले जनाएकाे छ । जी ६ को आकर्षक डिजाइनलाई लिएर पनि सकारात्मक प्रतिक्रिया आइरहेकाे छ । जेनेसिस, ल्याम्बाेर्घिनी, फरारी, अडीजस्ता गाडीमा काम गरेका डिजाइनर अहिले एक्सपेङमा आवद्ध छन् । बुकिङ र टेस्ट राइडको लागि थापाथलीस्थित शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।
बैंकहरूको कार्यालय खर्च ३७ अर्ब, मर्ज भएका बैंकलाई साइनबोर्ड र स्टेशनरीको भार
काठमाडौं । बैंकहरू मर्ज हुँदा बैंकरहरूले भन्थे ‘बैंकको लागत घट्छ, प्रशासनिक खर्च घट्छ, शाखा कार्यालय घट्छन्’ । संस्थालाई बलियो बनाउन र लागत घटाएर स्वस्थ प्रतिस्पर्धामा जोड दिन बैंकहरूलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्यायो । सोहीअनुरूप पछिल्लो समय एक दर्जन बैंकहरू मर्जरमा सामेल भए । तर, मर्जरपछिको तथ्यांक हेर्ने हो भने बैंकहरूको लागत दोब्बर वृद्धि भएको देखिन्छ । बैंकरहरूको भनाइविपरीत गत वर्ष बैंकहरूको कार्यालय सञ्चालन खर्च झण्डै १५ प्रतिशत बढेको देखिन्छ । हुन त अधिकांश बैंकको कार्यालय सञ्चालन खर्च बढेको छ । तर, मर्जरमा सामेल भएका बैंकको कार्यालय सञ्चालन खर्चमा भने धेरै वृद्धि भएको देखिन्छ । गत वर्ष बैंकहरूको कार्यालय सञ्चालन खर्च १४.८८ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रुपैयाँ बढेको देखिन्छ । बैंकको कार्यालय सञ्चालन खर्चमा विज्ञापन, बिजुली, घरभाडा, स्टेशनरी, पानी, टेलिफोन, मसलन्द खर्चलगायतका हिसाब जोडिन्छन् । गत वर्ष बैंकहरूले कार्यालय सञ्चालनमा ३७ अर्ब ६ करोड रुपैयाँ बढी खर्च गरेका हुन् । जबकि अघिल्लो वर्ष ३२ अर्ब २६ करोड रुपैयाँ कार्यालय सञ्चालन गर्न खर्च गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको कार्यालय सञ्चालन खर्च बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा बैंकको कार्यालय सञ्चालन खर्च १३६.४५ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड रुपैयाँ बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुगेकाे हो । यस्तै, हिमालयन बैंकको ३३.६१ प्रतिशत अर्थात् ५७ करोड ९० लाख रुपैयाँ बढेर २ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२.१० प्रतिशत अर्थात् ४५ करोड रुपैयाँ बढेर २ अर्ब ५१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१.४४ प्रतिशत अर्थात् ५७ करोड ६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड रुपैयाँ, कुमारी बैंकको १७.८८ प्रतिशत अर्थात् २९ करोड २५ लाख रुपैयाँ १ अर्ब ९२ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका छन् । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली मर्जरपछि बैंकको नाम परिवर्तनदेखि साइन बोर्डसमेत परिवर्तन गर्नुपर्ने भएकाले खर्च बढेको हुनसक्ने बताउँछन् । साथै स्टेशनरी सामान र बैंकको ब्राण्डिङमा समेत ठूलो खर्च हुने गरेको उनको भनाइ छ । ‘मर्ज भएको पहिलो वर्ष खर्च बढेको देखिनु स्वाभाविक हो । किनभने बैंकको ब्राण्डिङ गर्नुपर्ने हुन्छ । जस्तो साइनबोर्ड, स्टेशनरीमा नाम परिवर्तन गर्नुपर्ने हुन्छ, विज्ञापन गर्नुपर्ने भएकाले बैंकको कार्यालय सञ्चालन खर्च बढेको हो । बैंकको ब्राण्डिङमा पनि ठूलो रकम खर्च हुने गरेको छ,’ सहायक प्रमुख कार्यकारी अधिकृत गाेर्खालीले भने, ‘तर, पछिल्ला वर्षहरूमा भने विस्तारै घट्दै जानेछ ।’ एभरेष्ट बैंकको १४.२४ प्रतिशत अर्थात् १७ करोड ७९ लाख रुपैयाँ बढेर १ अर्ब ४२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३.८८ प्रतिशत अर्थात् २३ करोड ७५ लाख रुपैयाँ बढेर १ अर्ब ९४ करोड रुपैयाँ, प्रभु बैंकको १३.१६ प्रतिशत अर्थात् २९ करोड ३ लाख रुपैयाँ बढेर २ अर्ब ४९ करोड रुपैयाँ, नबिल बैंकको १३.०७ प्रतिशत अर्थात् २७ करोड २३ लाख रुपैयाँ बढेर २ अर्ब ३५ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका हुन् । सिद्धार्थ बैंकको ९.९८ प्रतिशत अर्थात् १७ करोड २७ लाख रुपैयाँ बढेर १ अर्ब ९० करोड रुपैयाँ, एनएमबी बैंकको ६.९२ प्रतिशत अर्थात् १० करोड २३ लाख रुपैयाँ बढेर १ अर्ब ५८ करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.६५ प्रतिशत अर्थात् ७ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब २९ करोड रुपैयाँ, प्राइम बैंकको ६.०६ प्रतिशत अर्थात् ६ करोड २३ लाख रुपैयाँ बढेर १ अर्ब ९ करोड रुपैयाँ, नेपाल बैंकको ४.९१ प्रतिशत अर्थात् ६ करोड ८० लाख रुपैयाँ बढेर १ अर्ब ४५ करोड रुपैयाँ, कृषि विकास बैंकको ४.८३ प्रतिशत अर्थात् ८ करोड ५३ लाख रुपैयाँ बढेर १ अर्ब ८५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४६ प्रतिशत अर्थात् २ करोड ९७ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च भएकाे छ । तर, अघिल्लो वर्षको तुलनामा विभिन्न ४ वटा बैंकको कार्यालय सञ्चालन खर्च भने घटेको देखिन्छ । नेपाल एसबीआई बैंकको ३.३५ प्रतिशत अर्थात् ३ करोड ५५ लाख रुपैयाँ घटेर १ अर्ब २ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको १.६१ प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँ घटेर २ अर्ब ८७ करोड रुपैयाँ, सानिमा बैंकको १.०५ प्रतिशत अर्थात् १ करोड ४६ लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.९८ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ घटेर ७० करोड २९ लाख रुपैयाँ खर्च गरेका हुन् । पूर्वबैंकर रोबिन नेपाल बैंकको सबैभन्दा ठूलो लागत कर्मचारीमा जाने र कर्मचारीलाई बढीभन्दा बढी परिचालन गरेपछि मात्रै लागत घट्न सक्ने बताउँछन् । एउटै ठाउँमा भएका शाखा कार्यालय गाभिएपनि कर्मचारी संख्या नटाउँदा लागत बढ्न पुगेको उनको भनाइ छ । उनका अनुसार बैंकको लागत उठाउन जनशक्ति परिचालनमा जोड दिनुपर्छ । ‘बैंकको लागत सबैभन्दा धेरै जनशक्तिमा खर्च हुन्छ, जबसम्म बैंकको कर्मचारी घटाउन सकिँदैन तबसम्म बैंकको लागत घटाउन सकिँदैन,’ उनले भने, ‘मर्ज भएपछि एउटै ठाउँका शाखा कार्यालय गाभिएपनि कर्मचारी भने सबैलाई राख्दा त्यसको औचित्य भएन, त्यसकारण पनि लागत घट्न नसकेको हो ।’
सहकारी पीडित र सरकारबीच ८ बुँदे सम्झौता, १०८ दिनदेखि जारी रिले अनशन स्थगित
काठमाडौं । विगत १०८ दिनदेखि रिले अनशनमा रहेका सहकारी पीडित र सरकारबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौता आइतबार साँझ भएको हो । सम्झौतासँगै १०८ दिनदेखि जारी रिले अनशन पनि स्थगित भएको छ । सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउने विषयमा सहमति जुटेको हाे । त्यस्तै, सहकारी विभागका उपरजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्ने सहमति भएको छ । समितिमा उपरजिष्ट्रार संयोजक, सहकारी मन्त्रालय, सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि हुने जनाइएको छ । समितिले सहकारी संघसंस्थाहरू र बचत रकम फिर्ता माग गरिरहेका बचतकर्ताबीच आवश्यक छलफलसमेत गराई सहजीकरण गर्ने एवम् बचत फिर्ताको कार्यमा सहजीकरण गर्दा प्राथमिकताको आधारमा सहजीकरण गर्ने भएको छ । साथै सहकारी ऐन विपरीत कार्य गरेको पाइएमा कानुनी कारबाहीका लागि विभागसमक्ष पेश गर्ने जनाइएको छ । सरकार र बचतकर्ताको यो तेस्रो सम्झौता हो । समितिले समस्याउन्मुख सहकारी संघसस्थाको निरीक्षण अनि अनुगमन गरी एकीकृत र खण्डीकृत सबै विवरण तथ्याङ्क संकलन गरेर विभागमा पेश गर्ने छ । समितिले निरीक्षण र अनुगमन गरेका सहकारी संघसंस्थाहरूको वित्तीय विश्लेषण गरी राम्रोसँग चलेका, समस्या उन्मुख र गम्भीर समस्यामा परेका सहकारीहरूको वर्गीकरण गरी आफ्नो रायसहित आवश्यक कारवाहीका लागि विभागसमक्ष पेश गर्ने भएको छ ।
चीनको स्वास्थ्य क्षेत्रमा पहिलाे पटक शतप्रतिशत विदेशी लगानी खुला
काठमाडौं । अन्य देशमा लगानी गरेर आफ्नो अधिकार स्थापित गरेको चीन पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । चीनले कोरोना भाइरस महामारीपछि ठूलो आर्थिक संकटको सामना गरिरहेको समाचार बेलाबेला बाहिरिने गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सबै राम्ररी चलिरहेको छ त? भन्ने प्रश्न पनि बेलाबेला उब्जिरहेका हुन्छन् । ब्लुमबर्गको एक रिपोर्टअनुसार चीनले विदेशी लगानीका लागि आफ्नो ढोका पूर्णरूपमा खोल्ने भएको छ । चीनले पाकिस्तान, नेपाल, श्रीलंकालगायत देशमा ठूलो लगानी गरिरहेका बेला आफ्नै देशमा लगानीका लागि अन्य देशको भर पर्नुपरेको हो । रिपोर्टका अनुसार चीनको अर्थतन्त्र अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ । एकातिर धेरै कम्पनीले चीन छाडिरहेका छन् भने अर्कातर्फ चीनले अहिले उत्पादनमा अन्य देशसँग प्रतिस्पर्धा गरिरहेको छ । ब्लुमबर्गका अनुसार आफ्नो अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन चीनले उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोलेको छ । चीनले कुनै पनि क्षेत्रमा शतप्रतिशत विदेशी लगानीलाई अनुमति दिएको यो पहिलो पटक हो । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले जारी गरेको एक सूचनाअनुसार चीनले नोभेम्बर १ देखि उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोल्ने जनाएको छ । अहिलेसम्म यी क्षेत्रमा शतप्रतिशत विदेशी लगानी आउन सकेको छैन । यति मात्र होइन, चीनले विदेशी लगानीका सम्बन्धमा केही नियमहरू पनि खुकुलो बनाउने छ ताकि लगानीमा कुनै समस्या नहोस् । एनडीआरसीले सरकारले सेवा उद्योगको विस्तार र यसमा विदेशी लगानीको पहुँचलाई प्रोत्साहन गर्ने कुरा गरेको पनि बताएको छ । यसबाहेक चीनले आफ्नो स्वास्थ्य सेवा क्षेत्रलाई थप खुला गर्न विभिन्न नीतिहरू पनि घोषणा गरेको छ । वाणिज्य मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिअनुसार बेइजिङ, सांघाई, गुआङ्डोङ र हाइनानमा स्टेम सेल, जीन डायग्नोसिस र उपचारलाई समेट्ने प्रविधि विकास र प्रयोगमा विदेशी पुँजीलाई सहभागी हुन अनुमति दिइने छ । ‘सरकारले चीनमा पूर्णरूपमा विदेशी स्वामित्वका अस्पतालहरू स्थापना गर्न पनि अनुमति दिनेछ,’ विज्ञप्तिमा उल्लेख छ । एजेन्सी
माइडियाले ल्यायो दशैंमा ‘किन, जित अनि उड’ अफर
काठमाडौं । वर्ल्ड नम्बरवान मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएकाे छ । सीजीले दशैं-तिहार र छठलाई लक्षित गर्दै ‘किन, जित अनि उड’ को अफर ल्याएकाे हाे । बम्पर उपहारमा दुई जनालाई थाइल्यान्ड टुर गराइने सीजीले जनाएकाे छ । हरेक हप्ता मिक्स्चर, ४६,५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा उपहार पर्ने बताइएकाे छ । हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादन जस्तै- रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन् । उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने सीजीले जनाएकाे छ । हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्। फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन् । फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ । रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई नि:शुल्क टोस्टर प्राप्त हुनेछ । डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुइ वटा डिशवाशर किट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ । यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ५० प्रतिशतमात्र भाैतिक प्रगति, १५ महिना म्याद थप
म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए । ‘तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ,’ उनले भने, ‘राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।’ म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेशन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो । एक सय ३२/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेशनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो । दुई सय २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए । ‘पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सबस्टेशनको संरचना बनाउन थालिएको हो,’ उनले भने, ‘सबस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको छ ।’ अम्बाङमा सबस्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख अग्रवालले बताए । रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । बेनी नगरपालिका–६ कोठेसाघुमा रहेको एनएलटीको प्रसारण लाइनको सामग्री भण्डारणस्थलमा भदौ ८ गते रातिको बाढीले क्षति पुर्याएको थियो । दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन निर्माण भएको छ । म्याग्दी नदीमा एक सय ७२ दशमलव आठ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको राहुघाट–मङ्गले र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलव ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । सबस्टेशनमा निर्माणमा भएको ढिलाइले राहुघाट नदीमा निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनालाई समस्या परेको तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मङ्गले राहुघाट जलविद्युत् आयोजना प्रमुख प्रकाश तिमिल्सिनाले बताए ।
टिभिएस नेपालले सार्वजनिक गर्याे ‘नयाँ युगको आरम्भ’ अफर, १० लाखसम्म जित्न सकिने
काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत https://www.tvsnepal.com/dashain/form मा गइ सवारीसाधन नकिन्दै पाँच लाखसम्म र खरिद गरेपछि दस लाखसम्म जित्न सकिने कम्पनीले जनाएकाे छ । र हरेक सप्ताह १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएकाे छ । पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेकाे छ । टिभिएसले ‘मेरो साथी’ एपमार्फत सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।